यो ढल्केबर–मुजाफ्फरपुर प्रसारणलाइनपछि भारतसँग बन्न लागेको दोस्रो ४०० केभीको प्रसारणलाइन हो । न्यू बुटवल–गोरखपुर प्रसारणलाइन नेपालमा अमेरिकी अनुदान कार्यक्रम एमसीसीअन्तर्गत बनिरहेको प्रसारणलाइनसँग जोडिनेछ ।
कम्पनीको ५० प्रतिशत स्वामित्व हुन आउने ४६ करोड भारतीय रुपैयाँ (७३ करोड ६० लाख रुपैयाँ) रकम लगानी गर्न नेपाल विद्युत् प्राधिकरणले स्वीकृति पाइसकेको छ ।
नेपाल–भारत ऊर्जा सचिव तथा सहसचिवहरुको संयन्त्रको २०७६ असोज २७ र २८ गते भएको सातौं बैठकले प्रसारणलाइन निर्माणको लगानीको स्वरुपलाई टुंगो लगाएको थियो । अनुमानित लागत ७ अर्ब ३९ करोड रुपैयाँ रहेको आयोजनाको वित्तीय व्यवस्थापन ८० प्रतिशत ऋण र २० प्रतिशत इक्विटीबाट जुटाइने छ ।
नेपालतर्फको प्रसारणलाइन भने प्राधिकरण आफैंले गर्ने तयारी हुँदैछ । नवलपरासीको सुनवल नगरपालिका–१३ मा रहेको न्यू बुटवल सबस्टेसनबाट सुरु भई भारतको गोरखपुर सबस्टेसनसम्म पुग्ने ४०० केभी डबल सर्किट प्रसारणलाइन करिब १२० किलोमिटर छ । त्यसमध्ये नेपालतर्फ करिब २० किलोमिटर र बाँकी भारततर्फ पर्छ । अनलाइनखबर