Blog

दैवी प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको साढे १५ करोड सहयोग, मृतकका परिवारलाई २५ लाख राहत

काठमाडौं, १९ भदौ । सशस्त्र प्रहरी बल नेपालले बाढी–पहिरो प्रभावितहरूको सहयोगार्थ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १५ करोड ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। संगठनमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको निश्चित दिनको तलब कट्टा गरी उक्त रकम कोषमा दाखिला गर्न लागिएको हो। तलब योगदानका क्रममा बाढीबाट ज्यान जोगाउन सफल बिओपी टिमुरे र सुरक्षा बेस मैलुङमा कार्यरत सुरक्षाकर्मीहरूको भने तलब कट्टा गरिने छैन।

निर्णय अनुसार उच्च पदस्थदेखि तल्लो तहसम्मका कर्मचारीहरूले तहगत रूपमा तलब योगदान गर्नेछन्। जस अन्तर्गत सशस्त्र प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकहरूले १५ दिन, नायव महानिरीक्षक र वरिष्ठ उपरीक्षकले १२ दिन, उपरीक्षक, नायव उपरीक्षक र निरीक्षकहरूले १० दिन तथा जुनियर अधिकृतहरूले ७ दिनको तलब दिनेछन्। त्यसैगरी वरिष्ठ हवलदारदेखि जवानसम्मले ५ दिन र सशस्त्र प्रहरी परिचरहरूले ३ दिन बराबरको तलब रकम कोषमा उपलब्ध गराउनेछन्।

बाढीमा परी ज्यान गुमाएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई तत्काल कूल २५ लाख रुपैयाँ राहत प्रदान गरिने भएको छ। यसमा राष्ट्रसेवकहरूको तर्फबाट १५ लाख, राहत सम्बन्धी कार्यविधि २०७९ बमोजिम ५ लाख र विपद् प्रकोप राहत कोष सञ्चालन सम्बन्धी मापदण्ड २०८१ बमोजिमको ५ लाख रुपैयाँ समावेश छ। यसका अतिरिक्त मृतक कर्मचारीले कल्याण कोषबाट लिएको सम्पूर्ण ऋण मिनाहा गरिनुका साथै उनीहरूका सन्ततिलाई नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म पूर्ण शैक्षिक शुल्क छुट दिइनेछ। उनीहरूको स्मृतिमा उपयुक्त स्थानमा स्मारक निर्माण गर्ने र परिवारका एक/एक जना सदस्यलाई सीपमूलक तालिम दिने व्यवस्था समेत मिलाइएको छ।

बाढीमा ज्यान जोगाउन सफल पाँच जना सुरक्षाकर्मीलाई जनही ५० हजार रुपैयाँ राहत दिइनेछ भने बहालवाला कर्मचारीका आश्रित परिवारका सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति १ लाख रुपैयाँ उपलब्ध गराइनेछ। संगठनले बाढी प्रभावित अवकाश प्राप्त कर्मचारीको मृत्यु भएमा वा घरबारविहीन भएमा १ लाख रुपैयाँ तथा घाइते वा भौतिक संरचनामा आंशिक क्षति पुगेकाहरूको हकमा तत्काल ५० हजार रुपैयाँसम्म सहयोग प्रदान गर्ने निर्णय गरेको छ।

शान्तिकुञ्ज हरिद्वारको टोलीले बाढी प्रभावित परिवारलाई राहत वितरण गर्दै

न्यूज कारखाना 

रौतहट १९ भदौ ।

नेपालमा प्राकृतिक विपद्बबाट प्रभावित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने अभियान जारी रहेको छ। विपद्को यस घडीमा गायत्री तीर्थ शान्तिकुञ्ज हरिद्वारको टोलीले मानवीय संवेदनासहित राहत तथा सेवा अभियान अघि बढाएको छ।

