Blog

लराक आक्रमणको बदलाः जोर्डनमा अमेरिकी अखडा माथि इरानी हमला

तेहरान, १५ भदौ । आइतबार अघिल्लो प्रहरमा दक्षिणी इरानको लराक टापुमा भएको अमेरिकी आक्रमणको जवाफमा जोर्डनस्थित दुई अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार गरिएको इरानले जनाएको छ।

इरानी समाचार संस्थाहरूद्वारा आइतबार सार्वजनिक एक विज्ञप्तिमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले आक्रमणकारीलाई सजाय नाम दिइएको उक्त संयुक्त क्षेप्यास्त्र तथा ड्रोन कारबाहीले जोर्डनस्थित किङ हुसेन र अल अजराक सैन्य अखडालाई निशाना बनाएको जनाएको छ। जुलाईको अन्त्ययता दुवै पक्षबीच भएको यो पहिलो हिंसात्मक झडप हो।

 

आईआरजीसीका अनुसार ती आक्रमणहरूले ूप्राविधिक तथा मर्मतसम्भारसम्बन्धी पूर्वाधार र शत्रुको लडाकु विमान तैनाथी स्थलहरूू ध्वस्त पार्दै ठूलो क्षति पुर्‍याएका छन्। आईआरजीसीले आक्रमणको घोषणा गरेको केही समयपछि जोर्डनले आठ वटा क्षेप्यास्त्रहरूलाई बीचैमा रोकेको जनाएको छ। जोर्डनी सेनाले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आज सोमबार बिहान सबेरै अधिराज्यको हवाई क्षेत्रमा प्रवेश गरेका आठ वटा क्षेप्यास्त्रहरूलाई हवाई प्रतिरक्षा प्रणालीले रोकेको छ।’ यी आक्रमणहरूबाट कुनै पनि सैन्य अखडामा मानवीय क्षति भएको खबर आएको छैन।

 

उता, विज्ञप्तिमा आईआरजीसीले भनेको छ, ‘आक्रमण र अपराधहरूले होर्मुज जलसन्धिमा इस्लामिक गणतन्त्रको नियन्त्रण कमजोर पार्ने शत्रुको हताश प्रयासलाई सफल हुन दिने छैनन्, प्रत्येक आक्रमणको जवाफ अझ विनाशकारी रूपमा दिइनेछ।’ लराक टापुमा आइतबार अमेरिकाले गरेको आक्रमणको बदला लिने तेहरानले प्रतिबद्धता जनाएको थियो।

 

वासिङ्टनले बमबारी अभियानमार्फत तेहरानमाथि आर्थिक दबाब बढाउने रणनीति अपनाइरहेको र इरानविरुद्धको अमेरिका–इजरायल युद्ध सातौँ महिनामा प्रवेश गरिरहेका बेला यी आक्रमणहरूले सैन्य टकरावलाई पुनः ब्युँताउने जोखिम बढाएका छन्। सोमबार अमेरिकी सेनाले आइतबार आफूले गरेको कारबाहीलाई ‘आक्रमणकारी कार्य’ मान्न अस्वीकार गरेको छ । 

अमेरिकी सेन्ट्रल कमाण्डले सामाजिक सञ्जाल ‘एक्स’मा जनाए अनुसार होर्मुज जलसन्धिमा इरानी सेनालाई बारुदी सुरुङ बिछ्याउनबाट रोक्न अमेरिकाले सीमित र सटीक कारबाही गरेको थियो। उसले घटनाका लागि इरानलाई नै जिम्मेवार ठहराएको छ।

इरानको ‘फर्स’ समाचार संस्थाले ‘अमेरिकी जियोनिस्ट शत्रु’ को आक्रमणमा परी सैनिकहरू मारिएका र घाइते भएका जनाएको छ । यद्यपि उसले हताहत हुनेहरूको सङ्ख्या भने खुलाएको छैन। हालैका साताहरूमा वासिङ्टनले होर्मुज जलसन्धिमा आफ्नो नियन्त्रण रहेको दाबी गर्दै आएको छ। तेहरानको अवरोधका बाबजुद अमेरिकी सैन्य सुरक्षामा लाखौँ ब्यारेल तेल उक्त जलमार्ग भएर ओसारपसार भएको अमेरिकाले बताएको छ।

यद्यपि उक्त जलसन्धिमा जहाजहरूमाथि आक्रमणका घटनाहरू लगभग दैनिक रूपमा भइरहेका छन् भने इरानले सो जलमार्ग बन्द रहेको अडान दोहोर्‍याउँदै आएको छ। आइतबार भएका यी आक्रमणहरूले इरानको आणविक कार्यक्रम र होर्मुज नियन्त्रणसम्बन्धी दाबीका विषयमा उसलाई सम्झौता गर्न बाध्य पार्न कडा प्रतिबन्धहरू लगाइएको भए तापनि अमेरिका अझै पनि सैन्य बल प्रयोग गर्न तयार रहेको देखाउँछन्।

 

अमेरिकाले हमला गरेकाे लारक टापु कहाँ छ ?

