
कलैया –“कृषि र पूर्वाधार समृद्ध कलैयाको आधार” भन्ने मूल नारासहित कलैया उपमहानगरपालिकाको १७ औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। सर्बोतम होटल कलैया बारामा आयोजित अधिवेशनमा नगरप्रमुख बिनोद प्रसाद साहको अध्यक्षता रहेको थियो भने विशिष्ट अतिथिका रूपमा रोशन प्रविणको उपस्थिति रहेको थियो।
नगरसभामा प्रमुख प्रशासकीय अधिकृत रेशम लाल कंडेल, सम्पूर्ण वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू, कर्मचारी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन जिन्सी शाखा प्रमुख नवरत्न अधिकारीले गरेका थिए।
नगरसभामा नगरप्रमुख बिनोद प्रसाद साहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा रोजगारमुखी योजनालाई प्राथमिकतामा राखिएको बताए। उनले कलैयालाई आधुनिक, व्यवस्थित र आर्थिक रूपमा सबल नगरको रूपमा विकास गर्ने लक्ष्यसहित योजना अघि बढाइएको उल्लेख गरे।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत रेशम लाल कंडेलले आगामी आर्थिक वर्षका लागि प्रस्तावित बजेट प्रस्तुत गरेका थिए। प्रस्तुत विवरणअनुसार कलैया उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि कुल १ अर्ब ७६ करोड ६३ लाख रुपैयाँभन्दा बढीको बजेट प्रस्ताव गरेको छ।
प्रस्तावित बजेटमा संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, शर्त अनुदान, विशेष अनुदान तथा समपूरक अनुदानलाई प्रमुख आय स्रोतको रूपमा समेटिएको छ। त्यसैगरी प्रदेश सरकारतर्फबाट प्राप्त हुने विभिन्न अनुदान, राजस्व बाँडफाँड, स्थानीय राजस्व तथा आन्तरिक आयलाई पनि बजेटको आधार बनाइएको छ।
खर्चतर्फ चालु खर्चका लागि ठूलो हिस्सा विनियोजन गरिएको छ भने पूर्वाधार विकास, कार्यालय भवन, सडक, नाला, कृषि प्रवर्द्धन तथा नगरस्तरीय योजनाका लागि पूँजीगत बजेट छुट्याइएको छ। नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, सिंचाइ, युवा स्वरोजगार, महिला सशक्तीकरण तथा विपद् व्यवस्थापनलाई समेत प्राथमिकतामा राखेको जनाएको छ।
नगरसभामा सहभागी वडा अध्यक्षहरूले आ–आफ्ना वडाको आवश्यकता र विकास योजनाबारे धारणा राखेका थिए। अधिकांश जनप्रतिनिधिले बजेटलाई जनमुखी र विकास केन्द्रित बनाइएको प्रतिक्रिया दिएका थिए।
कार्यक्रममा बोल्दै नगरप्रमुख साहले कलैया उपमहानगरपालिकालाई कृषि उत्पादन, पूर्वाधार विस्तार र सुशासनको माध्यमबाट समृद्ध नगर बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले बजेट कार्यान्वयनमा पारदर्शिता, जनसहभागिता र प्रभावकारितामा विशेष ध्यान दिइने बताए।
नगरसभाले प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गरी आवश्यक सुझावसहित आगामी प्रक्रियामा अघि बढाउने निर्णय समेत गरेको जनाइएको छ।