अखिल विश्व गायत्री परिवारको विपद् राहत टोली प्रभावित क्षेत्रमा पुगेर आवश्यक राहत सामग्री वितरण गरिरहेको छ। राहत सामग्री उपलब्ध गराउनुका साथै टोलीले संकटको समयमा आफूहरू पीडित परिवारसँगै रहेको सन्देशसमेत दिइरहेको छ।
विपद्पछि धेरै परिवारका लागि खाद्यान्न, दैनिक उपभोग्य सामग्री तथा सुरक्षित जीवनयापन चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा शान्तिकुञ्जको टोलीले स्थानीय आवश्यकतालाई ध्यानमा राख्दै राहत कार्य सञ्चालन गरिरहेको जनाएको छ।
नेपालमा गायत्री परिवारसँग आबद्ध स्वयंसेवकहरू पनि प्रभावित क्षेत्रमा सक्रिय छन्। उनीहरूले राहत टोलीसँग समन्वय गरी आवश्यकतामा रहेका परिवारसम्म सहायता पुर्‍याउन सहयोग गरिरहेका छन्।

शान्तिकुञ्ज परिवारले आफ्ना आराध्यदेव परमपूज्य पण्डित श्रीराम शर्मा आचार्य तथा वन्दनीया माता भगवती देवी शर्माको ‘पीडित मानवताको सेवा नै सच्चा साधना’ भन्ने सन्देशलाई आधार बनाएर सेवा कार्य अघि बढाएको जनाएको छ।
अखिल विश्व गायत्री परिवारकी प्रमुख श्रद्धेया शैलजीजी तथा देव संस्कृति विश्वविद्यालयका उपाध्यक्ष डा. चिन्मय पण्ड्या नेपालमा खटिएको राहत टोलीसँग निरन्तर सम्पर्कमा छन्।

डा. पण्ड्याले विपद्को समयमा पीडित मानवतासँग उभिनु नै सच्चा मानवीय पहल भएको बताएका छन्। प्रत्येक कार्यकर्ता करुणा र संवेदनाका साथ आवश्यकतामा रहेका नागरिकको सहयोगमा जुटेको उनको भनाइ छ।
उनका अनुसार सेवा अभियानको उद्देश्य राहत सामग्री पुर्‍याउनु मात्र नभई संकटमा परेका परिवारलाई आत्मीयता र मानसिक संबल प्रदान गर्नु पनि हो।

शान्तिकुञ्जको सञ्चार विभागका अनुसार डा. चिन्मय पण्ड्याको मार्गदर्शनमा राहत तथा सेवा अभियान निरन्तर अघि बढिरहेको छ। शान्तिकुञ्जको विपद् राहत टोलीसँगै १०० भन्दा बढी स्वयंसेवक दिनरात सेवा कार्यमा खटिएका छन्।

टोलीको मुख्य बेस क्याम्प काठमाडौंमा रहेको छ भने दोस्रो क्याम्प विदुरको पीपलटारमा स्थापना गरिएको छ। उक्त क्याम्पबाट दैनिक करिब एक हजार प्रभावित नागरिकका लागि भोजनलगायतका आवश्यक व्यवस्था भइरहेको जनाइएको छ।
राहत कार्यमा स्थानीय प्रशासन तथा नेपाली सेनाले समेत सहयोग गरिरहेका छन्। उनीहरूसँगको समन्वयमा प्रभावित क्षेत्रमा राहत सामग्री तथा भोजन पुर्‍याउने प्रयास भइरहेको छ।

शान्तिकुञ्जको टोलीले स्थानीय आवश्यकताको मूल्यांकन गर्दै आगामी राहत तथा सेवा अभियानको योजना तयार गरिरहेको जनाएको छ।

त्रिशूली–३ ‘ए’ सुरुङमा ९ दिनपछि दुई जनाको जीवित उद्धार, अन्यको खोजतलास जारी

काठमाडौं, १९ भदौ । रसुवास्थित त्रिशूली–३ 'ए' जलविद्युत् आयोजनाको सुरुङभित्र ९ दिनदेखि थुनिएका दुई जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमा मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जन रहेका छन्।

सुरुङबाट जीवितै उद्धार गरिएका दुवै जनालाई तत्काल उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै छ।

सुरुङभित्र अझै अन्य व्यक्तिहरू पनि थुनिएको हुनसक्ने जानकारी प्राप्त भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले बताएका छन्। थुनिएका सम्भावित अन्य व्यक्तिहरूको तीव्र खोज तथा उद्धारका लागि उद्धार टोलीले निरन्तर काम गरिरहेको छ।

कहिले छान्लान् मुख्यमन्त्री शाहीले आफ्नो सरकारको प्रवक्ता ?

