हिरामती आर्याको अध्यक्षतामा कलैया–२५ मा टोल सुधार समिति गठन

कलैया, वैशाख २६ : कलैया उपमहानगरपालिका वडा नं. २५ अन्तर्गत सिसहनिया टोलमा स्थानीय बासिन्दाको सक्रिय सहभागितामा टोल सुधार समिति गठन गरिएको छ। मिति २०८३ वैशाख २६ गते सम्पन्न भेलाले टोलको विकास, सरसफाइ, सामाजिक एकता तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यसहित समिति गठन गरेको हो।
सामाजिक अभियन्ता हिरामती आर्या को अध्यक्षतामा सम्पन्न भेलाबाट नवगठित समितिको अध्यक्षमा राज प्रसाद गुप्ता चयन हुनुभएको छ।
कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता आर्याले टोलको समग्र विकासका लागि सबै स्थानीयवासीबीच सहकार्य, एकता र सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। उहाँले समाजमा रहेका विभिन्न समस्या समाधानका लागि टोलस्तरबाटै सचेतना र सक्रियता बढाउनुपर्नेमा जोड दिनुभयो।

नवनिर्वाचित अध्यक्ष गुप्ताले सुशासन, पारदर्शिता, सुरक्षा, वातावरण संरक्षण तथा सामाजिक कार्यमा समिति सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले टोलमा रहेका विभिन्न समस्या तथा जनचासोका विषयमा आवाज उठाउँदै समाधानका लागि पहल गरिने बताउनुभयो।
भेलामा स्थानीय अगुवा, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। नवगठित समितिले आगामी दिनमा टोलको शान्ति, सुरक्षा, वातावरण संरक्षण तथा सामाजिक एकता कायम गर्न विभिन्न जनचेतनामूलक तथा विकासमुखी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।




