तिम्रो माया’ सार्वजनिक हुँदै, भीम घलान र डोमसाङ गोलेको डेब्यु; मलेसियाबाट नेपाली संगीतमा नयाँ तरंग

मलेसियामा नेपाली गीत–संगीत तथा म्युजिक भिडियो निर्माण फेरि चलायमान हुन थालेको छ। यही क्रममा मलेसियामै छायांकन गरिएको नयाँ गीत ‘तिम्रो माया’ सार्वजनिक हुने तयारीमा छ।
गीतको म्युजिक भिडियोमार्फत भीम घलान तामाङ र डोमसाङ गोले तामाङ ले अभिनय क्षेत्रमा डेब्यु गर्दैछन्। डोमसाङ गोले तामाङ मिस ट्यालेन्ट नेपाल २०२५ की विजेतासमेत हुन्। 
गोर्खा घिसिङको शब्द, संगीतकार कबिन योन्जनको संगीत तथा गायक सुरेश लामा र काजल बोम्जनको सुमधुर स्वर रहेको ‘तिम्रो माया’ यही आइतबार क्वालालम्पुरस्थित एक होटलमा विशेष कार्यक्रमका बीच सार्वजनिक गर्ने तयारी गरिएको भीम घलान तामाङले जानकारी दिए।
डम्फु मिडिया हाउसबाट सार्वजनिक हुन लागेको म्युजिक भिडियोको छायांकन तथा सम्पादन कबिन योन्जनले गरेका हुन्। भिडियो निर्माण तथा सार्वजनिक गर्ने क्रममा जुगल लामाको समेत सहयोग रहेको जनाइएको छ।
मलेसियाका सुन्दर तथा रमणीय स्थानहरूमा छायांकन गरिएको भिडियोले दर्शक तथा स्रोताको मन जित्ने विश्वास गरिएको छ। छायांकार कबिन योन्जनले मलेसियाको प्राकृतिक सौन्दर्यलाई भिडियोमा आकर्षक ढंगले प्रस्तुत गरिएको बताए।
नेपाली कलाकार र सर्जकहरूको सक्रियता पुनः बढ्दै गएको अवस्थामा ‘तिम्रो माया’ ले मलेसियाबाट नेपाली संगीतमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।



