रौतहट, १५ भदौ । अविरल वर्षाका कारण विनाशकारी बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याइरहेका बेला जिल्ला प्रशासन कार्यालय रौतहटले राहत तथा सहयोगका नाममा हुन सक्ने ठगी र सामाजिक सञ्जालबाट फैलिने अफवाहप्रति सचेत रहन सर्वसाधारणसँग आग्रह गरेको छ।
प्रशासनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउनुअघि सम्बन्धित बैंक खाता, क्यूआर (QR) कोड वा लिंक आधिकारिक भए-नभएको यकिन गर्न अनुरोध गरेको छ। विपद्को संवेदनशील अवस्थाको फाइदा उठाउँदै केही व्यक्तिले नक्कली क्यूआर, बैंक खाता र सामाजिक सञ्जालमार्फत आर्थिक ठगी गर्न सक्ने भएकाले रकम जम्मा गर्नुअघि स्रोतको आधिकारिकता अनिवार्य रूपमा जाँच्न भनिएको छ।
त्यस्तै, बाढी-पहिरोबाट प्रभावित तथा पीडित व्यक्तिहरूको विभत्स र हृदयविदारक तस्बिर तथा भिडियो सामाजिक सञ्जाल एवं अनलाइन प्लेटफर्महरूमा पोस्ट नगर्न पनि प्रशासनले अपिल गरेको छ। यसअघि राखिएका त्यस्ता सामग्री तत्काल हटाउनसमेत आग्रह गरिएको छ।
विपद्का बेला पीडितको संवेदनशीलता र गोपनीयताको सम्मान गर्नु सबैको दायित्व भएको प्रशासनको भनाइ छ। दुःखद घटनाका विभत्स दृश्य अनावश्यक रूपमा सामाजिक सञ्जालमा फैलाउँदा पीडित परिवारमा थप मानसिक आघात पुग्ने र ती सामग्रीको गलत प्रयोग हुन सक्ने जोखिम रहन्छ।
यसैगरी, विपद्को समयमा भ्रमपूर्ण, अपुष्ट सूचना तथा अफवाह नफैलाउन प्रशासनले सचेत गराएको छ। आधिकारिक निकायबाट पुष्टि नभएका सूचना सामाजिक सञ्जालमा शेयर गर्दा उद्धार तथा राहत कार्यमा द्विविधा सिर्जना हुन सक्ने उल्लेख छ।
विपद्का बेला सहयोग गर्नु मानवीय दायित्व भए पनि सहयोगका नाममा हुने ठगी र अपुष्ट सूचनाको प्रसार रोक्नु उत्तिकै आवश्यक रहेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले आफ्ना आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न र सामाजिक सञ्जालमा कुनै पनि सामग्री पोस्ट गर्नुअघि सत्यता जाँच्न आफ्नो आधिकारिक फेसबुक पेजमार्फत अपिल गरेको छ।
काठमाडौं, १५ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर नुवाकोटबाट रसुवा जोड्ने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाई तीव्रता दिन आफैँ फिल्डमा खटिएका छन्।
मुख्यमन्त्री थापामगर एक्साभेटरसहित चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जाने वैकल्पिक सडक निर्माणस्थलमै पुगेर कामको प्रत्यक्ष अनुगमन तथा सहजीकरण गरिरहेका छन्। उनले बिहानैदेखि सडक निर्माणका क्रममा देखिएका प्राविधिक तथा भौतिक समस्या समाधान गर्दै कामलाई निरन्तरता दिइएको बताएका छन्।
'बिहानीको समयदेखि नै चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काममा देखिएका समस्या समाधान गर्दै कामलाई निरन्तरता दिइरहेका छौँ,' मुख्यमन्त्री थापामगरले भने।
