Blog

चर्को असुली र अखाद्य खानेकुरा बेचे कारबाही गर्ने मकवानपुर प्रशासनको चेतावनी

काठमाडौं, २० भदौ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले राजमार्ग आसपासका होटेल तथा पसलहरूलाई खाद्य स्वच्छता कायम राख्न र यात्रुहरूसँग चर्को मूल्य नलिन कडा निर्देशन दिएको छ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्ड बाढीपहिरोका कारण अवरुद्ध भएपछि त्रिभुवन राजपथ र कान्ति राजमार्गबाट सवारी सञ्चालन भइरहेको छ। यस्तो अवस्थामा राजमार्ग आसपासका होटेल, रेस्टुरेन्ट तथा पसलहरूले परिस्थितिको फाइदा उठाउँदै यात्रुहरूसँग चर्को मूल्य असुल्ने, मूल्यसूची नराख्ने र अखाद्य तथा अस्वस्थ खानेकुरा बिक्रीवितरण गर्ने गरेको गुनासो प्राप्त भएपछि प्रशासनले ध्यानकर्षण गराएको हो।

प्रशासकीय अधिकृत सन्तोष सुवेदीद्वारा जारी सूचनामा सडक अवरोधका कारण सवारीको चाप बढेका बेला उपभोक्ता अधिकार हनन हुने गरी व्यापार नगर्न सचेत गराइएको छ। मापदण्डविपरीत काम गर्ने र अखाद्य वस्तु बिक्री गर्ने व्यवसायीलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।

साथै, यात्रु तथा उपभोक्तालाई पनि सामान वा खाना खरिद गर्दा अनिवार्य रूपमा विल/रसिद लिएर मात्र भुक्तानी गर्न र मूल्यसूची जाँच्न अनुरोध गरिएको छ। कुनै पनि पसल वा होटेलमा अनियमितता र कैफियत देखिएमा तत्काल नजिकैको प्रहरी चौकी वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउनसमेत आग्रह गरिएको छ।

अविरल वर्षा र पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, वैकल्पिक मार्ग अपनाउन प्रहरीको आग्रह

काठमाडौ, २० भदौ । अविरल वर्षा र पहिरुका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात सेवा गम्भीर रूपमा प्रभावित भएको छ। रसुवा, धादिङ, मुगु, रोल्पा, बझाङ र म्याग्दीका विभिन्न सडकखण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। केही स्थानमा भने वैकल्पिक मार्गमार्फत यातायात सञ्चालनको व्यवस्था मिलाइएको छ।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा १० टनसम्मका मालवाहक सवारीसाधन राति ७ बजेदेखि बिहान ५ बजेसम्म र निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन भइरहेका छन्।

मकवानपुरबाट काठमाडौँतर्फ चल्ने सवारीसाधनका लागि पनि नयाँ नियम लागू गरिएको छ। १० चक्कासम्मका मालवाहक र ठूला यात्रुवाहक सवारीसाधन काठमाडौँ जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ। कान्ति राजमार्ग हुँदै हेटौँडातर्फ आउने सवारीले साँझ ६ बजेभित्र ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्नेछ। १४ सिटभन्दा कम क्षमताका साना सवारी साधनका लागि भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली र फर्पिङ–फाखेल–कुलेखानी मार्ग तोकिएको छ। त्रिखण्डी नजिक रहेको बेलीब्रिज कमजोर भएकाले भारी सवारीसाधनलाई डाइभर्सन प्रयोग गर्न प्रहरीले निर्देशन दिएको छ।

नुवाकोटको टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

उता रसुवाको पासाङ ल्हामु राजमार्ग भने त्रिशूली नदीको कटान र बाढीका कारण पूर्ण रूपमा नष्ट भएको छ। स्याफ्रुबेँसीतर्फ जाने सवारीका लागि टोखा–छहरे–विदुर–नुवाकोट दरबार हुँदै कालिकास्थान जोड्ने कच्ची सडकलाई वैकल्पिक मार्ग बनाइएको छ।

