भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान : ‘नेपाल उर्वर ठाउँ हो, निर्धक्क भएर लगानी गर्नुहोस्’

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीहरूलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन्। उनले सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटीजस्ता सम्भावनायुक्त क्षेत्रमा नयाँ लगानी गर्न तथा नेपालमा यसअघि नै लगानी गरिरहेका भारतीय व्यवसायीलाई आफ्नो लगानी विस्तार गर्न आग्रह गरेका हुन्।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले आइतबार नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा भारतीय उद्योग परिसंघ (सीआईआई) द्वारा आयोजित ‘इन्डिया–नेपाल बिजनेस राउन्ड टेबल’ कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन्।
सम्बोधनका क्रममा उनले नेपाल अहिले वैदेशिक लगानीका लागि उर्वर वातावरण र प्रशस्त सम्भावना भएको मुलुक रहेको उल्लेख गरे।
‘सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न म भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गर्दछु,’ उनले भने, ‘नेपालमा लगानी गरेकाहरूले लगानी विस्तार गर्नुहोस्। नेपाल अहिले लगानीका लागि उर्वर वातावरण र सम्भावना भएको ठाउँ हो।’
अर्थमन्त्री वाग्लेले नेपालमा वैदेशिक लगानी अभिवृद्धि गर्न सरकारले कानुनी तथा नीतिगत सुधारलाई सरल, सहज र लगानीमैत्री बनाउँदै लगेको जानकारी दिए।
उनका अनुसार लगानीकर्ताको पुँजी सुरक्षा, लगानीबाट प्राप्त हुने प्रतिफलको सुनिश्चितता तथा नाफा फिर्ता लैजाने प्रक्रियालाई कानुनी रूपमा सहज बनाउन सरकारले विशेष पहल गरिरहेको छ।
कार्यक्रममा भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिन प्रसाद तथा भारतीय उद्योग परिसंघ (सीआईआई) अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा. विक्रमजित सिंह साहनीलगायतले पनि सम्बोधन गरेका थिए।
नेपालका प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी उद्योगी तथा व्यवसायीका साथै डेढ दर्जनभन्दा बढी भारतीय उद्योगी, व्यवसायी र प्रतिष्ठित भारतीय कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको कार्यक्रममा सहभागिता रहेको थियो।
नेपाल र भारतका निजी क्षेत्रबीच लगानी तथा व्यावसायिक सहकार्यका सम्भावना पहिचान गर्ने उद्देश्यले आयोजित उक्त राउन्ड टेबलमा अर्थमन्त्री वाग्लेले नेपालमा लगानीको वर्तमान वातावरण, सम्भावित लगानीका क्षेत्र तथा सरकारले अघि बढाइरहेका नीतिगत र कानुनी सुधारका विषयमा प्रस्तुति दिएका थिए।



