अन्तराष्ट्रिय

जी–सेभेनकाे बैठकले हाम्रो बद्नाम गर्न खाेज्याे : चिनियाँ विदेश मन्त्रालय

काठमाडौं । चीनले उन्नत अर्थतन्त्र भएका युरोपेली संघसहित सात राष्ट्रको अन्तरसरकारी अन्तरराष्ट्रिय राजनीतिक मञ्च जी–सेभेनले आफ्नो बदनाम गर्ने प्रयास गरेको बताएको छ ।

जी–सेभेनका विदेशमन्त्रीको आज जापानमा सम्पन्न बैठकबाट चीनलाई दुर्भावनापूर्ण निन्दा र बदनाम गर्ने प्रयास भएको बेइजिङको भनाई छ ।
बैठकले चीनको गम्भीर अडान र वस्तुनिष्ठ तथ्यलाई बेवास्ता गरेको, चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको तथा द्वेषपूर्ण रूपमा चीनको निन्दा र बदनाम गरेको बेइजिङले बताएको छ ।

जी–सेभेनका विदेशमन्त्रीहरूले ताइवान, पूर्वी तथा दक्षिण चीन सागर, सिनजियाङ र तिब्बतसँग सम्बन्धित विषयका बारेमा चिन्ता व्यक्त गर्दै जारी गरेको संयुक्त विज्ञप्तिबारे चिनियाँ विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफमा विदेश मन्त्रालयका प्रवक्ता वाङ बेनविनले जापानलगायत समूहको आलोचना गर्दै अहङ्कार, पूर्वाग्रह, चीनको विरोध एवम् दमन गर्ने दुष्ट मनसायबाट विज्ञप्ति जारी भएको बताए ।
संयुक्त वक्तव्यप्रति आपत्ति जनाउँदै प्रवक्ता वाङले त्यसको विरोध गरे । साथै, उनले ताइवान चीनको अविभाज्य भाग भएको दोर्होयाए । आफ्नै संविधान र सरकार भएको ताइवान एक स्वशासित टापु हो । सत्तरी वर्षअघि आफूबाट अलग भएको ताइवानलाई चीनले आफ्नै प्रान्तका रूपमा लिएको छ र आवश्यक परे बल प्रयोग गरेर मुख्यभूमिमा विलय गर्न सक्ने चेतावनी दिँदै आएको छ ।

राष्ट्रको ‘एक चीन’ सिद्धान्त अनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध कायम गर्न नसक्ने बताउँदै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button