 

लराक टापु होर्मुज जलसन्धिको सबैभन्दा साँघुरो भागमा अवस्थित छ। यो इरानको तेल उद्योगका लागि निर्यातको एक प्रमुख केन्द्र पनि हो।

 

इरानले लराक टापुको प्रयोग जलसन्धिको निगरानी गर्न र त्यसमाथि नियन्त्रण कायम राख्न गर्दछ। यस टापुमा बङ्कर र आक्रमणकारी जलयानहरूको सञ्जाल रहेको छ, जसले मालवाहक जहाजहरूलाई ध्वस्त पार्न सक्छन्।

लराकलाई आफ्नो नियन्त्रणमा लिन सकेमा जलसन्धिमा जहाजहरूलाई अवरोध पुर्‍याउने तथा बारुदी सुरुङ बिछ्याउने इरानको क्षमता सीमित हुन सक्छस साथै, यसले जलसन्धि भएर हुने आवागमनमा इरानको सिलो पकड तोड्न अमेरिकालाई मद्दत पुर्‍याउन सक्छ। तर, यो टापु निकै बलियो सुरक्षा घेरामा रहेकाले यसलाई निसान बनाउनु चुनौतीपूर्ण मानिए पनि हिजाे यसमा अमेरिकी हमला भएकाे थियाे ।

 

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रौनियार परिवारद्वारा ११ लाख ११ हजारभन्दा बढी सहयोग

बारा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रोयल रौनियार ग्रुपका तर्फबाट रु. ११,११,१११.११ सहयोग गरिएको छ।

रोयल रौनियार ग्रुपअन्तर्गतको शिवशक्ती एग्रो एण्ड फुड्स इन्डस्ट्रीज प्रा.लि. का सञ्चालक तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका नेता उमाशंकर साह रौनियार सहित समाजसेवी बिश्वनाथ साह रौनियार, रामनिवास रौनियार, शेषनाथ रौनियार, सन्तोष रौनियार र अशोक रौनियारले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेका हुन्।

प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जनाइएको छ।

उक्त सहयोग रकम अक्षरेपी रु. एघार लाख एघार हजार एक सय एघार रुपैयाँ एघार पैसा (रु. ११,११,१११.११) रहेको छ।

विपद्को समयमा निजी क्षेत्र, सामाजिक संस्था तथा व्यक्तिहरूले आफ्नो क्षमता अनुसार सहयोग गर्दै पीडितको राहत र उद्धार कार्यमा योगदान पुर्‍याउनुपर्नेमा सहयोगकर्ताहरूले जोड दिएका छन्।

बाढी-पहिरोको विपत्तिमा सावधानी अपनाउन रौतहट प्रशासनको आग्रह: नक्कली क्यूआरबाट साबधान

सञ्जय मिश्रा

रौतहट, १५ भदौ । अविरल वर्षाका कारण विनाशकारी बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याइरहेका बेला जिल्ला प्रशासन कार्यालय रौतहटले राहत तथा सहयोगका नाममा हुन सक्ने ठगी र सामाजिक सञ्जालबाट फैलिने अफवाहप्रति सचेत रहन सर्वसाधारणसँग आग्रह गरेको छ।

 

प्रशासनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउनुअघि सम्बन्धित बैंक खाता, क्यूआर (QR) कोड वा लिंक आधिकारिक भए-नभएको यकिन गर्न अनुरोध गरेको छ। विपद्को संवेदनशील अवस्थाको फाइदा उठाउँदै केही व्यक्तिले नक्कली क्यूआर, बैंक खाता र सामाजिक सञ्जालमार्फत आर्थिक ठगी गर्न सक्ने भएकाले रकम जम्मा गर्नुअघि स्रोतको आधिकारिकता अनिवार्य रूपमा जाँच्न भनिएको छ।

 

त्यस्तै, बाढी-पहिरोबाट प्रभावित तथा पीडित व्यक्तिहरूको विभत्स र हृदयविदारक तस्बिर तथा भिडियो सामाजिक सञ्जाल एवं अनलाइन प्लेटफर्महरूमा पोस्ट नगर्न पनि प्रशासनले अपिल गरेको छ। यसअघि राखिएका त्यस्ता सामग्री तत्काल हटाउनसमेत आग्रह गरिएको छ।

 

