Blog

एनआरएनए श्रमिकको अभिभावक बन्नुपर्छ : खगेन्द्र न्यौपाने -उपाध्यक्ष एनआरएनए आईसिसि

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई विदेशमा रहेका नेपालीको साझा संस्थाका रुपमा मानिन्छ। संस्थाभित्र व्यवसायी, उद्यमी तथा विभिन्न क्षेत्रमा स्थापित नेपालीको सहभागिता उल्लेख्य भए पनि विदेशमा रहेका लाखौँ नेपाली श्रमिकका समस्या र अधिकारका विषयलाई पनि उत्तिकै प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने आवश्यकता छ। एनआरएनएका उपाध्यक्ष तथा वैदेशिक रोजगार विभागका प्रमुख खगेन्द्र न्यौपाने यही विषयलाई संस्थाको महत्वपूर्ण जिम्मेवारीका रूपमा अघि बढाउनुपर्ने धारणा राख्छन्।

न्यौपानेका अनुसार विदेशमा रहेका नेपालीमध्ये ठूलो हिस्सा श्रमिकको रहेको छ। त्यसैले एनआरएनए श्रमिकका समस्या सुन्ने मात्र होइन, उनीहरूको समस्या समाधानका लागि सम्बन्धित सरकार, नेपाली दूतावास तथा रोजगारदाता निकायसँग समन्वय गर्ने प्रभावकारी माध्यम बन्नुपर्छ । व्यवसायमा संलग्न धेरै नेपालीको विगत पनि श्रमिक जीवनसँग जोडिएको उल्लेख गर्दै उनले श्रमिकका दुःख र चुनौतीलाई नजिकबाट बुझेका व्यक्तिहरू एनआरएनएको नेतृत्वमा रहेको बताए।

श्रमिकका समस्या संस्थागत रूपमा उठाउन एनआरएनएले वैदेशिक रोजगारसम्बन्धी टास्क फोर्स गठन गरेर काम गरिरहेको छ। विशेषगरी श्रमिक बाहुल्य मुलुकमा कागजातविहीन भएर अलपत्र पर्ने नेपालीका लागि सुरक्षित आश्रयस्थलको व्यवस्था गर्नुपर्ने विषयलाई उनले प्राथमिकतामा राखेका छन्। मलेसियालगायतका देशमा सरकारीस्तरबाटै ‘सेल्टर हाउस’ स्थापना गर्न सके समस्यामा परेका श्रमिकलाई सुरक्षित रूपमा राखेर कानुनी प्रक्रिया पूरा गर्दै स्वदेश फर्काउन सहज हुने उनको धारणा छ।

विदेशमा रोजगारीका क्रममा दुर्घटनामा परी अंगभंग भएका, रोजगारदाताबाट समस्यामा परेका वा विभिन्न कारणले अलपत्र परेका नेपालीको उद्धार तथा सहजीकरणमा एनआरएनएले भूमिका खेल्दै आएको न्यौपाने बताउँछन्। मलेसियामा समस्यामा परेका श्रमिकलाई नेपाली दूतावाससम्म पुर्‍याउने, अस्पतालमा उपचारका लागि सहजीकरण गर्ने, स्वदेश फर्किन आवश्यक टिकटको व्यवस्था गर्ने तथा मृत्यु भएका नेपालीको शव नेपाल पठाउन समन्वय गर्ने काममा समेत एनआरएनए सक्रिय रहेको उनको भनाइ छ।

एनआरएनएमा आबद्ध व्यक्तिले नै श्रमिकमाथि शोषण गरेको अवस्थामा भने संस्था अझ कडा बन्नुपर्ने न्यौपाने बताउँछन्। एनआरएनएको पद वा प्रभावको आडमा श्रमिकको अधिकार हनन गर्ने छुट कसैलाई नहुने उनको स्पष्ट धारणा छ। कुनै व्यक्ति संस्थाको सामान्य सदस्य होस् वा उच्च तहको नेता, श्रमिकको हकहितविरुद्ध काम गरेको वा शोषण गरेको प्रमाणित भए संस्थागत प्रक्रियाबाट कारबाही अघि बढाउनुपर्ने उनी बताउँछन्।