सुर्खेत, १९ भदौ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दल कर्णाली प्रदेश सभाका नेता मंगलबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त भएको डेढ महिना पुग्ना लाग्दा पनि आफू नेतृत्वको प्रवक्ता चयन गर्न असफल बनेका छन् ।

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीको रुपमा उनी साउन १२ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

संविधानको धारा १६८ (२) अनुसार उनले प्रदेश प्रमूख यज्ञराज जोशीसमक्ष दाबी पेश गरेका थिए । उनको पक्षमा नेकपाका र नेकपा एमालेका प्रदेश सभा सदस्यले हस्ताक्षर गरेका थिए ।

कर्णाली प्रदेश सभामा नेकपाका १४ सांसद छन भने एमालेका सभामुखसहित १० सांसद रहेका छन् ।

७ सदस्यीय कर्णालीको मन्त्रिपरिषदमा भदौ ३ गते उनले एमालेबाट ३ जनालाई मन्त्री नियुक्त गरेका थिए । एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा टेकराज पछाई, सामाजिक विकास मन्त्रीमा जीतबहादुर मल्ल र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा कलबहादुर हमाल नियुक्त भएका भएका थिए ।

भदौ ११ गते विहीबार कर्णाली सरकारको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीमा रुकुम पश्चिमकी मिलन खड्का रोका, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा रुकुम पश्चिमकै कल्याणी खड्का र भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा हुम्लाकी जुम्कित लामा नियुक्त भएका थिए ।

यी मध्ये लामा र खड्का पूर्व माओवादी पक्षधरका हुन भने खड्का नेकपा एस पक्षधर हुन् ।

सामान्यतया सरकारले पहिलो मन्त्री परिषदको वैठक बसेकै दिन सरकारको प्रवक्ता तोक्ने प्रचलन छ । यसअअघि बनेका चार ओटा मुख्यमन्त्रीले त्यो प्रचलनलाई कायमै गरेपनि पाँचौँ मुख्यमन्त्रीका रुपमा सरकारको वागडोर सम्हालेका शाहीले भने मन्त्रीपरिषदको दुई ओटा वैठक बसालेका भएपनि प्रवक्ता तोक्न नसकेका हुन् ।

उनी साविक माओवादीबाटै प्रवक्ता तोक्ने ‘लाईन’ मा रहेका कारण हालसम्म प्रवक्ता नतोकिएको बताइएको छ । यसबारेमा प्रतिक्रिया लिन मुख्यमन्त्री शाहीलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
 

अक्षय कुमारको एलियन फिल्म ‘सामुक’ मा जाेडिए हलिउड प्राविधिक

काठमाडौँ, १९ भदाै । बलिउड अभिनेता अक्षय कुमारको बहुप्रतीक्षित नयाँ चलचित्र 'सामुक' मा हलिउडका चर्चित प्राविधिकहरू जोडिएका छन्।

भारतकै पहिलो ठूलो स्तरको सर्भाइभल-एक्सन एलियन थ्रिलर मानिएको यस चलचित्रको अन्तर्राष्ट्रिय प्राविधिक टोलीमा मार्भलको बहुचर्चित हलिउड चलचित्र 'एभेन्जर्स: डुम्सडे' का आर्ट डाइरेक्टर क्रिस पिटर्स आबद्ध भएका हुन्।

 

कनिष्क वर्माको निर्देशनमा बनिरहेको यस चलचित्रको छायाङ्कन हाल वेल्सको कार्डिफलगायत संयुक्त अधिराज्य (युके) का विभिन्न स्थानहरूमा भइरहेको छ। सैन्य यथार्थवाद, बचाउको संघर्ष र एलियन रहस्यको कथावस्तु समेटिएको यस फिल्ममा एआई भन्दा बढी हातले बनाइएको वास्तविक एलियन जीवकाे तस्विर र भिडियाेकाे प्रयोग गरिँदैछ। फिल्मका लागि मुख्य एलियनको डिजाइन अस्कर मनोनित 'क्रिएचर डिजाइनर' एलेक गिलिसले गरिरहेका छन्।

