नेपालमा लगानीको वातावरण बनाउन ‘सिस्टम’ परिवर्तन आवश्यक-बिनोद कुँवर,पुर्व अध्यक्ष एनआरएनए

ग्वाङ्झाउ, गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष बिनोद कुँवरले नेपालमा लगानी, उद्यमशीलता र आर्थिक विकासलाई गति दिन सरकारी काम गर्ने प्रणाली नै परिवर्तन गर्नुपर्ने बताएका छन्। 
चीनको ग्वाङ्झाउमा आयोजित एनआरएनएको एघारौँ एसिया प्यासिफिक सम्मेलनअन्तर्गतको लगानी सेमिनारलाई सम्बोधन गर्दै कुँवरले नेपालमा लगानी आकर्षित गर्न केवल नीति तथा भाषण पर्याप्त नहुने बताए। लगानीकर्ताले सहज रूपमा काम गर्न सक्ने वातावरण निर्माण गर्न सरकारको कार्यशैली, प्रक्रिया र निर्णय प्रणालीमा सुधार आवश्यक रहेको उनको भनाइ छ।
लामो समयदेखि कोरियामा व्यवसाय गर्दै आएको अनुभव सुनाउँदै उनले विकासका लागि पूँजी र प्रविधिसँगै काम गर्ने प्रणाली, समयको सम्मान, जिम्मेवारी र परिणाममुखी कार्यसंस्कृति आवश्यक रहेको बताए।
उनले कोरियाको उदाहरण दिँदै त्यहाँ काम गर्ने निश्चित प्रणाली रहेको उल्लेख गरे। आठ घण्टाको काम तोकिएको अवस्थामा कर्मचारीले ती आठ घण्टालाई पूर्ण जिम्मेवारीका साथ काममा लगाउने र कामको परिणामलाई महत्व दिने संस्कार रहेको उनले बताए।
नेपालमा भने समयको मूल्य, कामप्रतिको जवाफदेहिता र परिणाममुखी कार्यसंस्कृति अझै पर्याप्त रूपमा स्थापित हुन नसकेको कुँवरले बताए। काम सुरु गर्न ढिलाइ हुने, निर्णय प्रक्रियामा लामो समय लाग्ने, सरकारी प्रक्रिया जटिल हुने र त्यसको असर कामको परिणाममा पर्ने उनको भनाइ थियो।
सरकारले उद्यमीलाई व्यवहारमै सहजीकरण गर्नुपर्ने
कुवरले बताए । कुँवरले नेपालमा उद्यमीलाई नीति र भाषणबाट मात्र नभई व्यवहारमै सहजीकरण गर्नुपर्ने बताए। एउटा उद्योग स्थापना गर्न चाहने व्यक्तिले विभिन्न सरकारी कार्यालय धाउनुपर्ने, लामो समयसम्म अनुमति पर्खनुपर्ने र अनावश्यक प्रक्रियामा अल्झिनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ छ।
सरकारी काममा समय, जिम्मेवारी र परिणाम स्पष्ट रूपमा तोकिनुपर्ने उनले बताए।
‘समय तोकिनुपर्छ, जिम्मेवारी तोकिनुपर्छ र परिणाम पनि मापन गर्नुपर्छ,’ उनले भने ।
उनले नेपालमा लगानीको वातावरण सुधार गर्न सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण निर्माण हुनुपर्नेमा जोड दिए। उद्यमीले लगानी गरेपछि सरकारको नीति भोलि पनि स्थिर रहन्छ भन्ने विश्वास गर्न सक्ने अवस्था आवश्यक रहेको उनले बताए।
कर प्रणाली, अनुमति प्रक्रिया, सरकारी नीति तथा अन्य व्यवस्थामा हुने अनिश्चितताले स्वदेशी तथा विदेशी लगानीकर्तालाई प्रभावित गर्ने उनको भनाइ थियो।
कुँवरले नेपालमा ठूलो युवा जनशक्ति भए पनि उद्योगलाई आवश्यक पर्ने दक्ष र सीपयुक्त जनशक्तिको अभाव रहेको बताए।
सरकारले उद्योगको आवश्यकता र बजारको मागअनुसार सीप विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ। युवालाई वैदेशिक रोजगारीमा पठाउने मात्र नभई नेपालमै रोजगारी सिर्जना गर्न सक्ने सीप र अवसर उपलब्ध गराउनुपर्ने उनले बताए।