कतिपय अवस्थामा श्रमिक आफ्नै रोजगारदाताविरुद्ध उजुरी गर्न डराउने गरेको भए पनि पीडितले नेपाली दूतावास, एनआरएनएका सम्बन्धित विभाग तथा राष्ट्रिय समन्वय परिषद्मार्फत समस्या राख्न सक्ने न्यौपाने बताउँछन्। आरोपित व्यक्ति प्रभावशाली भएकै कारण पीडितको आवाज दबिन नहुने र उजुरी आएपछि निष्पक्ष रूपमा छानबिन गरी समस्या समाधान गर्नुपर्नेमा उनको जोड छ।

वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि पर्ने आर्थिक भार कम गर्न ‘जिरो कस्ट’को अवधारणालाई व्यवहारमै कार्यान्वयन गर्नुपर्ने उनको अर्को जोड छ। रोजगारदाता र नेपाली मेनपावर व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धाका कारण श्रमिकले अनावश्यक शुल्क तिर्नुपर्ने अवस्था सिर्जना भएको बताउँदै उनले सरकारले सेवा शुल्क स्पष्ट रूपमा निर्धारण गर्नुपर्ने र तोकिएकोभन्दा बढी रकम लिने व्यवसायीमाथि कडा कारबाही गर्नुपर्ने बताए।

उनका अनुसार नेपाली श्रमिक मेहनती र इमानदार भएकाले मलेसिया, जापान,मध्यपुर्व
,युरोप लगायतका मुलुकमा नेपाली कामदारको माग कायम छ। तर श्रमिक पठाउने प्रक्रिया पारदर्शी, व्यवस्थित र कानुनी रूपमा बलियो बनाउन नसकिएसम्म श्रमिकमाथिको आर्थिक तथा मानसिक भार पूर्ण रूपमा हटाउन कठिन हुन्छ।

न्यौपाने श्रमिकको विषयलाई विदेशमा रोजगारी दिलाउने र रेमिट्यान्स भित्र्याउने विषयमा मात्र सीमित गर्न नहुने धारणा राख्छन्। विदेशमा कमाएको रकमलाई नेपालका उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण बनाउन सके श्रमिक आफैँ देशको आर्थिक विकासका साझेदार बन्न सक्ने उनको विश्वास छ। श्रमिकले आफ्नो आम्दानीको केही हिस्सा बचत गरेर जलविद्युत्, पर्यटन, पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ।

विदेशमा मृत्यु भएका नेपाली श्रमिकको शव स्वदेश ल्याउने प्रक्रियामा समेत थप सुधार आवश्यक रहेको उनी बताउँछन्। कागजात भएका श्रमिकको हकमा सम्बन्धित नेपाली दूतावास र वैदेशिक रोजगार बोर्डमार्फत प्रक्रिया तुलनात्मक रूपमा सहज भए पनि कागजातविहीन श्रमिकको पहिचान तथा कानुनी प्रक्रिया पूरा गर्न कठिन हुने गरेको उनको भनाइ छ। यस्तो अवस्थामा एनआरएनएले दूतावास तथा सम्बन्धित निकायसँग समन्वय गरी सहजीकरण गर्दै आएको उनले बताए।

मलेसियालगायतका मुलुकमा सेल्टर हाउस स्थापना गर्न एनआरएनए तयार रहेको बताउँदै न्यौपानेले त्यसका लागि सरकारको कानुनी तथा कूटनीतिक सहजीकरण आवश्यक रहेको बताए। एनआरएनएको श्रम विभागको बजेटसमेत वृद्धि गर्ने तयारी रहेको उल्लेख गर्दै उनले सरकारले आवश्यक अनुमति र जिम्मेवारी दिए तत्कालै काम अघि बढाउन सकिने बताए।

विदेशमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विषयलाई पनि उनले महत्वपूर्ण मानेका छन । सामाजिक सुरक्षाको दीर्घकालीन महत्वबारे पर्याप्त जानकारी नहुँदा धेरै नेपाली श्रमिक यसबाट टाढा रहेको बताउँदै एनआरएनएले विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षाका फाइदाबारे सचेत गराउने कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।

एनआरएनएभित्रको एकता र संस्थागत सहकार्यलाई पनि न्यौपानेले उत्तिकै महत्वपूर्ण मानेका छन्। ठूलो विश्वव्यापी सञ्जाल भएकाले विचारमा विविधता हुनु स्वाभाविक भए पनि असहमति र फरक मतलाई संस्थागत प्रक्रियाबाट सम्बोधन गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने उनी बताउँछन । हालै चीनको ग्वाङ्झाउमा सम्पन्न एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनलाई पनि केन्द्रसँगको समन्वयमा सफलतापूर्वक सम्पन्न भएको महत्वपूर्ण कार्यक्रमका रूपमा उनले लिएका छन्।