यसैगरी धादिङको कृष्णभीरमा त्रिशूली नदीको कटानले पृथ्वी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने परेवा भीरमा सडक भासिएकाले एकतर्फी मात्र यातायात चलेको छ। मुगुको नाग्मा–गमगढी, रोल्पाको सहिद मार्ग, बझाङको जयपृथ्वी राजमार्ग र म्याग्दीको बेनी–जोमसोम सडकखण्डमा पहिरो खसेकाले सवारी आवतजावत पूर्ण रूपमा ठप्प छ।

विपद्को जोखिम रहेकाले अत्यावश्यक काममा मात्र यात्रा गर्न, लेन अनुशासन पालना गर्न र ट्राफिक प्रहरीको निर्देशिका पालना गर्न नेपाल प्रहरीले सबैमा अनुरोध गरेको छ।

हेटौँडा–काठमाडौं जोड्न वैकल्पिक सडक सञ्चालनको तयारी, मुख्यमन्त्रीद्वारा स्थलगत निरीक्षण

काठमाडौ, २० भदौ । बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौं आवागमनलाई सहज र निरन्तर बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने तयारी थालेको छ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरोका कारण पटक-पटक यातायात प्रभावित भएपछि प्रदेश सरकारले उक्त सडकखण्डको आवश्यक मर्मत तथा स्तरोन्नति गरी सञ्चालनयोग्य बनाउन प्रक्रिया अघि बढाएको हो।

मुख्य राजमार्गमा हुने अवरोधका कारण राजधानी र प्रदेश राजधानीबीचको आवतजावत ठप्प हुने समस्या न्यूनीकरण गर्न वैकल्पिक सडकलाई प्राथमिकतामा राखिएको मुख्यमन्त्री किरण थापा मगरले बताए।

मुख्यमन्त्री थापा, भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसी, मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठा र भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामासहितको टोलीले बिहीबार सो सडकखण्डको स्थलगत निरीक्षण गरेको थियो।

मुख्यमन्त्री थापाका अनुसार चालु आर्थिक वर्षमै प्रदेश सरकारले बजेट विनियोजन गरिसकेकाले सडकको अवस्था हेरी तत्काल मर्मतको काम अघि बढाइनेछ। यो सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि मुख्य राजमार्ग अवरुद्ध हुँदा पनि यात्रु तथा सवारीसाधन सहजै गन्तव्यसम्म पुग्न सक्ने अपेक्षा गरिएको छ।

‘मिर्जापुर: द मुभी’ ले पहिलाे दिनमा नै कमायाे गज्जब

काठमाडौँ, २० भदौ। 'मिर्जापुर: द मुभी' हलमा प्रदर्शनमा आउनासाथ बक्स अफिसमा छाएको छ।

 

 

यसको अगाडि बक्स अफिसका दिग्गज चलचित्रहरू पनि फिक्का देखिएका छन्। अन्य चलचित्रहरूले उल्लेख्य प्रभाव पार्न संघर्ष गरिरहँदा यो चलचित्रले भने शानदार कमाइ गरिरहेको छ; यहाँसम्म कि 'टक्सिक' को कमाइ पनि रोकिएको छ। 'हनुमान अंश' पनि प्रभावित हुने चलचित्रहरूमध्ये एक हो। आउनुहोस्, यसको कमाइबारे जानकारी लिऔँ।

'मिर्जापुर द मुभी' को पहिलो दिनको बक्स अफिस कमाइ

'मिर्जापुर द मुभी' ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरेको छ। दर्शकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियाको फाइदा यो चलचित्रलाई मिलिरहेको छ। यसले प्रदर्शनको पहिलो दिनमै कीर्तिमानी कमाइ गरेको छ .

 

सैकनिल्कका अनुसार, 'मिर्जापुर द मुभी' ले पहिलो दिन राति ९:३० बजेसम्म २२.५६ करोड रुपैयाँ कमाएको थियो। चलचित्रको अकुपेन्सी दर (दर्शक उपस्थिति दर) ३५.७% रह्यो। यसले हिन्दी संस्करणबाट २२.४३ करोड रुपैयाँ र तेलुगु संस्करणबाट १३ लाख रुपैयाँ कमाएको छ।

