अन्तराष्ट्रिय

भारतले नेपाललाई २५ हजार मेट्रिक टनसम्म चिनी आयात गर्न दियो अनुमति

काठमाडौं : चिनी निर्यातमा प्रतिबन्ध गरेको भारत सरकारले हाल नेपाललाई २५ हजार मेट्रिक टनसम्म चिनी आयात गर्न अनुमति दिएको छ।  भारतको कृषि मन्त्रालयले हालै गरेको निर्णय अनुसार नेपाललाई उक्त परिमाण बराबरको चिनी निर्यात गर्ने अनुमति दिएको हो।

यसअघि भारतले चिनी निर्यातमा प्रतिबन्ध लगायकाले बजारमा चिनी अभाव भएको थियो। विश्वको सबैभन्दा ठूलो चिनी उत्पादक मुलुक भारतले नै उत्पादनमा कमी आएको भन्दै अन्य मुलुकमा निर्यात गर्न रोकेको थियो।

भारतले ३–४ महिनाअघिदेखि चिनीको निर्यातमा प्रतिबन्ध लगाएको थियो। यहाँ भएको चिनी उपभोगका लागि पर्याप्त नहुँदा बजारमा अभाव भएको थियो। तर अब यो आयातको कोटामा खुलाएको २५ हजार मेट्रिक टनले बजारमा अहिलेलाई गर्जो टर्ने वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवाल बताउँछन्।

‘अब आन्तरिक बजारमा चिनीको सहज आपुर्ती हुने, मुल्य घट्ने र कालोबजारी अन्त्य हुने अपेक्षा गरेका छौं। बजारमा अब चिनीको कृत्रिम अभाव हुँदैन,’ उनले अन्नपूर्णसँग भने,‘यो कोटाको चिनी आउनासाथ यसले अबको ३ महिना धान्छ। यसपछि नेपालमै चिनी क्रसिङ हुन लागेकाले नयाँ चिनी आन्तरिक बजारमै आउने भएकाले अब बजारमा अभाव हुँदैन।’

नेपालमा वार्षिक करिब ३ लाख मेट्रिक टन चिनी आवश्यक पर्छ। नेपाल भित्रै १ लाख ५० हजार मेट्रिक टन चिनी उत्पादन हुन्छ।  ५० प्रतिशत जतिमात्रै आन्तरिक उत्पादनले धान्छ।  यसपछि बाँकी ५० प्रतिशत आयात नै गर्नुपर्छ।  तर पछिल्लो समय भारतबाट आयात नहुँदा आपुर्ती श्रृङ्खला बिग्रिएकोले असहज स्थिति आएको थियो। अन्नपूर्णपोस्ट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button