
वीरगञ्ज । मधेश प्रदेशकै एकमात्र महानगर वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट घोषणा गरेको छ ।
वीरगन्ज महानगरपालिकाको आज सम्पन्न नगरसभाको २० औँ अधिवेशनमा महानगरका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमका तर्फबाट नगर कार्यपालिका सदस्य जगत साह कानुले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित आयव्ययसहितको बजेट प्रस्तुत गर्नुभयो ।
वीरगन्ज महानगरले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा झण्डै १ अर्ब १९ करोड बढीको बजेट ल्याएको छ । चालु आर्थिक वर्षका लागि वीरगन्ज महानगरको बजेट ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको थियो ।
आगामी आर्थिक वर्षको बजेटमा चालू खर्चतर्फ २ अर्ब ४० करोड ३४ लाख ६९ हजार अर्थात् कूल बजेटको ५४.३ प्रतिशत, पुँजीगत खर्चतर्फ १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार अर्थात् कूल बजेटको ४४.६ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ५ करोड अर्थात् १.१ प्रतिशत रहेको उल्लेख छ ।
आगामी आर्थिक वर्षको बजेटमा अनुमानित खर्च व्यहोर्ने स्रोतहरूमा संघीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख, आन्तरिक राजश्वबाट १ अर्ब ४८ करोड, संघीय राजश्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार, प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड २८ हजार, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख १४ हजार, घरजग्गा रजिष्ट्रेशन शुल्क बापत ४५ करोड र गत वर्षको नगद मौज्दातबाट चार करोड ६९ लाख ४४ हजार तथा नगर विकास कोषबाट १५ करोड व्यहोरिने उल्लेख छ ।
बजेट प्रस्तुत गर्दै कानुले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा र स्वास्थ्य सेवा, महानगरको सरसफाई व्यवस्थापन, वन तथा वातावरण संरक्षण, कृषि ,पर्यटन र उद्योग, गुणस्तरीय भौतिक पूर्वाधार र प्रविधिमा आधारित सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।
त्यसअघि नगरसभामा कार्यवाहक मेयर आलमले आगामी आर्थिक वर्षको लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
आलमकै अध्यक्षतामा भएको नगरसभाको २० औँ अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर बोहरा, नगर कार्यपालिका सदस्य, ३२ वटै वडाका वडाध्यक्षहरू, वडा सदस्य, महानगरपालिका कार्यालयका कर्मचारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।



