Uncategorizedअन्तराष्ट्रियगैर आवासीय नेपाली संघ “एनआरएनएराजनीतिसमाचारसमाज

ग्वाङ्झाउमा एनआरएनएको ऐतिहासिक जमघट: ‘आरोहण २०२६’ को तयारी अन्तिम चरणमा, अर्थमन्त्री स्वर्णिम वाग्ले प्रमुख अतिथि।

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत एसिया प्रशान्त क्षेत्रको आयोजनामा तथा विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरूको सहकार्यमा आगामी अगस्ट १५ र १६, २०२६ मा चीनको ग्वाङ्झाउस्थित क्राउन प्लाजा होटल ग्वाङ्झाउ सिटी सेन्टर मा आयोजना हुने ११औँ एनआरएनए एसिया प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ।

आयोजकका अनुसार सम्मेलनको ८० प्रतिशतभन्दा बढी तयारी सम्पन्न भइसकेको छ भने बाँकी काम पनि निर्धारित समयभित्र पूरा हुने गरी तीव्र गतिमा अघि बढिरहेको छ।

“Rising Together, Leading Forward” भन्ने मूल नारासहित आयोजना हुन लागेको सम्मेलनलाई संस्थागत एकतापछिको गैरआवासीय नेपालीहरूको सबैभन्दा ठूलो, व्यवस्थित र नतिजामुखी क्षेत्रीय सम्मेलनका रूपमा लिइएको छ। सम्मेलनमा एसिया प्रशान्त क्षेत्रसहित विश्वका विभिन्न मुलुकबाट ६०० भन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।

एसिया प्रशान्त क्षेत्रीय संयोजक (आरसी) दीपक कँडेल ले सम्मेलनको सम्पूर्ण तयारी योजनाअनुसार अघि बढिरहेको जानकारी दिए। उनका अनुसार सम्मेलनस्थल व्यवस्थापन, होटल बुकिङ, प्रतिनिधिको आवास, अतिथि सत्कार, सुरक्षा समन्वय, कार्यपत्र तयारी, प्रायोजक व्यवस्थापन तथा विशिष्ट अतिथिहरूलाई निमन्त्रणा पठाउने कार्य सम्पन्न भइसकेको छ।

उनले सम्मेलनलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई विश्वभर फैलिएका नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणसँग जोड्ने साझा अभियानका रूपमा लिइएको बताए। लगानी, पर्यटन, व्यापार, प्रविधि, युवा नेतृत्व तथा पुस्तान्तरणीय सम्बन्धलाई एउटै मञ्चमा केन्द्रित गरी व्यवहारिक र कार्यान्वयनयोग्य निष्कर्ष निकाल्ने लक्ष्य रहेको उनको भनाइ छ।

उपक्षेत्रीय संयोजक (डिआरसी) भविन्द्र बस्नेत ले यसपटकको सम्मेलन विगतका सम्मेलनभन्दा फरक, व्यवस्थित र उपलब्धिमूलक हुने दाबी गरे। उनका अनुसार नेपालमा प्रत्यक्ष वैदेशिक लगानी, पर्यटन प्रवर्द्धन, व्यापारिक साझेदारी, जलविद्युत, सूचना प्रविधि, कृषि, महिला उद्यमशीलता, युवा नेतृत्व तथा दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई मातृभूमिसँग जोड्ने विषयमा स्पष्ट कार्ययोजना तयार गरिनेछ।

विदेशमा जन्मिएका तथा हुर्किएका नेपाली युवालाई भाषा, संस्कृति, इतिहास, पर्यटन र लगानीका अवसरसँग जोड्ने विशेष कार्यक्रम पनि सम्मेलनको प्रमुख आकर्षण रहने जनाइएको छ। साथै थाइल्यान्ड, म्यानमार (बर्मा), मलेसिया र फिजीमा रहेका नेपालीभाषी पीएनओहरूको विशेष सत्र पनि आयोजना गरिनेछ।

उपक्षेत्रीय संयोजक (डिआरसी) लालसिंह खड्का का अनुसार सम्मेलनको समापनमा जारी हुने ‘ग्वाङ्झाउ घोषणा–२०२६’ मार्फत नेपाल सरकारलाई लगानी, पर्यटन, आर्थिक कूटनीति, डायस्पोरा साझेदारी तथा नीतिगत सुधारका विषयमा ठोस सुझाव र कार्ययोजना प्रस्तुत गरिनेछ।

आयोजकका अनुसार सम्मेलनका प्रमुख अतिथि नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्ले रहनेछन् भने एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो को सहभागिता पनि सुनिश्चित भइसकेको छ। साथै संस्थाका पूर्वअध्यक्षहरू, अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी, विभिन्न राष्ट्रिय समन्वय परिषद्का नेतृत्व, उद्योगी–व्यवसायी, पत्रकार, कलाकार, विज्ञ तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहनेछ।

दुईदिने सम्मेलनमा लगानी, पर्यटन, व्यापार तथा आर्थिक सहकार्य, वैदेशिक रोजगारी, महिला तथा युवा उद्यमशीलता, सूचना प्रविधि, पुस्तान्तरणीय सम्बन्ध तथा नेपाल–डायस्पोरा सहकार्यका विषयमा पाँचवटा विषयगत सत्र सञ्चालन हुनेछन्। सम्मेलनको अन्तिम दिन ‘ग्वाङ्झाउ घोषणा–२०२६’ जारी गर्दै नेपाल सरकार तथा सम्बन्धित निकायलाई कार्यान्वयनमुखी सुझाव प्रस्तुत गरिने कार्यक्रम रहेको छ।

आयोजकका अनुसार हालसम्म विशिष्ट अतिथिहरूलाई निमन्त्रणा पठाउने, होटल बुकिङ, सम्मेलनस्थल व्यवस्थापन, प्रतिनिधिको आवास तथा स्वागत व्यवस्थापन सम्पन्न भइसकेको छ भने प्रायोजक छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। सम्मेलनका इभेन्ट पार्टनरका रूपमा वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन रहेका छन् भने उपाध्यक्ष खगेन्द्र न्यौपाने, दधिवाल खड्का लगायत विभिन्न देशका गैरआवासीय नेपाली अभियन्ता तथा व्यवसायीहरूले सम्मेलन सफल बनाउन सहकार्य गरिरहेका छन्।

आयोजकको विश्वास छ कि संस्थागत एकतापछि आयोजना हुन लागेको यो बृहत् सम्मेलनले विश्वभर छरिएका नेपालीलाई एउटै साझा मञ्चमा जोड्दै नेपालमा लगानी, पर्यटन प्रवर्द्धन, आर्थिक कूटनीति र डायस्पोरा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउनेछ। ‘आरोहण २०२६’ लाई गैरआवासीय नेपाली आन्दोलनको नयाँ अध्याय सुरु गर्ने ऐतिहासिक सम्मेलनका रूपमा समेत हेरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button