न्यौपानेका लागि एनआरएनएको वास्तविक प्रभाव विदेशमा रहेका नेपाली व्यवसायी वा लगानीकर्ताको संख्याले मात्र मापन हुने विषय होइन । विदेशमा श्रम गरिरहेका नेपालीले आफू सुरक्षित, सम्मानित र अधिकारसम्पन्न भएको अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्न सक्नु नै संस्थाको महत्वपूर्ण उपलब्धि हुने उनको धारणा छ। त्यसैले एनआरएनएले श्रमिकका समस्यालाई प्राथमिकतामा राख्दै उनीहरूको अधिकार संरक्षण, उद्धार, सामाजिक सुरक्षा र आर्थिक भविष्य निर्माणमा थप प्रभावकारी भूमिका खेल्नुपर्नेमा उनले जोड दिएका छन्।

(चीनको ग्वाङ्झाउमा सम्पन्न एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनमा उपाध्यक्ष न्यौपानेसङ्ग गरिएको कुराकानीको आधारमा )

अविरल वर्षा र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं, १८ भदौ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज बिहान ६:३५ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई उच्च सतर्कता अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ।

प्रहरीका अनुसार काठमाडौं-धादिङ सीमास्थित चन्द्रागिरी नगरपालिका-२ चिसापानीमा खसेको पहिरो हटाइ सडक एकतर्फी रूपमा सुचारु गरिएको छ। त्यस्तै सुरक्षालाई मध्यनजर गर्दै बीपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। उक्त खण्डमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको मूल्याङ्कन गरेर मात्रै सवारी साधन चलाउन दिइने प्रहरीले जनाएको छ।

यसैगरी रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा बाढी आएका कारण त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी सडक खण्ड पूर्ण रूपमा ठप्प बनेको छ। उता टोखा-छहरे सडक खण्डअन्तर्गत शिवपुरी गाउँपालिका-८ घट्टेखोलामा पनि सम्भावित जोखिम टार्न राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।

‘स्पाइडर-म्यान: ब्रान्ड न्यु डे’ बन्यो सर्वाधिक कमाउने तेस्रो फिल्म

काठमाडौँ, १८ भदौ । टम हल्यान्ड अभिनीत चलचित्र 'स्पाइडर-म्यान: ब्रान्ड न्यु डे' ले बक्स अफिसमा नयाँ इतिहास रचेको छ।

 

विश्वभरबाट २.३३५ अर्ब अमेरिकी डलर (करिब २ लाख ९५ हजार करोड नेपाली रुपैयाँ रुपैयाँ) कमाइ गर्दै यो चलचित्र इतिहासकै तेस्रो सर्वाधिक कमाइ गर्ने फिल्म बन्न सफल भएको हो।

 

प्रदर्शनमा आएको ३१ दिनभित्रै यस चलचित्रले 'अवतार: द वे अफ वाटर' को कमाईलाई पछाडि पारेको हो। साथै, यो फिल्मले 'अवतार' र 'एभेन्जर्स: एन्डगेम' पछि इतिहासकै तेस्रो सर्वाधिक कमाइ गर्ने चलचित्र बनेको छ।

 

यसैगरी, यो सन् २०२६ मा रिलिज भई सबैभन्दा बढी कमाउने फिल्मको सूचीको शीर्ष स्थानमा समेत उक्लिएको छ।  बक्स अफिस चार्टका अनुसार विभिन्न देशहरूमा फिल्मले गरेको मुख्य कमाइ विवरण यस प्रकार छ:

 

उत्तर अमेरिका (अमेरिका र क्यानाडा): ८९.३७ करोड डलर अर्थात ८९३.७ मिलियन)

चीन: २२.७४ करोड डलर अर्थात २२७.४ मिलियन)

संयुक्त अधिराज्य (युके): १२.५२ करोड डलर अर्थात १२५.२ मिलियन)

मेक्सिको: ८.८२ करोड डलर अर्थात ८८.२ मिलियन)

फ्रान्स: ८.१६ करोड डलर अर्थात ८१.६ मिलियन)

ब्राजिल: ७.०२ करोड डलर अर्थात ७०.२ मिलियन)

अस्ट्रेलिया: ५.७१ करोड डलर अर्थात ५७.१ मिलियन)

