राजनीतिसमाचार

अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता र नागरिकका गोपनियताका हकमा बाधा गर्नु हुँदैन : पुन

काठमाडौँ — सरकारले विधेयकमार्फत संविधानले सुनिश्चितता गरेका अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र नागरिक गोपनियताका हकमा बाधा गर्न नहुने प्रमुख प्रतिपक्षी माओवादीका उपमहासचिव तथा सांसद वर्षमान पुनले बताएका छन् ।

 

प्रतिनिधिसभाको बुधबारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्तुत गरेको ‘सूचना, प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलका क्रममा सांसद पुनले उक्त धारणा राखेका हुन् ।

सरकारले ल्याएको विधेयकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान राखिएको भन्दै पुनले आपत्ति जनाए । ‘हामीले संविधानमा लिबरल व्यवस्था गरेका छौं । विधेयकमार्फत नागरिकका स्वतन्त्रता हनन् हुने खालका काम गर्न मिल्दैन,’ पुनले भने, ‘अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, नागरिकका गोपनियताका हकका कुरा छन् । यी कुरा कहीँ पनि बाधा नहुने गरी साइबर सुरक्षाको व्यवस्था गरिनुपर्छ,’ उनले भने ।

साइबर सुरक्षा राष्ट्रिय सुरक्षासँग जोडिएको विषय रहेको सांसद पुनको भनाइ थियो । दुनियाँभर साइबर सुरक्षा राष्ट्रिय सुरक्षाको चुनौतीका रुपमा रहेको भन्दै उनले विगतमा पनि पटकपटक नागरिक स्वतन्त्रतामा संकुचन हुने गरी ल्याइएका विधेयक विवादित भएर सरकार पछि हटेको स्मरण गराए ।

विधेयकमा रहेका नागरिक अधिकार र प्रेस स्वतन्त्रता लगायतका अधिकार संकुचन हुने प्रावधान संशोधनको प्रक्रियामार्फत सच्याएर विधेयक पारित हुनुपर्ने पुनको भनाइ थियो । कानुन निर्माण गर्दा विश्व समुदायलाई पनि आश्वस्त पारिनुपर्ने उनको धारणा थियो । ‘हामीले कानुन निर्माण गर्दा अन्तर्राष्ट्रिय मापदण्ड कायम गर्नुपर्छ, दुनियाँलाई विश्वास दिलाउनुपर्ने हुन्छ’, उनले भने ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका सूचना प्रविधि क्षेत्रका पछिल्ला विकासले नयाँ-नयाँ अवसर र चुनौतीसँगै ल्याएको भन्दै पुनले त्यो क्षेत्रलाई प्रबर्धन र नियमन सँगसँगै गर्नुपर्नेमा सरकार र सदनको ध्यान जानुपर्ने स्पष्ट गरे

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button