दोस्रो पुस्तालाई नेपालसँग जोड्न ज्ञान, सीप र लगानीको उपयोग गर्नुपर्छ : एनआरएनए युवा उपाध्यक्ष भिमसेन थापा

चीन,गैरआवासीय नेपाली संघ (एनआरएनए) का युवा उपाध्यक्ष भीमसेन थापाले विदेशमा हुर्किएको दोस्रो पुस्तालाई नेपालसँग जोड्न उनीहरूको ज्ञान, सीप, प्रविधि र लगानीलाई नेपालसँग जोड्ने वातावरण बनाउनुपर्ने बताएका छन्। 
चीनको ग्वाङझाउमा आयोजित एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण–२०२६’ अन्तर्गत ‘प्रवासमा युवा तथा दोस्रो पुस्ता,वर्तमान अवस्था र अबको बाटो’ विषयक सत्रमा बोल्दै थापाले दोस्रो पुस्तालाई नेपाल फर्काउनेभन्दा उनीहरू जहाँ रहे पनि नेपालसँग जोडिने अवसर सिर्जना गर्नुपर्ने बताए।
उनले लाखौँ नेपाली युवा रोजगारी, अध्ययन र व्यवसायका लागि विदेशमा रहेको र दोस्रो पुस्ता पनि विश्वभर छरिएको उल्लेख गर्दै उनीहरूको क्षमता नेपालको विकासमा उपयोग गर्नुपर्ने बताए।
‘अब हाम्रो प्राथमिकता केवल उनीहरूलाई नेपाल फर्काउने होइन, उनीहरूको ज्ञान, सीप, प्रविधि र लगानीलाई नेपालसँग जोड्ने हो,’ थापाले भने।
उनले एनआरएनएले विश्वभर रहेका नेपालीलाई एउटै साझा मञ्चमा जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। आगामी दिनमा दोस्रो पुस्तालाई नेपालप्रति अपनत्व दिलाउने, नेपाली भाषा, संस्कृति, पहिचान र परम्परासँग जोड्ने तथा नेपालका युवासँग सहकार्य गर्ने अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ छ।
थापाले गैरआवासीय नेपाली नागरिकतालगायतका नीतिगत विषयलाई व्यवहारमै सहज र उपयोगी बनाउनुपर्नेमा पनि जोड दिए।
‘हामी जहाँ बसे पनि हाम्रो जरा नेपालमै छ। विदेशमा सफलता हासिल गर्ने मात्र होइन, आफ्नो ज्ञान, सीप, अनुभव र लगानीमार्फत नेपाल निर्माणमा हातेमालो गर्नु हाम्रो कर्तव्य र जिम्मेवारी हो,’ उनले भने।
युवालाई आजकै जिम्मेवार शक्ति बनाउनुपर्ने
थापाले युवा पुस्तालाई भविष्यका नेतृत्वका रूपमा मात्र हेर्न नहुने बताए। युवाहरू आजकै जिम्मेवार शक्ति भएकाले नीति निर्माणदेखि एनआरएनएको अभियानसम्म उनीहरूको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ छ।
उनले प्रवासमा रहेका युवा तथा दोस्रो पुस्ताका नेपालीको वर्तमान अवस्था र भविष्यको बाटोबारे गम्भीर छलफल आवश्यक रहेको बताए। 
युवाको क्षमता, सिर्जनशीलता र अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको विकाससँग जोड्न सके त्यसले नेपाल र प्रवासबीचको सम्बन्धलाई थप मजबुत बनाउने उनले बताए।
युवा उपाध्यक्ष थापाले गैरआवासीय नेपाली खेलकुद प्रतिष्ठानमार्फत युवाबीच मित्रता, स्वास्थ्य, अनुशासन, राष्ट्रिय भावना र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।
खेलकुद नेपाललाई विश्वसँग जोड्ने प्रभावकारी माध्यम बन्न सक्ने उनको भनाइ थियो। विदेशमा रहेका नेपाली युवालाई खेलकुदका माध्यमबाट एकताबद्ध गर्दै उनीहरूमा नेपालप्रतिको सम्बन्ध र अपनत्व थप बलियो बनाउन सकिने उनले बताए।
