मधेस

क्याम्पस प्रमुख कुशवाहा हत्या प्रकरणः प्रहरीद्रारा घटनामा संलग्न शंकित सात जना उपर म्याद थप

रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ५० वर्षीय हरिभूषण प्रसाद कुशवाहलाई गोली प्रहार गरी हत्या गरेको घटनामा संलग्न शंकित सात जना उपर बारा प्रहरीले म्याद थप गराएको छ ।

बारा प्रहरीले हिरासतमा राखि अनुसन्धान गर्न उनीहरुमाथि बारा जिल्ला अदालतबाट छ दिनको लागि म्याद थप गराएको हो ।

गत जेठ ३२ गते साढे पाँच बजेको समयमा जिल्लाको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर २ खजुरीया निवासी रामराजा मोहन विक्रम शाह बहुमुखि क्याम्पस कलैयाका क्याम्पस प्रमुख कुशवाहाको हत्या भएको थियो ।

उनले मोटरसाइकल चलाई खजुरियाबाट कलैया तर्फ आउने क्रममा जिल्लाको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ बतरा टोल स्थित ग्रेवल सडक खण्डमा पुग्दा अपरचित व्यक्तिहरुको समूहले गोली हानी घाईते बनाएको थियो ।

घाईते कुशवाहालाई तत्काल उपचारको लागि बयोधा अस्पताल वीरगंज लगेकोमा उपचारको क्रममा उनको मृत्यू भएको थियो । घटनाको अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न देखिएको शंकित र किटानी जाहेरी दरखास्तको आधारमा सात जना प्रतिवादीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा जिल्लाको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर २ खजुरिया टोलका ३२ वर्षीय अवधलाल प्रसाद कुशवाहा,सोही वार्डमा बस्ने २९ वर्षीय चांदसी प्रसाद कुशवाहा,३४ वर्षीय राधेश कुमार पटेल,५४ वर्षीय विनोद राउत कुर्मी, बतरा टोलमा बस्ने २७ वर्षीय चुल्हाई भन्ने श्रवण कुमार साह,कलैया उपमहानगरपालिका वडा नम्बर १० मटिअर्वा टोलमा बस्ने ५० वर्षीय आम्रपाली भन्ने ब्रहमदेव राम र करैयामाई गाउँपालिका वडा नम्बर ७ पिपरा टोलमा बस्ने ५० वर्षीय मोतिलाल चौधरी रहेका छन् ।

उनीहरुको साथबाट बा.३२ प ७०५५ नम्बरको एफ.जेड मोटरसाइकल,ना.५९ प ४७८९ नम्बरको टिभीयस मोटरसाइकल,ना.३३ प ५४६२ नम्बरको २२० सि.सिको पल्सर मोटरसाइकल बरामद गरेको छ ।

उनीहरुसंग छ राउण्ड गोलि,बिभिन्न मोवाईल,ल्यापटप र नेपाली तथा भारतीय सिमकार्डहरु प्रहरीले बरामद गरेको छ ।

दशीका समानहरु बरामद गरी उनीहरु उपर कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दा दर्ता गरिएको छ । बारा जिल्ला अदालतबाट असार ११ गतेबाट लागु हुने गरी ६ (छ) दिनको म्याद थप भई अनुसन्धान कार्य भई रहेको छ ।

उक्त घटनामा संलग्न अन्य फरार रहेका प्रतिवादीहरुको खोज तलास तथा अनुसन्धान कार्य जारी रहेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button