Blog

स्मृति मन्धाना बनिन् महिला क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी

काठमाडौँ, २० भदौ। भारतकी ब्याटिङ सुपरस्टार स्मृति मन्धानाले दुबईमा जारी महिला एसिया कपमा ६४ बलमा कीर्तिमानी १२४ रन बनाएर महिला अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेकी छिन्।

 

बिहीबार हङकङविरुद्धको खेलमा जित दिलाउने इनिङ्स खेल्ने क्रममा मन्धानाले भारतकी पूर्वकप्तान मिताली राजलाई पछि पारेकी हुन्; मिताली १०,८६८ अन्तर्राष्ट्रिय रनसहित शीर्ष स्थानमा थिइन्।

 

याे सँगै टी-२० प्रतियोगिताको सेमिफाइनलमा भारतको स्थान पनि पक्का गरेकाे थियाे ।

 

अस्ट्रेलियाकी मेग ल्यानिङ र दक्षिण अफ्रिकाकी लौरा वोल्भार्ड्ट (दुवैको नाममा १७-१७ शतक छन्) लाई पछि पार्दै ३० वर्षीया यी खेलाडी विभिन्न ढाँचाका खेलहरूमा गरी कुल १८ शतकसहित महिला अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडीसमेत बनेकी छिन्।

 

सन् २०१३ मा भारतका लागि डेब्यु गरेकी मन्धानाले गत वर्ष आफ्नो पहिलो टी-२० अन्तर्राष्ट्रिय शतक पूरा गरेसँगै क्रिकेटका तीनै ढाँचामा अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने पहिलो भारतीय महिला बनिन्।

उनको नाममा टेस्ट र टी-२० अन्तर्राष्ट्रियमा दुई-दुई तथा एकदिवसीय अन्तर्राष्ट्रियमा १४ शतक रहेका छन्।

 

भारतीय खेलकुद समाचार माध्यम 'स्पोर्टस्टार' का अनुसार मन्धानाले भनिन्, "ब्याटिङ गरिरहँदा मलाई कुन कीर्तिमान बन्दैछ भन्ने थाहा थिएन, किनकि मलाई ठ्याक्कै कति रन भयो भन्ने जानकारी थिएन।"

 

उनले थपिन्, "म भन्छु, यो भारतीय क्रिकेटका लागि निकै राम्रो दिन हो।"  उनले मिताली राजको प्रशंसा गर्दै उनलाई 'दिग्गज' र 'रोल मोडल' (अनुकरणीय व्यक्तित्व) को संज्ञा दिइन्।

 

मन्धानाको इनिङ्समा १४ चौका र सात छक्का समावेश थिए; भारतले १९३-५ को योगफल खडा गर्‍यो र हङकङलाई ५६ रनमा अलआउट गर्दै १३७ रनको जित हासिल गर्‍यो। 

उनले हङकङको अनुशासित बलिङका कारण सुरुवाती चरणमा खेल्न कठिन भएको बताइन्।  "उनीहरूले पावरप्लेमा अनुशासित भएर उत्कृष्ट बलिङ गरे र उनीहरूले देखाएको ऊर्जाबाट हामी सिक्नेछौँ," मन्धानाले भनिन्; उनले आफ्नो यो सफलता परिवारलाई समर्पित गरिन्।

 

आजको राशिफलः वि.सं. २०८३ भदौ २० गते शनिबार

आजको राशिफलः वि.सं. २०८३ भदौ २० गते शनिबार, इ.सं. २०२६ सेप्टेम्बर ०५, ऋतुः वर्षा, अयनः दक्षिणायन, नेपाल संवत् ११४६, भाद्र कृष्ण पक्षको नवमी तिथि, नक्षत्रः मृगशिरा, चन्द्रमा वृष राशिमा, सूर्य सिंह राशिमा, योगः वज्र, करणः तैतिल। आज गोगा नवमी र विभिन्न ठाउँमा राधाकृष्ण रथयात्रा हुनेछ। आज नेपालमा सूर्योदय बिहान ५ः४५ बजे र सूर्यास्त साँझ ६ः१९ बजे हुनेछ।