त्यस्तै, चलचित्रका एक्सन दृश्यहरू 'मिसन: इम्पसिबल' र 'नो टाइम टु डाइ' का हलिउड स्टन्ट कोअर्डिनेटर लुक्स टम्बरको निर्देशनमा तयार हुँदै छन्।

 

अक्षय कुमार र निर्माता विपुल अमृतलाल शाहले १२ वर्षपछि पुनः एकसाथ काम गर्न लागेको यस चलचित्रमा अक्षय मुख्य भूमिकामा देखिने छन् भने नायिकाका रूपमा बङ्गाली अभिनेत्री रुक्मिणी मैत्राको नाम चर्चामा छ। यो चलचित्र सन् २०२७ मा विश्वभरका सिनेमाघरहरूमा प्रदर्शन हुने तालिका रहेको छ ।

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भारी वर्षाको सम्भावना, तीन दिन सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौ, १९ भदौ । जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको जनाएको छ। मौसमविद् बिनु महर्जनका अनुसार बाढी प्रभावित जिल्ला रसुवाको पहाडी भू–भागमा भारी वर्षा र अन्य प्रभावित क्षेत्रमा मध्यम वर्षाको जोखिम रहेको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ। यसका कारण देशभर सामान्यतया बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। पछिल्लो छ घण्टामा झापाको अनारमनी विर्तास्थित मौसम मापन केन्द्रमा सबैभन्दा धेरै ३४ मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो र राति हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको सम्भावना छ। साथै लुम्बिनी, सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका तराई भू–भागका विभिन्न स्थानमा मध्यम वर्षा हुनसक्छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा भने हावाहुरीसमेत चल्ने पूर्वानुमान छ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भाग, देशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मौसमविद् महर्जनका अनुसार अझै तीन दिन मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढी र पहिरोको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

राहत संकलनको नाममा अवैध कार्य रोक्न निर्देशन

सुभाष कायस्थ

जनकपुरधाम, १९ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरुको नाममा राहतको नाममा हुने अवैध क्रियाकलाप रोक्न धनुषा जिल्ला विपद् व्यवस्थापन समितिले निर्देशन दिएको छ । 

समितिको बुधबार बसेको बैठकले पुराना कपडा, अखाद्य वस्तु, चाँडै सड्ने सामग्री तथा प्रयोगमा नआउने सामान संकलन नगर्न र राहतका नाममा स्वदेश तथा विदेशका नागरिकसँग आह्वान गरी निजी बैंक खाता वा क्यूआरमार्फत रकम उठाउने कार्य रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो । 

त्यस्तो कार्य भएको पाइएमा स्थानीय प्रशासनले कानुनबमोजिम कारबाही गर्ने चेतावनी समेत दिँदै विपद् प्रभावितका नाममा राहत संकलन गर्दा सावधानी अपनाउन समितिले आग्रह गरेका छन् । 

त्यसैगरी, विपद्का लागि आर्थिक सहयोग गर्न चाहने व्यक्ति तथा संस्थालाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक बैंकिङ प्रणालीमार्फत सहयोग गर्न र त्यसको जानकारी जिल्ला प्रशासन कार्यालयलाई गराउन आग्रह गरिएको छ ।

बाढीपहिरोबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका नागरिकका लागि राहत तथा पुनःस्थापनामा सहयोग गर्न जिल्लाका सरकारी निकाय, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, संघसंस्था तथा सर्वसाधारणलाई आह्वान गरेको हो ।

बैठकले रसुवाको भोटेकोशीमा आएको बाढीका कारण धनुषाका नागरिकसमेत प्रभावित भएको हुनसक्ने भन्दै उनीहरूको शीघ्र खोजतलास तथा उद्धारका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ । बाढीमा परी मृत्यु भएका धनुषाका नागरिकका परिवारले शव आफ्नो स्थायी घरठेगानासम्म ल्याई परम्पराअनुसार दाहसंस्कार गर्न चाहेमा सम्बन्धित पालिकाले आवश्यक सहयोग गर्ने निर्णय पनि गरिएको छ ।

