Blog

पुटिन-सीसहित भारत–इरानका शिर्ष नेताहरूको किर्गिस्तानमा सामुहिक भेट हुदैँ

काठमाडौँ, १६ भदौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी चिनफिङ र अन्य दर्जनौँ विश्व नेताहरू साङ्घाई सहयोग सङ्गठन (एससीओ) को वार्षिक शिखर सम्मेलनका लागि सोमबार किर्गिस्तानमा भेला हुँदैछन्।

एससीओले ऐतिहासिक रूपमा आर्थिक मुद्दाहरूमा ध्यान केन्द्रित गर्दै आएको भए तापनि राष्ट्रपति पुटिन र राष्ट्रपति सीले यस शिखर सम्मेलनलाई बहुध्रुवीय विश्वको आफ्नो दृष्टिकोण प्रवर्द्धन गर्न तथा पश्चिमा राष्ट्रहरूविरुद्ध एकजुट भएर उभिने अडान प्रस्तुत गर्न उपयोग गर्दै आएका छन्।

यस बैठकमा इरानका राष्ट्रपति मसुद पेजेस्कियन र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको पनि उपस्थिति रहने अपेक्षा गरिएको छ, यद्यपि टर्की यस सङ्गठनको सदस्य भने होइन। किर्गिस्तानको राजधानी बिस्केकमा हुने यस वर्षको एससीओ बैठकका क्रममा पेजेस्कियनले पुटिनसँग द्विपक्षीय वार्ता गर्ने कार्यसूची छ।

यसअघि जुलाईमा एससीओ विदेशमन्त्रीहरूको परिषद् बैठकका क्रममा दुवै देशका विदेशमन्त्रीहरूबीच भेटवार्ता भएको थियो। सन् २०२३ मा यस समूहमा आबद्ध भएको इरानले रुससँग घनिष्ठ सैन्य र चीनसँग ऊर्जासम्बन्धी सम्बन्ध कायम राखेको छ। एससीओका पूर्ण सदस्य राष्ट्रहरू भारत र पाकिस्तानका नेताहरू पनि यस बैठकमा सहभागी हुनेछन्। विश्वको कुल जनसङ्ख्याको करिब ४० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनको २५ प्रतिशत हिस्सा ओगटेको दाबी गर्ने एससीओ स्थापना भएको यस वर्ष २५ वर्ष पूरा भएको छ।

तर, एससीओको स्थापनासम्बन्धी घोषणापत्रमा यो समूह ‘अन्य राष्ट्रहरूविरुद्ध लक्षित गठबन्धन होइन’ भनी उल्लेख गरिएको छ।  यद्यपि, गत वर्षको बैठकमा पुटिनले युक्रेन युद्ध उक्साएको भन्दै पश्चिमा राष्ट्रहरूको आलोचना गरेका थिए भने सीले अमेरिका चीन तनावलाई सङ्केत गर्दै ‘धम्कीपूर्ण गतिविधिहरू’ को निन्दा गरेका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पलाई तनाव दिइरहेका यी ६ इरानी टापुहरू

तेहरान, १६ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सैन्य तनाव बढाउने विभिन्न विकल्पहरूमाथि विचार गरिरहेका छन्, जसमध्ये धेरैजसो फारसी खाडीमा रहेका रणनीतिक टापुहरू वरिपरि केन्द्रित छन्।

यी टापुहरूको महत्त्व हर्मुज जलडमरूमध्यको निकटताका कारण बढेको हो। यो एक महत्त्वपूर्ण ऊर्जा चोकपोइन्ट हुनुका साथै इरानको आफ्नै तेल उद्योग वा सैन्य प्रतिरक्षामा यसको अहम् भूमिका छ। तर, इरानी भूभाग कब्जा गर्नु अमेरिकाका लागि युद्धमा अहिलेसम्म गरेका प्रयासभन्दा धेरै जोखिमपूर्ण हुनेछ।

विचाराधीन योजनाहरूमा हर्मुज जलडमरूमध्य नजिकै जहाजहरू कब्जा गर्ने वा इरानको मुख्य तेल निर्यात केन्द्र खार्ग टापुमा आक्रमण गर्नेसहित खाडीका विभिन्न टापुहरू समावेश छन्। जो नियन्त्रणमा नलिएसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निद खराब गरिरहेका छन । यी ६ टापुका बारेमा जानौं । 

 

खार्ग टापु

खार्ग टापुइरानको तटबाट करिब १५ माइलको दूरीमा रहेको खार्ग टापुले देशको कच्चा तेल निर्यातको करिब ९० प्रतिशत हिस्सा सम्हाल्छ।

