सहकारी अपचलन : नक्कली कम्पनी खडा गरेर विदेश लगिँदै रकम, सञ्चालक उतै सेटल

12

काठमाडौं । मितेरी सहकारी ठगी प्रकरणमा जोडिएको आरोप लागेका ज्योतिबहादुर भण्डारीलाई जब प्रहरीले पक्राउ गरी अनुसन्धान गर्‍यो, अनुसन्धान अधिृकतहरू नै चकित परे ।

सहकारी ठगीमा जोडिएको भन्दै मुद्दा चलाइएका भण्डारी न सहकारीको सञ्चालक थिए, न सदस्य नै । तर सहकारी ठगी जालोको मुख्य केन्द्रमा भण्डारी रहेको प्रारम्भिक अनुसन्धानले खुट्याइसकेको थियो ।

त्यसै कारण भण्डारीलाई पक्राउ गर्न नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंको पत्रमार्फत इन्टरपोलले रेड नोटिससमेत जारी गर्‍यो । भण्डारीलाई कम्बोडियामा पक्राउ गरी ४ असार राति काठमाडौं ल्याएर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरेको थियो ।

भण्डारीको नेक्सस, सहकारी ठगीको कनेक्सन र यसरी आर्जन गरिएको अकुत रकमको गन्तव्यसम्म खोजी गर्दा सीआईबीले नयाँ तथ्य पत्ता लगायो- सहकारीको रकम कम्बोडियामा लगानी ।

सहकारीसँग कुनै साइनो नै नरहेका ज्योतिबहादुरले अर्का ज्योति गुरुङमार्फत रकम विदेश लगेर मोजमस्ती, घुमफिरमा मात्रै खर्च गरेनन् क्यासिनोदेखि ‘एल्लो चिल्ली’ नामको रेष्टुरेन्ट समेत चलाए । कपडा पसल खोले ।

सीआईबीका एसएसपी होविन्द्र बोगटीका अनुसार यो सहकारीको अधिकांश रकम विदेश पुगेको देखिएको छ ।

करिब दुई महिना लगाएर गरेको अनुसन्धानबाट बचतकर्ताको १४ करोड रुपैयाँभन्दा बढी रकम सहकारीकी तत्कालीन महाप्रबन्धक तथा कांग्रेस उपभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङले ज्योतिबहादुर भण्डारीमार्फत विदेश पुर्‍याएको खुल्यो ।

ज्योति भण्डारी र ज्योति गरुङ ।

सहकारीको यो रकमबाट उनीहरूले थाइल्यान्ड, कम्बोडिया, अमेरिकासम्मको भ्रमण गरे । विश्वस्त स्रोतका अनुसार रेड नोटिस जारी भएकी धनराजकी पूर्वपत्नी सहकारीको केही रकम लिएर अहिले अमेरिकामै बसोबास गरिरहेकी छिन् ।

उनै ज्योति गुरुङमार्फत रकम लिएर हुन्डी, क्रिप्टोमार्फत विदेश लगेर उतै लगानी गरेका ज्योति भण्डारी भने पक्राउ परेर अहिले हिरासतमा छन् ।

सीआईबीले यो प्रकरणको अनुसन्धान सकेर बुझाएको प्रतिदेनको आधारमा १ भदौमा अदालतमा ८ जनाविरुद्ध मुद्दा दर्ता गर्‍यो । न्यायाधीश निर्मला योङ्याको सोमबारको इजलासले ज्योतिबहादुर भण्डारी र सुवास खत्रीलाई पुर्पक्षका लागि कारागार पठायो । सुरेश अधिकारी भने ७ लाख धरौटीमा रिहा भए ।