 

आज शनिदेवका लागि व्रत, दान र ध्यान गर्नाले शुभ फल प्राप्त हुन्छ। शनिचालीसा वा हनुमानचालीसाको पाठ गरेमा तथा शनिका लागि जप र दान गरेमा रोकिएका सम्पूर्ण कार्यहरू बन्नेछन् र न्याय प्राप्त हुनेछ। आज आफ्नो विचार र कर्मलाई शुद्ध गर्दा शुभ हुन्छ।

 

मेष राशि: दिन सामान्य रहनेछ। घरायसी व्यवहार मिलाउनुपर्नेमा समय खर्च हुनेछ। नयाँ लगानी गर्ने राम्रो समय छैन, धन फस्ने सम्भावना छ। आज बिहान गाईलाई पुरी खुवाएर दिनको शुभारम्भ गर्नुहोला।

शुभ रङ: गुलाबी | शुभ अङ्क: ६

 

वृष राशि: कामको अवसर पाइनेछ। आर्थिक उन्नति होला। प्रेममा विवाद उत्पन्न हुनसक्छ। साँझतिर मानसिक तनाव बढ्नेछ र निद्रा बिग्रन सक्छ। आज रातो रुमाल दान गरेर दिनको शुभारम्भ गर्नुहोला।

शुभ रङ: सेतो | शुभ अङ्क: ९

 

मिथुन राशि: केही महत्त्वपूर्ण कार्य गर्नुपरेमा बिहान ११ः३० बजेभित्र गर्नुहोला। बेलुका लामो दूरीको यात्रामा ननिस्कनुहोला। सामान्य झमेला र चोटपटकको योग छ। आज हरियो वस्तुको प्रयोग गर्नुहोला।

शुभ रङ: हल्का रातो | शुभ अङ्क: १६

 

कर्कट राशि: नोकरी र व्यापारमा सफलता प्राप्त हुनेछ। समृद्धि बढ्ने योग छ। मन चञ्चल रहला। आफन्तबाट हेलामा परिने समय छ, ख्याल गर्नुहोला। अष्टगन्धको टीका लगाएर दिनको सुरुवात गर्नुहोला।

शुभ रङ: पहेँलो | शुभ अङ्क: २

 

सिंह राशि: खानपिनमा विशेष ध्यान दिनुहोला। बोलीको प्रभाव पनि कमजोर रहनेछ। आमाबुवाप्रति सम्मान बढ्नेछ। बिहानतिर टाढाको यात्रा नगर्नुहोला। गरिबलाई भोजन र कपडा दान गर्न आज शुभ दिन छ।

शुभ रङ: निलो | शुभ अङ्क: ८

 

कन्या राशि: रुचिअनुसार खानपिन नहुन सक्छ। व्यापार र नोकरीमा सामान्य प्रगति देखिन्छ। मन उदास हुनेछ। आफ्नो इष्टदेवतालाई सम्झेर पहेँलो फूल चढाएर दिनको सुरुवात गर्नुहोला।

शुभ रङ: बैजनी | शुभ अङ्क: १४

 

तुला राशि: अपजस पाउने योग छ, त्यसैले आज संयम रहनुहोला। स्वास्थ्यमा सुधार हुनेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ। आमाबुवाको सेवा गर्नुहोला र खराब खानपिनबाट जोगिनुहोला।

शुभ रङ: कालो | शुभ अङ्क: ११

 

वृश्चिक राशि: बिहानको समयमा सामान्यतया आलस्य भए पनि दिउँसोदेखि फुर्तिलोपना आउनेछ। धन, विद्या र बुद्धिमा प्रगति देखिन्छ। आफन्तसँगको सम्बन्धमा सुधार हुनेछ। कुकुरलाई खानेकुरा दिनुहोला।

शुभ रङ: सेतो | शुभ अङ्क: २

 

