मलेसिया बिशेषराजनीतिसमाचारसमाज

चितवन महाधिवेशनका लागि नेत्र केसी नेतृत्वको मलेसिया टोली आज नेपाल आउँदै

चितवन, असार ६ । भोलिदेखि चितवनमा सुरु हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन मलेसियास्थित पार्टीको नेतृत्व टोली आज नेपाल आइपुग्ने भएको छ।

मलेसियाबाट आउने टोलीको नेतृत्व सभापति नेत्र केसी ले गर्नुभएको छ। टोलीमा उपसभापति किरण थापा, सदस्य कमल चन्द, सल्लाहकार शिव थापा तथा समाजसेवी योगेन्द्र कुँवर सहभागी हुनुहुन्छ। उहाँहरू महाधिवेशनमा सहभागी भई प्रवासमा रहेका नेपालीहरूको भावना, सुझाव र अपेक्षालाई पार्टी नेतृत्वसमक्ष प्रस्तुत गर्ने तयारीमा हुनुहुन्छ।

रास्वपाको इतिहासमै पहिलोपटक हुन लागेको यस महाधिवेशनलाई पार्टीको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। महाधिवेशनमा संगठन सुदृढीकरण, नीति तथा कार्यक्रम, नेतृत्व चयन, प्रवास संगठनको भूमिका र आगामी राजनीतिक कार्यदिशाबारे विस्तृत छलफल हुने जनाइएको छ।

मलेसियामा रहेका रास्वपा समर्थक तथा प्रवासी नेपालीहरूबीच पार्टीको संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि र सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उक्त टोलीको सहभागितालाई विशेष महत्वका साथ हेरिएको छ। प्रवासबाट आउने प्रतिनिधिहरूले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भोगिरहेका समस्या, अवसर र समाधानका विषयलाई समेत महाधिवेशनमा उठाउने अपेक्षा गरिएको छ।

देश तथा विदेशबाट हजारौं प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताको सहभागिता रहने महाधिवेशनले पार्टीलाई थप संस्थागत, व्यवस्थित र जनमुखी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। मलेसियाबाट नेपाल आउँदै गरेको टोलीले महाधिवेशन सफल बनाउन तथा प्रवासी नेपालीहरूको आवाजलाई सशक्त रूपमा स्थापित गर्न सक्रिय भूमिका खेल्ने जनाएको छ।

“प्रवास र स्वदेशबीचको सम्बन्धलाई अझ बलियो बनाउँदै राष्ट्रिय राजनीतिमा प्रवासी नेपालीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने हाम्रो उद्देश्य हो,” टोलीका उपसभापति किरण थापा ले बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button