यस टापुमा ताजा पानीका स्रोतहरू छन्, जसले यहाँको स्थायी बसोबास र प्रमुख पूर्वाधारलाई धान्न मद्दत गर्छन्। यहाँ हजारौँ मानिसहरूको बसोबास छ, जसमध्ये अधिकांश तेल उद्योगमा कार्यरत कामदारहरू हुन्। यसको वरिपरि रहेको गहिरो पानीका कारण ठूला तेल ट्याङ्करहरू यहाँ आएर रोकिन सक्छन्। खार्गमाथि सीधा प्रहार भएमा इरानको तेल निर्यात तुरुन्तै ठप्प हुन सक्छ  ।

उल्लेखनीय छ कि इरानको तेलको ठूलो हिस्सा चीनतर्फ जाने गर्छ। यो टापुमा आक्रमण गरी कब्जा जमाउँदा अमेरिकी सेना हाल चलिरहेको हवाई अभियानको तुलनामा शत्रुको प्रहारको दायरामा अझ बढी प्रत्यक्ष रूपमा पर्नेछ। अमेरिकी अधिकारीहरूले इरानलाई सम्झौताका लागि तयार पार्ने उपाय वा दबाबको साधनका रूपमा यस टापुको नाकाबन्दी गर्ने विषयमा पनि छलफल गरेका छन्।

 

लारक टापु

लारक टापु होर्मुज जलसन्धिको सबैभन्दा साँघुरो भागमा अवस्थित छ र यो इरानको तेल उद्योगका लागि निर्यातको एक प्रमुख केन्द्र पनि हो।

इरानले लारक टापुको प्रयोग जलसन्धिको निगरानी गर्न र त्यसमाथि नियन्त्रण कायम राख्न गर्छ। यस टापुमा बङ्कर र आक्रमणकारी डुङ्गाहरूको सञ्जाल छ, जसले मालवाहक जहाजहरूलाई ध्वस्त पार्न सक्छन्। लारकलाई आफ्नो नियन्त्रणमा लिन सकेमा जलसन्धिमा जहाजहरूलाई अवरोध पुर्‍याउने र बारुदी सुरुङ बिछ्याउने इरानको क्षमता सीमित हुन सक्छ।

साथै, यसले जलसन्धि भएर हुने आवागमनमा इरानको पकड तोड्न सकेमा अमेरिका हावी हुन सक्छ तर, यो टापु निकै बलियो सुरक्षा घेरामा रहेकाले यसलाई कब्जा गर्नु कठिन कार्य हुनेछ।

केशम टापु
केशम फारसी खाडीको सबैभन्दा ठूलो टापु हो र यो इरानको दक्षिणी तट नजिक अवस्थित छ। विभिन्न रिपोर्टहरूका अनुसार होर्मुज जलसन्धि नजिकै रहेको यो बाणको आकारको टापुमा जहाज–विरोधी क्षेप्यास्त्र, बारुदी सुरुङ , ड्रोन र अन्य आक्रमणकारी साधनहरू भूमिगत सुरुङहरूमा भण्डारण गरिएका छन्।

प्राकृतिक सौन्दर्यका कारण केशम कुनै समय पर्यटकहरूको स्वर्ग मानिन्थ्यो। अल जजिराका अनुसार होर्मुज वरपरको क्षेत्रमा यस टापुको रणनीतिक महत्त्व छ, यसलाई कहिलेकाहीँ ‘विश्वको सबैभन्दा महत्त्वपूर्ण ऊर्जा पारवहन मार्गको ‘कर्क’ का रूपमा वर्णन गरिन्छ।

इरानले युद्धको सुरुवाती दिनहरूमा केशमस्थित पानीको खारापन हटाउने प्लान्टमा अमेरिकाले आक्रमण गरेको र त्यसबाट स्थानीय गाउँहरूमा हुने पानीको आपूर्ति अवरुद्ध भएको आरोप लगाएको थियो। अमेरिकाले भने यसको खण्डन गरेको थियो। करिब ५५८ वर्ग माइल क्षेत्रफल ओगटेको केशम आक्रमणका लागि एउटा ठूलो लक्ष्य बन्न सक्ने भए तापनि यसलाई कब्जा गर्ने कुनै योजनाबद्ध कारबाहीको सङ्केत देखिएको छैन।

 

 

अबू मुसा, ग्रेटर टुन्ब्स र लेसर टुन्ब्स टापु

अबू मुसा र टुन्ब्स टापुहरू इरान र संयुक्त अरब इमिरेट्सको बीचमा होर्मुज जलसन्धिको पश्चिमी प्रवेशद्वार नजिक अवस्थित छन्। यद्यपि युएईले यी टापुहरूमा आफ्नो दाबी गर्दै आएको छ, सन् १९७१ मा इरानी सेनाले बलपूर्वक तिनलाई कब्जा गरेको थियो। यी टापुहरू क्षेप्यास्त्र, ड्रोन र माइन बिछ्याउने क्षमताले सुसज्जित इरानी सैन्य चौकीका रूपमा रहेका छन्।