धनु राशि: सन्तानको पिरले सताउनेछ। दिन सामान्य र नियमित कार्यमा बित्नेछ। नयाँ काम गर्ने अवसर छैन। आमाबुवाको सेवा गर्ने अवसर पाइएला। आज पिपलको दर्शन गरेर दिनको सुरुवात गर्नुहोला।

शुभ रङ: पहेँलो | शुभ अङ्क: १२

 

मकर राशि: दाम्पत्य सम्बन्धमा सुधार आउनेछ। मन प्रसन्न रहनेछ। धार्मिक कार्य गर्ने अवसर पाइनेछ। बोलीमा संयम राख्नुहोला, भेटघाटका प्रशस्त अवसर प्राप्त हुनेछन्। निलो वस्तुको प्रयोग गर्नुहोला।

शुभ रङ: हरियो | शुभ अङ्क: ५

 

कुम्भ राशि: दिउँसो स्वास्थ्यमा सामान्य गडबडी आउनेछ। साँझको समयमा मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेछ। आफन्तसँगको सम्बन्ध सुधार हुनेछ। आज कापी-कलम दान गर्नु शुभ हुनेछ।

शुभ रङ: निलो | शुभ अङ्क: ४

 

मीन राशि: पढाइलेखाइमा मन जानेछ। व्यापारमा प्रगति हुनेछ। सामाजिक कार्यमा मन जानेछ र मन प्रसन्न रहनेछ। आज माता लक्ष्मीको पूजा/सेवा गरेर दिनको सुरुवात गर्नु शुभ हुनेछ।

शुभ रङ: गुलाबी | शुभ अङ्क: ११

 

डा. खेमराज मिश्र, पीएचडी (उहाँ फलित ज्योतिषविद् तथा ज्योतिष अनुसन्धानकर्ता, नेपाल ज्योतिष परिषद्का केन्द्रीय उपमहासचिवकाे जिम्मेवारीमा पनि हुनुहुन्छ)

गृहका १४ सहसचिव र ९ उपसचिवको सरुवा,फेरिए १४ जिल्लाको सिडियो

गृह मन्त्रालयले २३ जना कर्मचारीहरुको सरुवा गरेको छ । गृहले सहसचिव र उपसचिव तहका गरी २३ जना कर्मचारीहरुको सरुवा गरेको हो । गृह सहसचिव तहका १४ र उपसचिव तहका ९ जना गरी २३ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।यसरी २३ जना अधिकृतस्तरका कर्मचारीहरु चलाइँदा १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु हेरफेर भएका छन् ।

मन्त्रालयले झापा, सुर्खेत, बारा, गोरखा, दोलखा, रौतहट, पर्वत, डडेलधुरा, जाजरकोट, भोजपुर, खोटाङ, सल्यान र म्याग्दीलगायत १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । सरुवाको सूची अनुसार झापामा श्रवणकुमार पोखरेललाई प्रमुख जिल्ला अधिकारीका रूपमा झापा पठाइएको छ। सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटालाई सुर्खेतको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। यस्तै जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीलाई बाराको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ। बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई गोरखा पठाइएको छ। गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलाई भने गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

गृहले खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई सहसचिवका रूपमा गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ। यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङलाई खोटाङको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ। उता रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई गृह मन्त्रालय, सिंहदरबारमा सरुवा गरिएको छ। रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई पर्वतको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ भने पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेललाई रौतहटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। यसैगरी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवास्थित अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत बलराम निरौलालाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

डडेलधुराका प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीलाई जिल्ला प्रशासन कार्यालय, बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय, काठमाडौंमा वरिष्ठ अध्यागमन अधिकृतका रूपमा कार्यरत वेदराज फुयाँललाई राजपत्रांकित द्वितीय श्रेणीको प्रमुख जिल्ला अधिकारीका रूपमा डडेलधुरा पठाइएको छ। बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बराललाई जाजरकोट पठाइएको छ।उपसचिव कुलशेखर अर्याललाई भोजपुरको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ। यस्तै बन्दना के सीलाई सल्यान र उपसचिव गणेश गैरैलाई म्याग्दीको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ।

https://drive.google.com/file/d/1gJuSxesefSHxmCFVYXYoQvV1EZh7gu3Z/view

बाराका सिडिओ मिश्रको सरुवा, अधिकारी आउँदै

बारा । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) धर्मेन्द्रकुमार मिश्रको सरुवा भएको छ। गृह मन्त्रालयले मिश्रलाई गोरखाको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरेको हो। उनको स्थानमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी बाराको नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा आउने भएका छन्।

