एनआरएनए आईसीसी बैठकबाट मलेसियाका दुई प्रतिनिधि एशिया प्यासिफिक क्षेत्रीय उप–संयोजकमा मनोनित।

काठमाडौँ/क्वालालम्पुर । गैरआवासीय नेपाली संघ (NRNA) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को बैठकबाट मलेसियाको प्रतिनिधित्व गर्दै श्री राकेश प्रसाद महतो र श्री नारायण अधिकारी एशिया प्यासिफिक क्षेत्रीय उप–संयोजक जस्तो गरिमामय जिम्मेवारीमा मनोनित भएका छन्।
उहाँहरूको मनोनयनसँगै मलेसियामा रहेका नेपाली समुदायमा उत्साहको वातावरण सिर्जना भएको छ। लामो समयदेखि प्रवासी नेपालीहरूको हकहित, एकता र संस्थागत विकासमा सक्रिय रहँदै आएका दुवै व्यक्तित्वले प्राप्त गरेको नयाँ जिम्मेवारीलाई नेपाली समुदायले सकारात्मक रूपमा लिएको छ।
एशिया प्यासिफिक क्षेत्र गैरआवासीय नेपालीहरूको उल्लेखनीय उपस्थिति रहेको क्षेत्र भएकाले यस क्षेत्रको नेतृत्वले प्रवासी नेपालीका समस्या समाधान, अधिकार संरक्षण, समन्वय र संस्थाको प्रभावकारी विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
मलेसियामा रहेका नेपाली समुदायका विभिन्न सामाजिक, व्यावसायिक तथा पत्रकारिता क्षेत्रका व्यक्तित्वहरूले दुवै नेताको मनोनयनप्रति बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उहाँहरूको नेतृत्वले एनआरएनएलाई अझ सशक्त, समावेशी र प्रभावकारी बनाउने विश्वास समेत व्यक्त गरिएको छ।
यसैबीच बारादैनिक डट कम का सञ्चालक कृष्ण गुप्ता ले पनि दुवै नवमनोनित पदाधिकारीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमा भनिएको छ, “श्री राकेश प्रसाद महतो तथा श्री नारायण अधिकारीज्यूको नेतृत्व, अनुभव र समर्पणले मलेसियामा रहेका नेपाली समुदायको हकहित, एकता, समृद्धि तथा गैरआवासीय नेपालीहरूको अधिकार र हित प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं। उहाँहरूको कार्यकाल सफल, उपलब्धिमूलक र प्रेरणादायी रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौं।”
एनआरएनए आईसीसी बैठकबाट भएको यो मनोनयनलाई मलेसियामा रहेका नेपाली समुदायका लागि गौरवको विषयका रूपमा हेरिएको छ। नयाँ नेतृत्वले प्रवासी नेपालीको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा अझ प्रभावकारी रूपमा उठाउने र समुदायको हितमा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ।