मुग्लिन–काठमाडौं सडक खण्ड आज साँझ ६ बजेसम्म बन्द, अन्य प्रमुख राजमार्ग सामान्य

काठमाडौं, २० भदौ । मुग्लिन–काठमाडौं सडक खण्डमा निर्माण तथा मर्मतको काम भइरहेकाले आज साँझ ६ बजेसम्म सवारी आवतजावत पूर्ण रूपमा बन्द गरिने भएको छ। अन्य प्रमुख राजमार्गहरूमा भने यातायात सामान्य रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका अनुसार मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला र नाम्सी बेस क्षेत्र जोखिमयुक्त रहे पनि हाल सवारीसाधनहरू सञ्चालनमा छन्। मुग्लिन–पोखरा सडक खण्ड खुला रहेको छ भने डम्पिङ क्षेत्रमा एकतर्फी रूपमा मात्र यातायात सञ्चालन भइरहेको छ।

त्यसैगरी नारायणगढ–बुटवल, बुटवल–पोखरा, नारायणगढ–हेटौंडा, धार्के–सीतापाइला र आँबुखैरेनी–गोरखा सडक खण्डमा कुनै अवरोध नरहेको र यातायात सुचारु रहेको छ। हेटौंडा–काठमाडौं सडक खण्डमा भने केही समय सवारी जाम हुन सक्ने भए पनि आवतजावत सम्भव रहेको प्रहरीले जनाएको छ।

‘एल निनो’ तीव्र बन्ने, फेब्रुअरीसम्म कायम रहने डब्ल्यूएमओको चेतावनी

जेनेभा, २० भदाैं । आगामी महिनाहरूमा मौसमी प्रणाली 'एल निनो' निकै शक्तिशाली बन्ने र यो आउँदो फेब्रुअरीसम्म कायम रहने लगभग निश्चित भएको संयुक्त राष्ट्रसंघको जलवायु निकायले चेतावनी दिएको छ।

 

विश्व मौसम विज्ञान संगठनका अनुसार एल निनो यस वर्षको अन्त्यतिर आफ्नो चरम विन्दुमा पुग्नेछ। यद्यपि, यसले जलवायुमा पार्ने दीर्घकालीन असरहरू भने सन् २०२७ सम्म जारी रहने सम्भावना छ।

 

"एल निनो पूर्ण रूपमा स्थापित भइसकेको छ र आगामी महिनाहरूमा अझ तीव्र हुनेछ," डब्ल्यूएमओले भनेको छ, "यसले वर्षा र तापक्रमको ढाँचामा ठूलो प्रभाव पार्दै बाढी, खडेरी र अत्यधिक गर्मीको जोखिम निम्त्याउनेछ।"

 

एल निनो एक प्राकृतिक मौसमी प्रक्रिया हो र यो सीधै जलवायु परिवर्तनका कारण उत्पन्न भएको भने होइन। तर वैज्ञानिकहरूका अनुसार, जीवाश्म इन्धनको अत्यधिक प्रयोगका कारण पहिले नै तातिरहेको पृथ्वीमा यसले गर्मीलाई अझ बढाउनेछ र चरम मौसमी सङ्कटहरू निम्त्याउनेछ।

 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने, "हाम्रो आँखाअगाडि नै एल निनोको प्रभाव विशाल बन्दै गइरहेको छ। वैज्ञानिक तथ्यहरूले कुनै शङ्का बाँकी राख्दैनन्— पृथ्वी अज्ञात र जोखिमपूर्ण अवस्थामा प्रवेश गरिसकेको छ।" उनले समुद्रको सतहको तापक्रम र समग्र भू-तापक्रम उकालो लागिरहेको भन्दै जलवायुसम्बन्धी कदम चाल्न र मानिसहरूको सुरक्षा गर्न ढिलाइ गर्न नहुनेमा जोड दिए।

 

सामान्यतया एल निनो वर्षको अन्त्यतिर चरम विन्दुमा पुग्छ। तर महासागरमा सञ्चित ताप बिस्तारै वायुमण्डलमा उत्सर्जन हुने भएकाले त्यसपछिको वर्षमा विश्वव्यापी तापक्रम झनै बढ्ने गर्छ। यसअघिको एल निनोकै प्रभावका कारण सन् २०२४ हालसम्मकै सबैभन्दा तातो वर्ष बनेको थियो।

