समाचार

नेपाल सरकार र टिकटकबीच सहकार्यका विषयमा उच्चस्तरीय छलफल

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र टिकटकका सरकारी सम्बन्ध तथा सार्वजनिक नीति मामिलासम्बन्धी वरिष्ठ निर्देशक एमिर गेलेनबीच भेटवार्ता भएको छ।

 

नेपाल सरकार र टिकटकबीच डिजिटल रूपान्तरण, आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा सुरक्षित इन्टरनेट प्रयोगका विषयमा सहकार्यको सम्भावनाबारे उक्त भेटमा महत्त्वपूर्ण छलफल भएको हो।

 

भेटका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले टिकटकजस्ता डिजिटल प्लेटफर्महरूलाई केवल मनोरञ्जनको साधनमा मात्र सीमित नराखी नेपाली कला, संस्कृति, पर्यटन, उद्यमशीलता र रोजगारी सिर्जनाको बलियो माध्यमका रूपमा उपयोग गर्नुपर्नेमा विशेष जोड दिए।

 

 

डिजिटल अवसरहरू सहरमा मात्रै सीमित नराखी ग्रामीण क्षेत्रका नागरिक, साना उद्यमी तथा विपन्न समुदायसम्म विस्तार गर्नुपर्ने खाँचो औँल्याउँदै मन्त्री तिमिल्सिनाले डिजिटल साक्षरता, प्रयोगकर्ताको गोपनीयताको संरक्षण र सुरक्षित इन्टरनेट प्रयोगलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे।

 

साथै, विपद्का बेला दिइने सूचना, जनचेतनामूलक सन्देश तथा सार्वजनिक सरोकारका विषयहरू नागरिकको पहुँचसम्म पुर्‍याउन सामाजिक सञ्जालको प्रभावकारी उपयोगबारे समेत छलफल भएको थियो।

 

सो अवसरमा टिकटकका वरिष्ठ निर्देशक एमिर गेलेनले नेपालमा डिजिटल साक्षरता अभिवृद्धि गर्न, सामुदायिक विकासमा टेवा पुर्‍याउन तथा नेपाली व्यापार, पर्यटन र कला–संस्कृतिको विश्वव्यापी प्रवर्द्धन गर्न टिकटक सदैव तत्पर रहेको बताएका छन्। उनले सुरक्षित इन्टरनेट प्रयोगसम्बन्धी जनचेतना अभियान सञ्चालन गर्न नेपाल सरकारसँग सहकार्य गर्न टिकटक अत्यन्तै इच्छुक रहेको समेत जानकारी दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button