
काठमाडौं(जस)– पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको छ । वीरेन्द्रनगरस्थित शुभम होटलमा सोमबार आयोजित एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठनसम्बन्धी कार्यक्रममा सहभागी भइरहेकै बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पूर्वअर्थमन्त्री समेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको पक्राउबारे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी गराएको छ । जिप्रकाले कर्णाली प्रदेश प्रहरी कार्यालयलाई औपचारिक जानकारी गराएको हो । सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका पौडेलबारे सुर्खेत प्रहरीले पत्राचार गर्दै विस्तृत विवरण सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) कविन्द्र सिंह बोहराले कर्णाली प्रदेश प्रहरी कार्यालयलाई पठाएको पत्रअनुसार पौडेललाई साँझ सवा ५ बजे वीरेन्द्रनगर नगरपालिका–३ स्थित ’शुभ होटल’ बाट नियन्त्रणमा लिइएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोकबाट प्राप्त पत्र र इमेलका आधारमा प्रहरीले पौडेलको खोजी गरेको थियो । विभागले पौडेलमाथि सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा २१ बमोजिमको कसुरमा अनुसन्धान भइरहेको भन्दै पक्राउ गरेर उपस्थित गराइदिन सुर्खेत प्रहरीलाई अनुरोध गरेको पत्रमा उल्लेख छ । प्रहरीका अनुसार विभागबाट जरुरी पक्राउ पुर्जीसहितको पत्र प्राप्त भएपछि सुर्खेतमा उनको खोजतलास सुरु गरिएको थियो । हाल ललितपुरको सैंबु आवास क्षेत्रमा बस्दै आएका पौडेललाई सुर्खेतको होटलमा फेला पारेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिप्रका सुर्खेतले प्रदेश कार्यालयलाई गराएको जानकारी अनुसार पक्राउ परेका पौडेललाई आवश्यक कानुनी प्रक्रियाका लागि सक्कल कागजातसहित विभाग पठाइसकिएको छ । उनलाई विभागमा बुझाउनका लागि प्रहरी नायव निरीक्षक (सई) श्याम प्रसाद यादवको जिम्मा लगाइएको सुर्खेत प्रहरीले जनाएको छ । सुर्खेत प्रहरीले सो जानकारीको बोधार्थ नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय र प्रदेश प्रहरी कार्यालय नेपालगन्जलाई समेत पठाएको छ ।
सुर्खेतबाट काठमाडौंका लागि सिधा हवाई उडान उपलब्ध नभएपछि प्रहरीले उनलाई सडक मार्ग हुँदै नेपालगञ्ज पु¥याइएको छ । सुर्खेतका प्रहरी प्रमुख (एसपी) ठाकुरप्रसाद पौडेलले आफैं होटल पुगेर पौडेललाई आफ्नै गाडीमा राखेर नेपालगञ्जतर्फ लगेका हुन् । उनलाई सोमबार राति नेपालगञ्जमै राखेर भोलि मंगलबार बिहानको उडानबाट काठमाडौं ल्याउने तयारी प्रहरीले गरेको छ । विभागले पौडेलको शंकास्पद सेयर कारोबार र विवादित व्यवसायी दीपक भट्टसँगको सम्बन्धबारे अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नुअघि विभागको टोलीले पौडेलको ललितपुरस्थित भैसेपाटी निवासमा छापा मारेर केही कागजातहरू समेत नियन्त्रणमा लिएको थियो । सम्पत्ति शुद्धीकरणको कसुरमा उपाध्यक्ष पौडेललाई सोमबार साँझ ६ः०० पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद जानकारी दिए । उनका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलको सभाहलबाट पक्राउ गरिएको हो ।