 

डब्लूएमओकी प्रमुख सेलेस्टे साउलोले यो असाधारण एल निनोले विश्वभरका समुदाय र अर्थतन्त्रमा ठूलो धक्का पुर्‍याउन सक्ने बताइन्। "हामीले खडेरी र बाढीका कारण विनाश देखिसकेका छौँ। एल निनो अझ तीव्र हुँदा यी प्रभावहरू अझै बढ्नेछन्," उनले भनिन्। साउलोले विपद् व्यवस्थापन निकायहरूसँगै कृषि, स्वास्थ्य, ऊर्जा र जलस्रोतजस्ता जलवायु-संवेदनशील क्षेत्रहरूलाई पूर्वतयारीका लागि "समय खेर नफाल्न" आग्रह गरेकी छन्।

 

मध्य र पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको सतहको तापक्रम बढाउने एल निनोले विश्वभर हावाको गति, वायुमण्डलीय चाप र वर्षाको ढाँचामा फेरबदल ल्याउँछ। यो सामान्यतया हरेक दुईदेखि सात वर्षको अन्तरालमा देखा पर्छ र करिब नौदेखि १२ महिनासम्म सक्रिय रहन्छ।

 

मौसमको अवस्था 'एल निनो' र यसको विपरीत 'ला निना' बीच उतारचढाव भइरहन्छ, र यी दुवैको बीचमा तटस्थ अवस्था पनि रहन्छ।

 

"उष्णकटिबंधीय प्रशान्त क्षेत्रमा समुद्रको असाधारण न्यानो अवस्थाका कारण आगामी महिनाहरूमा एल निनो अझ सशक्त भई निकै तीव्र रूप लिने अनुमान गरिएको छ," विश्व मौसम विज्ञान संगठनले जनाएको छ।

 

संयुक्त राष्ट्रसंघीय यस निकायले एल निनोका प्रभावलाई कमजोर, मध्यम, बलियो र अति बलियो गरी चार वर्गमा वर्गीकरण गर्छ। यसको अर्थ अब यो चक्र उच्चतम स्तरमा पुग्ने निश्चित भएको छ। संगठनका अनुसार  अनुसार एल निनो फेब्रुअरी महिनासम्म जारी रहने "करिब १०० प्रतिशत उच्च सम्भावना" रहेको छ।

 

यसैबीच, संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार आगामी केही वर्षभित्रै विश्वव्यापी तापक्रम वृद्धिले पेरिस सम्झौताद्वारा तोकिएको १.५ डिग्री सेल्सियसको सीमा नाघ्ने देखिन्छ।

 

सबैभन्दा आशावादी परिदृश्यमा पनि तापक्रम वृद्धि औद्योगिक क्रान्तिपूर्वको स्तरभन्दा १.८ डिग्री सेल्सियस माथि पुग्ने प्रतिवेदनमा उल्लेख छ। साथै, तीव्र बन्दै गएको चरम मौसमी अवस्था र पारिस्थितिक प्रणालीको विनाशले स्वास्थ्य, खाद्य सुरक्षा, पूर्वाधार र अर्थतन्त्रमा गम्भीर खतरा पुर्‍याउने चेतावनी दिइएको छ।

 

 

रौतहटका सिडिओ भुसाल गृह मन्त्रालय सरुवा, पौडेल नयाँ सिडिओ

रौतहट, २० भदौ। रौतहटका सिडिओ  दिनेश सागर भुसालको सरुवा भएको छ। गृह मन्त्रालयले भुसाललाई सहसचिवका रूपमा गृह मन्त्रालय, सिंहदरबारमा सरुवा गरेको हो। भुसालको स्थानमा पर्वतका सिडियो लक्ष्मी प्रसाद पौडेललाई रौतहटको  जिम्मेवारी दिइएको छ।

गृह मन्त्रालयले भदौ १८ गते गरेको निर्णयअनुसार विभिन्न जिल्ला प्रशासन कार्यालय तथा मन्त्रालयमा कार्यरत २३ जना सहसचिव तथा उपसचिव तहका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको हो।