बाढीका कारण मुख्य सडकमार्ग अवरुद्ध भएपछि प्रभावित क्षेत्रमा राहत तथा अत्यावश्यक सामग्रीको ओसारपसार सहज बनाउन वैकल्पिक मार्ग निर्माणलाई प्राथमिकतामा राखिएको उनले जानकारी दिए। उनका अनुसार सडक खन्ने कामसँगै उक्त मार्गलाई थप फराकिलो र यातायात सञ्चालनयोग्य बनाउने कार्य तीव्र रूपमा अघि बढाइएको छ।
नागरिकको सुरक्षित आवागमन सुनिश्चित गर्न र राहत सामग्री छिटोभन्दा छिटो पुर्याउनका लागि सडक निर्माण तथा स्तरोन्नतिको काम निरन्तर जारी रहने मन्त्रालयले जनाएको छ।
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएलगत्तै प्रभावित रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र खोजी गर्दा कोही पनि फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ।
सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशङ्का गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो। उक्त सुरुङको अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनमार्फत खोजी गर्दा पनि कोही फेला परेनन्।
सुरुङभित्र कोही पनि नरहेको पुष्टि भएसँगै उद्धार कार्य सम्पन्न गरी नेपाली सेनाको टोली धुन्चे फर्किएको छ।
काठमाडौं, १५ भदौ ।
नेपाल विनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति बेहोरिरहेका बेला उद्योगपति डा. वरुण चौधरीले भारतबाट प्राप्त तत्काल राहत, उद्धार तथा प्राविधिक सहयोगप्रति आभार व्यक्त गरेका छन्।
सीजी कर्प ग्लोबल तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक चौधरीले भिडियो सन्देशमार्फत विपद्को कठिन घडीमा भारतले देखाएको साथले नेपाल–भारतबीचको गहिरो मित्रतालाई फेरि उजागर गरेको बताएका हुन्।
“कठिन समयमा प्राप्त यस्तो साथले नेपाल र भारतबीच रहेको गहिरो मित्रता एकपटक फेरि उजागर गरेको छ,” चौधरीले भनेका छन्।
विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति संवेदना व्यक्त गरेका चौधरीले संकटको सुरुवाती चरणमै राहत सामग्री उपलब्ध गराएर नेपालीहरूको हौसला बढाएको भन्दै भारतप्रति आभार व्यक्त गरेका छन्।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विशेष धन्यवादसमेत दिएका छन्।
“यसका लागि म भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीलाई धन्यवाद व्यक्त गर्न चाहन्छु,” उनले भिडियो सन्देशमा भनेका छन्।
भदौ १४ सम्म भारतले चारवटा हवाई उडानमार्फत नेपालमा ६८.५ टन राहत तथा प्राविधिक सामग्री पठाएको छ। ती सामग्रीमा अत्यावश्यक औषधि, तयारी खाद्य सामग्री, पोर्टेबल जेनेरेटर, पानी शुद्धीकरण ट्याब्लेट, कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट, सरसफाइ सामग्री तथा खोज–उद्धार उपकरण समावेश छन्।
चौथो उडानबाट मात्रै ११ टन सामग्रीसँगै भारतीय सेनाको १३ सदस्यीय विशेष सुरुङ उद्धार टोली उपकरणसहित नेपाल आएको छ। मृतकहरूको पहिचानमा सहयोग गर्न छवटा फोरेन्सिक टोलीमा आबद्ध १९ विशेषज्ञसमेत डीएनए विश्लेषणका लागि परिचालित भएका छन्।