अर्जेन्टिना: १.०५ करोड डलर अर्थात १०.५ मिलियन)

 

यी प्रमुख बजारबाहेक विश्वका अन्य ६० भन्दा बढी अन्तर्राष्ट्रिय देशहरूबाट मात्रै फिल्मले १.४४ अर्ब अमेरिकी डलर बराबरको व्यापार गरेको छ।

उपत्यकामा २४ घण्टाभित्र ५२३ चालक कारबाहीमा, मापसे गर्ने ६३ जना

काठमाडौं, १८ भदौ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित विशेष जाँचका क्रममा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५२३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। बिहीबार बिहानसम्म गरिएको चेकिङका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरू कारबाहीमा परेका हुन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६३ जना र सीसीटीभी निगरानीमार्फत ५४ जना रहेका छन्। त्यस्तै रातो बत्ती मिच्ने ३०, तीव्र गतिमा चलाउने ३९, लेन अनुशासन उल्लङ्घन गर्ने २५, एकतर्फी सडकमा चलाउने ६, निषेधित क्षेत्रमा हर्न बजाउने ६ र सवारीको अवस्था ठिक नभएका १ जना चालक कारबाहीमा परेका छन्।

अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने २९९ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास काठमाडौं पठाइने

काठमाडौं, १८ भदौ । पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा नआउन्जेल हेटौँडाबाट वैकल्पिक सडकमार्फत दैनिक १०० ट्रक एलपी ग्यास काठमाडौं उपत्यकामा पठाउने व्यवस्था सुरु गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबारदेखि यो व्यवस्था लागू गरिएको जनाएको छ।

नेपाल आयल निगम र एलपी ग्यास व्यवसायीसँगको समन्वयमा वैकल्पिक मार्ग हुँदै ग्यास आपूर्ति निरन्तर रहने मन्त्रालयको भनाइ छ। यस कदमबाट काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव आगामी केही दिनभित्र समाधान हुने मन्त्रालयले दाबी गरेको छ।

भदौ १० गते आएको बाढीका कारण पृथ्वी राजमार्गमा लेदो जमेर सडक अवरुद्ध भएको थियो भने कृष्णभीर क्षेत्रमा सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा बन्द भएको हो। विपद्को अवस्थामा नागरिकलाई ग्यास आपूर्तिमा कमी हुन नदिन सरकार प्रतिबद्ध रहेको मन्त्रालयले स्पष्ट पारेको छ।

साथै, मन्त्रालयले भोटेकोशी नदीको बाढी र देशका विभिन्न स्थानमा गएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

सर्लाहीमा चार दिनदेखि बेपत्ता १० वर्षीया बालिका मृत फेला

सर्लाही, १८ भदौ । सर्लाहीको धनकौल गाउँपालिका–३, हरकठवाबाट चार दिनदेखि बेपत्ता बालिका मृत अवस्थामा भेटिएकी छन्। स्थानीय रामविनय यादवकी १० वर्षीया छोरी चाँदकुमारी यादवको शव धनकौल–४ स्थित मनुष्मारा खोलामा फेला परेको हो।

इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) गोपीकृष्ण सुवेदीका अनुसार गत आइतबारदेखि बेपत्ता बालिकालाई परिवार, स्थानीय र प्रहरीले खोजी गर्ने क्रममा बुधबार साँझ खोलामा मृत फेला पारेका हुन्।

बालिकाको नुहाउने क्रममा डुबेर मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

रसुवा बाढी : ५९० विदेशीसहित झन्डै चार हजार बेपत्ता, उद्धारमा अन्तर्राष्ट्रिय टोली परिचालन

काठमाडौं, १८ भदौ । रसुवामा आएको बाढीमा ३४ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली सेनाको समन्वयमा भारत, चीन, दक्षिण कोरिया र अमेरिकाका विशेषज्ञ टोली फिल्डमा खटिएका छन्।

जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारका साथै शव पहिचान र डीएनए परीक्षणमा भारत तथा सिङ्गापुरका फोरेन्सिक टोलीले सहयोग गरिरहेका छन्। मन्त्रालयका अनुसार हालसम्म तीन सयभन्दा बढी विदेशीसहित ११ हजार ९९३ जनाको उद्धार गरिएको छ भने एक हजार ११४ जनाको शव फेला परेको छ। अझै करिब तीन हजार ९०० जना बेपत्ता छन्।

