मधेशमा उपेन्द्रलाई सीके राउतले लगाएको हरन

86
बारा । आगामी १० वैशाखमा उपनिर्वाचन हुने भएकाले बारा–२ का सडक र चोकहरू चुनाव चिह्न अंकित पोस्टर र झण्डाले भरिएका छन् । उम्मेदवारको प्रचारमा गुडेका गाडीहरू सडक पुगेका जति सबै ठाउँमा पुगिरहेका छन् । यसअघि यहाँ कहिल्यै नदेखिएका मान्छेहरू पनि ४० डिग्री हाराहारीको तातो हावा सहेर मत माग्दैछन् ।

 

सदरमुकाम कलैयासहित उपनिर्वाचन हुने क्षेत्र वरपरका थोरै टाठाबाठाले आफ्नो खबर चुनावसँगै जोड्ने गर्छन् । उनीहरूको साझा खबर छ, ‘चुनाव बा !’

तर भारतसँग सीमा जोडिएको सुवर्ण गाउँपालिका–७ फूलबरियाका सुकरात अन्सारीलाई अहिलेसम्म चुनाव लागेको छैन । दशगजा नजिकै बाँसको सँयालमा बुधबार भेटिएका अन्सारीलाई चुनावप्रति उति चासो पनि देखिएन । बरु चुनावको प्रसंगमा अन्सारीले पाँच महिना अगाडि (गत ४ मंसिरमा) मत दिंदा नेताहरूले गरेको वचन सम्झिए ।

‘हामीसँग नागरिकता छ, बालबच्चासँग छैन । त्यो दिलाइदिन्छौं भनेर मत मागेको हो नि’, अन्सारीले भने । उनीसँगै बसिरहेका सुवरत मियाँ, असरमा खातुन, शिलादेवीहरूले पनि अन्सारीकै भनाइमा साथ दिए । ‘भोट ले के गइल, फिर घुमके न आइल’, सुवरतले गुनासो गरे ।

उमेर पुगेका युवाहरूले नागरिकता नपाउँदाको मुख्य समस्या चाहिं वैदेशिक रोजगारीमा जाने अवसर नपाउनुसँग जोड्छन् । ‘घरघरबाट विदेश गएको छ, हाम्रैबाट दुई दाजु विदेश छन्’, महागढीमाई नगरपालिका–४ का शिवा पासवान भन्छन् । उनका अनुसार, खेती–किसान बाहेक यहाँका युवाहरूको रोजाइ वैदेशिक रोजगार हो । ‘विदेश नजानेहरू इँटाभट्टामा काम गर्छन्, कोही उद्योगहरूमा मजदुरी गर्छन्’, पासवान भन्छन् । इँटाभट्टा, उद्योग र पहाडी शहरहरूमा मजदुरी भन्दा वैदेशिक रोजगारी युवाहरूको रोजाइमा छ ।

मंसिरको चुनावका बेला उम्मेदवारहरूले पनि रोजगारीको प्रबन्ध गरिदिने, नागरिकता नपाएकालाई नागरिकता दिने, कच्ची सडक पक्की गरिदिने, उपचारको व्यवस्था गरिदिने आश्वासन दिएको यहाँका नागरिकले बिर्सिएका छैनन् । ‘भोट सकिएपछि उनीहरूको वाचा पनि सकिन्छ, सधैं यस्तै त भइरहन्छ’, महागढीमाई नगरपालिका–८ का भगलु यादव भन्छन् ।

राजनीतिक विश्लेषकहरू पनि यो उपनिर्वाचनमा जनताको एजेण्डा समेत प्राथमिकतामा नदेखिएको बताउँछन् । ‘यो चुनाव प्रतिनिधिसभा सदस्यको भूमिकाको सवालमा हुनुपर्ने हो । संघ र प्रदेश सरकारमा सहभागी भएका दलहरूले पर्फर्मेन्सको आधारमा मत माग्नुपर्ने हो’ विश्लेषक चन्द्रकिशोर भन्छन्, ‘तर यो उपचुनाव मधेशको शक्ति कसले लिने भन्नेमा केन्द्रित हुनपुग्यो ।’ उनका अनुसार यो उपनिर्वाचनको परिणामले मधेश राजनीतिमा एउटा सन्देश दिनेछ ।

