मधेशको शिक्षा पुरानै लयमा फर्काउन गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ : मन्त्री सिंह
प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंहले अन्य प्रदेशको तुलनामा मधेश प्रदेशको शैक्षिकस्तर खस्किँदै गएको बताएका छन्। उनले गुणस्तरीय र अनुशासित शिक्षामा जोड दिन सके मात्र मधेशको शिक्षा क्षेत्रलाई पुनः पुरानै लयमा फर्काउन सकिने बताएका हुन्।
गोलबजार नगर प्याब्सनद्वारा शुभदीपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा बोल्दै मन्त्री सिंहले मधेशको शैक्षिक अवस्था सुधार्न निजी विद्यालयहरूको भूमिका महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे।
उनले सिरहाका सबै निजी विद्यालयका संस्थापकहरूलाई कम्तीमा एक–एक जना दलित (मुसहर) समुदायका विद्यार्थीलाई निःशुल्क तथा गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गरे। उनले थपे, «सिरहाका प्रत्येक निजी विद्यालयले मुसहर समुदायका एक जना बालबालिकालाई निःशुल्क पढाउने व्यवस्था गरे दलित बस्तीका बालबालिकामा शिक्षाप्रति आकर्षण बढ्नेछ। आज नभए भोलि उनीहरू पनि शिक्षित र सक्षम बन्नेछन्।»
दलित तथा विपन्न समुदायका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन निजी विद्यालयहरूले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने उनको भनाइ थियो।
गोलबजार नगरपालिका–४ स्थित बुढानीलकण्ठ आवासीय विद्यालयको प्राङ्गणमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) गोलबजार नगर समितिका अध्यक्ष रामजीवन सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा प्याब्सनका केन्द्रीय सचिव विष्णु न्यौपाने, मधेश प्रदेश सदस्य रामवरण यादव, जिल्ला अध्यक्ष उमेश चौधरी तथा गोलबजार नगरपालिकाका नगरप्रमुख श्याम श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
गोलबजार नगर प्याब्सनको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदानसँगै विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो।