गृह मन्त्रालयले भदौ १८ गतेको निर्णयअनुसार विभिन्न जिल्ला प्रशासन कार्यालयमा कार्यरत प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित २३ जना सहसचिव तथा उपसचिव तहका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको हो।

मन्त्रालयले कर्मचारीको जिम्मेवारी हेरफेर गर्दै विभिन्न जिल्ला प्रशासन कार्यालय तथा मन्त्रालयमा नयाँ जिम्मेवारी तोकेको जनाएको छ।

मधेशमा ७६ लेखा कर्मचारीको सरुवा विवादमा ‘रकम असुली’को आरोप

जनकपुरधाम । मधेश प्रदेश सरकारअन्तर्गत कार्यरत ७६ जना लेखा समूहका कर्मचारीको हालै गरिएको सरुवा विवादमा परेको छ । ती कर्मचारीहरूलाई सरुवा गर्नुअघि अर्थमन्त्री र उनको सचिवालयबाट पटकपटक फोन गरेर सम्पर्कमा आउन दबाब दिइएको बुझिएको छ । तर, कर्मचारीहरूले मन्त्री र उनको सचिवालयको फोन बेवास्ता गर्दा सरुवा गरिएको हो ।

प्रदेश निजामती सेवा ऐन, २०७७ तथा प्रदेश निजामती सेवा नियमावली, २०७९ ले कर्मचारी सरुवासम्बन्धी निश्चित व्यवस्था गरेको भए पनि त्यसको प्रतिकूल हुने गरी सरुवा गरिएको आरोप कर्मचारीहरूले लगाएका छन् ।

कर्मचारीहरूका अनुसार अर्थ मन्त्रालयमा कार्यरत उपसचिव जयकुमार राउत र शाखा अधिकृत अंशुकुमार झाले प्रदेशभरिका लेखा समूहका कर्मचारीलाई पटक–पटक टेलिफोन सम्पर्क गरी सरुवा रोक्नका लागि रकम माग गरेको आरोप छ । रकम नदिने कर्मचारीलाई प्रतिशोधस्वरूप अपायक स्थानमा सरुवा गरिएको र रकम बुझाउने कर्मचारीलाई आकर्षक तथा पायक कार्यालयमा सरुवा गरिएको दाबी उनीहरूको छ ।

प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ३ मा रहेको सरुवासम्बन्धी व्यवस्थाविपरीत दुई वर्ष अवधि नपुगेका कर्मचारीलाई समेत सरुवा गरिएको आरोप छ । अवकाशको नजिक पुगेका कर्मचारीलाई समेत सरुवा गरिएको उनीहरूको भनाइ छ ।

त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट रिक्त दरबन्दीका आधारमा सरुवाका लागि सहमति लिइएको भए पनि उक्त सहमतिको दुरुपयोग गरी ठूलो सङ्ख्यामा कर्मचारी सरुवा गरिएको आरोपसमेत लागेको छ ।

कर्मचारीका अनुसार सिचाइँ डिभिजन कार्यालय सप्तरीमा कार्यरत एक लेखा कर्मचारीको अवकाश हुन करिब तीन महिना मात्रै बाँकी रहँदा समेत सरुवा गरिएको छ । त्यस्तै अवधि नपुगेका कर्मचारीलाई पूर्वाधार विकास कार्यालय सप्तरी, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन कार्यालय धनुषा, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय धनुषालगायत विभिन्न कार्यालयमा सरुवा गरिएको आरोप छ ।

