भारतमा अहिले अन्तरिक्ष प्रविधिसम्बन्धी १४० वटा स्टार्टअप दर्ता भएका छन् ।
भारतले सन् १९६३ मा आफ्नो पहिलो रकेट प्रक्षेपण गर्दा रकेट शीर्षभाग (चुच्चो भाग)लाई लन्चप्याडसम्म पुर्याउन साइकलको प्रयोग गरेको थियो । पहिलो प्रक्षेपणबाट उसले पृथ्वीको सतहबाट १२४ माइलमाथि सानो सामान पुर्याउन सफल भएको थियो । प्रारम्भिक दिनमा भारतको अन्तरिक्ष अभियान अमेरिका र सोभियत संघबीच त्यतिवेला तीव्र बनेको अन्तरिक्ष दौडमा पछाडि नछुट्ने एक प्रयासजस्तो देखिन्थ्यो । पहिलो प्रक्षेपणपछिका ६० वर्षको अन्तरालपछि आज भारतको अन्तरिक्ष अभियान निकै सबल बनिसकेको छ ।
भारतको प्रविधि स्टार्टअपको केन्द्र मानिने हैदराबाद सहरबाट दक्षिणतर्फ एक घन्टाको दूरीमा एक फराकिलो रकेट ह्यांगर छ । त्यहाँ पुग्दा युवा इन्जिनियरहरूको समूह सानो, प्रयोगात्मक ‘थ्रस्टर इन्जिन’मा काम गरिरहेका थिए । स्काइरुट एयरोस्पेस नामक उक्त अन्तरिक्ष स्टार्टअपले गत नोभेम्बर आफँैले डिजाइन गरेको रकेटमार्फत भूउपग्रह प्रक्षेपण गर्न सफल भएको थियो । सो काम भारतमा कुनै पनि निजी अन्तरिक्ष कम्पनीले गरेको पहिलो भूउपग्रह प्रक्षेपण हो । कम्पनीका दुई संस्थापकहरू यस रेकर्डको उल्लेख गर्दा निकै प्रफुल्ल देखिन्थे । हाल परीक्षण भइरहेको नयाँ थ्रस्टरहरूले यही वर्ष स्काइरुटको अर्को अन्तरिक्षयानलाई पृथ्वीको कक्षमा पुर्याउनेछ, जसमा निकै महँगो सामग्री हुनेछ ।
भारतमा अहिले छोटो समयमै कम्तीमा १४० अन्तरिक्ष प्रविधिसम्बन्धी स्टार्टअप दर्ता भएका छन् । यसले समग्रमा पृथ्वीको अन्तिम सीमा मानिएको अन्तरिक्ष क्षेत्रलाई रुपान्तरण गर्न सघाउने विश्वास बढेको छ । यो क्षेत्र भेन्चर लगानीकर्तामाझ भारतमा सबैभन्दा आकर्षकमध्ये एक क्षेत्र बनेको छ । महामारीको सुरुमा अन्तरिक्ष स्टार्टअपहरूको संख्या पाँच थियो, जुन अहिले विस्फोटक रूपमा बढेर १४० पुगेको छ । र, यिनको नजर विश्वव्यापी विशाल बजारमा छ । स्काइरुटका प्रमुख कार्यकारी अधिकृत ३२ वर्षीय पवनकुमार चन्दनाले यस दशकभित्रै आफूहरूले ३० हजार उपग्रह प्रक्षेपणको जिम्मेवारी पाउन सक्ने अनुमान गरेका छन् ।
वैज्ञानिक शक्तिका रूपमा भारतको महत्व बढ्दै गएको छ । गत महिना वासिंटनमा भारतका प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भेटपछि ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा ‘दुई नेताले अन्तरिक्ष अर्थतन्त्रको सम्पूर्ण मूल्य शृंखलामा अमेरिकी र भारतीय निजी क्षेत्रबीचको व्यापारिक सहयोग बढाउन आह्वान गरेको’ उल्लेख छ । दुवै देशले अन्तरिक्षलाई त्यस्तो क्षेत्र मान्छन्, जहाँ भारतले दुई देशका साझा प्रतिद्वन्द्वी चीनलाई टक्कर दिन सक्छ ।