बाढीले सडक तथा पुलमा व्यापक क्षति पुर्याएपछि भारतले २३० फिट लामो एकलेन मोड्युलर स्टिल पुल निर्माणका सामग्री बोकेका १६ ट्रक नेपाल पठाएको छ। थप सातवटा बेली पुलका सामग्री तथा जडानका लागि प्राविधिक टोली पठाउने तयारीसमेत गरिएको छ।
चौधरीले तत्काल उद्धार र राहतपछि नेपालको अर्को ठूलो चुनौती पुनर्निर्माण हुने बताएका छन्।
“हाम्रा धेरै पूर्वाधारहरू—हाइड्रोपावर, विद्यालय, पुलहरू र सडकहरू—क्षतिग्रस्त भएका छन्।
राहत सामग्रीजस्तै यी पूर्वाधारहरूको पुनर्निर्माणमा पनि हामीले सहयोगको अपेक्षा गरेका छौँ,” चौधरीले भनेका छन्।
उनको भनाइले तत्काल राहतपछि क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि दीर्घकालीन अन्तर्राष्ट्रिय तथा छिमेकी सहकार्य आवश्यक हुने विषयलाई समेत जोड दिएको छ।
विपद्पछिको राहत तथा पुनर्स्थापनामा निजी क्षेत्रबाट पनि उल्लेखनीय पहल सुरु भएको छ। चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवा तथा नुवाकोटका बाढी प्रभावित समुदायका लागि करिब १५ करोड रुपैयाँ बराबरको बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा गरेका छन्।
कार्यक्रमअन्तर्गत प्रभावित परिवारलाई खाना, स्वच्छ खानेपानी, तयारी खाद्य सामग्री, लत्ताकपडा, त्रिपाल तथा व्यक्तिगत सरसफाइ सामग्रीलगायत अत्यावश्यक वस्तु वितरण सुरु गरिएको छ।
रसुवा र नुवाकोटमा एक–एक राहत शिविर सञ्चालन गरी खाना, स्वच्छ खानेपानी, सरसफाइ सुविधा तथा बालबालिकाका लागि सुरक्षित स्थान उपलब्ध गराउने योजना पनि अघि सारिएको छ।
एकातिर भारतले राहत सामग्रीदेखि विशेषज्ञ टोली र पूर्वाधार पुनःस्थापनासम्म सहयोग विस्तार गरिरहेको छ भने अर्कोतर्फ नेपाली निजी क्षेत्र पनि राहत र पुनर्स्थापनामा सक्रिय बनेको छ।
यही पृष्ठभूमिमा चौधरीले संकटको घडीमा देखिएको आपसी सहयोगले दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
“विपदमा पाएको यो साथ–सहयोगले हामी दुई राष्ट्रको सम्बन्ध अझ बलियो भएको छ भन्ने विश्वास लिएको छु,” चौधरीले आफ्नो सन्देशको अन्त्यमा भनेका छन्।
सञ्जय मिश्रा
रौतहट, १५ भदौ ।
वीरगञ्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी भएको घटना सार्वजनिक भएको छ ।
शिशुलाई अस्पतालबाट लिएर फरार भएकी एक महिलाको प्रहरीले खोजी गरिरहेको छ ।
प्रारम्भिक विवरणअनुसार भदौ १४ गते अपराह्न करिब ४ बजेतिर ती महिलाले आफन्तसँग शिशु खेलाउने बहाना बनाई नवजात शिशुलाई लिएर अस्पतालबाट बाहिरिएको बताइएको छ ।
प्रहरीका अनुसार शिशु लिएर फरार भएकी महिला करिब ३० देखि ३५ वर्ष उमेरकी र तराई मूलकी देखिने भएकी छन् । उनी रातो कुर्ता–सुरुवाल लगाएकी थिइन् ।
घटना लगत्तै प्रहरीले शिशु र शङ्कास्पद महिलाको खोजतलास तीव्र पारेको छ । अस्पताल परिसर तथा आसपासका सम्भावित स्थानमा समेत प्रहरीले खोजी तथा अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रहरीले ती महिलालाई देख्ने, उनको पहिचान वा अवस्थिति सम्बन्धमा कुनै जानकारी प्राप्त गर्ने जोकोहीलाई तत्काल नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय, पर्सामा जानकारी गराउन आग्रह गरेको छ ।