राहतस्वरूप खाद्यान्न, लत्ताकपडा, औषधिलगायत सामग्री उपलब्ध गराउँदा आवश्यकताको पहिचान गरी तोकिएको फोकल पर्सनसँग समन्वय गरेर आवश्यक सामग्री मात्र संकलन गर्नुपर्ने निर्णय पनि गरिएको समितिका संयोजक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले जानकारी दिएका छन् । बैठकले राहत सामग्रीको ढुवानी तथा व्यवस्थापनसमेत व्यवस्थित रूपमा गर्नुपर्नेमा समितिले जोड दिएको छ ।

मनसुनजन्य विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि जिल्लाका सबै सरकारी तथा सम्बन्धित निकायलाई पूर्वतयारी र प्रतिकार्यमा समन्वयात्मक रूपमा परिचालन हुन निर्देशन पनि बैठकबाट दिइएको छ । 

यसैबीच, धनुषामा बाढी तथा डुबानको जोखिम बढ्न सक्ने नदी तथा खोल्सीको अवस्थाबारे पनि बैठकले ध्यानाकर्षण गराएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन, जनकपुरधामको कार्यक्षेत्रभित्र पर्ने विभिन्न नदी तथा खोलामा बाढीका कारण जोखिममा रहेका क्षेत्रमा तत्काल आवश्यक नदी नियन्त्रण तथा मर्मतसम्भारका काम अघि बढाउन सम्बन्धित निकायलाई अनुरोध बैठकबाट गरिएको जनाइएको छ । 

 

जनकपुर अयोध्या रेल सञ्चानको तयारी तीव्र, नेपाल भारतीय अधिकारीबीच छलफल

सुभाष कायस्थ

जनकपुरधाम, १८ भदौ । जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेल सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ । यसबारे भारतीय रेलवे र नेपार रेलवे कम्पनीका पदाधिकारीबीच छलफल भएको छ । 

जयनगरस्थित रेलवे कार्यालयमा सम्पन्न नेपाल–भारतका उच्च अधिकारीबीच भएकोको पहिलो चरणको बैठकमा आगामी चाँडै नै जनकपुरधाम–अयोध्याबीच विशेष रामायण सर्किट रेल सेवा सञ्चालन गर्ने विषयमा सैद्धान्तिक सहमति जुटेको बताइएको छ ।

बैठकमा प्रस्तावित रेल सेवा सञ्चालनपूर्व रेलमार्गको लिक, प्लेटफार्मको व्यवस्थापन, सिग्नल प्रणाली, अध्यागमन, भन्सार जाँच चौकी, यात्रु सुविधा तथा सुरक्षा व्यवस्थापन लगायत विषयमा विस्तृत छलफल नेपाल रेलवे कम्पनीका प्रबन्धक परिवेश पराजुलीले जानकारी दिएका छन् । 

उनले भने, ‘जनकपुर—अयोध्या रेल सञ्चालन बारे भारतीय अधिकारीहरुसँग पहिलो चरणको छलफल भएको हो । पहिलो चरणमा उहाँहरुले रेलवेका विभिन्न व्यवस्थापन बारे छलफल भएको हो र अवस्था बारे विभिन्न रेल्वे हाल्ट र स्टेशनको अनुगमन समेत गरेको हो । चाँडै नै सञ्चालन गर्ने तयारीमा हामी पनि छौं ।’ 

उनले थप्दै भने ‘प्रारम्भिक चरणको यो बैठक थियो, यसपछि विभिन्न चरणको बैठक हुन्छ । दुई देशबीचको कुरा भएकाले सरकार सरकारबीच पनि सहमति प्रमुख कुरा हो ।’ 

प्रस्तावित रेल सेवामा हालका लागि एसी र स्लीपर क्लासका डिब्बा सञ्चालनको तयारी बारे पनि छलफल भएको छ । रेलमार्गको सुरक्षाका सम्बन्धमा नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु तथा रेल सुरक्षाको जिम्मेवारी लिने विषयमा समेत छलफल भएको रेलवे श्रोतले जनाएको छ । 