यो मुद्दाका प्रतिवादीमध्ये भण्डारी, खत्री र अधिकारी गरी तीनजना पक्राउ परेका थिए । खत्री र अधिकारी तिनै व्यक्ति हुन् जसले सहकारीको रकम विदेश पुर्‍याउने मुख्य भूमिका खेलेको बताइन्छ । खत्री त यसअघि पनि हुण्डीको रकम र नक्कली नोटसहित पक्राउ परेका व्यक्ति हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खत्रीलाई ७ कात्तिक २०८१ मा १० लाख नक्कली नोट लिएर बैंकमा जम्मा गर्न गएपछि पक्राउ गरेको थियो । १० असार २०७३ मा उनी हुन्डी कारोबारको ३६ लाख रुपैयाँसहित काठमाडौंबाट पक्राउ परेका थिए ।

मितेरी सहकारी ठगी प्रकरणमा जोडिएकाहरूको रकम मागदाबी करिब ७ अर्बको छ । ६ अर्ब ७४ करोडभन्दा बढीको त क्रिप्टो कारोबार गरेको तथ्यबाटै पुष्टि हुन्छ । तर उनीहरू पक्राउ पर्दा न त्यत्रो रकमको सम्पत्ति नेपालमा भेटिन्छ न उनीहरूको बैंक खातामै मौज्दात हुन्छ । यसको मुख्य कारण भनेकै अपचलन गरेको सम्पत्ति विदेशमा लगेर लगानी गर्ने, मोजमस्ती गरेर मास्ने प्रवृत्ति देखिएको अनुसन्धान अधिकृतहरूको भनाइ छ ।

०००

मितेरी सहकारीको मात्रै होइन, अन्य सहकारीको रकम पनि विदेश पुगेको अनुसन्धानले देखाएको छ । पोखराको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी, सहारा चितवन, पर्साको सानो पाइला, बुटवलको सुप्रिम सहकारीका मुख्य प्रतिवादी जीबी (गितेन्द्रबाबु) राईले केही रकम विदेश लगेको अनुसन्धानमा संलग्नहरू बताउँछन् ।

सहकारीको ठूलो रकम ग्यालेक्सी फोर के टेलिभिजनमा लगानी गरेर डुबाएका जीबीले केही रकम भने विदेश पुर्‍याएको जानकारहरू बताउँछन् । जीबी राई मलेसियामा रहेको दाबी गरिएको छ । नेपालले पटक-पटक अनुरोध गर्दा पनि जीबीलाई मलेसियाले फिर्ता नगर्नुको कारणमै उनले नेपालबाट लगेको रकम रहेको दाबीसमेत गरिएको छ ।

प्रहरी स्रोतका अनुसार जीबी क्वालालम्पुरस्थित देशापन्डनमा अपार्टमेन्टमा बसेका छन् । ७ करोड नेपाली रुपैयाँभन्दा बढीमा उनले अपार्टमेन्ट खरिद गरेको दाबी प्रहरी स्रोतको छ ।

सहकारीको १ अर्बभन्दा बढी रकम जीबीले मलेसिया लगेर लगानी गरेको दाबी प्रहरीको छ । मलेसिया सरकारको ‘मेक मलेसिया माई सेकेन्ड होम’ अवधारणाअनुसार तोकिएको रकम मलेसियाली सरकारलाई तिरेपछि मलेसियाको नागरिक सरह बस्न मिल्छ । सोहीअनुसार जीबी मलेसियामा गएर बसेको प्रहरी स्रोतको भनाइ छ ।

जीबी (गितेन्द्रबाबु) राई ।

मलेसियामा कुनै अपराध नगरेको, अर्ब बढीको लगानी गरेर रोजगारीसमेत दिएको व्यक्तिलाई मलेसिया सरकारले सम्बन्धित देशमा पठाउन चाहँदैन । जीबी पनि मलेसियाको ‘सेकेन्ड होम भिसा’ अवधारणाअनुसार बसिरहेको प्रहरी अधिकारीहरू बताउँछन् ।

मलेसियामै रहेको पत्ता लाग्दा पनि जीबी सुरक्षित रहेको तत्कालीन प्रहरी महानिरीक्षक बसन्त कुँवरले बताएका थिए ।

‘जीबीविरुद्ध रेड नोटिस जारी भइसक्यो, तर मलेसियासँग सुपुर्दगी सन्धि नहुँदा समस्या भएको छ,’ १५ चैत २०८० मा संसद्को राज्यव्यवस्था समिति बैठकमा कुँवरले भनेका थिए ।

