अन्तराष्ट्रिय

नेपालसँग मिलेर काम गर्न तयार छौँ : भारत

नेपालमा हालै गठन भएको सरकारसँग मिलेर काम गर्न तयार रहेको भारत सरकारले स्पष्ट पारेको छ।

भारतको विदेश मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम बाग्चीले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउँदै नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको बताएका हुन्।

गत मङ्सिर ४ गते भएको निर्वाचनपछि यही पुस १० गते नेकपा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार गठन भएको छ।

नेपालमा निर्वाचनपछि गठन भएको सरकार र राजनीतिक परिस्थितिका बारेमा एक सञ्चारकर्मीको जिज्ञासाको जवाफमा प्रवक्ता बाग्चीले भने, ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनेबित्तिकै हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभयो । नेपालका प्रधानमन्त्रीले हाम्रा प्रधानमन्त्रीलाई जवाफ दिइसक्नुभएको छ।’

दुई देश बीचमा गहिरो सम्बन्ध बनाउन चाहेको उनले जानकारी दिए। नेपालको नयाँ सरकारसँग द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने पक्षमा रहेको उल्लेख गर्दै उनले भने, ‘दुई देशका बीचमा रहेको अद्वितीय एवं सांस्कृतिक सम्बन्धलाई बढावा दिँदै मिलेर काम गर्ने आशा राखेका छौँ । द्विपक्षीय सम्बन्धलाई बढाउने कुरामा हामी कुनै कमी हुन दिँदैनौँ।’

प्रवक्ता बाग्चीले यसअघि नै नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न तत्पर रहेको बताएको दोहोर्याए। नयाँ सरकारलाई बधाई दिने क्रममा नै यो सन्देश दिइसकेको उनको भनाइ छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button