मधेश राजनीतिको कोसेढुंगा

चुनावी प्रचार, उम्मेदवारी र प्रतिस्पर्धाको प्रकृति हेर्दा पनि यो उपनिर्वाचन मधेशको राजनीतिमा एउटा कोसेढुंगा बन्ने सहज अनुमान लगाउन सकिन्छ ।

२०६४ को मधेश विद्रोहबाट राष्ट्रिय राजनीतिमा उदाएका, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव आफैं यहाँ उम्मेदवार हुनु र उनलाई जसरी पनि रोक्ने गरी अरू उम्मेदवार कस्सिएकाले यो उपनिर्वाचनलाई मधेशकै राजनीतिसँग जोडेर हेरिएको छ ।

जसपा उम्मेदवार उपेन्द्र यादव

जसपाका नेता तथा कार्यकर्ताले यादवको हार–जितलाई मधेशको राजनीतिक भविष्यसँगै जोडेर प्रचार गरिरहेका छन् । ‘म पनि उपेन्द्र यादवको आवश्यकता प्रतिनिधिसभामा छ भनेरै हिंडेको छु’, महागढीमाई मन्दिर परिसरमा मंगलबार भेटिएका सामाजिक अभियन्ता सरोज राय भन्छन् ।

उपेन्द्रलाई संसदमा लैजानकै निम्ति यो क्षेत्रमा उपनिर्वाचन भइरहेको पनि उनी अस्वीकार गर्दैनन् । गत ४ मंसिरको चुनावमा यो क्षेत्रबाट नेकपा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहलाई झिनो अन्तरले पराजित गरी जसपाकै रामसहाय यादवले जितेका थिए । तर रामसहायलाई ३ चैतमा उपराष्ट्रपति बनाएर उपेन्द्र यहाँ उम्मेदवार बन्न आइपुगेका छन् ।

गत मंसिरको चुनावमा भने उपेन्द्र, सप्तरी–२ का उम्मेदवार थिए । तर २०७६ फागुनमा मात्रै ‘अलग मधेश’को पृथकतावादी आन्दोलन त्यागेर संसदीय राजनीतिमा आएका जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतसँग दोब्बर बढी मतान्तरले पराजित भए । ३५ हजार ४२ मत पाएर सीकेले जित्दा उपेन्द्र १६ हजार ९७९ मा सीमित भए ।

त्यो हारले उपेन्द्रको राजनीतिमा ठूलो धक्का लाग्यो । २०६४ को पहिलो संविधानसभासँगै संसदीय राजनीतिमा होमिएका उनी पहिलोपटक संसद बाहिर रहन पुगे । मधेश विद्रोहको जगमा एउटा बलियो पार्टीको नेतृत्व गर्न पुगेका उपेन्द्रले पहिलो संविधानसभा निर्वाचनमा दुई क्षेत्र (सुनसरी–५ र मोरङ–५) बाट जितेका थिए । नेपालको संसदीय इतिहासमा पार्टीका शीर्ष नेताहरूमध्ये कमैले मात्र एउटै चुनावमा दुई क्षेत्रबाट जितेका छन् ।

यो निर्वाचनमा उनको दल तत्कालीन फोरमले ५२ सिट जितेकाले राष्ट्रिय राजनीतिमै उनी एक महत्वपूर्ण शक्तिकेन्द्र बने । संविधान निर्माण प्रक्रियामा उनको हस्तक्षेपकारी भूमिका रह्यो । तर पहिलो संविधानसभाले संविधान बनाउन सकेन । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उपेन्द्र मधेश आन्दोलनको एक आधार क्षेत्र मोरङबाट पराजित भए । यद्यपि सुनसरीबाट जितेकाले उपेन्द्र संसदमा रहे ।

तर यो चुनावमा उनको दलसहित अरू मधेशकेन्द्रित शक्तिहरू कमजोर बने । त्यसको असर मधेशकेन्द्रित दलहरूको एजेण्डामा पर्‍यो । उपेन्द्रसहितको असहमतिमै ३ असोज २०७२ मा संविधान जारी भयो । संविधानमा असहमति रहे पनि २०७४ को चुनावमा पनि उपेन्द्र सहभागी भए । उनको दलले अर्काे मधेशकेन्द्रित दल तत्कालीन राष्ट्रिय जनता पार्टीसँग मधेशमा चुनावी गठबन्धन गरेकाले उपेन्द्रले सप्तरी–२ बाट सजिलै जिते ।