जीबी समूहकै सहकारीमा जोडिएका उनका जेठान तथा सहकारीका पूर्वअध्यक्ष डीबी (ज्ञानबहादुर) बम्जन आइतबार सुटुक्क कास्की जिल्ला अदालत हाजिर भए । १० लाख धरौटी तिरेर रिहा भए । तर सहकारीको करिब १६ अर्ब बढी अपचलन भएको रकम कहाँ छ, कसले कहाँ लग्यो भन्ने गौण रह्यो ।

सहकारी रकम अपचलनमा व्यक्ति पक्राउ परे पनि ठगीको रकम कहाँ लगेर लगानी भयो भन्नेबारे कमै मात्रामा पत्ता लाग्ने गरेको छ । ठूला भनिएका सहकारी ठगीमा जोडिएका व्यक्तिहरूले रकम विदेश लैजाने प्रवृत्ति देखिएको अनुसन्धान अधिकृतहरू छन् ।

०००

ललितपुरको सुमेरु सहकारीका बचतकर्ताको रकम नपाएर बिचल्ली हुँदा यो सहकारीका सञ्चालक भरत महर्जन भने सपरिवार बेलायतमा मस्त छन् । महर्जनको सहकारीले मात्रै बचतकर्ताको १० अर्ब ३४ करोड रुपैयाँ भन्दा बढी रकम अपचलन गरेको आरोप छ ।

ठगी प्रकरणका मुख्य नाइके भरत महर्जनले विभिन्न कम्पनी र केही व्यक्तिको नाममा ऋण लगेको सीआईबीको अनुसन्धानबाट खुलेको थियो । सुमेरु सामुदायिक अस्पताल, सुमेरु सिटी अस्पताल, एसियन कलेज, सुमेरु हाउजिङ एन्ड डेभलपमेन्ट, सुमेरु किड्नी अस्पताल, सातदोबाटो चोक कन्स्ट्रक्सन लगायत लगानी गरेको देखिएको थियो ।

तर, लगानी गरेको भनिएका यी कम्पनीका बारेमा सीआईबीले अनुसन्धान गर्दा केही सञ्चालनमै नरहेको र केही भने बन्द भइसकेको पाइएको छ । विभिन्न कम्पनीमा लगानी गरेको देखाएर उनले केही रकम भने बेलायत पुर्‍याएको दाबी सीआईबीका अनुसन्धान अधिकृतहरूको छ ।

भरत महर्जन ।

‘केही रकम यहीँ लगानी गरेको देखिन्छ । केही रकम भने महर्जनले बेलायत पुर्‍याएको भेटिन्छ,’ ती अधिकृत भन्छन्, ‘कतिसम्म भने, महर्जनले अमृतराज उपाध्यक्ष र विश्वास भट्टराईको नाममा पनि ऋण लिएको देखाएका थिए । तर ती नामका व्यक्तिहरू नै फेला परेनन् ।’

प्रहरीका अनुसार, सहकारीको रकम लगानी गरिएको भनिएका अधिकांश कम्पनीहरू उनी बेलायत भाग्नु केही महिना अघिसम्म उनको एकल सेयर स्वामित्वमा थिए । बेलायत भाग्ने निश्चित भएपछि वर्तमान सञ्चालक समितिलाई सेयर बाँडेका थिए ।

सहकारीको रकम बेलायत लगेर भरत महर्जनसँगै उनकी श्रीमती राजमाया, छोरा सचिन, छोरी सरला बसोबास गरेको खुलेको थियो । सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले समेत उनीहरू सपरिवारलाई नेपाल झिकाउनुपर्ने भन्दै सरकारलाई सुझाव दिएको थियो ।

महर्जनलाई नेपाल ल्याउन भन्दै १९ माघ २०८० मा रेड नोटिस पनि जारी भयो । तर उनी अहिलेसम्म बेलायतमै सुरक्षित रहेको बताइन्छ ।

Leave a comment