मधेस प्रदेशसमाचार

तिहार र छठ शान्तिपूर्ण रूपमा मनाउन जिल्ला प्रशासन बाराको १० बुँदे आग्रह

बारा–दीपावली, छठपर्व तथा नेपाल संवत् ११४७ लगायतका राष्ट्रिय पर्वलाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित वातावरणमा मनाउन जिल्ला प्रशासन कार्यालय बाराले जिल्लावासीलाई १० बुँदे अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालय बाराले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै जिल्लाभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, निजी तथा सङ्गठित संस्थामा आबद्ध पदाधिकारी, सञ्चारकर्मी र सर्वसाधारणलाई पर्वको शुभकामना व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी छबिरमन भट्टराईद्वारा जारी सूचनामा चाडपर्व मनाउने क्रममा धार्मिक, सामाजिक तथा सांस्कृतिक मर्यादा कायम राख्न र अरूको धार्मिक आस्था, व्यक्तिगत स्वतन्त्रता तथा सार्वजनिक जीवनमा असर पर्ने गतिविधि नगर्न अनुरोध गरिएको छ।
प्रशासनले तिहार तथा छठका अवसरमा देउसी–भैलो लगायतका सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा मर्यादित र मनोरञ्जनात्मक ढङ्गले गर्न आग्रह गरेको छ। त्यसैगरी पटका, भुइँचम्पा, आतसबाजी लगायतका प्रज्वलनशील पदार्थको प्रयोगबाट जनस्वास्थ्य, सुरक्षा र वातावरणमा प्रतिकूल असर पर्ने भएकाले त्यस्ता वस्तुको भण्डारण, बिक्री वितरण, ओसारपसार तथा प्रयोग नगर्न र नगराउन सचेत गराएको छ।
त्यस्तै, दीप प्रज्वलन तथा विद्युतीय उपकरणको प्रयोग गर्दा आगलागीको जोखिमलाई ध्यानमा राखी उच्च सतर्कता अपनाउन, जुवा तथा तासजस्ता कानुनले निषेध गरेका गतिविधि नगर्न र सार्वजनिक स्थानमा मादक पदार्थ सेवन गरी होहल्ला तथा झैझगडा नगर्न प्रशासनले आग्रह गरेको छ।
बजारमा अखाद्य तथा म्याद गुज्रिएका वस्तुको बिक्री वितरण, कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने तथा उपभोक्ताको हितविपरीतका गतिविधि नगर्न पनि व्यवसायीलाई सचेत गराइएको छ। क्षमताभन्दा बढी यात्रु नबोक्न, तोकिएकोभन्दा बढी भाडा नलिन र जोखिमपूर्ण यात्रा नगर्न यातायात व्यवसायी तथा सर्वसाधारणलाई अनुरोध गरिएको छ।
यसैगरी नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार नेपालभर प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारणमा रोक लगाइएको विषय स्मरण गराउँदै यसको पालना गर्न प्रशासनले आग्रह गरेको छ।
शान्ति सुरक्षामा प्रतिकूल असर पर्ने अवाञ्छित गतिविधि भएको जानकारी प्राप्त भएमा तत्काल नजिकको प्रहरी इकाइ वा प्रहरी कन्ट्रोल नम्बर १०० मा खबर गर्न पनि सूचनामार्फत अनुरोध गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेका निर्देशनविपरीत गतिविधि सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ।
प्रशासनले चाडपर्वलाई आपसी सद्भाव, भाइचारा, धार्मिक सहिष्णुता र सामाजिक एकताको अवसरका रूपमा मनाउँदै जिल्लामा शान्ति सुरक्षा कायम राख्न सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button