एमाले उम्मेदवार पुरुषोतम पौडेल

त्यो चुनावमा नेपाली कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धन र एमाले–माओवादीको वाम गठबन्धन बनेको थियो । तर उपेन्द्रले माओवादीका उमेशकुमार यादवलाई १० हजार भन्दा बढी अन्तरले हराए । उपेन्द्रले २१ हजार ६२० मत ल्याएर जित्दा उमेशले ११ हजार ५८० मत पाएका थिए ।

२०७९ को चुनावमा आइपुग्दा अघिल्ला चुनावका कुनै पनि गठबन्धन जोगिन सकेनन् । कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धनबाट माओवादीसँगै महन्थ ठाकुर र राजेन्द्र महतोहरूको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले निर्वाचनमा भाग लियो । उपेन्द्रले एमालेसँग तालमेल गरे । अर्थात् मधेश आन्दोलनको १६ वर्षपछि फेरि मधेशमा कांग्रेस र एमालेकै नेतृत्वमा गठबन्धन बन्यो, मधेशकेन्द्रित शक्तिहरू फरक गठबन्धनबाट प्रतिस्पर्धामा उत्रिए ।

यसको नोक्सानी जसपा र लोसपा दुवैले खेपे । लोसपाले राष्ट्रिय दलकै मान्यता पाउन सकेन भने उपेन्द्र आफैं पराजित भए । तर राष्ट्रिय राजनीतिक अस्थिरताको लाभ उठाउँदै उपेन्द्रले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाएर बारा–२ आफ्नो लागि रिक्त गराए ।

अहिले उपेन्द्र जसपाको मात्रै उम्मेदवार होइनन् । उनलाई कांग्रेस, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको पनि समर्थन छ । समर्थन प्राप्त गठबन्धनको मत हिसाब गर्ने हो भने उपेन्द्रलाई जित्न कठिनाइ हुनु नपर्ने हो । गत चुनावमा समानुपातिकतर्फ उनको दल जसपाले १३ हजार २४२, कांग्रेसले ११ हजार १७९, लोसपाले ४ हजार २३५, माओवादीले ३ हजार २६५ र एकीकृत समाजवादीले १ हजार ९९६ मत पाएको छ । सबै जोड्दा ३३ हजार ९१७ मत हुन्छ ।

अझ गत चुनावमा स्वतन्त्र उम्मेदवार बनेका रामकिशोर प्रसाद सहाय र रवीन्द्रप्रसाद यादवको समेत उपेन्द्रलाई समर्थन छ । गत चुनावमा रामकिशोरले ११ हजार ४३ मत र रवीन्द्रप्रसादले १० हजार ७५० मत ल्याएका थिए । यो मत जोड्ने हो भने उपेन्द्रको पक्षमा ५५ हजार ७५० मत हुन्छ ।

जबकि उपेन्द्रसँग प्रतिस्पर्धामा उत्रिएको एमालेले गत चुनावमा समानुपातिकतर्फ ९ हजार १९३, जनमत पार्टीले ८ हजार ८४६ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १ हजार ४५५ मत पाएका छन् । अरू दलले यो भन्दा कम मत पाएका छन् । अर्थात् संगठनात्मक मतले उपेन्द्र चुनौतीरहित छन् भने अरू उम्मेदवारलाई जित्न चमत्कारै हुनुपर्नेछ ।

तर बारा–२ को उपनिर्वाचनको गतिविधि, आमबुझाइ र उम्मेदवारहरूको आत्मविश्वास हेर्दा संगठनात्मक मत जगबाट बाहिर निस्किसकेको छ । कतिपय स्थानीय, यो उपनिर्वाचन त्रिपक्षीय प्रतिस्पर्धाको बन्न गइरहेको बताउँछन् । त्यो भनेको जसपाका उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह र एमालेका पुरुषोत्तम पौडेल यो उपनिर्वाचनका संभावित विजेता हुन् ।

यद्यपि रवि लामिछाने नेतृत्वको रास्वपाबाट उम्मेदवार रहेका रमेश खरेल र प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले पनि आफ्नो पक्षमा जबर्जस्त माहोल बनाइरहेका छन् ।

रास्वपा उम्मेदवार रमेश खरेल र आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवाली

अरुणले गत मंसिरको चुनावमा स्वतन्त्र उम्मेदवार बनेर यही क्षेत्रबाट ७ हजार ६९८ मत ल्याएका थिए । अहिले उनी आम जनता पार्टीका उम्मेदवार छन् । पूर्व प्रहरी खरेल आफ्नो ‘एसपी खरेल’ को परिचय र रवि लामिछानेको घण्टी प्रभाव लिएर देहात घुमिरहेका छन् । किनकी उनी एसपी छँदा बाराको छिमेकी जिल्ला पर्साको प्रहरी प्रमुख थिए । र मध्य मधेशमा उनले त्यतिबेला राम्रो काम गरेको भन्दै तारिफ पाएका थिए । तर धेरैको नजरमा उपेन्द्र यादवलाई चुनौती बन्ने उम्मेदवार भने जनमत पार्टीका शिवचन्द्र नै हुन् । उनीहरूको भनाइमा, अरू उम्मेदवारले जित्नु लगभग रातारात चमत्कार हो ।

विश्लेषक चन्द्रकिशोर पनि उपनिर्वाचन दुईपक्षीय संभावनातिर गएको बताउँछन् । ‘सबै दल र उम्मेदवारले आ–आफ्नै न्यारेटिभ बनाउन खोजिरहेका छन् । तर प्रतिस्पर्धा दुईपक्षीय संभावनातिर गइरहेको छ’, उनी भन्छन् । उपेन्द्र यादव, जसपा र सत्ता गठबन्धनका नेताहरूको दौडधुप र मिहिनेत हेर्दा पनि उपनिर्वाचन प्रतिस्पर्धात्मक बनिरहेकै पुष्टि हुन्छ ।

उपेन्द्रलाई जिताउन जसपाको सिंगो शक्ति परिचालित भएको छ । मधेश प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरू यही क्षेत्रमा छन् । अरू दलका नेताहरूलाई समेत सकेसम्म निर्वाचन क्षेत्रमै बढी केन्द्रित गर्ने प्रयास देखिन्छ । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल २३ चैतमै यहाँ आएका थिए । छिमेकी जिल्ला रौतहटबाट चुनाव जितेका माधव नेपालले यादवको जितलाई सिंगो मुलुककै राजनीतिसँग जोडे ।

राष्ट्रिय राजनीतिक दृष्टिले हेर्दा पूर्वप्रधानमन्त्री नेपालले दिएको अभिव्यक्ति धेरै हदसम्म तथ्य नजिक देखिन्छ । १० पुसमा एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्डले सत्ता समीकरण बदल्दा उपेन्द्र यादवको समर्थन महत्वपूर्ण थियो । यादवकै समर्थन र माधव नेपालको साथ पाएर प्रचण्डले गठबन्धन बदलेका थिए । त्यसैले यादवको हार–जितले राष्ट्रिय राजनीतिमै असर पार्ने माधव नेपालको अभिव्यक्तिमा धेरै हदसम्म सत्यता छ ।

तर राष्ट्रिय राजनीति भन्दा पनि उपेन्द्रको हार–जितमा मधेशको राजनीतिको आगामी कोर्स जोडिएको विश्लेषकहरूको तर्क छ । ‘हुनत मौन अवधिमा चुनावको खास अभ्यास हुने भएकाले अहिले नै केही भन्न सकिन्न’ पूर्वराजदूत विजयकान्त कर्ण भन्छन्, ‘तर सीके राउतको लहर आएको हुँदा उपेन्द्रका लागि सहज माहोल बनिरहेको छैन ।’ अर्थात् उपेन्द्रलाई मुख्य दलहरूले नभएर मधेशकेन्द्रित अर्को नयाँ दल जनमत पार्टीले चुनौती दिने परिस्थितिको निर्माणका कारण यो उपनिर्वाचनलाई मधेशको भावी राजनीतिसँग जोडेर हेरिएको हो ।

जसपाका नेताहरूमा पनि सप्तरी–२ जस्तै बारा–२ मा पनि जनमतका सीके राउत नै चुनौती बनेको बुझाइ छ । नेताहरूको सार्वजनिक अभिव्यक्तिमा जनमतका शिवचन्द्र नभएर एमालेका पौडेलसँग प्रतिस्पर्धी रहेको बताए पनि अरू गतिविधिले त्यस्तो प्रमाणित हुँदैन । यदि एमालेसँगै प्रतिस्पर्धा हुन्थ्यो भने त्यस अनुसारकै नारा लाग्थ्यो । तर यहाँ यादव भर्सेस गैरयादवको चर्चा भित्रभित्र चलाइएको छ । ‘राजनीतिमा यस्तो कुरा गर्न हुँदैनथ्यो, तर यादव र गैरयादव भनेर भोट मागिंदैछ’, महागढीमाई नगरपालिका–४ का एक स्थानीय भन्छन् ।

