Banner Newsमधेसराजनीतिसमाचारसमाज

रौतहट सोनरनियामा ४ करोड ३९ लाखको परियोजनाको शिलान्यास

राजकुमार यादव
रौतहट

मौलापुर नगरपालिका-९ सोनरनियामा एकीकृत दलित बस्ती निर्माण कार्यको शिलान्यास सम्पन्न भएको छ। वर्षौँदेखि अलपत्र अवस्थामा रहेको करिब तीन बिघा एलानी जग्गामा नगरप्रमुख रिना कुमारी साहले उक्त बस्ती निर्माणको शिलान्यास गरेकी हुन्।

कार्यक्रममा मौलापुर नगरपालिकाका उप नगरप्रमुख नागेन्द्र राय यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह, वडा नं. ९ का वडाध्यक्ष श्याम साहलगायत विभिन्न वडाध्यक्ष तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

परियोजना कार्यान्वयनका लागि कुल बजेट रु. ४ करोड ३९ लाख ७४ हजार १७७ निर्धारण गरिएको छ। यसमध्ये ३० प्रतिशत अर्थात् रु. १ करोड ३१ लाख ९२ हजार २५३ मौलापुर नगरपालिकाले व्यहोर्नेछ भने ७० प्रतिशत अर्थात् रु. ३ करोड ७ लाख ८१ हजार ९२४ संघीय सरकारको अनुदान रहनेछ।

उक्त परियोजनाअन्तर्गत ३० परिवारलाई शौचालय तथा खानेपानी सुविधासहित दुई कोठे पक्की आवासीय भवन उपलब्ध गराइनेछ। साथै, बस्ती क्षेत्रमा सडक तथा नाला निर्माणसमेत गरिने योजना रहेको छ।

निर्माण कार्य ‘प्रिसा-शृष्टि तथा श्री राम जेभी’मार्फत सञ्चालन हुने जनाइएको छ। सम्झौता मिति २०८२ साल माघ ९ गते कायम गरिएको छ भने २०८५ साल असार १५ गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

दीर्घकालदेखि व्यवस्थित आवासको अभाव झेल्दै आएका दलित समुदायका लागि यो परियोजना महत्वपूर्ण मानिएको छ। स्थानीयस्तरमा आधारभूत पूर्वाधार विकाससँगै सुरक्षित र व्यवस्थित बसोबासको सुनिश्चितता गर्ने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button