सरुवामा रकम नदिने कर्मचारीलाई प्रतिशोधस्वरूप अपायक स्थानमा पठाइएको आरोप पनि कर्मचारीहरूले लगाएका छन् ।

उदाहरणका रूपमा डिभिजन वन कार्यालय लहानमा कार्यरत पाँचौँ तहका एक कर्मचारीलाई लिइएको छ । ती कर्मचारीको सन्तान अपाङ्गता भएको र श्रीमतीसमेत लहानमै कार्यरत रहेको अवस्थामा पारिवारिक अवस्थालाई बेवास्ता गर्दै सिरहा सदरमुकाममा सरुवा गरिएको दाबी गरिएको छ ।

प्रदेश निजामती सेवा नियमावली, २०७९ को नियम ३७ को उपनियम (३) ले कर्मचारी सरुवामा विभिन्न मानवीय तथा पारिवारिक अवस्थालाई समेत ध्यान दिनुपर्ने व्यवस्था गरेको भन्दै कर्मचारीहरूले उक्त व्यवस्थाको कार्यान्वयनमाथि प्रश्न उठाएका छन् ।

कर्मचारीहरूले यसअघि पनि शाखा अधिकृत अंशुकुमार झाले महोत्तरीस्थित सिचाइँ कार्यालयका लेखा कर्मचारीको सरुवाका क्रममा रकम असुलेको आरोप लगाउँदै तत्कालीन मन्त्री तथा सचिवसमक्ष गुनासो पुगेको दाबी गरेका छन् ।

उक्त विषयमा झाले स्पष्टीकरणसमेत दिनुपरेको दाबी कर्मचारीहरूको छ। तर त्यसबारे भएको प्रशासनिक कारबाही र त्यसको निष्कर्ष सार्वजनिक नभएको उनीहरूको भनाइ छ ।

हाल पुनः सरुवाको क्रममा आर्थिक चलखेल भएको आरोप लागेपछि अर्थ मन्त्रालयका सम्बन्धित कर्मचारीको भूमिकामाथि छानबिन गर्नुपर्ने माग उठेको छ ।

सरुवा भएका कर्मचारीहरूले बरबुझारथ र बाटोको म्यादसम्बन्धी कानुनी व्यवस्थालाई समेत बेवास्ता गर्दै सात दिनभित्र नयाँ कार्यालयमा हाजिर हुन दबाब दिइएको आरोप लगाएका छन् ।

उपसचिव जयकुमार राउत र शाखा अधिकृत अंशुकुमार झाले टेलिफोनमार्फत सात दिनभित्र रमाना भई नयाँ कार्यालयमा हाजिर नभए सम्बन्धित कार्यालयको खाता रोक्का गरिदिने भन्दै धम्की दिएको आरोप कर्मचारीहरूको छ ।

तर कर्मचारीहरूले प्रदेश निजामती सेवा ऐनको दफा ११२ तथा नियमावलीको नियम ४२ मा बरबुझारथ र बाटोको म्यादसम्बन्धी व्यवस्था रहेको भन्दै त्यसविपरीत सात दिनभित्रै हाजिर हुन दबाब दिने अधिकार कसलाई र कुन कानुनी आधारमा प्राप्त भएको हो भन्ने प्रश्न उठाएका छन् ।

आर्थिक वर्ष २०८२÷८३ को आन्तरिक लेखापरीक्षण, हिसाब मिलान तथा प्रतिवेदन तयार गर्ने काम पूर्ण रूपमा सम्पन्न नभइसकेको अवस्थामा ठूलो संख्यामा लेखा कर्मचारीको सरुवा गरिँदा आर्थिक प्रशासनमा असर पर्ने कर्मचारीहरूको भनाइ छ ।

उनीहरूका अनुसार एकातर्फ प्रदेश सरकारका विभिन्न कार्यालयको दरबन्दी मिलान तथा संगठन तथा व्यवस्थापन (इ७ः) प्रक्रिया चलिरहेको छ भने अर्कोतर्फ ठूलो सङ्ख्यामा लेखा कर्मचारीको सरुवा गरिएको छ । यसले कार्यालयको आर्थिक कारोबार, हिसाब मिलान, लेखापरीक्षण तथा प्रतिवेदन प्रणालीमा प्रत्यक्ष असर पार्न सक्ने उनीहरूको दाबी छ ।