प्रचारप्रसारको शैलीले पनि उपेन्द्रलाई जनमतका शिवचन्द्रले चुनौती दिइरहेकै सहज अनुमान लगाउन सकिन्छ । जहाँ–जहाँ उपेन्द्रको पोस्टर टाँगिएको छ, सँगै सीके राउत र शिवचन्द्रको संयुक्त पोस्टर छुटेको भेट्न मुश्किल पर्छ । ‘घरदैलोमा पनि सीके राउत पुगेका ठाउँहरूमै उपेन्द्रले प्राथमिकता दिएको देखिन्छ’, ती स्थानीयले भने ।

विशेषगरी सत्ता गठबन्धनको मत एक ठाउँ राख्दा जितिने हिसाब सहित गठबन्धनका स्थानीय नेताहरूलाई एकठाउँ उभ्याउन उपेन्द्र यादव र जसपाका नेताहरू लागिपरेका छन् । त्यसका लागि लगातार जस्तो गठबन्धनका स्थानीय नेताहरूसँग बैठक राख्नेदेखि सँगै हिंड्ने गरिरहेका छन् ।

 

प्रचारप्रसारको अन्तिम दिन महागढीमाई मन्दिरछेउमा आमसभाकै तयारी चलिरहेको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपालसहित गठबन्धनका नेताहरूले सम्बोधन गर्ने त्यो सभाको उद्देश्य भने उपेन्द्रलाई जिताउन गठबन्धनका स्थानीय नेताहरू एकीकृत गर्ने नै हो ।

गत चुनावमा अहिलेको गठबन्धन विरुद्ध चुनावी प्रतिस्पर्धा भएकाले पनि यादवले सत्ता गठबन्धनका स्थानीय नेताहरू फकाउन आवश्यकता भन्दा धेरै मिहिनेत गर्नुपरेको देखिन्छ । यद्यपि कांग्रेस बाराका सभापति राजेश यादव गठबन्धनमा कुनै समस्या नरहेको बताउँछन् । ‘कांग्रेसले उपेन्द्र यादवलाई दिल खोलेर सहयोग गरिरहेको छ । यसमा अलिकति पनि दयाँ–बायाँ छैन’ उनले भने, ‘जिल्लादेखि वडासम्मका कार्यकर्ता चुनावमा परिचालन गरिएको छ ।’

फैलिएका सीके

सीके राउत, उनको पार्टी जनमत र उम्मेदवार कुशवाहले भने उपेन्द्रजस्तो एमाले प्रतिस्पर्धी भनिरहेका छैनन् । जबकि सिंगो मधेश प्रदेश जस्तै बाराको पनि ठूलो दल एमाले हो र चुनाव जित्ने दाबीसहित आफ्नै उम्मेदवारसहित चुनावी मैदानमा छ । गत चुनावमा एमालेले बारामा समानुपातिकतर्फ ५९ हजार ९३५ मत पाउँदा कांग्रेसले ५१ हजार १७८ मत ल्याएको थियो । तेस्रोमा रहेको जसपाले ४२ हजार ६०७ र जनमत पार्टीले १९ हजार ९३० मत ल्याएको छ । माओवादी केन्द्रको मत १८ हजार छ ।

तर उपनिर्वाचन भइरहेको बारा–२ मा भने एमाले तेस्रो शक्ति हो । यो तथ्य बुझेका सीके राउतले माओवादीका शिवचन्द्रलाई उपनिर्वाचनको मनोनयन दर्ता हुनु दुई दिन अगाडि मात्रै प्रवेश गराएर उम्मेदवार बनाएका छन् । शिवचन्द्रले यसअघिका दुई चुनाव हारेका छन् भने २०६४ मा जितेका थिए । तिनै शिवचन्द्रलाई उम्मेदवार बनाए पनि सिके राउत उम्मेदवार भन्दा धेरै खटिरहेका छन् ।