नवजात शिशुको खोजतलासमा सहयोग गरिदिन प्रहरीले सर्वसाधारणसँग अनुरोध गरेको छ ।
साथै, घटनासँग सम्बन्धित थप विवरण संकलन गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शङ्कास्पद महिलाबारे कुनै सूचना प्राप्त भएमा ढिलाइ नगरी प्रहरीलाई जानकारी गराउन तथा सम्भावित स्थान, पहिचान वा गतिविधिबारे उपलब्ध सूचना प्रहरीसमक्ष पुर्याउन आग्रह गरिएको छ ।
काठमाडौं, १५ भदौं । पर्दामा विभिन्न चरित्रमा देखिने कलाकारहरूलाई दर्शकले अभिनय, संवाद र ग्ल्यामरका कारण चिन्छन्। तर विपद्को समयमा त्यही कलाकार पर्दाभन्दा बाहिर कस्तो भूमिकामा उभिन्छन् भन्ने कुराले उनीहरूको वास्तविक परिचय झल्काउँछ। अभिनेत्री प्रियंका कार्कीले आफूलाई चलचित्रको पर्दामा मात्र नभई सामाजिक उत्तरदायित्वमा पनि सक्रिय नायिकाका रूपमा प्रस्तुत गरेकी छन्।
बाढी तथा विपद्बाट प्रभावित परिवारका लागि राहत संकलनमा सक्रिय रहेकी प्रियंका राहत सामग्री बोकेर, वर्गीकरण गरेर र व्यवस्थापनमा प्रत्यक्ष खटिएको दृश्य अहिले चर्चामा छ। सार्वजनिक तस्बिरमा उनी आफैंले ठूलो बोरा काँधमा बोकेर राहत सामग्री व्यवस्थापन गरिरहेको देखिन्छिन्। कतै उनी राहतका बोरा मिलाउँदै छिन् भने कतै खाद्यान्न तथा आवश्यक सामग्री छुट्याउने काममा व्यस्त देखिन्छिन्।
सामान्यतया कलाकारको जीवनलाई चम्किलो पर्दा, आकर्षक पहिरन, क्यामेरा र चर्चासँग जोडेर हेर्ने गरिन्छ। तर प्रियंकाका पछिल्ला तस्बिरमा त्यो परिचित ग्ल्यामरभन्दा फरक दृश्य देखिन्छ—हातमा पञ्जा, सामान्य पहिरन, वरिपरि राहतका बोरा र अगाडि विपद्मा परेका नागरिकका आवश्यकता।
यही दृश्यले एउटा सन्देश दिएको छ—नायिका हुनु भनेको पर्दामा अभिनय गर्नु मात्र होइन, समाजलाई अप्ठ्यारो पर्दा साथमा उभिनु पनि हो।
प्रियंकाले सामाजिक सञ्जालमार्फत प्राप्त भएको ठूलो मात्राको सहयोगप्रति आभार व्यक्त गर्दै राहत सामग्रीलाई व्यवस्थित रूपमा प्रभावित क्षेत्रमा पुर्याउने बताएकी छन्। सहयोग गर्ने सबैप्रति हृदयदेखि धन्यवाद दिँदै उनले हरेक योगदान महत्वपूर्ण रहेको उल्लेख गरेकी छन्।
उनको भनाइअनुसार संकलित सामग्रीलाई टोलीले सावधानीपूर्वक छुट्याउनेछ। त्यसपछि अहिलेसम्म राहत पुग्न नसकेका प्रभावित क्षेत्र पहिचान गरी आवश्यक सामग्री त्यहाँ पुर्याउने तयारी हुनेछ।
तस्बिरमा प्रियंका एउटा ठूलो कालो बोरालाई दुवै हातले सम्हाल्दै बोकेको देखिन्छ। बोरा निकै भारी देखिए पनि उनी त्यसलाई व्यवस्थापन गरिरहेकी छन्। अर्को तस्बिरमा उनी राहत सामग्रीको ठूलो थुप्रो नजिक उभिएर सामग्री मिलाउँदै गरेको देखिन्छ।
त्यहाँ चामलका बोरा, खाद्यान्नका प्याकेट, कपडा तथा विभिन्न प्रकारका आवश्यक सामग्रीहरू राखिएका छन्। धेरै सामग्रीमा कुन प्रयोजनका लागि पठाउने भन्ने संकेतसमेत लेखिएको देखिन्छ।