कर्मचारीहरूले सरुवामा भएको भनिएको अनियमिततामा सम्बन्धित मन्त्री, सचिव तथा मुख्यमन्त्रीसमेतलाई गलत सूचना दिइएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

अर्थ मन्त्रालयका कर्मचारीहरूले आफूअनुकूल निर्णय गराउन राजनीतिक नेतृत्वलाई प्रभावित पार्ने गरेको आरोपसमेत लगाइएको छ ।

कर्मचारीहरूले भने सरुवा प्रक्रियाको निष्पक्ष छानबिन गरी कानुनविपरीत सरुवा बदर गर्न तथा आर्थिक चलखेलमा संलग्न भएको भनिएका कर्मचारीमाथि प्रशासनिक र कानुनी कारबाही गर्न माग गरेका छन् ।

प्रदेश सरकारले सुशासन, पारदर्शिता र आर्थिक अनुशासनको नारा दिइरहेका बेला कर्मचारी सरुवाजस्तो नियमित प्रशासनिक प्रक्रियामै आर्थिक चलखेल र प्रतिशोधको आरोप लाग्नुले प्रदेश सरकारको सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ । साभार: नागरिक मिरर

कर्णाली प्रदेश अस्पतालले भदौ २२ र २३ गते पनि सेवा दिने

सुर्खेत, १९ भदौ । कर्णाली प्रदेशकै सबैभन्दा ठूलो अस्पताल कर्णाली प्रदेश अस्पताल भदौ २२ र २३ गते पनि खुल्ने भएको छ।

संघीय सरकारले भदौ २२ गते भोटेकोशी बाढी पीडितको शोक दिवस मनाउने र २३ गते जेनजी आन्दोलनका शहिदको सम्झनामा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. गणेश थापाले आफूहरूले शनिबार र आइतबार बाहेक अन्य कुनै पनि सार्वजनिक बिदाका दिनमा अस्पतालले सेवा प्रवाह गर्ने बताए।

'ती दुवै दिन हामीले सेवा प्रवाह गर्छौं,' उनले भने, 'सेवाग्राही निर्धक्क भएर सेवा लिन अस्पताल आए हुन्छ।' उनले आज पनि अस्पतालले सेवा प्रवाह गरिरहेको बताए।

अस्पतालले २०८३ बैशाखदेखि नियमित शनिबार र आइतबार बाहेकका सार्वजनिक विदा तथा आकस्मिक बिदामा ओपीडीसहितका सबै विशेषज्ञ सेवा दिइरहेको छ। जसबाट कर्णाली जस्तो जटिल भूगोलबाट आएका बिरामीलाई लामो विदामा पनि धेरै कुर्नु नपर्ने र सेवा प्रवाहमा समेत सहज भएको छ।

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको सकुशल उद्धार

पोखरा, १९ भदौ । कास्कीको पोखरा महानगरपालिका–१८ गैरीचौतारास्थित फेवातालमा कार खस्दा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ भने दुई जनाको सकुशल उद्धार गरिएको छ।

पोखराको लेकसाइडतर्फ आउँदै गरेको बीआर ०५ बीबी ६७५९ नम्बरको भारतीय कार अनियन्त्रित भई फेवातालमा खसेको हो। दुर्घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको कमाण्डमा गोताखोरसहितको टोली उद्धारका लागि खटिएको थियो।

कारमा सवार भारत घर भएका २७ वर्षीय अनमोल कुमार यादव र ३३ वर्षीय सुरज यादवलाई नेपाल प्रहरी र स्थानीयवासीले सकुशल उद्धार गरी उपचारका लागि पोखरास्थित जिओमाक्स (जिएमसी) अस्पताल पुर्‍याएका छन्। उनीहरूको अवस्था मध्यम रहेको छ।