बैठकपछि नेपाल र भारतका अधिकारीहरूले विशेष निरीक्षण गाडीमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलवे स्टेशन र हाल्टको स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा सीमावर्ती क्षेत्रमा रेलमार्गको वर्तमान अवस्था, सिग्नलिङ प्रणाली, अध्यागमन तथा भन्सार व्यवस्थालगायत संरचनाको अवस्थाबारे जानकारी गराइएको थियो । 

अयोध्याबाट जनकपुरधाम आउने यात्रुको सुरक्षा, अध्यागमन प्रक्रिया तथा यात्रु आवागमन व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो । विशेष रेल सेवा सञ्चालनमा आएपछि भारतको अयोध्या र नेपालको जनकपुरधामबीच धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने अपेक्षा भारतीय अधिकारीहरुको विश्वास छ । 

बैठकमा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झा, नेपाल रेलवे कम्पनीका पदाधिकारी तथा सुरक्षा अधिकारीहरु र भारतीय पक्षबाट समस्तीपुर रेलवे डिभिजनका डीसीएम अमृतेश कुमार, डीएमओ विजय प्रकाश, कस्टम आयुक्त अरुण प्रसाद, एसएसबीका डीआईजी मधुकर अमिताभ, मधुबनी जिल्लाका ग्रामीण एसपी शिवम धाकड, भारतीय राजदूतावासका प्रथम सचिव कुमार गौरव सिंह, तथा इरकानका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई रेलमार्गसँग जोड्ने उद्देश्यले प्रस्तावित यो सेवाले विशेषगरी रामायणसँग सम्बन्धित धार्मिक गन्तव्यहरूबीच यात्रालाई सहज बनाउने अपेक्षा गरिएको छ ।
 

जीसीडी नेपाली प्रिमियर लिग क्रिकेट यूएई सेप्टेम्बर ५ बाट सुरु, रमेश श्रेष्ठको पहलमा पहिलो संस्करण सुरु हुँदै

दुबई,नेपाली क्रिकेटको विकास, प्रवर्द्धन र प्रवासी नेपाली खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यसहित संयुक्त अरब इमिरेट्स (यूएई) मा जीसीडी नेपाली प्रिमियर लिग क्रिकेटको पहिलो संस्करण आयोजना हुने भएको छ। जीसीडी ग्रुप अफ कम्पनीजका अध्यक्ष एबम एनआरएनए मध्यपुर्व संयोजक रमेश श्रेष्ठको पहलमा आयोजना हुन लागेको प्रतियोगिता आगामी सेप्टेम्बर ५ बाट सुरु हुँदैछ ।
दुबईस्थित हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो। यूएईमा पहिलोपटक आयोजना हुन लागेको प्रतियोगितालाई नेपाली खेलाडीको प्रतिभा पहिचान गर्ने, नयाँ खेलाडीलाई अवसर दिने र नेपाली समुदायलाई खेलकुदमार्फत जोड्ने अभियानका रूपमा अघि बढाइएको छ।

जीसीडी ग्रुप अफ कम्पनीजका अध्यक्ष रमेश श्रेष्ठले प्रतियोगिता पूर्वनिर्धारित कार्यक्रम भएकाले नेपालमा पछिल्लो समय आएको बाढी तथा पहिरोका कारण उत्पन्न विषम परिस्थितिका बीच पनि निर्धारित समयमै आयोजना गर्न लागिएको बताए । विपद्का कारण देशमा ठूलो क्षति भइरहेका बेला आफूहरू पनि प्रभावित नेपालीको पीडाप्रति संवेदनशील रहेको उल्लेख गर्दै श्रेष्ठले खेलकुदसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिइएको बताए।

श्रेष्ठ आफैं नेपाल पुगेर बाढी तथा पहिरो प्रभावित क्षेत्रमा स्थलगत रूपमा पुगेका थिए। उनले प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गर्नुका साथै पीडित परिवारसँग भेटेर अवस्थाबारे जानकारी लिएका थिए। राहत तथा उद्धारका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायत विभिन्न माध्यमबाट हालसम्म ५ लाख ११ हजार रुपैयाँभन्दा बढी सहयोग गरिसकेका छन ।
त्यसैगरी, जीसीडी नेपाली प्रिमियर लिगको तर्फबाट बाढी तथा पहिरो प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको आयोजकले जनाएको छ। प्रतियोगितालाई खेलकुदमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले उक्त सहयोग गरिएको आयोजकको भनाइ छ।