स्थापनाको आफ्नो पहिलो तीन दशकसम्म ‘भारतीय अन्तरिक्ष अनुसन्धान संगठन ‘इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन(इसरो)’ले मुलुकलाई गौरवान्वित बनायो । देशको अन्तरिक्ष प्रगतिको सम्मानस्वरूप सन् १९९५ सम्म देशको दुई रुपैयाँको नोटमा पहिलो अन्तरिक्षयानको फोटो अंकित थियो । त्यसपछि केही समयका लागि भारतले आफ्नो अन्तरिक्ष महत्वाकांक्षामा त्यति महत्व दिएन । यस अवधिमा भारतको मुख्य ध्यान बरु सूचना प्रविधि र औषधिमा रूपान्तरित भएको थियो ।
अहिले आएर भारतले पुनः अन्तरिक्षमा जोड दिन थालेको छ, जसका कारण देशको अन्तरिक्ष व्यापारमा परिवर्तन देखिन थालेको छ । तर, पछिल्लो वृद्धिलाई विशाल सरकारी बजेटभन्दा पनि निजी व्यवसायले निर्देशित गरेको छ । निजी क्षेत्र निर्देशित वर्तमान अन्तरिक्ष वृद्धिले ससाना, व्यावसायिक उद्देश्यहरू पूरा गरिरहेको छ । भारतका ‘तस्बिरसम्बन्धी भूउपग्रहीय प्रणाली’ले पृथ्वीका जानकारी पुनः सतहका केन्द्रमा पठाएका भारतका किसानलाई तिनको फसलको स्थिति र व्यावसायिक माझीहरूलाई तिनको माछाको झुन्ड पहिचान गर्ने गर्दै छ । भूउपग्रहले यस देशको दुर्गम कुनामा फोन सिग्नल पुर्याइरहेको छ । साथमा भारतको मेगासिटीहरूबाट धेरै टाढा सौर्य फार्म सञ्चालन गर्न पनि यिनै प्रणालीको सहयोग देखिन्छ ।
सन् २०२० जुनदेखि मोदीले अन्तरिक्ष क्षेत्रको विकासलाई बढावा दिने उद्देश्यले यसलाई निजी उद्यमीका लागि खोल्ने घोषणा गरे । त्यसयता देशभर अन्तरिक्ष केन्द्रित व्यावसायिक सञ्जाल निर्माण भएको छ, जो मौलिक अनुसन्धान र स्वदेशी प्रतिभाद्वारा सञ्चालित छन् । गत वर्ष, भारतीय अन्तरिक्ष स्टार्टअपहरूले १२ करोड डलर लगानीका रूपमा भिœयाए, जुन बर्सेनि दोब्बर वा तेब्बरको हिसाबमा बढ्दै गएको छ । इसरोले नयाँ निजी व्यवसायका लागि पनि ठाउँ दिने गरेको छ ।
इसरोको अन्तरिक्ष प्रक्षेपण केन्द्र भूमध्यरेखा नजिक रहेकाले यो अन्तरिक्षका हरेक कक्षमा प्रक्षेपणका लागि उपयुक्त छ । त्यसमाथि सरकारी एजेन्सीले प्रयोग गर्दै आएको रकेटलाई भारी सामान अन्तरिक्षमा पुर्याउन विश्वको सबैभन्दा भरपर्दोमध्ये एक मानिन्छ । लगभग ९५ प्रतिशतको सफलता दरको साथ, यसले भूउपग्रहको बिमाको लागतलाई आधाले घटाएको छ भने भारतलाई विश्वको सबैभन्दा प्रतिस्पर्धी प्रक्षेपण साइटमध्ये एक बनाएको छ ।
