
कलैया (बारा) — बाराको कलैयास्थित यातायात व्यवस्था कार्यालयमा बिचौलियाको सक्रियता अझै रोकिएको छैन। कार्यालय परिसर तथा मुख्य प्रवेशद्वार आसपास खुलेआम बिचौलियाहरू बस्ने, सेवाग्राहीलाई फकाउने र विभिन्न काम गराइदिने भन्दै रकम असुल्ने गरेको स्थानीयको गुनासो छ।
स्थानीयका अनुसार लाइसेन्स, सवारी दर्ता, नामसारी, नवीकरण तथा अन्य प्रशासनिक कामका लागि आउने सेवाग्राहीलाई कर्मचारीसँग चिनजान भएको भन्दै छिटो काम गराइदिने प्रलोभन देखाएर अतिरिक्त रकम असुल्ने गरिएको छ। विशेषगरी पहिलो पटक सेवा लिन आउने नागरिक यसबाट बढी प्रभावित हुने गरेका छन्।
स्थानीयले कार्यालय अगाडि नै यस्तो गतिविधि भइरहँदा सम्बन्धित निकायको प्रभावकारी निगरानी नदेखिएको बताएका छन्। कार्यालय परिसर नजिकै सुरक्षा निकायको उपस्थिति रहे पनि बिचौलियाको गतिविधि निर्बाध रूपमा चलिरहेको उनीहरूको दाबी छ।
यातायात व्यवस्था कार्यालयले सेवाग्राहीलाई कुनै पनि कामका लागि बिचौलियाको प्रयोग नगर्न र तोकिएको राजस्वबाहेक अतिरिक्त रकम नतिर्न पटक–पटक आग्रह गर्दै आएको भए पनि व्यवहारमा त्यसको प्रभाव देखिन नसकेको स्थानीयको भनाइ छ।
स्थानीय तथा सेवाग्राहीले कार्यालय परिसरलाई बिचौलियामुक्त घोषणा गर्दै नियमित अनुगमन, निगरानी बढाउन, संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न तथा सेवाप्रवाहलाई अझ पारदर्शी, सहज र प्रभावकारी बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।