सप्तरीमा आफैंले हराएका उपेन्द्रलाई यो क्षेत्रबाट पनि हराउने राउतको एक मात्र उद्देश्य देखिन्छ । ‘यो चुनावको परिणामपछि उपेन्द्र यादवले जनतासँग टक्कर लिंदा कस्तो हुन्छ भन्ने थाहा पाउनेछन्’, राउत भन्छन् । चुनावी अभियानलाई पनि उनले जसपा भन्दा भिन्न बनाएका छन् । ‘हामी सभा सम्मेलन गरिरहेका छैनौं, जनताको घरघर पुग्ने र स्वराजको अर्थ बुझाइरहेका छौं’ जनमतका स्थानीय नेता जेपी साह भन्छन् । जनमत पार्टीले स्वराजको अर्थ बुझाउन घरघर पुग्ने कार्यक्रमको नाम ‘स्वाभिमान यात्रा’ दिने गरेको छ ।

विश्लेषक चन्द्रकिशोर पनि धेरै जनतासँग जोडिने सीके राउतको शैलीले मधेशमा उनको आकार समेत बढिरहेको बताउँछन् । गत चुनावको नतिजाका आधारमा पनि बारा जनमत पार्टीको तुलनात्मक कम प्रभाव भएको क्षेत्र हो । समग्र मधेश प्रदेशमा ३ लाख २९ हजार १७७ मतसहित कांग्रेस र एमालेपछि जनमत पार्टीले धेरै मत पाएको थियो ।
तर बारामा प्रदेशसभामा जसपा भन्दा थोरै मत पाएको छ ।

जसपाले ४१ हजार ५१६ मत ल्याउँदा जनमतले २४ हजार २५६ मत मात्रै ल्याएको छ । धनुषा पश्चिमकै जिल्लाहरूमा जनमत पार्टीको प्रभाव तुलनात्मक कमजोर छ । यद्यपि सीके राउत भने लुम्बिनी प्रदेशमा समेत आफ्नो प्रतिनिधित्व रहेकाले क्षेत्रगत तुलना गर्न नमिल्ने तर्क गर्छन् । सँगै, यो उपनिर्वाचनबाट पार्टीको आकार झनै बढेर जाने उनको दाबी छ ।

चुनावी परिणामबाट उनको दाबी खण्डित भए पनि मधेश प्रदेशमा जनमत पार्टीको प्रभाव विस्तार भएकोमा भने स्थानीय नेताहरूको विमति देखिंदैन । अझ महन्थ ठाकुर, विजय गच्छदार, विमलेन्द्र निधि, राजेन्द्र महतो, हृदयेश त्रिपाठी, सत्यनारायण यादवहरू आफ्नो राजनीतिको उत्तरार्धमा रहेकाले पनि उपेन्द्रलाई सीके राउतले दिइरहेको चुनौती अर्थपूर्ण देखिन्छ । त्यसका लागि राउतले उपेन्द्र भन्दा भिन्न शैली अपनाएका छन् ।

उपेन्द्रले आफ्नो शक्ति कायम राख्न गठबन्धनको राजनीति गरिरहँदा सीकेले एक्लै प्रतिस्पर्धाको नीति लिएका छन् । यदि गत मंसिरकै चुनावमा पनि उपेन्द्रले एमालेसँग तालमेल नगरेका थिए भने मधेशको राजनीतिमा फरक दृश्य देखिन सक्थ्यो । किनकि समानुपातिकतर्फ प्रतिनिधिसभामा जसपा र जनमतले हाराहारी मत पाएका छन् भने सिट संख्या समान ५÷५ पाएका थिए । जसपाले प्रतिनिधिसभाको समानुपातिकतर्फ ४ लाख २१ हजार ३१३ र जनमतले ३ लाख ९४ हजार ६५५ मत पाएको थियो ।

त्यही जनमतको आधारमा सीकेले उपेन्द्रलाई टक्कर दिन बारा–२ मा सम्पूर्ण शक्ति परिचालित गरेका छन् । संघीय सरकारबाट बाहिरिए पनि मधेश प्रदेशका मन्त्रीहरूले राजीनामा नदिएर चुनावी मैदानमा खटिएका छन् । अरूभन्दा नयाँ शक्ति हुनुको लाभ समेत राउतले पाउने देखिन्छ ।

