मलेसियामा सेप्टेम्बर ६ मा ‘५औँ सिल्भर इन्टरनेसनल म्युजिक अवार्ड–२०२६’ हुने

क्वालालम्पुर, मलेसिया — नेपाली गीत–संगीत, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले मलेसियामा ‘५औँ सिल्भर इन्टरनेसनल म्युजिक अवार्ड–२०२६’ तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
प्रियसी म्युजिक प्रालिको प्रस्तुति तथा व्यवस्थापनमा आयोजना हुने कार्यक्रम सेप्टेम्बर ६, २०२६ आइतबार दिउँसो २ बजे क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा हुने आयोजकले जनाएको छ। 
विदेशमा रहेर नेपाली कला, संगीत तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउँदै आएका कलाकार तथा स्रष्टाहरूलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजक तथा प्रियसी म्युजिक प्रालिका अध्यक्ष राजेन्द्र पुरी र व्यवस्थापक बबिता श्रेष्ठले जानकारी दिएका छन्।
कार्यक्रममा वरिष्ठ कलाकार हिङ्सबाला गौतम, गीता नेपाल, रश्मि पाण्डे, गायक अमृत खाती, धर्मराज न्यौपाने, रूपक परियार, अर्जुन खरेल, नवीन परियार, गायिका स्मृति गौतम, सीमा थापा, कल्पना बली, निर्देशक तथा मोडल अन्जान शर्मा, कलाकार चक्रघोज भण्डारी, मोडल तथा गायिका प्रनिता तामाङ, मलेसियाका कलाकार तथा आयोजक डेभिड घिमिरे तथा गायक तथा मोडल अपुरण गौतमलगायतको सहभागिता रहने जनाइएको छ।
त्यस्तै, कार्यक्रमको उद्घोषण पुरन राजकोटी मगरले गर्नेछन् भने वरिष्ठ पत्रकार ऋषि थापलिया प्रस्तोताका रूपमा रहने भएका छन्।
कार्यक्रमको अध्यक्षता बबिता श्रेष्ठ पुरीले गर्ने तथा राजेन्द्र पुरी व्यवस्थापक रहने आयोजकले जनाएको छ।
कार्यक्रमलाई नेपाल एयरलाइन्स, मलेसियामा चर्चित RTF फुटबल क्लब, एनबी रमाइलो मार्ट, जनसम्पर्क समिति मलेसिया, नेप्स्या, लाङ्घाली चुलोलगायत विभिन्न संघ–संस्था तथा व्यवसायिक प्रतिष्ठानले सहयोग गर्ने भएका छन्।
त्यस्तै, विभिन्न सञ्चार तथा मिडिया संस्थाहरूलाई मिडिया पार्टनरका रूपमा जोडिएको आयोजकले जनाएको छ।
आयोजक प्रियसी म्युजिक प्रालिका अनुसार मलेसियामा नेपाली कला, संगीत तथा संस्कृतिको प्रवर्द्धनसँगै कलाकार र स्रष्टाहरूलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। 
सेप्टेम्बर ६ गते दिउँसो २ बजेदेखि होटल ग्राण्ड कन्टिनेन्टल, क्वालालम्पुरमा हुने कार्यक्रम निःशुल्क रूपमा अवलोकन गर्न सकिने आयोजकले जनाएको छ। साथै, मलेसियामा रहेका सम्पूर्ण नेपाली कला–संगीतप्रेमी तथा नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग गर्न आयोजकले आग्रह गरेको छ।