यसैबीच, सीमा क्षेत्रमा अड्किएका मानसमरोवर-कैलाश यात्रुमध्ये करिब दुई हजार ५०० जना नेपाल फर्किसकेका छन्। केरुङमा रहेका नेपाली र कन्टेनर सुरक्षित ल्याउन चिनियाँ पक्षसँग समन्वय भइरहेको छ। सरकारले उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग बेलिब्रिज, फ्रिजर, डीएनए किट तथा ड्रोन उपलब्ध गराउन आग्रह गरेको छ।

काठमाडौं महानगरका भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गाका लागि ३५ दिने सूचना

काठमाडौं, १८ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले काठमाडौं महानगरपालिकाभित्रका भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको छ। समितिले बिहीबार सूचना जारी गर्दै ३५ दिनभित्र निवेदन पेस गर्न आग्रह गरेको हो।

सूचना अनुसार काठमाडौं महानगरपालिकाभित्र बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले तोकिएको ढाँचामा फाराम भरेर आफू हाल बसोबास गरिरहेको सम्बन्धित वडा कार्यालयमार्फत निवेदन पेस गर्नुपर्नेछ।

तोकिएको समयसीमाभित्र निवेदन नदिने व्यक्तिहरूलाई पछि प्रक्रियामा समावेश गराउन कठिन हुने मन्त्रालयले जनाएको छ।

वडाध्यक्षमाथि मोबिल छ्याप्ने वडा सदस्य पक्राउ

स्याङ्जा, १८ भदौ । स्याङ्जाको चापाकोट नगरपालिका–१ का वडाध्यक्ष भूपराज वोस्तीमाथि मोबिल छ्यापेको आरोपमा सोही वडाका ३१ वर्षीय सदस्य सन्तोष थापा मगर पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशदत्त अवस्थीका अनुसार वडा कार्यालय परिसरमै वडाध्यक्ष वोस्तीमाथि मोबिल छ्यापेपछि थापा मगरलाई नियन्त्रणमा लिइएको हो। घटनामा संलग्नता र कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विभिन्न विषयमा सहमति भए पनि सार्वजनिक सुनुवाइ नगरेको आरोप लगाउँदै सोमबार वडा सदस्यसहितको टोलीले वडाध्यक्ष वोस्तीलाई कालोमोसो दल्ने प्रयास गरेको थियो। कालोमोसो दल्न नसकेपछि उनीहरूले वडाध्यक्षको शरीरमा मोबिल छ्यापेका थिए।

यसैबीच नेकपा (एमाले) स्याङ्जाले विज्ञप्ति जारी गर्दै वडाध्यक्ष वोस्तीमाथि अभद्र व्यवहार गर्ने सन्तोष राना, सन्तोष थापा मगर र मुक्तबहादुर थापालाई कडा कारबाही गर्न माग गरेको छ।

विना मापदण्ड ‘हचुवा’का भरमा कर्णालीमा कर्मचारीको सरुवा, अधिकांश कर्मचारी रुष्ट !

सुर्खेत, १८ माघ ।कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमार्फत विनमा मापदण्ड कर्मचारी सरुवा गरेपछि व्यापक असन्तुष्टि चुलिएको छ ।

नयाँ सरकार गठन भएपश्चात खारेज गरिएका विभिन्न दल निकटका ट्रेड युनियनका पदाधिकारीको हालीमुहाली हावी हुँदा नयाँ सरकारले कर्मचारीको सरुवा गरेको हो ।

कर्णाली प्रदेश सरकारले कर्मचारीको सरुवा गरेपछि हुम्ला जिल्ला अस्पतालमा कार्यरत डा. उमाकान्त तिवारीले फेसबुकमा सार्वजनिक रुपमा नै असन्तुष्टि जाहेर गरेका छन् ।

‘बधाई सबैलाई, बाहुबलिको कटप्पा पाराले मलाई धुलाई गरेको,’ उनले अंग्रेजीमा लेखेका छन्, it was my terrible mistake to live in Nepal ! अर्थात नेपालमा बस्नु मेरो लागि नराम्रो भयो, अर्थात भयानक बन्यो ।’

प्रदेशमा कर्मचारीको सरुवामा यस्तो प्रचलन हावी भएको छ कि पद र शक्तिका आडमा बस्ने पचासौं कर्मचारी संघीयता स्थापना भएपछि एक पटक पनि सरुवा भएका छैनन भने कोही कर्मचारी सात महिनामा नै सरुवा गरिएको हो ।