एक्सियोसका अनुसार पेन्टागनले अबू मुसा टापुलाई कब्जा गर्ने प्रस्ताव गरेको छ। अन्य टापुहरू जस्तै यो कदमले अमेरिकालाई जलसन्धि नजिक रणनीतिक पकड दिलाउनेछ र त्यहाँ इरानको सैन्य क्षमतालाई सीमित गर्नेछ। 

इरानी संसद्का सभामुख मोहम्मद बाघेरी घालीबाफले लेखे अनुसार इरानी गुप्तचर निकायको सूचनाले इरानका शत्रुहरूले यस क्षेत्रको एउटा देशको सहयोगमा इरानको एउटा टापु कब्जा गर्ने अभियानको तयारी गरिरहेको जनाएका थिए । घालीबाफले सम्भवतः युएई र अबू मुसामाथिको उसको दाबीतर्फ सङ्केत गरिरहेका थिए।

‘यदि उनीहरूले कुनै कदम चाले भने, त्यस क्षेत्रीय देशका सम्पूर्ण महत्त्वपूर्ण पूर्वाधारहरूमाथि बिना कुनै रोकटोक लगातार आक्रमण गरिनेछ,’ उनको चेतावनी छ।

१६ घण्टामै उद्धार भयो नारायणी अस्पतालबाट चोरिएको शिशु

रौतहट, १६ भदौ। वीरगञ्जस्थित नारायणी अस्पतालबाट चोरी भएको एक दिनको नवजात शिशुलाई प्रहरीले करिब १६ घण्टापछि सकुशल उद्धार गरेको छ।

 

शिशु चोरीको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६, इनर्वाकी सबिना खातुनलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार रातभरको खोजी, अनुसन्धान र निगरानीपछि सोमबार बिहान खातुनलाई शिशुसहित नियन्त्रणमा लिइएको हो।

 

पक्राउ परेकी खातुनले प्रारम्भिक बयानका क्रममा आफ्नो सन्तान नभएकाले बच्चा चोरी गरेको बताएकी छन्। यद्यपि, उनको बयानलाई मात्र आधार बनाएर निष्कर्षमा नपुगिएको र घटनामा अन्य व्यक्तिको संलग्नता थियो वा थिएन भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

एक दिन नपुग्दै अस्पतालबाट शिशु गायब

सर्लाहीको रामनगर गाउँपालिका–३, बहुअर्वाकी रिन्कु देवीले शनिबार राति करिब ११ बजे नारायणी अस्पतालमा शल्यक्रियामार्फत छोरालाई जन्म दिएकी थिइन्। तर, जन्मिएको एक दिन पनि नपुग्दै आइतबार नवजात शिशु अस्पतालबाटै हराएपछि परिवारमा खलबली मच्चिएको थियो।

 

प्रहरीका अनुसार अस्पतालमा रहेकी शिशुकी हजुरआमासँग एक अपरिचित महिला सम्पर्कमा आएकी थिइन्। उनले आफू अस्पतालको कुचिकार भएको बताउँदै बच्चालाई केहीबेर खेलाउन मागेकी थिइन्। परिवारले विश्वास गरेर बच्चा दिए पनि ती महिला शिशु लिएर अस्पताल परिसरबाटै बाहिरिइन्। लामो समयसम्म नफर्किएपछि परिवारले खोजी सुरु गर्‍यो, तर कतै फेला नपरेपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो।

 

१६ घण्टापछि इनर्वाबाट उद्धार

घटनाको सूचना पाउनेबित्तिकै पर्सा प्रहरीले खोजी तथा अनुसन्धान तीव्र बनाएको थियो। प्रहरीले संदिग्ध महिलाको हुलिया र आवतजावतका आधारमा सम्भावित क्षेत्रहरूमा निगरानी बढाएको थियो।

रातभरको निरन्तर खोजीपछि करिब १६ घण्टामा प्रहरीले वीरगञ्ज–१६, इनर्वाबाट खातुनलाई शिशुसहित नियन्त्रणमा लिन सफल भयो। शिशुको सकुशल उद्धार गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि परिवारको जिम्मा लगाइएको छ। उद्धार गरिएको शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

 

प्रारम्भिक बयान र प्रहरी अनुसन्धान

खातुनले आफू निसन्तान भएकाले बच्चा चोरेको बयान दिए पनि प्रहरीले घटना पछाडि अन्य कुनै आपराधिक उद्देश्य वा गिरोहको संलग्नता छ कि भन्ने कोणबाट पनि अनुसन्धान अघि बढाएको छ।

 