छोटो कार्यकालमै छाडे प्रभाव

रौतहटमा सिडिओका रूपमा भुसालको कार्यकाल लामो नभए पनि प्रशासनिक सक्रियता, सुरक्षा समन्वय र सामाजिक सद्भाव कायम गर्ने प्रयासका कारण उनको कार्यकाल चर्चामा रह्यो।

उनले २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रशासनिक संयन्त्रको नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। निर्वाचनका क्रममा सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल तथा अन्य सरोकारवालाबीच समन्वय कायम गर्न उनले विशेष जोड दिएका थिए।

रौतहटमा समय–समयमा देखिने साम्प्रदायिक तथा सामाजिक विवादका क्रममा पनि भुसालले संवाद र समन्वयलाई प्राथमिकता दिएको देखियो। संवेदनशील परिस्थितिमा प्रशासनिक निर्णयसँगै सामाजिक संवेदनशीलतालाई समेत ध्यान दिएर अघि बढ्नु उनको कार्यशैलीको सकारात्मक पक्षका रूपमा लिइएको छ।

जिल्लामा शान्ति–सुरक्षा कायम गर्ने मात्र नभई स्थानीय तह, नागरिक समाज र सुरक्षा निकायबीच समन्वय बढाउने तथा समस्या उत्पन्न हुनुअघि नै सम्बन्धित पक्षसँग छलफल गर्ने उनको प्रयास देखिएको थियो।

विपद् व्यवस्थापन, सुरक्षा समन्वय र प्रशासनिक सेवा प्रवाहमा समेत उनले सक्रियता देखाएका थिए। रौतहटजस्तो सामाजिक तथा धार्मिक विविधता भएको जिल्लामा प्रशासनका लागि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम राख्नु आफैंमा चुनौतीपूर्ण मानिन्छ।

यही चुनौतीबीच विवादित विषयमा संवाद र समन्वयलाई प्राथमिकता दिनु भुसालको कार्यकालको उल्लेखनीय पक्षका रूपमा लिन सकिन्छ।

नयाँ सिडिओ पौडेलसामु चुनौती

अब रौतहटको प्रशासनिक नेतृत्व सम्हाल्न आउन लागेका लक्ष्मी प्रसाद पौडेलसामु भने जिल्लाको शान्ति–सुरक्षा, सुशासन, सेवा प्रवाह र प्रशासनिक व्यवस्थापनलाई प्रभावकारी बनाउने चुनौती रहनेछ।

विशेषगरी सामाजिक तथा धार्मिक संवेदनशीलता रहेको रौतहटमा सम्भावित विवादलाई समयमै पहिचान गरी राजनीतिक दल, स्थानीय तह, नागरिक समाज र सुरक्षा निकायसँग प्रभावकारी समन्वय गर्नु नयाँ सिडिओ पौडेलका लागि महत्वपूर्ण जिम्मेवारी हुनेछ।

भुसालले अघि बढाएको समन्वय, संवाद र सामाजिक सद्भावको अभ्यासलाई निरन्तरता दिँदै प्रशासनिक सेवा प्रवाहमा थप सुधार ल्याउनु पौडेलका लागि प्रारम्भिक प्राथमिकताका विषय बन्ने देखिन्छ।उता, गृह मन्त्रालयमा सहसचिवका रूपमा जिम्मेवारी सम्हाल्न लागेका भुसालले रौतहटमा प्राप्त गरेको प्रशासनिक अनुभवलाई अब मन्त्रालयस्तरको जिम्मेवारीमा कसरी उपयोग गर्छन् भन्ने विषय पनि चासोको रूपमा हेरिएको छ।

आजको मौसम: देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना

काठमाडौँ, २० भदौ — हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर र पूर्वमा सरदर स्थानकै आसपास अवस्थित छ।

 

 

दिउँसोको मौसम: दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भू-भागका केही स्थानमा र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानका साथै मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भाग, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 

 

रातिको मौसममा पनि देशभर साधारणतया बादल लागिरहनेछ। देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

 

भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयजस्ता विपद्को जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात एवम् उद्धार र राहत कार्यमा समेत असर पर्न सक्ने भएकाले सर्वसाधारण तथा सरोकारवाला निकायलाई विभागको अद्यावधिक सूचनामा रहन आग्रह गरिएको छ।

