
कलैया । बारा जिल्लाको कलैयामा Web Surfer Internet को इन्टरनेट सेवा तथा ग्राहक सेवाप्रति उपभोक्ताहरूले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। सेवा अवरुद्ध हुँदा समयमा प्राविधिक सहयोग नपाउने, सम्बन्धित प्राविधिकसँग सम्पर्क गर्न कठिन हुने तथा समस्या समाधानका लागि पटक–पटक फोन गर्नुपर्ने अवस्था रहेको उपभोक्ताहरूको गुनासो छ।
कलैयामा सेवा लिएका केही ग्राहकका अनुसार इन्टरनेट अवरुद्ध भएपछि सम्बन्धित प्राविधिकलाई सम्पर्क गर्न खोज्दा लामो समयसम्म फोन नलाग्ने वा सम्पर्क हुन नसक्ने समस्या देखिएको छ। पछिल्लो घटनामा समेत कलैयामा सेवा हेर्ने भनिएका प्राविधिकको मोबाइल नम्बरमा दिनभरि पटक–पटक सम्पर्क गर्दा फोन नलागेको र सेवा अवरुद्ध भएको समस्या समयमै समाधान हुन नसकेको उपभोक्ताको दाबी छ।
उपभोक्ताहरूको प्रश्न यतिमै सीमित छैन। यस विषयमा Web Surfer Internet को केन्द्रीय कार्यालयमा सम्पर्क गर्दा ‘हामी reseller गर्दैनौँ’ भन्ने जवाफ आएको बताइएको छ। यदि कम्पनीले reseller प्रणालीमार्फत सेवा सञ्चालन नगर्ने हो भने कलैयामा कम्पनीको नाममा इन्टरनेट सेवा कसरी सञ्चालन भइरहेको छ? स्थानीय तहमा सेवा उपलब्ध गराउने पक्ष कम्पनीसँग कुन प्रकारको सम्बन्धमा छ? ग्राहकबाट शुल्क कसले र कुन आधारमा उठाइरहेको छ? भन्ने प्रश्नसमेत उठेको छ।
नियमित रूपमा इन्टरनेट शुल्क तिर्ने उपभोक्ताले सेवा अवरुद्ध हुँदा तत्काल प्राविधिक सहयोग पाउनु आफ्नो अधिकार भएको बताएका छन्। इन्टरनेट सेवा अहिले व्यक्तिगत कामदेखि व्यवसाय, बैंकिङ, सञ्चार तथा कार्यालयीय गतिविधिसम्मका लागि अत्यावश्यक भइसकेकाले लामो समय सेवा अवरुद्ध हुँदा प्रत्यक्ष रूपमा आर्थिक तथा व्यावसायिक असर पर्ने उनीहरूको भनाइ छ।
स्थानीय उपभोक्ताहरूले Web Surfer को केन्द्रीय व्यवस्थापन र कलैयामा सेवा सञ्चालन गर्ने पक्षबीचको सम्बन्धबारे स्पष्ट जानकारी सार्वजनिक गर्न माग गरेका छन्। साथै, कलैयामा सेवा सञ्चालन गर्ने आधिकारिक निकाय वा प्रतिनिधि को हो, ग्राहक सेवा र प्राविधिक जिम्मेवारी कसको हो, शुल्क कसरी संकलन भइरहेको छ र सेवा अवरुद्ध हुँदा क्षतिपूर्ति वा समाधानको व्यवस्था के छ? भन्ने विषयमा कम्पनीले स्पष्ट जवाफ दिनुपर्ने उनीहरूको माग छ।
उपभोक्ताहरूले कम्पनी व्यवस्थापनसँग गुनासो सुनुवाइका लागि प्रभावकारी ग्राहक सेवा, २४ घण्टा प्राविधिक सम्पर्क व्यवस्था तथा सेवा अवरुद्ध हुँदा शीघ्र मर्मतको सुनिश्चितता गर्न आग्रह गरेका छन्।
यस विषयमा Web Surfer Internet को केन्द्रीय व्यवस्थापन र कलैयामा सेवा उपलब्ध गराउने सम्बन्धित पक्षको आधिकारिक धारणा प्राप्त भएपछि समाचारलाई थप स्पष्ट र तथ्यपरक रूपमा अगाडि बढाइनेछ।