खातुन अस्पतालसम्म कसरी पुगिन्, योजनाबद्ध रूपमा चोरी गरिएको हो वा आकस्मिक, बच्चालाई कहाँ लैजाने तयारी थियो र अन्य कोही सहयोगी थिए कि थिएनन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

अस्पतालको सुरक्षा व्यवस्थामाथि प्रश्न

नारायणी अस्पतालजस्तो संवेदनशील स्थलबाटै नवजात शिशु चोरी भएपछि अस्पतालको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ। अपरिचित व्यक्तिको सहज प्रवेश र नवजात शिशुसम्म पुगेर बाहिर लैजान सक्ने खुकुलो अवस्थाले सुरक्षा प्रणालीको कमजोरी उजागर गरेको भन्दै आलोचना भइरहेको छ।

विशेषगरी प्रसूति तथा नवजात शिशु कक्षमा प्रवेश गर्ने व्यक्तिको पहिचान, कुरुवा व्यवस्थापन र कडा निगरानी प्रणाली लागू गर्नुपर्ने आवश्यकता यो घटनाले देखाएको छ। प्रहरीले पक्राउ परेकी खातुनमाथि थप अनुसन्धान जारी राखेको छ।

मेस्सीः डेब्युमा नै रातो कार्ड पाउने घटना देखि सर्वकालीन महान्‌सम्म

काठमाडौँ, १६ भदौ। अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। यो निर्णयले आफूलाई दुःखी बनाए पनि अहिले नै उपयुक्त समय भएको उनले बताएका छन्।

 

सन् २०२२ मा कतार विश्वकपको उपाधि दिलाउँदा अर्जेन्टिनी टोलीको कप्तानी सम्हालेका ३९ वर्षीय मेस्सीले राष्ट्रिय टोलीबाट २०७ खेलमा १२५ गोल गरेका छन्। उनी देशका लागि सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन्।

 

एक विज्ञप्ति जारी गर्दै मेस्सीले राष्ट्रिय टोलीका लागि आफूले सक्दो योगदान दिएको र अब टोलीलाई दिनका लागि केही बाँकी नरहेको उल्लेख गरेका छन्। "समय बित्दै जान्छ, अध्यायहरू समाप्त हुन्छन्। यो त्यस्तै एउटा अध्याय हो, जसले मलाई गहिरो पीडा दिएको छ," उनले भनेका छन्, "म राष्ट्रिय टोलीको हिस्सा बन्न सधैँ मन पराउँथेँ, अहिले पनि गर्छु र भविष्यमा पनि गरिरहनेछु। तर मैले आफ्नो तर्फबाट पूर्ण योगदान दिइसकेको छु। अब पछाडि आउँदै गरेका उत्कृष्ट युवा खेलाडीहरूले अवसर पाउनुपर्छ।"

 

अगस्टको सुरुआततिर लामो समयको बिरामी पछि ६८ वर्षको उमेरमा बुबा जर्जको निधन भएपछि मेस्सीले आफ्नो खेल जीवनबारे पुनःविचार गरिरहेको बताएका थिए। आठ पटकका 'बालोन डी'ओर' (Ballon d'Or) विजेता मेस्सीले यसै गर्मीमा भएको विश्वकपको फाइनलमा अर्जेन्टिना स्पेनसँग पराजित भएको दुई दिनपछि (२१ जुलाईमा) नै सन्यासको सन्देश लेखिसकेको खुलासा गरेका छन्।

 

 

सोमबार इन्स्टाग्राममा लेख्दै उनले भनेका छन्, "मेरा बुबाको निधनको घटनापछि म आफ्नो निर्णयमा पहिलेभन्दा अझ बढी स्पष्ट र विश्वस्त भएको छु।" अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिए पनि उनको खेल जीवन अब क्लब स्तरमा मेजर लिग सकर (MLS) टोली इन्टर मियामीबाट जारी रहनेछ।

डेब्युदेखि सर्वकालीन महान्‌सम्मको यात्रा

मेस्सीले सन् २००५ मा हंगेरीविरुद्धको मैत्रीपूर्ण खेलमा वैकल्पिक खेलाडीका रूपमा ६३औँ मिनेटमा मैदान प्रवेश गर्दै अर्जेन्टिनाका लागि डेब्यु गरेका थिए। तर, मैदान छिरेको एक मिनेटभित्रै हातको कुहिनाले विपक्षी खेलाडी भिल्मोस भान्जाकलाई लागेपछि उनले सिधै रातो कार्ड (Red Card) सामना गर्नु परेको थियो।

 

अन्तर्राष्ट्रिय मञ्चमा कठिन सुरुआतका बाबजुद मेस्सी विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीका रूपमा स्थापित भए। उनले अर्जेन्टिनालाई एक विश्वकप र दुई पटक 'कोपा अमेरिका'को उपाधि दिलाए।