मधेश प्रदेशका सम्पर्कविहिनको संख्या २२० पुग्यो, ३९ सम्पर्कमा, ३ को मृत्यु

जनकपुरधाम, २० भदौ । रसुवाको भोटेकोशी सहित विभिन्न नदी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी मधेश प्रदेशका सम्पर्कविहिन हुनेहरुको संख्या २२० पुगेको छ । सम्पर्कविहिन मध्ये ३९ जना सम्पर्कमा आएका छन भने ३ जनाको शव फेला परेको छ । 

मधेश प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार शुक्रवार बिहानसम्म प्रदेशका ८ वटै जिल्लाका गरी २२० जना सम्पर्कविहिन रहेको छ भने ती मध्ये ३८ जना सम्पर्कमा आएको हो । सम्पर्कविहिन मध्ये मधेश प्रदेशका बारा र सप्तरी जिल्लाका एक÷एक जना गरी दुईजनाको शव फेला परेको हो । 

प्रहरीको तथ्यांक बाहेक आज सप्तरीका एक जना सम्पर्कमा आएका छन् भने महोत्तरीको गौशाला नगरपालिका ५ का शव फेला परेको थियो । सम्पर्कमा आएका सप्तरीका संजय साह र शव फेला परेको महोत्तरी गौशाला १ का कुशल खप्ताङ्गी मगरको विवरण प्रहरी तथ्यांकमा समावेश छैन । 

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभुप्रसाद ढकालले भने हामीलाई जानकारी आएसम्मको विवरण राखेका छौं । शव फेला परेको मध्ये महोत्तरी गौशालका मगर बारे जानकारी आएको छैन र आजबिहान करीब साढे १० बजेतिर सम्पर्कमा आएको मध्ये साह बारे ढिलो भएर जानकारी भएका कारण विवरणमा समावेश गरिएको छैन । 

प्रहरी विवरण अनुसार सबैभन्दा बढी सप्तरीका ५२ जना सम्पर्कविहीन छन् । जसमध्ये तीन जना सम्पर्कमा आएका छन् भने एक जनाको मृत्यु भएको छ । त्यसपछि पर्साका ४६ जना सम्पर्कविहीन रहेकोमा तीन जना सम्पर्कमा आएका छन् ।

बाराका ३० जनामध्ये चार जना सम्पर्कमा आएका छन् भने एक जनाको मृत्यु भएको छ । रौतहटका २० जनामध्ये छ जना, सर्लाहीका २७ जनामध्ये छ जना, महोत्तरीका १७ जनामध्ये सात जना र धनुषाका १४ जनामध्ये सात जना सम्पर्कमा आएका छन् । सिरहाका १४ जनामध्ये दुई जना सम्पर्कमा आएका छन् ।

विवरण अनुसार सम्पर्कविहीन हुनेमा प्रहरी कर्मचारी र नेपाली सेना समेत रहेका छन् । १० जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेकोमा आठ जना सम्पर्कमा आएका छन् । त्यस्तै नेपाली सेनातर्फ पाँच जना सम्पर्कविहीन रहेकोमा एक जना सम्पर्कमा आएका छन् ।

प्रहरी विवरण अनुसार हालसम्म मधेशका आठ जिल्लाबाट २२० जना सम्पर्कविहीन, ३८ जना सम्पर्कमा र दुई जनाको मृत्यु भएको हो । रसुवाको बाढीमा ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएपछि खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ । नेपाल प्रहरीले पनि बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा समन्वयको काम जारी राखेको जनाएको छ ।
 

रोटीमा घिउ लगाउनाले कुन रोग निको हुन्छ? अब जान्नुहोस्

काठमाडौँ, २० भदौ। नेपाली घरपरिवारमा रोटी खानुअघि त्यसमा घिउ लगाउने चलन शताब्दीयौँदेखि चलिआएको छ। हजुरआमाहरू प्रायः भन्नुहुन्थ्यो कि घिउ हालेर रोटी खाँदा स्वास्थ्य राम्रो हुन्छ र शरीर बलियो बन्छ। आज पनि पोषणविद्हरू स्वीकार गर्छन् कि सही मात्रामा घिउको सेवन स्वास्थ्यका लागि लाभदायक हुन सक्छ। आउनुहोस्, घिउ हालेर रोटी खानुका विभिन्न स्वास्थ्य लाभहरूबारे जानकारी लिऔँ।