श्रेष्ठले जीसीडी नेपाली प्रिमियर लिग यूएईमा पहिलोपटक आयोजना हुन लागेको उल्लेख गर्दै प्रतियोगिताले यूएईमा रहेका नेपाली क्रिकेट खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने बताए। उनका अनुसार नियमित प्रतिस्पर्धाको वातावरण निर्माणसँगै नयाँ प्रतिभालाई पहिचान गरी नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउने लक्ष्य प्रतियोगिताको हो।

पत्रकार सम्मेलनका प्रमुख अतिथि नेपाल कन्सुलेट जनरल, दुबईका कन्सुलर कुञ्जन शाहले विदेशमा रहेका नेपाली खेलाडीका लागि यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताए। नेपाली खेलाडीको प्रतिभा विकास र प्रवर्द्धनका लागि प्रतियोगिताले सकारात्मक भूमिका खेल्ने उल्लेख गर्दै शाहले खेलकुदका माध्यमबाट प्रवासी नेपाली समुदायबीच आपसी सम्बन्ध र एकता अझ बलियो हुने बताए।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका सचिव भुवानीप्रसाद तिमल्सिना,एनआरएनए मध्यपुर्व सह संयोजक बिकाश शाही, एनआरएनए यूएईका अध्यक्ष भीम मल्ल ठकुरीलगायत यूएईमा क्रियाशील विभिन्न नेपाली संघसंस्था, व्यवसायी, सामाजिक अभियन्ता तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति थियो।

उपस्थित संघसंस्था तथा प्रतिनिधिहरूले यूएईमा नेपाली क्रिकेटलाई व्यवस्थित र प्रतिस्पर्धात्मक रूपमा अघि बढाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरेकोमा जीसीडी ग्रुप तथा रमेश श्रेष्ठको पहलको प्रशंसा गरे। उनीहरूले नेपाली खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर सिर्जना गर्ने प्रतियोगितालाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्ने बताए।

प्रतियोगिताको पहिलो संस्करण सेप्टेम्बर ५ देखि २६ तारिखसम्म प्रत्येक शनिबार शारजाहको अल बताहस्थित फरहान क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालिज क्रिकेट क्लब, जीसीडी गोर्खाली राइनोज क्रिकेट क्लब, एभरेस्ट वारियर्स अबुधाबी क्रिकेट क्लब र नेपाल टाइटन्स क्रिकेट क्लब गरी चार टोलीबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताका लिग चरणका खेल प्रत्येक शनिबार राति ९ बजे र ११ः५९ बजे सञ्चालन हुनेछन्। सेप्टेम्बर २६ मा फाइनल खेलसँगै विशेष समापन समारोह आयोजना गरिनेछ।

प्रतियोगिताको अर्को महत्वपूर्ण पक्ष नेपाली खेलाडीलाई दिइएको प्राथमिकता हो। प्रत्येक खेलमा मैदानमा उत्रिने ११ सदस्यीय टोलीमा कम्तीमा नौ जना नेपाली खेलाडी अनिवार्य हुनेछन्। बढीमा तीन जना विदेशी खेलाडीले मात्र खेल्न पाउने व्यवस्था गरिएको छ। प्रत्येक टोलीमा १७ जना खेलाडी रहनेछन्।

प्रतियोगिताको विजेताले ५ हजार यूएई दिराम नगदसहित ट्रफी र पदक प्राप्त गर्नेछ भने उपविजेताले २ हजार यूएई दिरामसहित पदक प्राप्त गर्नेछ। उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर तथा प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई व्यक्तिगत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

नेपाली दर्शक तथा समुदायको सहभागिता सहज बनाउन आयोजकले बुर्ज दुबई, अल क्वोज र सोनापुरबाट फरहान क्रिकेट मैदानसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने जनाएको छ।