 

विश्वकपको इतिहासमा २१ गोलसहित उनी फ्रान्सका किलियन एम्बाप्पे (२२ गोल) पछि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन्। त्यस्तै, समग्र अन्तर्राष्ट्रिय फुटबलमा १२५ गोलसहित उनी आफ्ना समकालीन प्रतिद्वन्द्वी पोर्चुगलका क्रिस्टियानो रोनाल्डो (१४६ गोल) पछि दोस्रो स्थानमा रहेका छन्।

 

यसअघि सन् २०१६ को 'कोपा अमेरिका' फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि पनि मेस्सीले सन्यासको घोषणा गरेका थिए। तर, समर्थक र खेलप्रेमीको तीव्र दबाबपछि उनले आफ्नो निर्णय फिर्ता लिँदै पुनः राष्ट्रिय टोलीमा फर्किएका थिए।

नेपाल भलिबल लिगको पहिलो दिनको टिकट बिक्री रकम बाढीपीडितलाई

काठमाडौँ, १६ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि नेपाल भलिबल लिग (NVL) ले सहयोग गर्ने भएको छ।

 

एनभिएलको पहिलो दिन भदौ १९ गते हुने खेलको टिकट बिक्रीबाट सङ्कलित सम्पूर्ण रकम 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष'मा जम्मा गरिने आयोजकले जनाएको छ।

 

एनभिएलका प्रमुख सञ्चालन अधिकृत विकास खेतानले उद्धार, उपचार तथा पुनर्स्थापना अभियानमा आफ्नो तर्फबाट सहयोगस्वरूप पहिलो दिनको टिकट बिक्रीको सम्पूर्ण रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

एनभिएलका सबै खेलको टिकट 'आईएमई खल्ती' मार्फत खरिद गर्न सकिनेछ। साथै, त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा रहने काउन्टरबाट भौतिक रूपमा पनि टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ।

 

एनभिएलको टिकट बुकिङ आजैदेखि आईएमई खल्तीमार्फत खुला गरिएको बताइएको छ।

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाडौँ, १६ भदौ। अर्जेन्टिनालाई लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुर्‍याएपछि लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।

 

‘यो एउटा यस्तो निर्णय थियो जसले मेरो आत्माको गहिराइसम्मै चोट पुर्‍यायो र अझै पनि पुर्‍याइरहेको छ, तर मलाई लाग्छ कि यो सही समय हो,’ ३९ वर्षीय मेसीले इन्स्टाग्राममा लेखे, ‘म कसम खाएर भन्छु, मैले सधैँ आफ्नो सर्वस्व दिएको छु, केवल ती केही वर्षहरूमा मात्र होइन जब हामीले सबै उपाधि जित्यौँ, बरु त्यसअघि पनि मैले सधैँ सङ्घर्ष गरेँ र यो जर्सीका लागि आफ्नो सबै शक्ति लगाएँ । 

 

मेसीले दोहामा फ्रान्सविरुद्धको पेनाल्टी सुटआउटमा जित हासिल गर्दै अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका थिए, तर उनको टोली सन् २०२६ को फाइनलमा भने स्पेनसँग १–० ले पराजित भयो।अगस्टमा आफ्ना बुबा जर्जको निधनपछि मेसीले अब धेरै लामो समयसम्म कुनै पनि प्रकारको फुटबल खेलिरहने विषयमा आफूलाई गम्भीर शङ्का रहेको बताएका थिए।

मेजर लिग सकर क्लब इन्टर मियामीसँग मेसीको सम्झौता सन् २०२८ को सिजनको अन्त्यसम्मका लागि कायम छ।

विश्वमा आजः दोस्रो विश्व युद्द सुरू र टाइटानिक जहाजको अवशेष फेला

काठमाडाैं, १६ भदाैं । सेप्टेम्बर १ को मिति विश्व इतिहासमा अनेकौँ दूरगामी र महत्त्वपूर्ण घटनाहरूसँग जोडिएको छ। यस दिन विश्वमा घटेका प्रमुख ऐतिहासिक घटनाहरू यस्ता रहेका छन ।

 

१. दोस्रो विश्वयुद्धको सुरुवात (१९३९)

सन् १९३९ सेप्टेम्बर १ मा एडोल्फ हिटलरको नेतृत्वमा जर्मन सेनाले पोल्यान्डमाथि आक्रमण गर्‍यो। यसै घटनासँगै मानव इतिहासकै सबैभन्दा भयावह ‘दोस्रो विश्वयुद्ध’ सुरु भएको थियो।

 

२.‘द सन’ पत्रिकाको स्थापना (१८३३)