‘नयाँ पार्टी हो, नयाँ आदमी हो । हामीलाई हरन छाप (जनमत पार्टीको चुनाव चिह्न) बाट सहयोग हुन्छ कि !’ फूलबरियाका सुकरात अन्सारी आशा गर्छन् । उनी जस्तै देवताल गाउँपालिका–६ हरवाई गाउँका रामबाबु सुनार पनि सीके राउतसँग आशावादी देखिन्छन् । धुलाम्मे सडक देखाउँदै सुनार भन्छन्, ‘यो रोडको हालत खराब छ, कहिल्यै बनाउँदैन ।’

मधेशको अर्थ–सामाजिक अवस्था बुझेको सीके राउतले नयाँ हुनुको लाभ उठाउन पछिपरेका छैनन् । मधेश सरकारको नेतृत्व गरिरहेको र पटक–पटक संघीय सरकारमा जसपाका नेताहरू गए पनि यहाँको बेरोजगारी, अस्पताल, स्कुल र किसानको समस्या नफेरिएको प्रचारलाई जोड दिएका छन् । अझ दशगजा क्षेत्रका नागरिकले भारतको भर परिरहनु परेको पीडालाई चुनावी एजेण्डा बनाएको छ ।

अझ उपेन्द्र यादव, पुरुषोत्तम पौडेल र रमेश खरेलहरू यो निर्वाचन क्षेत्र भन्दा बाहिरका नेता भएको प्रचारलाई घरघरसम्म राउतले पुर्‍याइरहेका छन् । ‘आफ्नो नेता आफैं हो, आफ्नो ठाउँको नेता आफैं हो भन्ने स्वराजको मान्यतालाई हामीले जोड दिएका छौं’, जनमतका नेता बीपी भन्छन् ।

महागढीमाई नगरपालिका, सुवर्ण गाउँपालिका, पचरौता गाउँपालिका, करैयामाईका ८ वटा वडा र कोल्हवी नगरपालिकाको ८ नम्बर वडा पर्ने यो निर्वाचन क्षेत्रमा प्रभु साह नेतृत्वको आम जनता पार्टीको अभियानले पनि सीके राउतलाई नै लाभ पुग्ने स्थानीय बुझाइ छ । हुनत आम जनताले चुनाव नै जित्ने दाबी गरिरहेका छन् । तर उपेन्द्र यादव विरुद्ध आक्रोशपूर्ण प्रचारमा स्वयं प्रभु साह खटिंदाको लाभ राउतलाई पुग्ने नै भयो ।

मंगलबार पिपरपातीको चुनावी सभामा त प्रभु साहले उपेन्द्रलाई राजा–महाराजा शैलीकै उपमा दिए । ‘पाँच दलको आडमा राजा–महाराजा शैलीमा चुनाव लडिरहेका छन्, हिम्मत भए एक्लै आउनुपर्‍यो’ साहको सम्बोधन थियो । यादवले भने आफूले कुनै चुनौतीको अनुभूति नगरेको बताउँछन् । ‘मैले त प्रतिस्पर्धी नै भेटेको छैन, बरु जनताको उत्साह बढेको पाएको छु’, यादव भन्छन् ।

उपेन्द्रका समर्थकहरू पनि सीके राउतले आफूलाई नयाँ भने पनि एजेण्डा नभएकाले मत नपाउने तर्क गर्छन् । सुवर्ण गाउँपालिका–७ का शिवशंकर यादव मधेशीको अधिकार स्थापित गर्न लड्ने नेता भएकाले पनि यो उपचुनावमा उपेन्द्र यादवले हार्न नहुने बताउँछन् ।

विश्लेषक चन्द्रकिशोर पनि यो उपनिर्वाचनको नतिजाले उपेन्द्रको राजनीतिमै ठूलो असर पर्ने देख्छन् । ‘चुनाव हार्नुभयो भने उहाँले नेतृत्वबाट नैतिकताका आधारमा हट्नुपर्ने दबाव आउन सक्छ, संसदीय दलको नेता अशोक राईलाई बनाउन बाध्य हुनुपर्नेछ’, चन्द्रकिशोर भन्छन् । तर जनमत पार्टीले यो उपनिर्वाचन हारे पनि यो तहको चुनौती दिन सक्नुले मधेशमा सीके राउत फैलिएकै पुष्टि हुने उनी बताउँछन् । यो समाचार अनलाइनखबर बाट साभार गरिएको छ ।

Leave A Reply

Your email address will not be published.