समाचारसमाज

विधानविपरीत निर्णय सच्याउन लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको सिडियो कार्यालयसङ्ग माग

काठमाडौं ,नेपाल लोकतान्त्रिक वैदेशिक रोजगारी व्यवसायी एसोसिएसनले संस्थाको विधानविपरीत निर्णय गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंको ध्यानाकर्षण गराएको छ। सोमबार कार्यवाहक अध्यक्ष सुवर्ण लामाको नेतृत्वमा एसोसिएसनले प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई ज्ञापनपत्र बुझाउँदै गत असार २२ गते गरिएको निर्णय सच्याउन माग गरेको हो।

गत असार ५ गते सम्पन्न १३औँ साधारणसभा तथा अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित रामप्रसाद गैरेलाई हटाएर निर्वाचनमा पराजित उम्मेदवार किशोरकुमार केसीलाई अध्यक्षको जिम्मेवारी तोक्ने जिल्ला प्रशासन कार्यालयको निर्णय संस्थाको विधानविपरीत रहेको एसोसिएसनको दाबी छ।

एसोसिएसनले संस्थाको विधानको दफा १३ को उपदफा (४) अनुसार अध्यक्षको पद रिक्त भएमा नयाँ निर्वाचन प्रक्रियाबाट मात्रै पदपूर्ति गर्न सकिने व्यवस्था रहेको उल्लेख गर्दै पराजित उम्मेदवारलाई अध्यक्ष तोक्ने निर्णय स्वीकार्य नहुने जनाएको छ।

ज्ञापनपत्र बुझाउने क्रममा कार्यवाहक अध्यक्ष सुवर्ण लामा, महासचिव सुमन पाण्डे, नवनिर्वाचित कार्यसमितिका पदाधिकारी, पूर्वअध्यक्ष, क्रियाशील सदस्य तथा निर्वाचन अधिकृतको उपस्थिति रहेको थियो।

कार्यवाहक अध्यक्ष सुवर्ण लामाले संस्था विधान र कानुनअनुसार नै अघि बढ्ने बताउँदै अध्यक्षको पद रिक्त हुने अवस्था आएमा अधिवेशनमार्फत निर्वाचन गराएर नेतृत्व चयन गरिने स्पष्ट पारे। “संस्थाको विधानले निर्धारण गरेको प्रक्रियाअनुसार नै नेतृत्व चयन हुन्छ। आवश्यक परे नयाँ अधिवेशन गरी अध्यक्ष निर्वाचित गरिनेछ,” उनले भने।

यस विषयमा कानुन व्यवसायीहरूले पनि नियम बिपरित भए अध्यक्षमाथि आवश्यक कानुनी कारबाही हुन सक्ने भए पनि निर्वाचनमा पराजित उम्मेदवारलाई प्रशासनिक निर्णयबाट अध्यक्ष बनाउन नमिल्ने धारणा राखेका छन्।

यस निर्णयले उत्पन्न विवाद अब कसरी समाधान हुन्छ भन्ने विषयलाई व्यवसायीहरूले चासोका साथ हेरिरहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button