Banner Newsप्रदेशमधेससमाचारस्थानीय

महागढीमाई नगरपालिकाको १० औं नगरसभा सम्पन्न, ७२ करोड ८८ लाखको बजेट सार्वजनिक

बाराको महागढीमाई नगरपालिका ले आर्थिक वर्ष २०८३/०८४ का लागि ७२ करोड ८८ लाख रुपैयाँ बराबरको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १०औँ नगरसभाबाट प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिइएको छ ।

नगरसभामा नगर प्रमुख उपेन्द्र प्रसाद यादव ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै “समृद्ध, व्यवस्थित र वातावरणमैत्री महागढीमाई निर्माण” को दीर्घकालीन लक्ष्यसहित बजेट ल्याइएको बताउनुभयो । उहाँले विश्वप्रसिद्ध गढीमाई मन्दिर क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा नगरवासीको आधारभूत सेवामा पहुँच विस्तारलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

नगरपालिकाले कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउन किसान लक्षित विभिन्न कार्यक्रम अघि सारेको छ । बजेटमा ५० प्रतिशत अनुदानमा मलखाद वितरण, नयाँ कृषि सडक निर्माण, सिँचाइ सुविधा विस्तार, आधुनिक खेती प्रविधिको प्रयोग तथा कृषकलाई प्रोत्साहन गर्ने योजनाहरू समेटिएका छन् । कृषिलाई नगरको आर्थिक मेरुदण्डको रूपमा विकास गर्ने उद्देश्यले उत्पादन वृद्धि र रोजगारी सिर्जनामा जोड दिइएको नगरपालिकाले जनाएको छ ।

शिक्षा क्षेत्रतर्फ नगरपालिकाले प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्दै विद्यालयहरूमा अंग्रेजी माध्यमबाट पठनपाठन विस्तार गर्ने योजना अघि सारेको छ । विषयगत शिक्षक व्यवस्थापन, विद्यार्थी प्रोत्साहन कार्यक्रम, विद्यालयको भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक गुणस्तर सुधारका कार्यक्रमलाई समेत बजेटमा समावेश गरिएको छ । नगर प्रमुख यादवले गुणस्तरीय शिक्षा बिना समृद्ध समाज निर्माण सम्भव नभएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा दीर्घकालीन लगानी गरिने बताउनुभयो ।

स्वास्थ्य क्षेत्रतर्फ नगरपालिकाले २४ घण्टा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, न्यून शुल्कमा ल्याब सेवा उपलब्ध गराउने, अल्ट्रासाउन्ड तथा डायलासिस सेवा विस्तार गर्ने नीति लिएको छ । साथै नगर अस्पतालको भवन निर्माण, विशेषज्ञ चिकित्सकको व्यवस्थापन तथा ग्रामीण बस्तीमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने कार्यक्रम समेत बजेटमा समेटिएको छ ।

नगरपालिकाले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई पनि प्राथमिकतामा राखेको छ । मठमन्दिर, पाटीपौवा, ऐतिहासिक संरचनाको मर्मत सम्भार तथा संरक्षणका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । गढीमाई क्षेत्रलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्यको रूपमा विकास गर्न पूर्वाधार निर्माण, सरसफाइ तथा सौन्दर्यीकरणका योजना अघि सारिएको छ ।

त्यसैगरी वातावरणमैत्री नगर निर्माणका लागि वृक्षरोपण, फोहोर व्यवस्थापन, सरसफाइ अभियान तथा हरित क्षेत्र विस्तारका कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । अधुरा विकास निर्माणका आयोजनालाई तीव्र गतिमा सम्पन्न गर्ने तथा नगरभित्रका सडक, खानेपानी र अन्य पूर्वाधारलाई व्यवस्थित बनाउने नीति समेत नगरसभाबाट पारित गरिएको छ ।

नगरसभामा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, नागरिक समाज, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । सहभागीहरूले नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई विकासमुखी र जनमुखी बजेटको रूपमा टिप्पणी गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button