त्यस्तै, कारमा सवार अन्य दुई जना २६ वर्षीय नवदीप कुमार यादव र २६ वर्षीय प्रियान्सु पाण्डेलाई सशस्त्र प्रहरीको गोताखोर टोलीले तालबाट अचेत अवस्थामा बाहिर निकालेको थियो। उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएका उनीहरूलाई चिकित्सकले बिहान ६:२० बजे मृत घोषणा गरेका हुन्।

दुर्घटनाग्रस्त कारलाई पनि क्रेनको प्रयोग गरी तालबाट बाहिर निकालिएको छ।

बाढीपीडितलाई राहत वितरणमा निष्पक्षता र सम्मान कायम गर्न सरकारसँग नृप वडको आग्रह

धनगढी, १९ भदौ । देशका विभिन्न क्षेत्रमा आएको बाढी, पहिरो तथा प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकको अवस्था पीडादायी बन्दै गएको भन्दै समाजसेवी तथा निर्वर्तमान मेयर नृप वडले पीडितको राहत, उद्धार र पुनःस्थापनालाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन्।

विपत्तिको समयमा नागरिकको पीडा कुनै दल, जात, क्षेत्र, वर्ग वा राजनीतिक आस्थासँग जोडेर हेर्न नहुने उल्लेख गर्दै वडले राहत वितरण गर्दा सबै पीडित नागरिकलाई समान व्यवहार र सम्मानजनक ढंगले राहत उपलब्ध गराउनुपर्ने बताएका छन्।

उनले सरकार तथा सम्बन्धित निकायलाई राहत वितरणमा कुनै पनि प्रकारको पक्षपात नगर्न विशेष आग्रह गरेका छन्। वास्तविक पीडितको पहिचान गरी आवश्यकता र क्षतिको अवस्थाका आधारमा राहत उपलब्ध गराउनुपर्ने उनको भनाइ छ।
“विपत्तिको समयमा पीडित नागरिकको सबैभन्दा ठूलो आवश्यकता सहयोग र भरोसा हो। यस्तो अवस्थामा कसैलाई राजनीतिक आस्था, व्यक्तिगत सम्बन्ध वा अन्य कुनै आधारमा विभेद गर्नु हुँदैन। राहत पाउने प्रत्येक नागरिकले सम्मानपूर्वक राज्यको सहयोग पाउने वातावरण बनाउनुपर्छ,” वडको आग्रह छ।

उनका अनुसार राहत वितरण केवल सामग्री बाँड्ने कार्यमा सीमित हुनु हुँदैन। प्रभावित परिवारलाई तत्काल आवश्यक खाद्यान्न, कपडा, सुरक्षित बसोबास, खानेपानी, स्वास्थ्य सेवा तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउनुका साथै दीर्घकालीन रूपमा पुनःस्थापनाको योजना पनि अघि बढाउन आवश्यक छ।

बाढी तथा पहिरोबाट घरबार गुमाएका, रोजगारी तथा आयआर्जनको स्रोत गुमाएका र विस्थापित भएका परिवारको अवस्थालाई विशेष प्राथमिकतामा राख्नुपर्ने उनले बताए। स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच प्रभावकारी समन्वय गरी राहत तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको सुझाव छ।

वडले विपत्तिको समयमा राजनीतिक प्रतिस्पर्धा र आरोप–प्रत्यारोपभन्दा माथि उठेर मानवीय सेवामा सबै पक्ष एकजुट हुनुपर्ने धारणा व्यक्त गरेका छन्। पीडित नागरिकको दुःखलाई राजनीतिक लाभका लागि प्रयोग नगरी वास्तविक आवश्यकता पहिचान गरेर सहयोग गर्नुपर्नेमा उनले जोड दिएका छन्।

उनले देशभरका सामाजिक संघसंस्था, नागरिक समाज, व्यवसायी, युवा तथा विभिन्न समुदायलाई पनि आफ्नो क्षमताअनुसार बाढीपीडितको सहयोगमा जुट्न आह्वान गरेका छन्। साथै राहत संकलन र वितरणमा पारदर्शिता कायम गर्दै सहयोग कहाँ र कसरी प्रयोग भइरहेको छ भन्ने जानकारी सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

