मुजफ्फरपुर प्रहरीले एक महिनामै समात्याे १,७६९ जना अभियुक्त

भारत बिहारको मुजफ्फरपुर प्रहरीले अपराध नियन्त्रणमा कडा नीति अपनाउँदै एक महिनामै उल्लेख्य कारबाही गरेको छ। जिल्ला प्रहरी प्रमुख एसएसपी कान्तेश कुमार मिश्रको कमान्डमा प्रहरीले अपराधी, फरार अभियुक्त, मदिरा तस्कर तथा ट्राफिक नियम उल्लंघन गर्नेविरुद्ध आक्रामक अभियान चलाएको हो।
एसएसपी मिश्रले आफ्नो कार्यकालमा अपराध नियन्त्रणमा ‘शून्य सहनशीलता’को नीति अघि सारेका छन्। कानुन उल्लंघन गर्ने जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउने उनको कार्यशैलीका कारण मुजफ्फरपुर प्रहरीको कारबाही अहिले चर्चामा छ।
सेप्टेम्बर २०२६ मा मात्रै प्रहरीले विभिन्न अपराधमा संलग्न १ हजार ७६९ जना लाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये ७८८ जनालाई जेल पठाइएको प्रहरीको तथ्यांकमा उल्लेख छ। त्यस्तै, मदिरासम्बन्धी घटनामा मात्रै १६३ जना पक्राउ परेका छन्।
अवैध मदिरा कारोबार नियन्त्रणमा पनि प्रहरीले विशेष अभियान चलाएको छ। सो अवधिमा प्रहरीले ८६९ लिटर घरेलु मदिरा र १५ हजार ९३२ लिटर विदेशी मदिरा बरामद गरेको जनाएको छ।
फरार अभियुक्त तथा अदालतबाट जारी भएका वारेन्ट कार्यान्वयनमा समेत प्रहरीले कडाइ गरेको छ। एक महिनाको अवधिमा ४ हजार ३७७ वटा वारेन्ट कार्यान्वयन गरिएको छ भने ३२० वटा मुद्दामा कुर्कीको ( फरार अभियुक्तको घर तोड फोड गर्ने ) कारबाही गरिएको छ।
सडकमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि पनि प्रहरीले कडा निगरानी बढाएको छ। सवारी जाँचका क्रममा नियम उल्लंघन गर्नेबाट ४१ लाख ४३ हजार ५०० रुपैयाँ जरिवाना असुल गरिएको छ।
प्रहरीको कारबाहीका क्रममा १९ थान हतियार, २२ राउन्ड गोली, ८ लाख १ हजार २२९ रुपैयाँ नगद तथा ५२ वटा सवारीसाधन समेत बरामद गरिएको छ।
मुजफ्फरपुर प्रहरीको पछिल्लो तथ्यांकले एसएसपी मिश्रको नेतृत्वमा अपराध नियन्त्रण, अवैध मदिरा कारोबार रोकथाम, फरार अभियुक्त पक्राउ तथा कानुन कार्यान्वयनमा प्रहरी आक्रामक रूपमा अघि बढेको देखाएको छ।
अपराधमा संलग्न जोसुकै भए पनि नछाड्ने र कानुनको दायरामा ल्याउने नीति लिएका एसएसपी मिश्रको ‘शून्य सहनशीलता’ कार्यशैली अहिले मुजफ्फरपुर प्रहरीको प्रमुख विशेषता बनेको देखिन्छ।



