
बारा, ४४औँ बि.पी. स्मृति दिवसको अवसरमा नेपाल तरुण दल जिल्ला कार्य समिति बाराले एक विशेष श्रद्धाञ्जली तथा स्मृति कार्यक्रम आयोजना गरेको छ। 
नेपाल तरुण दल जिल्ला कार्य समिति बाराका अध्यक्ष दिपेन्द्र पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस बारा जिल्ला सभापति राजेश राय यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य एवं प्रवक्ता चन्द्रिका प्रसाद गुप्ता, नेपाल महिला संघ बारा जिल्ला अध्यक्ष कलावती पासवान, नेपाली कांग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति रामप्रवेश यादव, क्षेत्र नं. ४ का सभापति सुनिल गुप्ता, पूर्व जिल्ला सचिव हरेन्द्र प्रसाद यादव लगायत नेपाल तरुण दल तथा नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वक्ताहरूले नेपाली लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता तथा पूर्वप्रधानमन्त्री बि.पी. कोइरालाले राष्ट्र, लोकतन्त्र, समाजवाद र राष्ट्रिय एकताका लागि पुर्याउनुभएको योगदानको स्मरण गर्दै उहाँका विचार र आदर्श आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए। उनीहरूले बि.पी.को लोकतान्त्रिक मूल्य–मान्यता र सिद्धान्तलाई व्यवहारमा उतार्दै संगठनलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन नेपाल तरुण दल जिल्ला कार्य समिति बाराका जिल्ला सदस्य रबिकरण साहले गर्नुभएको थियो। कार्यक्रम बि.पी. कोइरालाप्रति श्रद्धाञ्जली अर्पण तथा उहाँको योगदानको स्मरण गर्दै सम्पन्न भएको आयोजकले जनाएको छ।



