धर्म/संस्कृतिमधेस प्रदेशसमाचारसमाजस्थानीय
कोल्हबीमा ब्राह्मण समाजको नगर समिति गठन, अध्यक्षमा लालबाबु पाण्डे चयन

कलैया–ब्राह्मण समुदायको एकता, संगठनात्मक सुदृढीकरण तथा सामाजिक सद्भावलाई थप मजबुत बनाउने उद्देश्यले ब्राह्मण समाज नेपाल बाराले कोल्हबीमा पालिकास्तरीय भेला सम्पन्न गरेको छ। शनिबार आयोजित भेलाले लालबाबु पाण्डेको अध्यक्षतामा २५ सदस्यीय नगर कार्यसमिति गठन गरेको छ।
ब्राह्मण समाज नेपाल बाराका अध्यक्ष अनिल कुमार पाण्डेयको अध्यक्षतामा सम्पन्न भेलाले नयाँ नेतृत्व चयन गर्दै कोल्हबीमा संगठनलाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउने संकल्पसमेत गरेको छ।
भेलालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष अनिल कुमार पाण्डेयले समाज निर्माणमा संगठित समुदायको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले ब्राह्मण समुदायको हकहित, संस्कार, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण गर्दै सामाजिक सद्भाव र सकारात्मक परिवर्तनका लागि समाजले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
अध्यक्ष पाण्डेयले पालिकास्तरमा संगठन विस्तार गर्नु केवल समिति गठन गर्नु मात्र नभई समुदायबीच आपसी एकता, सहकार्य र जिम्मेवारीको भावना विकास गर्नु पनि भएको उल्लेख गर्नुभयो। उहाँले नवगठित समितिले समाजका सदस्यहरूलाई एकताबद्ध गर्दै सामाजिक तथा सांस्कृतिक गतिविधिलाई अगाडि बढाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
उहाँले नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिँदै पद र जिम्मेवारीलाई प्रतिष्ठाको विषयभन्दा पनि समाजसेवा र सामूहिक उत्तरदायित्वका रूपमा लिन आग्रह गर्नुभयो। समाजको उद्देश्य प्राप्तिका लागि सबैको साथ, सहयोग र सक्रिय सहभागिता अपरिहार्य रहेको उहाँको भनाइ थियो।
नवगठित २५ सदस्यीय नगर कार्यसमितिले आगामी दिनमा संगठन विस्तार, समुदायबीच आपसी समन्वय, संस्कार तथा संस्कृतिको संरक्षण र सामाजिक गतिविधिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ।
कोल्हबीमा नगर समिति गठन भएसँगै ब्राह्मण समाज नेपालको संगठनात्मक अभियानले थप गति लिने र समुदायलाई संगठित गर्दै सामाजिक क्षेत्रमा रचनात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।



