
देशभरका स्थानीय तहहरूमा नगरसभा तथा गाउँसभा सञ्चालन भइरहेका बेला रौतहटको परोहा नगरपालिका ले आफ्नो १०औँ नगरसभा भव्य रूपमा सम्पन्न गर्दै आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४९ करोड ६८ लाख ९७ हजार ४ सय ४४ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनमा बुधबार आयोजित नगरसभामा नगर प्रमुख शेख वकिल ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन्। प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सरसफाइ, सडक तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको जनाइएको छ।
नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख वकिलले नगरको समग्र विकास, सुशासन तथा जनमुखी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित बजेट ल्याइएको बताए। उनले अधुरा तथा अपूरा रहेका विकास योजनालाई आगामी आर्थिक वर्षमा पूर्णता दिइने प्रतिबद्धता व्यक्त गरे।
“एक समय जिल्लाकै पछाडि परेको स्थानीय तहका रूपमा चिनिएको परोहा नगरपालिका अहिले विकास र सेवा प्रवाहका क्षेत्रमा उल्लेखनीय प्रगति गर्न सफल भएको छ,” नगर प्रमुख वकिलले भने, “नगरको वर्तमान स्वरूप परिवर्तन हुनुमा नगरवासी, कर्मचारी प्रशासन तथा जनप्रतिनिधिहरूको महत्वपूर्ण योगदान रहेको छ।”
कार्यक्रमको प्रारम्भमा नगरपालिकाका इन्जिनियर दिपेन्द्र यादव ले स्वागत मन्तव्य व्यक्त गरेका थिए। नगरसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि विस्तृत छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको जनाइएको छ।
नगरसभामा उपप्रमुख सुगान्धी देवी, प्रमुख प्रशासकीय अधिकृत, वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, नगरसभा सदस्य, कर्मचारी, सञ्चारकर्मी, बुद्धिजीवी, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सहभागीहरूले नगरपालिकाले प्रस्तुत गरेको बजेट तथा कार्यक्रमले नगरको आर्थिक समृद्धि, पूर्वाधार विकास तथा नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए। साथै नगरको दिगो विकास, पारदर्शिता तथा उत्तरदायित्वलाई थप सुदृढ बनाउने साझा प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।
नगरपालिकाले प्रस्तुत गरेको बजेटले अधुरा विकास आयोजना सम्पन्न गर्नुका साथै नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्ने लक्ष्य लिएको जनाएको छ। सौहार्दपूर्ण तथा भव्य वातावरणमा सम्पन्न १०औँ नगरसभालाई परोहा नगरपालिकाको विकास यात्रामा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।