सन् १८३३ सेप्टेम्बर १ मा न्युयोर्क सहरबाट ‘द सन’ नामक समाचारपत्रको प्रकाशन सुरु भयो। यसले आम सर्वसाधारणलाई लक्षित गरी सस्तो मूल्यमा समाचार पुर्‍याउने ‘पेनी प्रेस’ युगको सुरुवात गरेको मानिन्छ।

 

३. पहिलो राष्ट्रिय निकुञ्ज ‘येलोस्टोन’ को स्थापना (१८७०)

सन् १८७० मा वासबर्न ल्याङफोर्ड डोएन अभियान टोलीले अमेरिकाको ‘येलोस्टोन’ क्षेत्रको अवलोकन सम्पन्न गर्‍यो। यसै अभियानको प्रतिवेदनका आधारमा पछि विश्वकै पहिलो राष्ट्रिय निकुञ्ज ‘येलोस्टोन नेसनल पार्क’ स्थापना भएको थियो।

 

४. टाइटानिक जहाजको अवशेष फेला परेको (१९८५)

सन् १९८५ सेप्टेम्बर १ मा डा. रोबर्ट बलार्ड र उनको संयुक्त अमेरिकी फ्रान्सेली टोलीले एटलान्टिक महासागरको गहिराइमा सन् १९१२ मा डुबेको प्रसिद्ध ‘टाइटानिक’ जहाजको भग्नावशेष फेला पारेका थिए।

 

५. लिबियामा मुअम्मर गद्दाफीद्वारा सत्ता कब्जा (१९६९)
सन् १९६९ सेप्टेम्बर १ मा लिबियामा मुअम्मर अल गद्दाफीको नेतृत्वमा भएको रक्तपातहीन ‘सैन्य कु’ ले त्यहाँको राजा इड्रिस प्रथमको शासन अन्त्य गरी गद्दाफीको साढे चार दशक लामो शासनको जग बसालेको थियो।

 

६. रुसी अन्तरिक्ष यान (भेनरा ११’ को प्रक्षेपण (१९७८)

सन् १९७८ सेप्टेम्बर १ मा सोभियत सङ्घले शुक्र ग्रहको अध्ययनका लागि ‘भेनरा ११’ नामक अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको थियो।

नेपालको इतिहासमा आजः इराकमा १२ नेपालीको हत्या

काठमाडौं, १६ भदौं । नेपालको इतिहासमा भदौ १६ गते खासगरी दुई प्रमुख र दूरगामी घटनाहरूका लागि सम्झिने गरिन्छ   

 

इराकमा १२ नेपालीको हत्या र नेपालमा उपद्रव र आन्दोलन (२०६१ भदौ १६):  वैदेशिक रोजगारीका लागि इराक पुर्‍याइएका १२ जना नेपाली कामदारको आतंकवादी समूह अन्सार-अल सुन्नाद्वारा विभत्स हत्या भएको खबर सार्वजनिक भएको दिन। यस दुःखद घटनाको खबर फैलनासाथ नेपालभर व्यापक आक्रोश र विरोध प्रदर्शन भएको थियो। प्रदर्शनका क्रममा काठमाडौंका विभिन्न मेनपावर कम्पनी, मस्जिद, तथा सञ्चारगृहहरूमा तोडफोड र आगजनी भएको थियो। वैदेशिक रोजगार व्यवसायीहरूले यस दिनलाई नेपालको इतिहासमा ‘कालो दिन’ का रूपमा स्मरण गर्ने गर्छन्। 

  

राणा प्रधानमन्त्री भीम शम्शेरको निधन र जुद्ध शम्शेरको उदय (१९८९ भदौ १७ सम्मको घटनाक्रम):  यसै दिन तत्कालीन राणा प्रधानमन्त्री भीम शम्शेरको निधन भएको थियो र त्यसपछि जुद्ध शम्शेर नेपालको प्रधानमन्त्री बनेका थिए।

आज मङ्गलचौथी, विघ्नहर्ता गणेशको पूजा-अर्चना गरी मनाइँदै

काठमाडाैं, १६ भदाै । आज मंगलचौथी, बिघ्नकर्ता गणेशको पुजाआजा गरि मनाइदैँछ । नेपाली हिन्दू परम्परामा मंगलचौथी (मङ्गल चतुर्थी) व्रतको विशेष धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको छ। मङ्गलवार परेको शुक्ल पक्षको चतुर्थी तिथिलाई 'मङ्गलचौथी' वा 'अङ्गारकी चतुर्थी' भनिन्छ। यो दिन विघ्नहर्ता भगवान् श्री गणेशको विशेष पूजा-अर्चना र व्रत बसिन्छ।

 