मुख्यमन्त्री कार्यालयले प्रशासन सेवातर्फका कर्मचारी मात्रै होइन, प्रदेश सरकार मातहतका सबै कर्मचारीलाई सरुवा गर्न पाउँछ तर आफू निकटकालाई ल्याउने, आफू निकट नभएकालाई पेल्ने रणनीति अख्तियार गरेका कारण कर्मचारी रुष्ट बनेका हुन् ।

‘कसैलाई सात महिनामा नै सरुवा गरिदिएको छ, कसैलाई पाँच ६ बर्षसम्म पनि सरुवा गरेको छैन,’ नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले भने, ‘प्रशासन सेवातर्फका १०७ जनाको मात्रै सरुवा भएको छ, जबकी १५० भन्दा बढीको सरुवा हुनुपर्ने हो ।’

उनी मात्रै होइनन्, साविक सामाजिक विकास कार्यालय रुकुम पश्चिममा कार्यरत एक कर्मचारीलाई सेवा अवधी नपुग्दै प्रदेश सरकारले सरुवा गरेको थियो तर ती कर्मचारीले प्रशासकीय अदालतबाट स्टे अर्डर ल्याइसकेका छन् ।

यतिसम्मकी, प्रमूख सचिवको अधिकार नै प्राप्त नगरेका प्रशासन प्रदेश सचिव लक्ष्मी विकले अधिकार प्रत्यायोजन नहुँदै स्थानीय तहका कर्मचारी सरुवा गरेका छन् ।

उसो त, आज आयोजित एक कार्यक्रममा मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्मचारीलाई फकाउने प्रयास गरे ।

‘तपाईंहरूको सरुवा भइसकेको छ । अब दत्तचित्त लगाएर काम गर्नुहोस्,’ उनले भनेका थिए ।

आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाईले पनि कर्मचारीलाई उच्च मनोबल राखेर काम गर्न सोही कार्यक्रममा निर्देशन दिए । पछिल्लो समयमा नयाँ सरकार बनेसँगै कर्मचारीतन्त्रमा हडकम्प मच्चिएको हो ।

विभिन्न मन्त्रालय, मन्त्रालय मातहतका कर्मचारी कुन दिन मन्त्री वा मुख्यमन्त्रीको ‘सनक’ चल्छ र सरुवा भईने हो भन्दै चियापसलमा कुरा काट्ने तर मुख्यमन्त्री र मन्त्रीहरुका सामू भने ‘चुपचाप’ लाग्ने गरेको पाइएको हो ।

मुख्यमन्त्री कार्यालयले साउन २९ गते १०७ जनाको सरुवा गर्‍यो भने उद्योग तथा पर्यटन वन तथा वातावरण मन्त्रालयका ८ जना कार्यालय प्रमूखलाई भदौ १५ गते सरुवा गर्‍यो । 

मन्त्री स्तरीय निर्णय भन्दै वातावरण मन्त्रालयले पनि ५१ जना कर्मचारीको सरुवा गरेको थियो ।

कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले पनि ४३ जना कर्मचारीको मात्रै भदौ १५ गते नै सरुवा गरेको थियो । भदौ १५ गते नै कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले ९४ जनाको सरुवा गरेको थियो ।

यस्तै, मुख्यमन्त्री कार्यालयकै सहमतिमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले १५ भदौमा नै ३७ जनाको सरुवा गरेको छ ।

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, सुर्खेतले सचिवस्तरीय निर्णयानुसार सहायकस्तर तथा अधिकृतस्तर छैटौं/सातौं तहका कर्मचारीहरूको २२ जना, सोही दिन सचिवस्तरीय निर्णयानुसार सहायकस्तर तथा अधिकृतस्तर छैटौं÷सातौं तहका कर्मचारीहरूको चार जना सरुवा भए भने सोही दिन नै सचिवस्तरीय निर्णयानुसार सहायकस्तर तथा अधिकृतस्तर छैटौं/सातौं तहका तीन जना कर्मचारी सरुवा भए ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले भदौ १५ र १६ गते विभिन्न तहका सात जना कर्मचारी सरुवा गरेको छ भने भदौ ११ गते विभिन्न तहका ११ जना कर्मचारीको सरुवा भएको छ ।

कर्मचारी सरुवाका सम्वन्धमा कुराकानी गर्न फोन गर्दा प्रदेश प्रमूख सचिव राधिका शाक्यको भने फोन उठेन ।