अर्को तस्बिरमा प्रियंका दुवै हातमा निलो झोला बोकेर राहत सामग्रीको बीचबाट अगाडि बढिरहेकी छन्। हातमा पञ्जा लगाएकी उनी कामकै बीचमा रहेको देखिन्छिन्। अर्को तस्बिरमा उनी ठूलो राहत सामग्रीको थुप्रोबाट आवश्यक सामग्री निकालेर व्यवस्थापन गरिरहेको देखिन्छ।
यी तस्बिरले राहत संकलन गरेर फोटो खिचाउनेभन्दा पनि संकलित सामग्रीलाई व्यवस्थित गर्ने वास्तविक काममा उनी सहभागी भएको देखाउँछन्।
चर्चाभन्दा काम ठूलो
कलाकारहरूले सामाजिक अभियानमा जोडिनु नेपालमा नयाँ कुरा होइन। विपद्का बेला कलाकार, खेलाडी, सञ्चारकर्मी, व्यवसायी तथा विभिन्न सामाजिक संस्थाले आफ्नो तर्फबाट सहयोग गर्दै आएका छन्। तर सहयोगको चर्चा कति भयो भन्नेभन्दा सहयोग कत्तिको प्रभावकारी भयो भन्ने कुरा महत्वपूर्ण हुन्छ।
प्रियंकाको पछिल्लो सक्रियताले पनि यही कुरालाई जोड दिएको छ। उनले राहत संकलन र व्यवस्थापनलाई प्राथमिकता दिएकी छन्।
विपद्को समयमा पीडित परिवारलाई खाद्यान्न, कपडा, सरसफाइका सामग्री तथा अन्य आधारभूत आवश्यकताका वस्तु आवश्यक पर्न सक्छन्। त्यस्तो अवस्थामा राहत संकलन गर्ने मात्र होइन, कुन ठाउँमा के आवश्यक छ भन्ने पहिचान गरेर सामग्री पठाउनु चुनौतीपूर्ण काम हुन्छ।
‘हरेक योगदान महत्वपूर्ण छ’
प्रियंकाले सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै हरेक योगदान महत्वपूर्ण हुने सन्देश दिएकी छन्। विपद्को समयमा ठूलो रकम वा ठूलो परिमाणमा सहयोग गर्ने व्यक्तिको योगदान जति महत्वपूर्ण हुन्छ, आफ्नो क्षमताअनुसार सानो सहयोग गर्ने व्यक्तिको योगदान पनि उत्तिकै अर्थपूर्ण हुन्छ।
समाजमा विपद् आउँदा सहयोग गर्ने चाहना धेरैमा हुन्छ। तर कहाँ सहयोग गर्ने, कसलाई गर्ने र आफूले दिएको सामग्री वास्तविक पीडितसम्म पुग्छ कि पुग्दैन भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण हुन्छ। त्यसैले राहतलाई व्यवस्थित रूपमा संकलन, वर्गीकरण र वितरण गर्ने अभियान आवश्यक हुन्छ।
प्रियंकाले सार्वजनिक गरेको सन्देशमा पनि संकलित सामग्रीलाई टोलीले सावधानीपूर्वक छुट्याएर राहत नपुगेका क्षेत्रमा पठाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
पर्दाकी नायिका, व्यवहारमा पनि
प्रियंका कार्की नेपाली चलचित्र क्षेत्रमा परिचित नाम हुन्। चलचित्र र मनोरञ्जनको क्षेत्रमा आफ्नो पहिचान बनाएकी उनी सामाजिक गतिविधिमा समेत देखिँदै आएकी छन्। अहिले सार्वजनिक भएका तस्बिरले उनको अर्को पक्षलाई देखाएको छ।
क्यामेराअगाडि मेकअप र आकर्षक पहिरनमा देखिने कलाकार राहत केन्द्रमा भने सामान्य पहिरनमा, हातमा पञ्जा लगाएर काम गरिरहेको दृश्यले धेरैको ध्यान तानेको छ। यही कारण सामाजिक सञ्जालमा उनको कामलाई ‘रिलमा हैन, रियलमा नायिका’ भन्दै प्रशंसा गरिएको छ।
वास्तविक नायकत्व कठिन समयमा देखिन्छ भन्ने मान्यता छ। अरूलाई सहयोग गर्न आफू पनि मैदानमा उत्रिनु, श्रम गर्नु र समय दिनु आफैंमा महत्वपूर्ण सामाजिक योगदान हो।