अन्तरिक्षमा सामग्री प्रक्षेपण गर्ने काममा पैसा छ र त्यसको बजार निरन्तर बढिरहेको छ । यस वर्ष ६ अर्ब डलरको प्रक्षेपण व्यवसाय दुई वर्षभित्रै तीन गुणा हुन सक्छ । हैदराबादस्थित भारतको पहिलो अन्तरिक्ष स्टार्टअप ध्रुव स्पेसको कार्यस्थल हामी पुग्दा त्यहाँ केही थान भूउपग्रहका डमी, वायुमण्डलीय रूपमा नियन्त्रित प्रयोगशाला र एक कृत्रिम–गुरुत्वाकर्षण परीक्षण रिग थिए । कम्पनीका रणनीति प्रमुख क्रान्ति चन्द लगानीकर्ता र उपभोक्ताको खोजीमा एक हप्ता युरोपमा बिताउँछन् भने अर्को हप्ता अमेरिकामा । त्यसैले उनलाई कार्यालयमा प्रायः भेट्न कठिन हुन्छ । उनको व्यस्तताले पनि भारतको अन्तरिक्ष स्टार्टअपको पहुँच र विस्तारलाई नै संकेत गर्छ ।
भारत र विश्वभर अन्तरिक्ष व्यवसायलाई पछिल्लो समय तरंगित गर्ने व्यक्ति एलोन मक्स हुन् । उनको अन्तरिक्ष कम्पनी ‘स्पेसएक्स’ र यसको पुनः प्रक्षेपण गर्न सकिने रकेटले अन्तरिक्ष–कक्षमा भारी वस्तु पठाउने लागत यति घटाइदियो भारतलगायत कैयौँ मुलुक प्रतिस्पर्धा गर्न नसक्ने स्थितिमा पुग्यो । आज स्पेसएक्सले अन्तरिक्षमा सामान पठाउन प्रतिकिलो ६५ सय डलर लिन्छ, जुन विश्वकै सस्तो प्रक्षेपण शुल्क हो । भारतमा थुप्रै इन्जिनियर कामको खोजीमा बसिरहेका छन्, जसलाई अमेरिकाको तुलनामा सस्तोमा काम लगाउन सकिन्छ । तर, तिनको न्यून तलबले पनि स्पेसएक्ससँगको मूल्य प्रतिस्पर्धा कठिन बनेको छ ।
मूल्यको प्रतिस्पर्धामा स्पेसएक्सले कडा प्रतिस्पर्धा दिएकाले ‘स्काइरुट’जस्ता भारतीय स्टार्टअपले केही फरक गर्ने सोच बनाएको छ । ‘हामी एक ट्याक्सीको जस्तो सेवा दिन्छौँ, अर्थात् हाम्रा कम्पनीले सानो सामान प्रक्षेपणको लागि उच्च भाडा लिइरहेका छन्, जबकि स्पेसएक्स बस वा ट्रेनजस्तै धेरै यात्रु बोक्ने तर प्रत्येकसँग थोरै भाडा लिने सेवामोडल सञ्चालन गरिरहेको छ,’ स्काइरुटका प्रमुख कार्यकारी पवनकुमार चन्दनाले भने । स्पेसएक्सको आगमनपछि नै भारतको स्टार्टअप क्षेत्रमा अन्तरिक्ष व्यवसायतर्फ आकर्षण बढेको हो । प्रधानमन्त्री मोदीले अन्तरिक्ष प्रक्षेपणमा निजी क्षेत्रलाई स्वागत गर्ने निर्णय गर्ने समयमा इसरोका केही इन्जिनियरहरू यस विषयमा पहिले नै सोचविचार गर्न थालिसकेका थिए, जसमा हाल स्काइरुटका चन्दना र उनका साझेदार ३३ वर्षीय भरत डाका पनि पर्छन् ।
