
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले सडक विस्तारको काम र वर्षायामका कारण उत्पन्न हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै नगरप्रहरीलाई २४सै घण्टा तयारी अवस्थामा (अलर्ट) रहन निर्देशन दिएका छन्।
मंगलबार महानगरपालिकामा आयोजित नगरप्रहरीको रोलकल (हाजिरी तथा निरीक्षण) कार्यक्रममा कार्यवाहक प्रमुख आलम र प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहराले संयुक्त रूपमा नगरप्रहरीलाई नागरिकको सुरक्षा र सेवामा सधैं तत्पर रहन आग्रह गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख आलमले सडक विस्तारका कारण सहरका विभिन्न स्थानमा आवागमन, ट्राफिक व्यवस्थापन र नाला सञ्चालनमा समस्या देखिएको तथा वर्षायामले थप चुनौती सिर्जना गरेको उल्लेख गर्दै नगरप्रहरीको भूमिका अहिले झनै महत्वपूर्ण बनेको बताए।
“अहिले वीरगञ्जबासीलाई हाम्रो ठूलो आवश्यकता छ। सडक विस्तारका कारण सहर केही अस्तव्यस्त बनेको छ। वर्षाको मौसमले चुनौती थपेको छ। यस्तो अवस्थामा नागरिकको अपेक्षाअनुसार सेवा दिनु हाम्रो दायित्व हो,” आलमले भने।
उनले नगरप्रहरीलाई चौबिसै घण्टा नागरिकको सेवामा खटिन, आपत्कालीन अवस्थाको तत्काल व्यवस्थापन गर्न र जिम्मेवारीप्रति प्रतिबद्ध हुन निर्देशन दिए।
प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहराले सीमित स्रोत–साधनका बाबजुद नगरप्रहरीले सार्वजनिक सम्पत्ति र नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए। नगरप्रहरीलाई आवश्यक उपकरण तथा सामग्री उपलब्ध गराउने तयारी भइरहेको जानकारी पनि उनले दिए।
अनुशासन कर्मचारीको सबैभन्दा ठूलो पहिचान भएको उल्लेख गर्दै बोहराले सबै कर्मचारीले ‘चेन अफ कमान्ड’ को पालना गर्नुपर्नेमा जोड दिए। उनले अनुशासनहीन गतिविधि सह्य नहुने स्पष्ट पार्दै आवश्यक परे कानुनी कारबाही गरिने चेतावनीसमेत दिए।
रोलकल कार्यक्रममा नगरप्रहरीसम्बन्धी विभिन्न गुनासोबारे पनि छलफल भएको थियो। साथै, निकट भविष्यमै हुने गहवामाई रथयात्रा को सुरक्षा व्यवस्थालाई प्रभावकारी र व्यवस्थित बनाउन नगरप्रहरीलाई विशेष निर्देशन दिइएको महानगरपालिकाले जनाएको छ।