उनले नेपालमा उत्पादनमूलक क्षेत्रमा लगानी बढाएर युवाका लागि स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए।
नेपालमा जलविद्युत्को ठूलो सम्भावना रहेको उल्लेख गर्दै कुँवरले उद्योगका लागि भरपर्दो र प्रतिस्पर्धी मूल्यमा विद्युत् उपलब्ध गराउन सके उत्पादन बढाउन सकिने बताए।
उत्पादन बढेपछि स्वदेशी बजारसँगै अन्तर्राष्ट्रिय बजारमा निर्यातको सम्भावना पनि विस्तार हुने उनले बताए। तर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नेपाली उत्पादनको लागत पनि प्रतिस्पर्धी हुनुपर्ने उनको भनाइ छ।
कुँवरले उद्योगीले सामना गरिरहेका प्रमुख समस्यामा महँगो ब्याजदर, सरकारी प्रक्रिया र नीतिगत अनिश्चितता रहेको बताए। उत्पादन लागत घटाउन, लगानी विस्तार गर्न र प्रतिस्पर्धात्मक क्षमता बढाउन यी समस्याको समाधान आवश्यक रहेको उनले बताए।
नेपालमा विदेशी लगानी ल्याउने हो भने विदेशी लगानीकर्तालाई निमन्त्रणा गरेर मात्र नहुने कुँवरले बताए। लगानी गर्न सक्ने वातावरण नै निर्माण गर्नुपर्ने उनको भनाइ छ।
‘विदेशी लगानी ल्याउने हो भने हामीले विदेशी लगानीकर्तालाई केवल निमन्त्रणा गरेर मात्र पुग्दैन। लगानी गर्न सक्ने वातावरण पनि निर्माण गर्नुपर्छ,’ उनले भने।
सरकारी प्रक्रिया सरल, पारदर्शी र समयबद्ध बनाउनुपर्ने तथा लगानीकर्ताले नीति र कानुनी व्यवस्थामा स्थायित्व महसुस गर्ने वातावरण बनाउनुपर्ने उनले बताए।
कुँवरले विदेशमा रहेका नेपालीहरू नेपालमा लगानी गर्न इच्छुक रहेको बताए। उनीहरूले आफ्नो पूँजी, अनुभव, प्रविधि र अन्तर्राष्ट्रिय सम्पर्क नेपालमा प्रयोग गर्न चाहेको उनको भनाइ छ।
तर त्यसका लागि सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण आवश्यक रहेको उनले बताए।
‘हामी विदेशमा बसेका नेपालीहरू नेपालमा लगानी गर्न चाहन्छौँ। हाम्रो अनुभव, पूँजी, प्रविधि र अन्तर्राष्ट्रिय सम्पर्क नेपालमा प्रयोग गर्न चाहन्छौँ,’ उनले भने।
नेपालसँग विकासका लागि पर्याप्त सम्भावना भए पनि त्यसलाई परिणाममा बदल्न प्रभावकारी प्रणाली आवश्यक रहेको कुँवरले बताए।
उनले नेपालले कोरियाबाट प्रविधि मात्र नभई काम गर्ने संस्कार, समयको सम्मान, प्रणाली र परिणाममुखी सोचसमेत सिक्नुपर्ने बताए।
यी विषयलाई व्यवहारमा लागू गर्न सके नेपाली उद्यमीको क्षमता बढ्ने, विदेशी लगानी विस्तार हुने, उत्पादन तथा निर्यात बढ्ने र देशभित्र रोजगारीका अवसर सिर्जना हुने उनले बताए।
सम्बोधनको अन्त्यमा कुँवरले नीति निर्माता तथा सरकारलाई लगानीमैत्री वातावरण निर्माण गर्न आग्रह गरे । उनले नेपाललाई ‘लगानीको आह्वान गर्ने’ मुलुक मात्र नभई ‘लगानी गर्न सहज हुने’ मुलुक बनाउनुपर्ने बताए। युवालाई रोजगारी खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्ने बनाउनुपर्नेमा उनले जोड दिए।
‘नेपालको विकासका लागि राम्रो सोच मात्र होइन, राम्रो सिस्टम र त्यसको परिणाम आवश्यक छ,’ कुँवरले भने।



