
वीरगञ्ज,:=बाँकी रहेको तलब भुक्तानीको माग गर्दै वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरूले बिहीबार बिहानदेखि थालेको आन्दोलन वार्तापछि स्थगित भएको छ। कार्यवाहक नगर प्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरा र आन्दोलनरत कर्मचारीबीच भएको छलफलमा सहमति जुटेपछि कर्मचारीहरू काममा फर्किएका छन् भने महानगरका सम्पूर्ण सेवा पुनः नियमित रूपमा सञ्चालनमा आएका छन्।
स्थानीय निकाय कर्मचारी संघ (एमाले) समर्थित महानगर एकाइ समितिका अध्यक्ष मुकेश गुप्ताको नेतृत्वमा कर्मचारीहरूले जेठ र असार महिनाको बाँकी तलब तत्काल उपलब्ध गराउन माग गर्दै आन्दोलन गरेका थिए। आन्दोलनका कारण केही समय महानगरको दैनिक सेवा प्रभावित भएको थियो।
वार्तापछि जेठ महिनाको तलब तत्काल निकासा गर्ने सहमति भएको जनाइएको छ। उक्त सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित गरिएको कर्मचारी पक्षले जनाएको छ।
कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले कर्मचारीहरूको माग सम्बोधनका लागि आफूले यसअघि नै तलब निकासा गर्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै संवाद र सहमतिमार्फत समस्या समाधान भएको बताउनुभयो। उहाँले महानगरको सेवा अवरुद्ध हुने अवस्था सिर्जना हुनु उचित नभएको धारणा पनि राख्नुभयो।
महानगर स्रोतका अनुसार यसअघि लामो समयदेखि रोकिएको स्थायी कर्मचारीहरूको तीन महिनाको तथा करार कर्मचारीहरूको चार महिनाको बक्यौता तलब कार्यवाहक प्रमुख आलमको कार्यकालमा निकासा गरिएको थियो। हाल बाँकी रहेको तलब भुक्तानीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको महानगरले जनाएको छ।
वार्ताबाट सहमति जुटेपछि महानगरका प्रशासनिक सेवा, दैनिक कार्यसम्पादन तथा नागरिक सेवा पुनः सुचारु भएको छ। कर्मचारी र महानगर नेतृत्वबीच आगामी दिनमा पनि संवादमार्फत समस्या समाधान गर्ने समझदारी बनेको बताइएको छ।



