धर्म/संस्कृतिमधेस प्रदेशसमाचारसमाज

कलैयामा तीनदिने आध्यात्मिक जागरण कार्यक्रम हुँदै, डा. उषा दिदीले प्रवचन दिने

कलैया–समाजमा सकारात्मक सोच, नैतिक मूल्य र आध्यात्मिक चेतनाको विकास गर्दै आदर्श समाज निर्माण गर्ने उद्देश्यले बाराको कलैयामा तीनदिने विशेष आध्यात्मिक कार्यक्रम आयोजना हुने भएको छ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र कलैयाको आयोजनामा आगामी मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन हुने कार्यक्रमबारे शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो। ‘आध्यात्मिक सशक्तीकरणद्वारा आदर्श समाजको निर्माण’ भन्ने मूल उद्देश्यका साथ आयोजना हुन लागेको कार्यक्रममा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूलाई लक्षित गरी पाँचवटा विशेष सत्र सञ्चालन गरिने आयोजकले जनाएको छ।
कार्यक्रमबारे जानकारी दिँदै गुणराज कुमारले विद्यार्थी, शिक्षक, महिला, जनप्रतिनिधि, समाजसेवी, उद्योगी, व्यापारी तथा राजयोगीहरूलाई लक्षित गरी जीवनोपयोगी ज्ञान, सकारात्मक सोच र आध्यात्मिक चेतनासम्बन्धी प्रवचन तथा प्रेरणादायी कार्यक्रम सञ्चालन गरिने बताए।
उनका अनुसार मंसिर ४ गते बिहान ८ देखि १० बजेसम्म कक्षा १२ तथा क्याम्पस तहका विद्यार्थीका लागि ‘लाइफ इज ब्यूटिफुल’ र दिउँसो २ देखि ४ बजेसम्म शिक्षक–शिक्षिकाका लागि ‘टिचर्स : लाइट हाउस अफ ह्युमानिटी’ शीर्षकमा कार्यक्रम हुनेछ। त्यसैगरी, मंसिर ५ गते बिहान ११ देखि दिउँसो १ बजेसम्म महिलाहरूका लागि ‘समाज परिवर्तनको मूल आधार नारी’ तथा दिउँसो २ देखि ४ बजेसम्म जनप्रतिनिधि, समाजसेवी, उद्योगी, व्यापारी र राजयोगीहरूका लागि ‘सफल जीवनको आधार गीताको सार’ विषयमा विशेष प्रवचन आयोजना गरिनेछ।
तीनदिने कार्यक्रमको अन्तिम दिन मंसिर ६ गते बिहान ११ बजे सम्मान समारोह तथा स्नेह मिलन कार्यक्रम गरिनेछ। कार्यक्रम कलैयास्थित ओम शान्ति टोलमा सञ्चालन हुने आयोजकले जनाएको छ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा रामायण तथा गीता ज्ञान विशेषज्ञ, अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता एवं वरिष्ठ राजयोग प्रशिक्षिका डा. उषा दिदीको उपस्थिति रहनेछ। भारतको राजस्थानस्थित ब्रह्माकुमारीज अन्तर्राष्ट्रिय मुख्यालय आबु राजबाट आउन लागेकी डा. उषाले विभिन्न सत्रमा आध्यात्मिक प्रवचन तथा जीवनोपयोगी मार्गदर्शन प्रदान गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालकी निर्देशक राजयोगिनी डा. राज दादी माँको विशेष आशीर्वचन रहनेछ। कार्यक्रममा ब्रह्माकुमारीज नेपालकी सहनिर्देशक ब्रह्मचारिणी ब्रह्माकुमारी किरण दीदी, वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार रामसिंह एरे तथा ब्रह्माकुमारीज वीरगञ्ज सबजोनकी मुख्य सञ्चालिका ब्रह्माकुमारी रबिना दिदीलगायतको सहभागिता रहने आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा कलैया क्षेत्रकी मुख्य सञ्चालिका ब्रह्माकुमारी मीना दिदी, जनता समाजवादी पार्टी नेपालका नेता एवं बारा क्षेत्र नम्बर ३ का पूर्व प्रतिनिधिसभा सदस्य रामबाबु कुमार यादव, नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनीलगायत सञ्चारकर्मीहरूको उपस्थिति थियो। कार्यक्रममा प्रसौनीकी सञ्चालिका पूर्णिमा दिदीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने सुस्मा बहनले कार्यक्रम सञ्चालन गरेकी थिइन्।
आध्यात्मिक ज्ञानलाई दैनिक जीवनसँग जोड्दै व्यक्तिगत आचरण, पारिवारिक सम्बन्ध र सामाजिक व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित आयोजना हुन लागेको कार्यक्रमले विद्यार्थी, शिक्षक, महिला तथा सामाजिक अगुवाहरूमा नयाँ ऊर्जा र प्रेरणा प्रदान गर्ने अपेक्षा आयोजकले गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button