 

रगतमा चिनी नियन्त्रण गर्न मद्दत गर्छ

रोटीमा घिउ लगाउनाले यसको ग्लाइसेमिक इन्डेक्स कम हुन्छ, अर्थात् यसले रगतमा चिनीको मात्रा घिउ बिनाको रोटी जत्तिकै छिटो बढाउँदैन। फलस्वरूप, रगतमा चिनीको उतारचढावको बारेमा चिन्तित व्यक्तिहरूका लागि घिउ भएको रोटी राम्रो विकल्प मानिन्छ। यद्यपि, मधुमेह जस्ता अवस्थाको व्यवस्थापन गरिरहेका व्यक्तिहरूले आफ्नो आहारमा कुनै पनि परिवर्तन गर्नुअघि डाक्टरसँग परामर्श गर्नुपर्छ।

 

पेट र पाचन प्रणालीका लागि लाभदायक

घिउमा पाइने स्वस्थकर बोसोले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ। यसले आन्द्रालाई चिल्लो वा नरम बनाउँछ, जसले गर्दा कब्जियत जस्ता समस्याबाट राहत मिल्छ। साथै, घिउ हालेर रोटी खाँदा पेट लामो समयसम्म भरिएको महसुस हुन्छ; यसले गर्दा बारम्बार भोक लाग्ने वा अस्वस्थकर नुनिला तथा गुलिया खानेकुरा खाने इच्छा कम हुन्छ। त्यसैले, तौल नियन्त्रण गर्न चाहनेहरूका लागि सीमित मात्रामा घिउ-रोटीको सेवन एक राम्रो विकल्प मानिन्छ।

 

हाड र जोर्नीका लागि लाभदायक

घिउमा भिटामिन 'ए', 'ई' र 'डी' जस्ता पोषक तत्त्वहरू पाइन्छन्, जुन हाड र जोर्नीलाई बलियो बनाउन अत्यावश्यक मानिन्छन्। आयुर्वेदका अनुसार, युवावस्थामा नियमित रूपमा घिउको सेवन गर्ने व्यक्तिहरूलाई उमेर बढ्दै जाँदा घुँडा र जोर्नीसम्बन्धी समस्याहरू कम हुने गर्छन्। यही कारणले गर्दा विशेष गरी जाडो मौसममा घिउ दलेको रोटी खान सुझाव दिइन्छ।

 

छालाको चमक र ऊर्जामा वृद्धि

घिउमा पाइने एन्टिअक्सिडेन्टहरूले छालालाई भित्रैबाट पोषण दिई यसको चमक कायम राख्न मद्दत गर्छन्। साथै, घिउमा पाइने 'सर्ट-चेन' र 'मिडियम-चेन' फ्याटी एसिडहरूले शरीरलाई तत्काल ऊर्जा प्रदान गर्छन्। यसैकारण, पहिलेका समयमा किसान तथा शारीरिक श्रम गर्ने मजदुरहरूले बिहानको खाजामा घिउ दलिएको रोटी खान रुचाउँथे, जसले गर्दा उनीहरूको शरीर दिनभर ऊर्जावान् रहन्थ्यो।

 

यसको कति मात्रामा सेवन गर्नु उचित हुन्छ?

विशेषज्ञहरूका अनुसार, अन्य जुनसुकै कुरा जस्तै घिउको सेवन पनि सीमित मात्रामा गर्दा मात्र लाभदायक हुन्छ। सामान्यतया, रोटीमा करिब एक चम्चा घिउ राख्नु पर्याप्त मानिन्छ। यसको अत्यधिक सेवनले तौल बढ्ने तथा स्वास्थ्यसम्बन्धी अन्य समस्याहरू निम्त्याउने जोखिम हुन्छ; त्यसैले, स्वास्थ्यका लागि यसलाई सन्तुलित मात्रामा आफ्नो दैनिक आहारमा समावेश गर्नु नै उत्तम उपाय मानिन्छ।