विपद्का बेला पीडितका लागि एउटा बोरा चामल, एउटा कम्बल वा एउटा आवश्यक सामग्री पनि ठूलो सहारा बन्न सक्छ। प्रियंकाको हातमा देखिएको ठूलो बोरा त्यसैले विपद्मा परेका नागरिकप्रतिको ऐक्यबद्धताको प्रतीक बनेको छ।
विपद्ले मानिसको घर, सम्पत्ति र जीवनमा ठूलो क्षति पुर्याउन सक्छ। तर त्यही विपद्को बीचमा समाजका विभिन्न तहबाट सहयोगका हातहरू अघि बढ्दा पीडितले आफू एक्लो नभएको महसुस गर्छन्।
प्रियंकाको सक्रियताले पनि त्यही सन्देश दिएको छ—चर्चित व्यक्ति हुनुको अर्थ चर्चामा रहनु मात्र होइन, आवश्यक परेको बेला समाजको दुःखमा आफ्नो हात थप्नु पनि हो।
पर्दामा नायिकाको भूमिका निभाउनु एउटा कला हो। तर विपद्को समयमा पीडितका लागि बोरा उठाउनु, राहत मिलाउनु र आवश्यक सामग्री गन्तव्यसम्म पुर्याउने अभियानमा सहभागी हुनु भनेको अभिनय होइन, मानवीय जिम्मेवारी हो।
त्यसैले प्रियंकाका यी तस्बिरले एउटा सरल सन्देश दिएका छन्
रिलमा नायिका धेरै देखिन्छन्, तर रियल जीवनमा दुःखमा परेकाहरूको साथमा उभिने नायिका कमै हुन्छन्।
वासिङ्टन डिसी, १५ भदौ । अमेरिकाको एरिजोनास्थित ग्रान्ड क्यान्यन राष्ट्रिय निकुञ्जमा आएको आकस्मिक बाढीका कारण करिब १५ जना बेपत्ता भएको अनुमान गरिएको छ।
नेसनल पार्क सर्भिसले जनाएअनुसार बाढीले ठूला ढुङ्गा, धातुका संरचना र अन्य भग्नावशेषहरू कोलोराडो नदीमा बगाएपछि दर्जनौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। शनिबार दिउँसो करिब २:३० बजे सुरु भएको उक्त आकस्मिक बाढीले 'ब्राइट एन्जल क्यान्यन' र 'फ्यान्टम रान्च' क्षेत्रलाई बढी प्रभावित पारेको छ।
'काइबाब प्लेटो' (Kaibab Plateau) मा भएको भारी वर्षापछि बाढी आएको र प्रभावित क्षेत्रमा रहेका मानिसहरूको खोजी तथा उद्धारका लागि एरिजोनाका स्थानीय अधिकारीहरूसँग समन्वय भइरहेको एनपीएसले जनाएको छ।
एनपीएसले जारी गरेको विज्ञप्तिअनुसार अगस्ट २९ मा ब्राइट एन्जल क्यान्यन र फ्यान्टम रान्च क्षेत्रमा आएको ठूलो आकस्मिक बाढी (Flash-flood) पछि बेपत्ता वा सम्पर्कविहीन भएका करिब १५ जना व्यक्तिहरूबारे जानकारी उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरिएको छ।
आइतबार बिहानसम्म फ्यान्टम रान्च र तल्लो उत्तरी काइबाब ट्रेलबाट ६२ जनाको सकुशल उद्धार गरिएको छ भने कटनवुड क्याम्पग्राउन्ड र फ्यान्टम रान्चबाट थप मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने योजना छ।
निकुञ्ज प्रशासनले उत्तरी काइबाब ट्रेलको छेउमा, ब्राइट एन्जल क्याम्पग्राउन्डमा र फ्यान्टम रान्चको उत्तरमा रहेको 'बक्स' क्षेत्रमा पदयात्रा वा क्याम्पिङ गरिरहेका व्यक्तिहरूको खोजी तीव्र बनाएको छ। बाढीका कारण राष्ट्रिय निकुञ्जमा पर्यटक तथा बासिन्दाहरूलाई खानेपानी सेवा दिने एकमात्र पाइपलाइनमा समेत क्षति पुगेको अधिकारीहरूले बताएका छन्।
काठमाडौं, १५ भदौं ।सुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको माथिल्लो त्रिशुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।