पौराणिक कथाअनुसार भूमिपुत्र 'भौम' (मङ्गल ग्रह) ले भगवान् गणेशलाई प्रसन्न तुल्याउन उग्र तपस्या गरेका थिए। भौमको कठोर तपस्याबाट प्रसन्न भई श्री गणेश प्रकट भएर वरदान माग्न भने। तबस भौमले गणेशसँग दुईवटा वरदान मागेका थिए । पहिलाे, मलाई स्वर्गलोकमा स्थान प्राप्त होस् र म अमृत पान गर्न पाऊँ र दाेस्राे, मेरो नाम (मङ्गल) सँग जोडिएको चतुर्थी तिथि संसारमा सधैँ पूजनीय र पवित्र रहोस्। गणेशजीले भौमको इच्छा पूरा गर्दै "मङ्गलवार पर्ने शुक्ल पक्षको चतुर्थी तिथि 'अङ्गारकी/मङ्गलचौथी' नामले प्रसिद्ध हुनेछ र यस दिन जसले मेरो व्रत बसेर तिम्रो र मेरो पूजा गर्नेछ, उसका सम्पूर्ण मनोकाङ्क्षाहरू पूरा हुनेछन्" भनी वरदान दिएका थिए। सोही पौराणिक कथाका आधारमा मङ्गलचौथीको परम्परा चलेको हो।

 

धार्मिक मान्यता र महत्त्व

विघ्ननाश र सफलता: श्री गणेशलाई विघ्नहर्ता तथा सिद्धिदाता मानिन्छ। मङ्गलचौथीका दिन व्रत बसी गणेशको पूजा गर्नाले जीवनका सम्पूर्ण बाधा-अड्चनहरू हट्ने, कार्यमा सफलता मिल्ने र सुख-शान्ति प्राप्त हुने विश्वास गरिन्छ।

मङ्गल दोषको निवारण: मङ्गलवार भूमिपुत्र मङ्गल ग्रहको दिन मानिन्छ। ज्योतिषशास्त्र अनुसार कुण्डलीमा मङ्गल दोष भएका व्यक्तिहरूले यस दिन व्रत बस्दा मङ्गल ग्रहको प्रतिकूल प्रभाव शान्त हुन्छ।

पुत्र तथा सन्तान प्राप्ति: सन्तान सुखको कामना गर्ने दम्पतीहरूका लागि यो व्रत विशेष फलदायी मानिन्छ।

 

व्रत तथा पूजा विधि

नित्यकर्म र सङ्कल्प: बिहानै सूर्योदयअघि उठेर स्नान गरी रातो वस्त्र धारण गर्ने र गणेशजीको ध्यान गर्दै व्रतको सङ्कल्प लिने।

पूजा सामग्री: पूजामा रातो फूल (विशेष गरी रातो गुलाब वा सिन्दूरे फूल), दुबो (गणेशजीलाई अत्यन्त प्रिय), चन्दन, सिन्दूर, फलफूल र लड्डु वा मोदक चढाउने।

मन्त्र जप: पूजा गर्दा ॐ गं गणपतये नमः वा ॐ सिद्धिविनायकाय नमः मन्त्रको यथाशक्य जप गर्ने।

कथा श्रवण: मङ्गलचौथीको व्रत कथा सुन्ने वा पाठ गर्ने।

अर्घ्य अर्पण: साँझमा चन्द्रमाको दर्शन गरी अर्घ्य दिएपछि र गणेशजीको आरती गरेपछि मात्र फलहार वा सात्त्विक भोजन गरेर व्रत समापन गर्ने।

आजको राशिफलः बि.सं २०८३ भदौं १६ गते मंगलबार

आजको राशिफलः बिसं २०८३ भदौं १६ गते मंगलबार, ईसं २०२६ सेप्टेम्बर ०१, ऋतुः बर्षा, अयानः दक्षिणायन, नेपाल सम्बत ११४६, भाद्र कृष्ण पक्ष, भाद्र कृष्ण चौथी, नक्षत्रः अश्विनी, चन्द्रमा मेष राशीमा, सुर्य सिंह राशीमा, योगः वृद्धि, करणः बालव । आज मंगलचौथी व्रत पनि हो । आज नेपालमा सुर्योदय बिहान ५ः४३ मिनेटमा र सूर्यास्त साँझ ०६ः२३ मिनेटमा हुनेछ ।

 

आज भगवान श्रीगणेजीको स्मरण गरेर दिनको सुरुवात गर्नाले मनोकाक्षा पुरा हुने छ । यात्रा गर्दा, नयाँ कार्यको शुभारम्भ गर्दा रातो फुल र रातो अक्षता भगवान श्री गणेशजीलाई अपर्ण गर्नुहोला । आज कुनै शुभ कार्य वा महत्वपूर्ण कार्य गर्नुपरेमा बिहान १०ः २८ बजेदेखि दिउँसो १३ः३८ बजेसम्मको समय अत्यन्त शुभ छ । यो समयमा आजको दिनफलमा आधारित समय हो । 

