मधेसराजनीतिसमाचारसमाज

अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

वीरगञ्ज, — वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र अव्यवस्थित तथा लथालिङ्ग अवस्थामा रहेका इन्टरनेटका तारका कारण सहरी सौन्दर्यमा असर पर्नुका साथै दुर्घटना र आगलागीको जोखिम बढ्दै गएपछि महानगरपालिकाले त्यसको व्यवस्थापन प्रक्रिया अघि बढाएको छ।

महानगरपालिकाका अनुसार नगरको तीव्र शहरीकरण, संरचना मर्मतका क्रममा उत्पन्न हुने मलबा व्यवस्थापनमा देखिएको समस्या तथा विशेषगरी गर्मी मौसममा हुन सक्ने आगलागीको जोखिमलाई मध्यनजर गर्दै इन्टरनेट सेवा प्रदायक कम्पनीहरूसँग समन्वयात्मक छलफल गर्न लागिएको हो। कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको पहलमा तार व्यवस्थापन, मर्मत तथा सहरी सौन्दर्यीकरणलाई प्रभावकारी बनाउने उद्देश्यले यो कदम चालिएको जनाइएको छ।

प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहराद्वारा जारी सूचनाअनुसार वीरगञ्ज क्षेत्रमा सेवा सञ्चालन गरिरहेका सबै इन्टरनेट सेवा प्रदायक कम्पनीका आधिकारिक प्रतिनिधिलाई साउन २२ गते बिहान ११:०० बजे वीरगञ्ज महानगरपालिकाको बैठक हलमा अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ।

महानगरपालिकाले बैठकमा अनुपस्थित हुने कम्पनीलाई असहयोगी ठहर गरिने उल्लेख गर्दै त्यसबाट उत्पन्न हुने कुनै पनि परिस्थिति वा परिणामको सम्पूर्ण जिम्मेवारी सम्बन्धित कम्पनी स्वयंले वहन गर्नुपर्ने चेतावनीसमेत दिएको छ।

महानगरपालिकाको यो पहलले अव्यवस्थित तार व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा वीरगञ्जको सहरी सौन्दर्य संरक्षणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button