नेपाल सरकारको अनुमतिमा यही भदौ १३ गते चिनियाँ उद्धार टोली आफै निजी हेलीकप्टर लिएर नुवाकोटको त्रिशुली पुगेको थियो। त्यसपछि नेपाली सेनासँग समन्वय गरी निजी हेलीकप्टर लिएर माथिल्लो त्रिशुली थ्री बी को सुरुङ क्षेत्रमा पुगेको थियो।
लगत्तै यो टोलीले माथिल्लो त्रिशुली थ्री बीको सुरुङ क्षेत्रमा रेकी गरेको थियो। चिनियाँ उद्धार टोलीले सोही दिन रसुवाको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनामा पनि रेकी गरेको थियो।
त्यसपछि दुवै जलविद्युत आयोजनाको रेकीपश्चात उक्त टोलीले नेपाली सेनालाई बस्तुस्थितिबारे जानकारी गराएको थियो। भदौ १४ गते भने सो चिनियाँ टोली रसुवाको माथिल्लो त्रिशुली-१ जलविद्युत आयोजना क्षेत्रमा उद्धार कार्यमा केन्द्रीत भएको थियो।
यता सोही दिन त्रिशुली थ्री बी मा भने नेपाली सेनाको भैरवनाथ गणका १५ जना र नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीद्धारा खोज तथा उद्धारको प्रयास सुरु भएको थियो।
आज बिहान ९ बजे पनि नेपाली सेनाको भैरवनाथ गणका १६ जना थपिएर सुरुङ क्षेत्रमा खन्ने काम भइरहेको छ। यस आयोजनाको सुरुङमा मानिसहरु फसेको आशंका गरिएको छ।
सञ्जय मिश्रा
रौतहट, १५ भदौ ।
विनाशकारी बाढीले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याइरहेका बेला रौतहटको परोहा नगरपालिकाले पीडितको राहत तथा उद्धारका लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
परोहा नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ जम्मा गरेको नगरप्रमुख शेख वकिलले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत, उद्धार र पुनःस्थापनाको आवश्यकता बढिरहेका बेला स्थानीय तहबाट गरिएको यस्तो सहयोगले विपद्को समयमा सरकारका विभिन्न तहबीचको सहकार्यको सन्देश दिएको छ ।
नगरपालिकाले आफ्नो नियमित विकास तथा प्रशासनिक दायित्वसँगै विपद्मा परेका नागरिकप्रति सामाजिक उत्तरदायित्वसमेत निर्वाह गरेको देखिन्छ । रकमको आकार ठूलो नभए पनि विपद्को समयमा स्थानीय सरकारबाट देखाइएको संवेदनशीलता र ऐक्यबद्धता आफैंमा महत्वपूर्ण मानिन्छ ।
बाढीपीडितको पीडा कुनै एक पालिका वा जिल्लाको मात्र विषय नभएकाले यस्ता विपद्का बेला स्थानीय तह, प्रदेश र संघीय सरकारसँगै निजी क्षेत्र तथा नागरिक समाजसमेत एकजुट भएर राहत र पुनःस्थापनामा जुट्नुपर्ने आवश्यकता देखिएको छ ।
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन्।
भेटका क्रममा लामिछानेले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा भइरहेका उद्धार र राहतका गतिविधिबारे राष्ट्रपतिलाई जानकारी गराएका छन्।
लामिछानेले आजै प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी सरकारले बाढी प्रभावित क्षेत्रमा गरिरहेको कामबारे जानकारी लिएका थिए। प्रधानमन्त्रीसँगको भेटपछि उनले सोही विषयमा राष्ट्रपतिलाई जानकारी गराएका हुन्।