 

मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
नयाँ कार्यको योजना बन्ने छ । साझेदारी कामको निर्णय आज नगर्नुहोला । सन्तान सुख प्राप्त हुने छ । आज राती चन्द्रमालाई विधिवत रुपले जल चढाउनु होला शुभ फल प्राप्त हुने छ ।  (आजको लागि शुभ रंगः गुलावी, शुभ अंकः ३)   

 

 वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक पक्ष कमजोर रहने छ । शारिरीक स्फुर्ति नहुनसक्छ । वादविवाद बढ्ने छ । आज सेतु वस्तुको प्रयोग गर्नुहोला शुभ हुने छ ।   (आजको लागि शुभ रंगः हल्का सेतो, शुभ अंकः ५)   

 

मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पारिवारिक समस्या र झमेलामा दिन बित्ने छ । आर्थिक पक्ष सामान्य रहने छ । आत्मबल कमजोर रहने छ । मन भारि रहने छ । आज पिता वा गुरुको सम्मान गर्नुहोला शुभ फल प्राप्त हुने छ ।   (आजको लागि शुभ रंगः हरियो, शुभ अंकः २)
 

कर्कटः  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक प्रगति हुने छ । दाम्पत्य सुख वृद्धि हुने छ । नयाँ वस्तु खरिद गर्ने अवसर छ । साँझ चन्द्रमालाई दुध मिश्रित जल चढाउनु होला शुभ हुने छ ।  (आजको लागि शुभ रंगः निलो, शुभ अंकः १)   

 

सिंहः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यात्राको अवसर मिल्ने छ । धार्मीक कार्यमा मन जाने छ । सृजनात्मक र रचनात्मक कार्य हुने छ । ओम घृ सूर्याय नमः यो मन्त्र पढेर सूर्यलाई जल अपर्ण गर्नुहोला शुभ फल प्राप्त हुने छ ।  (आजको लागि शुभ रंगः रातो, शुभ अंकः ५)
   

कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
फलामजन्य वस्तुको प्रयोग नगर्नुहोला । यात्रा गर्दा सावधान रहनु होला । साँझ तिर आकस्मीक धन लाभको योग छ । आज व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनुहोला ।  (आजको लागि शुभ रंगः हल्का हरियो, शुभ अंकः ९)   
 
तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
क्रोध बढ्ने छ । नशा सम्बन्धि समस्या देखिने छ । मनोरन्जनमा मन लाग्ने छ । प्रेम स्थिर रहने छ । आज सुगन्धित वस्तुको प्रयोग गर्नुहोला शुभ रहने छ ।  (आजको लागि शुभ रंगः सेतो, शुभ अंकः ७)   
 

वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मन प्रसन्न रहने छ । विशान १२ बजेसम्म नयाँ कामको अवसर प्राप्त हुने छ । साँझको समय आर्थिक पक्षका लागि राम्रो छैन । आज हनुमानजीलाई स्मरण गर्नुहोला शुभ हुने छ  ।  (आजको लागि शुभ रंगः वैजनी, शुभ अंकः १४)   

 

धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पारिवारीक समस्यामा दिन बित्ने छ । आमावुवाको सेवा गर्ने अवसर प्राप्त होला । सन्तान सुखमा कमी रहने छ । व्यापार  नौकरी सामान्य रहने छ । आज केरा वा पहेँलो फल दान गर्नुहोला शुभ शुने छ ।  (आजको लागि शुभ रंगः पहेँलो, शुभ अंकः ५)   

 

मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लोकपृयता बढ्दै जाने छ । बिहान भन्दा बेलुकाको समय आनन्दमय रहने छ । पारिवारीक झमेला सामाना गर्नुपर्ने छ । आजको दिन श्रम गर्नुहोला र धैर्यता राख्नुहोला यसमा भलाई हुने छ । (आजको लागि शुभ रंगः निलो, शुभ अंकः ११)   

 
कुम्भः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
वद्या र वुद्धिको क्षेत्रमा प्रगति हुने छ । पारिवारीक चिन्त बढ्ने छ । मन चन्चल रहने छ । आज कालो वस्तु वा कालो तिल दान गर्नुहोला शुभ फल प्राप्त हुने छ । (आजको लागि शुभ रंगः फुस्रोे, शुभ अंकः २)   

 

मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रेममा मिलन हुने छ । सजावटको वस्तु सम्बन्धि सुख प्राप्त हुने छ । सामाजिक कार्यमा रुचि बढ्ने छ । भगवान विष्णुको ध्यान गर्नुहोला आजको दिन शुभ रहने छ ।  (आजको लागि शुभ रंगः हल्का पहेँलो शुभ अंकः ९)