नृप वडको मुख्य आग्रह भनेको विपत्तिमा परेका प्रत्येक नागरिकलाई राज्यले आफ्नै नागरिकका रूपमा हेरेर भेदभावरहित, पारदर्शी र सम्मानजनक राहत उपलब्ध गराउनु हो। कठिन परिस्थितिमा पीडितको आँसु पुछ्नु नै राज्य र समाजको पहिलो जिम्मेवारी भएको उनको भनाइ छ।

“आज विपत्तिमा परेको नागरिकको साथमा राज्य उभिन सके मात्र नागरिकले राज्यप्रति भरोसा गर्न सक्छन्। त्यसैले राहत वितरणमा कुनै पक्षपात होइन, मानवीयता, आवश्यकता र न्यायलाई आधार बनाऔँ,” वडले सरकारसँग अनुरोध गरेका छन्।

सुन र चाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं, १९ भदौ । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेर ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बिहीबार सुन प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर ४ हजार ७ सय ८५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन बिहीबार चाँदी प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

एक करोड चौविस लाखमा बन्यो कोशेली गृह, आजबाट सञ्चालनमा

सुर्खेत, १९ भदौ ।

कर्णाली प्रदेश सरकारको एक करोड २४ लाखको लगानीमा बनेको कोशेल गृह आजबाट सञ्चालनमा आएको छ । वीरेन्द्रनगरको वडा नम्बर ६ हटियालाईनमा निर्मित उक्त गृहको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्काले उद्घाटन गरेकी हुन् ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सुर्खेतका कार्यालय प्रमूख मुकुन्दनाथ योगीका अनुसार भवन निर्माण भने २०७९ साल कात्तिकमा नै सम्पन्न भएको थियो तर गृहको सञ्चालनका बारेमा नीति बनाउन, त्यसलाई सञ्चालन गर्न आवश्यक कार्य गर्नुपर्ने भएका कारण ढिलाई भएको हो ।

उक्त गृहबाट हाल नौ जनाले प्रत्यक्ष रोजगारी पाएका छन भने ६ लाख २५ हजार वार्षिक रुपमा सरकारले भाडा पाउने भएका छन् । यसका अलावा अबको केहि दिनमा नै दोश्रो तलामा व्यवसाय सुरु हुने उनको भनाई छ ।

‘उक्त गृहमा अहिले पाँच प्रकारका व्यवसाय सञ्चालनमा रहेका छन् । यहाँ कर्णालीका कच्चा पर्दाथबाट निर्मित काष्ठकलाका सामाग्रीहरु, जडिवुटी, स्थानीय कपडा, खाद्यान्नका उद्योग सञ्चालनमा छन्,’ योगीले भने, ‘औधोगिक पर्यटन, कर्णालीको पहिचान देश विदेशमा बढाउन, श्रम प्रविधिको प्रयोग गरी रोजगारी सिर्जना गर्न यो गृहले महत्वपूर्ण योगदान दिने अपेक्षा कार्यालयले लिएको छ ।’

मन्त्री खड्काले कर्णाल प्राकृतिक स्रोत र सम्पदाको धनी भएको बताउँदै कर्णालीका अर्गानिक उत्पादनको बजारीकरण गरे यहाँको विकास हुने बताइन् ।

‘यस्ता खालका गृह सञ्चालनमा युवाले रोजगारी त पाउँछन नै, कर्णालीमा खेर गईरहेका प्राकृतिक स्रोत साधनको प्रयोगले कर्णाली प्रदेशका नागरिकलाई आर्थिक समृद्धितर्फ लैजाने अपेक्षा सरकारको छ,’ मन्त्री खड्का भन्छिन्, ‘आगामी दिनमा सरकारले यस्ता क्षेत्रमा सकेसम्म बढी भन्दा बढी लगानी गर्ने नीति अख्तियार गर्नेछ ।’