प्रतियोगिताको मुख्य प्रायोजक जीसीडी ग्रुप अफ कम्पनीज रहेको छ भने अल फरदान एक्सचेन्ज प्लाटिनियम स्पोन्सरका रूपमा जोडिएको छ। पत्रकार सम्मेलनमा अल फरदान एक्सचेन्जका तर्फबाट पाँच जना प्रतिनिधिको सहभागिता रहेको थियो। साथै, यूएईमा रहेका विभिन्न नेपाली व्यवसायिक प्रतिष्ठान तथा संघसंस्थाले प्रतियोगितालाई सहयोग गरेका छन्।

यूएईमा नेपाली समुदायको उपस्थिति र गतिविधि विस्तार भइरहेका बेला नेपाली क्रिकेटलाई प्रवासमा थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने प्रयासका रूपमा जीसीडी नेपाली प्रिमियर लिगलाई हेरिएको छ। विशेषगरी यूएईमा रहेका नेपाली खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्ने नियमित मञ्च पाउने र नयाँ प्रतिभालाई अगाडि बढ्ने अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

पहिलोपटक आयोजना हुन लागेको जीसीडी नेपाली प्रिमियर लिगलाई आयोजकले क्रिकेट प्रतियोगिताभन्दा माथि उठाएर नेपाली प्रतिभा पहिचान, खेलाडी विकास, सामुदायिक एकता र सामाजिक उत्तरदायित्वको साझा अभियानका रूपमा अघि सारेको छ। पहिलो संस्करणलाई सफल बनाएर आगामी दिनमा प्रतियोगितालाई थप व्यवस्थित, व्यापक र नियमित बनाउने लक्ष्यसहित जीसीडी नेपाली प्रिमियर लिगको पहिलो संस्करण सेप्टेम्बर ५ बाट सुरु हुँदैछ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । सिराहाको औरही गाउँपालिकामा सञ्चालित ‘साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम’ मा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

आर्थिक वर्ष २०७८/०७९ मा माछापालनका लागि सञ्चालित सो कार्यक्रममा कामै नगरी वा तोकिएको मापदण्ड पूरा नगरी झुट्टा बिल भरपाई बनाई रकम भुक्तानी लिएको अनुसन्धानबाट खुलेको अख्तियारको दाबी छ । गाउँपालिका र प्रगतिशील कृषक समूहबिच १५ लाख रुपैयाँमा सम्झौता भएकोमा माछाको भुरा, दाना, चन र कृषि सामाग्री वितरण नै नगरी पुरा काम भएको भनी ८ लाख २ हजार ८ सय ७८ रुपैयाँ बढी भुक्तानी लिई भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

अख्तियारले औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, तत्कालीन पशु शाखा प्रमुख रमेश नारायण शर्मा, तत्कालीन लेखापाल आशिष कुमार कामती र प्रगतिशील कृषक समूहका अध्यक्ष राम भजन यादवलाई प्रतिवादी बनाएको छ। उनीहरू चारै जनासँग जनही ८ लाख २ हजार ८ सय ७८ रुपैयाँ बिगो मागदाबी गरिएको छ।
आयोगका अनुसार तत्कालीन पशु शाखा प्रमुख रमेश नारायण शर्माले आफू पदमा नरहेको अवस्थामा समेत प्रमुख प्रशासकीय अधिकृत भएको भनी ओहदा र अधिकारको दुरुपयोग गरी सरकारी कागजातमा अनधिकृत रूपमा सच्याउने र विवरण हेरफेर गर्ने कार्य गरेको समेत पाइएको छ। यसका लागि उनलाई भ्रष्टाचार निवारण ऐनको दफा ११ र १५ बमोजिम थप सजायको माग गरिएको छ।
त्यसैगरी, कृषक समूहका अध्यक्ष राम भजन यादवले सरकारी कर्मचारीहरूसँगको मिलेमतोमा गैरकानूनी लाभ लिने बदनियत राखेर भ्रष्टाचारको मतियार बनेको अभियोगमा उनीविरुद्ध पनि मुख्य अभियुक्त सरहकै सजाय र बिगो असुलको मागदाबी लिई मुद्दा दायर गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।