
चितवन– चितवनको सौराहामा आयोजित ११औँ क्योरुगी तेक्वान्दो रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्स तथा ४औँ पुम्से सेमिनार तथा रिफ्रेसर कोर्स सफलतापूर्वक सम्पन्न भएको छ।
चितवन जिल्ला तेक्वान्दो संघको आयोजनामा सम्पन्न कार्यक्रममा देशभरबाट करिब २०० जना तेक्वान्दो प्रशिक्षक तथा रेफ्रीहरूको सहभागिता रहेको थियो। रेफ्री तथा प्रशिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहभागीहरूले आफूहरूलाई थप दक्ष, अद्यावधिक र परिस्कृत बनाउन महत्वपूर्ण सहयोग पुगेको बताएका छन्।
कार्यक्रममा सहभागीहरूले चितवन जिल्ला तेक्वान्दो संघले तेक्वान्दो खेलको विकास तथा प्रशिक्षक र रेफ्रीहरूको क्षमता अभिवृद्धिका लागि निरन्तर उल्लेखनीय काम गर्दै आएको भन्दै संघको नेतृत्व तथा कार्यसमितिको खुलेर प्रशंसा गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिका–८ का वडा अध्यक्ष, नगर खेलकुद विकास समितिका संयोजक तथा राष्ट्रिय तेक्वान्दो खेलाडी कृष्ण चौधरी ले यस्ता रिफ्रेसर कार्यक्रमले खेलाडी, प्रशिक्षक र रेफ्रीलाई समयअनुकूल ज्ञान र सीप हासिल गर्ने अवसर प्रदान गरेको बताए। उनले चितवन जिल्ला तेक्वान्दो संघको पहलको प्रशंसा गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
चितवन जिल्ला तेक्वान्दो संघका अध्यक्ष शैलेस श्रेष्ठ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले संघको मुख्य उद्देश्य वास्तविक खेलाडी तथा प्रशिक्षकको हितमा काम गर्नु रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता गुणस्तरीय कार्यक्रमलाई निरन्तरता दिने बताए। उनले कार्यक्रम सफल बनाउन संयोजक नारन नहर्की ले खेलेको अतुलनीय भूमिकाको प्रशंसा गर्दै आभार व्यक्त गरे।
कार्यक्रममा रत्ननगर–६ का वडा अध्यक्ष किरण महत्तो, प्रशिक्षक नर्वु लामा, तेक्वान्दो प्रशिक्षक रोसन खान, हिमालयन एकेडेमी मलेसियाका अध्यक्ष तथा नेपालीज फुटबल एसोसिएसन मलेसियाका अध्यक्ष सन्तोष भट्ट, जिल्ला कार्यसमितिका उपाध्यक्ष धनबहादुर दराई, कोषाध्यक्ष प्रदीप श्रेष्ठ, सदस्य अभिषेक गौतम, विनोद श्रेष्ठ, सुरज पौडेल लगायतको उपस्थिति रहेको चितवन जिल्ला तेक्वान्दो संघका सचिव विक्रम श्रेष्ठ ले जानकारी दिए।
समापन समारोहमा सहभागी प्रशिक्षक तथा रेफ्रीहरूलाई मायाको चिनो तथा सहभागिताको प्रमाणपत्र वितरण गरिएको थियो।