पौडेललाई सोमबारै काठमाडौँ पठाउनका लागि स्थलगत मार्गबाट सुर्खेत प्रहरीले नेपालगञ्ज लिएर गएको प्रहरी उपरीक्षक पौडेलले बताए । पूर्वअर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष बुटवल उपमहानगरपालिका–९ रुपन्देही घर भई हाल ललितपुर महानगरपालिका–२५ ललितपुरस्थित सैबु आवास आयोजनामा बसोबास गर्दै आएको प्रहरीले जनाएको छ । उनलाई प्रहरी उपरीक्षक पौडेलको नेतृत्वमा १० विशेष प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ । उक्त कार्यक्रममा एमालेका अन्य शीर्ष नेताहरू शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा र बादल लगायतको पनि उपस्थिति थियो ।
विष्णु पौडेलको गिरफ्तारी राजनीतिक प्रतिशोध
नेकपा (एमाले)का सचिव महेश बस्नेतले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध भनेका छन्।सामाजिक सञ्जालमा लेख्दै सचिव बस्नेतले फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोध साँधिएको भन्दै यसको प्रतिवाद गर्न पार्टी पंक्तिलाई आह्वान गरेका हुन् ।
सचिव बस्नेतले कानुनी राज्यमा तथ्य र प्रमाणको निष्पक्ष परीक्षणपछि मात्र कानुनी प्रक्रिया अघि बढ्नुपर्नेमा जोड दिएका छन ्उनले लेखेका छन्, ‘फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोधको भावनाले प्रेरित भएर गिरफ्तारी गरिनु उचित मान्न सकिँदैन ।’ उनले यस घटनालाई केवल एउटा व्यक्तिसँग सम्बन्धित नभई लोकतान्त्रिक अधिकार र विधिको शासनसँग जोडिएको विषयका रूपमा बुझ्न आग्रह गरेका छन् । बस्नेतले पार्टी कार्यकर्ताहरूलाई ‘कुखुरा म¥यो’ भन्दा पनि ‘श्याल पल्कियो’ भन्ने चेतका साथ प्रतिवादमा उत्रन भनेका छन्। ‘आज एक व्यक्तिमाथि भएको अन्याय भोलि समग्र राजनीतिक प्रणालीमाथिको आक्रमण बन्न सक्छ,’ बस्नेतले भनेका छन् ।
विष्णु पौडेलको गिरफ्तारी अलोकतान्त्रिक र नांगो प्रतिशोध : एमाले
नेकपा (एमाले) ले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई सरकारको नाङ्गो प्रतिशोधको रूपमा व्याख्या गर्दै त्यसको घोर निन्दा र भत्र्सना गरेको छ । पार्टीको सांगठनिक सुदृढीकरण अभियानका सिलसिलामा सुर्खेतमा रहेका बेला पौडेललाई गैरकानुनी ढंगले ‘अपहरणको शैली’ मा नियन्त्रणमा लिइएको भन्दै एमालेले गम्भीर आपत्ति प्रकट गरेको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज एक प्रेस वक्तव्य जारी गर्दै यस घटनालाई विपक्षी दलहरू विरुद्ध वर्तमान सरकारले अख्तियार गरेको अराजनीतिक र अलोकतान्त्रिक हर्कतको पराकाष्ठा भएको बताएका छन् । एमालेले उपाध्यक्ष पौडेलको गिरफ्तारीलाई पार्टीमाथि भइरहेको श्रृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता भएको ठहर गरेको छ । सुर्खेतको कार्यक्रम सकेर मंगलबार नै काठमाडौँ फर्कने पूर्वनिर्धारित कार्यतालिका रहेकै अवस्थामा सामान्य सोधपुछ समेत नगरी ‘सस्तो राजनीतिक खपत’ का लागि बदनियतपूर्वक समातिएको एमालेको आरोप छ ।
वक्तव्यमार्फत अध्यक्ष ओलीले वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादको बाटोमा उन्मुख भएको भन्दै कडा चेतावनी दिएका छन । एमालेले यस्ता निकृष्ट र प्रतिशोधपूर्ण कार्य तत्काल बन्द गर्न माग गर्दै सरकारको स्वेच्छाचारी कदमका विरुद्ध एकजुट भएर प्रतिवाद गर्न सम्पूर्ण देशभक्त र न्यायप्रेमी शक्तिहरूलाई आह्वान समेत गरेको छ ।