भारत भूराजनीतिक रूपमा फाइदाजनक स्थानमा छ । स्पेसएक्सको आगमनअघि लामो समयसम्म अन्तरिक्षमा सामान प्रक्षेपणका लागि न्यून लागतका विकल्प रुस र चीन रहे । तर, युक्रेनको युद्धले प्रतिद्वन्द्वीको रूपमा रुसको भूमिकालाई समाप्त गरिदिएको छ । गत सेप्टेम्बरमा रुसले ब्रिटिस भूउपग्रह स्टार्टअप वन–वेबका ३६ वटा अन्तरिक्ष सामग्री जफत गरेपछि कम्पनीले २३ करोड डलरको घाटा व्यहोर्नुपर्यो । त्यसपछि वन–बेभ उसका भूउपग्रह प्रक्षेपणका लागि भारतको इसरोतर्फ फर्कियो । त्यसैगरी, अमेरिकी सरकारले कुनै अमेरिकी कम्पनीलाई सैन्यस्तरको प्रविधि आकाशमा पठाउनका लागि चिनियाँ रकेटभन्दा भारतका साधनलाई अनुमोदन गर्ने सम्भावना बढी हुन्छ ।
भारतको विक्रेता इकोसिस्टम(पर्यावरण)को आकार पनि भीमकाय छ । इसरोसँग दशकौँ व्यापारको प्रतिफलस्वरूप बेंगलुरु, हैदराबाद, पुणे र नजिकका स्थानमा झन्डै ४०० निजी कम्पनीको सञ्जाल निर्माण भएको छ । ती कम्पनी विशेष स्क्रुदेखि अन्तरिक्ष प्रक्षेपण गरिने सामानको आकार र प्याकेजिङ गर्ने सेवा दिने कम्पनी छन् । यिनका सेवाले अन्तरिक्ष प्रक्षेपणका लागि उपयुक्त वातावरण बन्न पुग्छ । कुनै एक प्रक्षेपणका क्रममा करिब एक सयसम्मले सहकार्य गर्न सक्छन् । स्काइरुट र ध्रुव स्पेसजस्ता कम्पनी प्रक्षेपण र उपग्रह वितरणको तुलनात्मक आकर्षक क्षेत्रहरूमा संलग्न हुन्छन्, जसले भारतको कुल अन्तरिक्ष व्यापार हिस्साको आठ प्रतिशत भाग पाउँछन् ।
अझ धेरै ठूलो हिस्सा ती कम्पनीलाई जान्छ, जो भूउपग्रहले फ्याँकेका तथ्यांक संकलन गर्छन् । पिक्सेल यस क्षेत्रको एक उल्लेखनीय स्टार्टअप हो । कम्पनीले यस्तो तस्बिरसम्बन्धी प्रणाली विकास गरेको छ, जसले सामान्य तस्बिरमा नदेखिने पृथ्वीको सतहको ढाँचा पत्ता लगाउँछ । बेंगलुरुमा मुख्यालय र लस एन्जलसमा एक कार्यालय रहेको यस कम्पनीको पेन्टागनभित्रको एक गोप्य एजेन्सीसँग सम्झौता छ । भूउपग्रहीय व्यवसायको अझ ठूलो भाग अनिवार्य उपभोक्ता ब्रोडब्यान्ड र टिभी सेवा प्रदान गर्ने कम्पनीलाई जानेछ, जो न्यून कक्षबाट तथ्यांक पठाउँछन् ।
स्काइरुटको ह्यांगरमा बसेर कुरा गर्दा, आइआइटीमा पढेर, इसरोमा काम गरेर, हाल इन्जिनियरबाट उद्यमी बनेका दुई प्रमुखले ‘भेन्चर क्यापिटल फन्डिङ’को भाषामा प्रयोग गरिरहेका थिए । कम्पनीले चार चरणको लगानीकर्तासँगको सम्पर्कपछि ६.८ करोड डलर उठाइसकेको छ । कुराको क्रममा ती स्पष्ट रूपमा व्यवसायभन्दा विज्ञानको विषयमा बोल्दा बढी उत्साहित सुनिन्थे, जुन विषय दुवैले आफैँले भने औपचारिक रूपमा अध्ययन गरेनन् । व्यावसायिक ज्ञानको कुरा गर्दा चन्दनाले कम्पनी त ‘सामान्य ज्ञानका आधार’मा चलिरहेको बताए ।
– द न्युयोर्क टाइम्सका लागि एलेक्स ट्रेभलीको रिपोर्ट