राजनीति

मुलुकको अर्थतन्त्र ‘मन्दीतर्फ’

काठमाडौँ,  । मुलुकको अर्थतन्त्र ‘मन्दीतर्फ उन्मुख’ भएको छ। एकातर्फ वस्तु तथा सेवाको उत्पादन र मागमा निरन्तर गिरावट आएको छ भने अर्कातर्फ आर्थिक वृद्धिदरमा संकुचन देखिएको छ। आर्थिक क्रियाकलाप शिथिल हुँदै जाँदा अर्थतन्त्रमा समस्या देखिएको हो। अर्थतन्त्रमा देखिएको संकुचनले आर्थिक वृद्धिदरमा प्रत्यक्ष असर पुगेको छ।

तथ्यांक विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९-८० को पहिलो त्रैमासमा आर्थिक वृद्धि ०.८ प्रतिशतमा सीमित भएको छ। गत वर्ष सोही अवधिमा आर्थिक वृद्धिदर ३ प्रतिशत थियो। सरकारले चालु आवमा आर्थिक वृद्धिको लक्ष्य ८ प्रतिशत राखेको थियो। राष्ट्रिय योजना आयोगका अनुसार संशोधित अनुमानअनुसार आर्थिक वृद्धिदरको लक्ष्य ४.५ प्रतिशत हुनेछ।

चालु आवको पहिलो त्रैमाससम्मको तथ्यांकले आर्थिक वृद्धि ०.८ प्रतिशत मात्र सीमित देखिएकाले अर्थतन्त्र मन्दीतर्फ उन्मुख भएको अर्थविज्ञहरूले बताएका छन्। अर्थतन्त्र मन्दीतर्फ उन्मुख भएको संकेत देखिएको अर्थविज्ञ डा. डिल्लीराज खनालले बताए। ‘अर्थतन्त्रका सूचकांकले खतरा देखाएको छ,’ उनले भने। उद्योगको उत्पादनमा कमी, उच्च मूल्यवृद्धि, क्रयशक्तिमा कमी, निजी क्षेत्रको निराशा, आर्थिक क्रियाकलापमा सुस्ततालगायत कारणले अर्थतन्त्र मन्दीतर्फ उन्मुख भएको खनालले बताए। ‘उद्योगको उत्पादन घटेको छ,’ खनालले भने, ‘सबैतर्फ नकारात्मक असर देखिएको छ।’

अर्थतन्त्रमा चुनौती थपिँदै गएको अर्थ मन्त्रालयले पनि स्वीकार गरेको छ। सरकारले लिएको लक्ष्य पूरा हुने नदेखिएपछि अर्थमन्त्री विष्णु पौडेलले चालु आवको बजेटको मध्यावधि समीक्षामार्फत खर्च र राजस्वका सबै लक्ष्य घटाएका थिए। माग र आपूर्तिको चक्र प्रभावित भएको छ। कर्जा विस्तारमा निकै कमी आएको छ। उद्योग व्यवसाय संकुचनतर्फ गएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button