थापाले एनआरएनएलाई विश्वभरका नेपालीको साझा घरका रूपमा विकास गर्नुपर्ने बताए। संस्थाको शक्ति एकता, पारदर्शिता, विश्वास र समर्पणमा निहित रहेको उनको भनाइ थियो।
एनआरएनएको अभियानलाई थप प्रभावकारी बनाउन नयाँ पुस्ताको सहभागिता बढाउनुपर्नेमा उनले जोड दिए।
उनले संसदमा एनआरएनएका मुद्दा उठाउन सांसदलाई आग्रह गरेका छन ।
नेपालबाट सम्मेलनमा सहभागी सत्तापक्ष, प्रतिपक्ष तथा राष्ट्रिय दलका सांसदहरूसँग थापाले एनआरएनएका साझा मुद्दालाई संसदमा प्रभावकारी रूपमा उठाउन आग्रह गरे।
सम्मेलनमा उठेका विषय र आवाज कार्यक्रमस्थलमै सीमित नराखी नेपाल फर्किएपछि कानुनी तथा नीतिगत समाधानका लागि पहल गर्न उनले सांसदहरूलाई आग्रह गरे।
‘यहाँ उठेका गैरआवासीय नेपालीका साझा मुद्दाहरूलाई नेपाल फर्किएपछि संसदमा सशक्त रूपमा उठाई कानुनी तथा नीतिगत समाधानका लागि ठोस पहल गरिदिनुहोस्। हामी यसपटक प्रतिबद्धता मात्र होइन, परिणाम पनि देख्न चाहन्छौँ,’ उनले भने।
थापाले गैरआवासीय नेपालीका अधिकार, नेपाली नागरिकताको निरन्तरता, लगानी, पर्यटन प्रवर्द्धन, सुरक्षित वैदेशिक रोजगारी र नयाँ पुस्ताको नेतृत्व विकासलाई एनआरएनएको महत्वपूर्ण प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताए।
‘एक पटकको नेपाली, सधैँको नेपाली’ हुनुपर्ने युवा उपाध्यक्ष थापाले बताए ।
थापाले ‘एक पटकको नेपाली, सधैँको नेपाली, विश्वभरका नेपाली एउटै परिवार’ भन्ने भावनाका साथ सम्मेलनले सकारात्मक निष्कर्ष र स्पष्ट मार्गदर्शन दिने विश्वास व्यक्त गरे।
उनले सम्मेलनले प्रवासमा रहेका नेपाली युवा तथा दोस्रो पुस्तालाई नेपालसँग थप मजबुत रूपमा जोड्ने र आगामी दिनका लागि कार्यान्वयनयोग्य योजना निर्माण गर्ने आधार तयार गर्ने बताए।
कार्यक्रममा एनआरएनए नेतृत्व, नेपालबाट सहभागी सांसद तथा पूर्वसांसद, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, एनआरएनएका विभिन्न तहका पदाधिकारी, राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि, आयोजक समिति, दोस्रो पुस्ताका युवा, सञ्चारकर्मी तथा विश्वभरबाट आएका गैरआवासीय नेपाली अभियन्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सुरुवातमा थापाले हालै सम्पन्न मिस नेपाल वर्ल्ड २०२६ की विजेता तथा युथ अफ सेकेन्ड जेनेरेसनकी अध्यक्ष दिपमाला ढकाललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
उक्त कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२६ की विजेता ढकालले बिदेशमा रहेका युवाहरूलाई राज्यले साथ दिनुपर्ने बताईन । सबै देशका दोस्रो पुस्ताका युवा युवतीलाई राखेर आयोजना गरिएको उक्त कार्यक्रम सम्मेलनकै उत्कृष्ट कार्यक्रम बनेको थियो ।



