थाइल्याण्डमा नेपाल प्रहरी प्रमुख दानबहादुर कार्कीको सम्मानमा”मिट एण्ड ग्रीट।
सुरक्षा सहकार्य सुदृढ बनाउन जोड

बैंकक,संगठित अपराध सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड पुग्नुभएका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको सम्मानमा गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्ड र पियानो (PNO) को संयुक्त आयोजनामा भव्य “मिट एण्ड ग्रीट”, कार्यक्रम सम्पन्न भएको छ। 
कार्यक्रमका प्रमुख अतिथि थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली रहनुभएको थियो भने वरिष्ठ गायक आनन्द कार्कीको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा एनआरएनए थाइल्याण्ड, थाइ नेपाली संघ, मगर गुरुङ संघ, तामाङ संघ, नेवारी संघ, किराँत संघ लगायत थाइल्याण्डस्थित विभिन्न नेपाली संघ–संस्था, समाजसेवी, व्यवसायी, बुद्धिजीवी तथा नेपाली समुदायका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य पियानोका संयोजक कुमार कार्कीले राख्नुभएको थियो। त्यसपछि एनआरएनए थाइल्याण्डका निवर्तमान अध्यक्ष तथा एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय उपसंयोजक भबिन्द्र बस्नेतले पियानो तथा एनआरएनए थाइल्याण्डको स्थापना, उद्देश्य, गतिविधि र प्रवासी नेपाली समुदायमा पुर्याउँदै आएको योगदानबारे प्रकाश पार्नुभएको थियो। 
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफ्नो मन्तव्यमा संगठित अपराध नियन्त्रण, सीमा पार हुने अपराध न्यूनीकरण, अन्तर्राष्ट्रिय सुरक्षा सहकार्य तथा नेपाल प्रहरीले अवलम्बन गरिरहेको आधुनिक सुरक्षा रणनीतिबारे जानकारी गराउँदै नेपाल र थाइल्याण्डबीच सुरक्षा संयन्त्रको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
एनआरएनए थाइल्याण्डका पूर्वअध्यक्ष सञ्जय ढकाल र थाइ–नेपाली संघका वरिष्ठ उपाध्यक्ष विनोद लामिछानेले अतिथि तथा सहभागीहरूको स्वागत गर्नुभएको थियो। त्यस्तै, एनआरएनए थाइल्याण्डका पूर्वअध्यक्ष खगेन्द्र ढकालले थाइल्याण्डलाई ट्रान्जिट बनाएर हुने मानव तस्करी तथा अन्य अन्तरदेशीय अपराध नियन्त्रणका लागि नेपाल र थाइल्याण्डका सम्बन्धित निकायबीच थप समन्वय र प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
प्रमुख अतिथि राजदूत धनबहादुर ओलीले यस्ता कार्यक्रमले नेपाल सरकारका निकाय, प्रवासी नेपाली समुदाय तथा विभिन्न संघ–संस्थाबीचको सम्बन्ध र सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्दै आयोजकप्रति धन्यवाद ज्ञापन गर्नुभयो। 
कार्यक्रमको समापन गर्दै एनआरएनए थाइल्याण्डका अध्यक्ष महेन्द्र श्रेष्ठले प्रमुख अतिथि, प्रहरी महानिरीक्षक, विशिष्ट अतिथि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी तथा सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन दीपक पराजुलीले गर्नुभएको थियो।
सौहार्दपूर्ण वातावरणमा सम्पन्न कार्यक्रममा नेपाल–थाइल्याण्डबीच सुरक्षा सहकार्य, संगठित अपराध नियन्त्रण तथा प्रवासी नेपाली समुदायसँग राज्यका निकायको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विशेष जोड दिइएको थियो।