विपद्का बेला पीडितको संवेदनशीलता र गोपनीयताको सम्मान गर्नु सबैको दायित्व भएको प्रशासनको भनाइ छ। दुःखद घटनाका विभत्स दृश्य अनावश्यक रूपमा सामाजिक सञ्जालमा फैलाउँदा पीडित परिवारमा थप मानसिक आघात पुग्ने र ती सामग्रीको गलत प्रयोग हुन सक्ने जोखिम रहन्छ।

 

यसैगरी, विपद्को समयमा भ्रमपूर्ण, अपुष्ट सूचना तथा अफवाह नफैलाउन प्रशासनले सचेत गराएको छ। आधिकारिक निकायबाट पुष्टि नभएका सूचना सामाजिक सञ्जालमा शेयर गर्दा उद्धार तथा राहत कार्यमा द्विविधा सिर्जना हुन सक्ने उल्लेख छ।

 

विपद्का बेला सहयोग गर्नु मानवीय दायित्व भए पनि सहयोगका नाममा हुने ठगी र अपुष्ट सूचनाको प्रसार रोक्नु उत्तिकै आवश्यक रहेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले आफ्ना आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न र सामाजिक सञ्जालमा कुनै पनि सामग्री पोस्ट गर्नुअघि सत्यता जाँच्न आफ्नो आधिकारिक फेसबुक पेजमार्फत अपिल गरेको छ।

‘नीलो क्रान्ति’ वाला भिआइपीको स्टन्टले गाईजात्रा बिर्सायो : गोकुल बास्कोटा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले विपद्का बेला उद्धार तथा राहतका नाममा भइरहेका गतिविधिप्रति कडा कटाक्ष गरेका छन्।

बास्कोटाले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै विपद्का बेला 'नीलो क्रान्ति' का नाममा भिआइपीहरूले गरिरहेको भिडियो स्टन्टले गाईजात्रालाई समेत बिर्साएको आरोप लगाएका हुन्।

जलवायु परिवर्तनको भयावह असरबाट विश्व नै पीडित रहेको उल्लेख गर्दै उनले यस विषयमा धनी राष्ट्रहरूको बेवास्ता पनि उत्तिकै रहेको बताए। विपद्का बेला अन्तर्राष्ट्रिय समुदायबाट सहयोग प्राप्त भए पनि त्यसका नाममा प्रदर्शन र व्यापार भइरहेको भन्दै उनले असन्तोष व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा बास्कोटाले लेखेका छन्, 'विपत्मा नीलो क्रान्तिवाला भिआइपीहरूको भिडियो स्टन्टले गाईजात्रा बिर्सायो। जलवायु परिवर्तनको भयानक असरले विश्व पीडित छ र धनी राष्ट्रहरूको वेमतलब पनि उस्तै। सहयोग त दिएकै छन्, तर यस्तो लाग्छ- त्यो आँसुको अन्तहीन व्यापार चलिरहन्छ।'

अविरल वर्षा र पहिरोले देशभरका प्रमुख राजमार्ग अवरुद्ध, काठमाडौं भित्रिने मुख्य नाका ठप्प

काठमाडौं, १५ भदौ । लगातारको अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरू नराम्ररी प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ६ बजे सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार बागमती, कोशी र कर्णाली प्रदेशका प्रमुख सडकहरूमा सवारी साधनको आवगमन पूर्ण रूपमा ठप्प भएको छ भने केही सडकमा रात्रिकालीन यात्रामा प्रतिबन्ध लगाइएको छ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिर र गजुरी गाउँपालिका–२ को परेवाभिरमा ठूलो पहिरो जाँदा काठमाडौँ जोड्ने यो मुख्य राजमार्ग पूर्ण रूपमा ठप्प बनेको छ। यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा पहिरो खस्दा आवगमन रोकिँदा उत्तरी नाकातर्फको यातायात सम्पर्क विच्छेद भएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै विभिन्न सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा कडाइ गरिएको छ। बीपी राजमार्गअन्तर्गत काभ्रेको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी क्षेत्रमा बाढीको खतरा रहेकाले साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ भने दिउँसो मौसमको अवस्था हेरेर मात्र यातायात सञ्चालन गर्न दिइनेछ। यसैगरी मकवानपुरको कान्ति लोकपथअन्तर्गत हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर सडकमा पनि साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन यात्रा स्थगित गरिएको छ।

उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड बाढीले क्षति पुर्‍याएपछि लामो समयका लागि बन्द भएको छ। नुवाकोटको टोखा–छहरे सडक खण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ भने पासाङ ल्हामु राजमार्गसहित जिल्लाका अन्य मुख्य सहायक मार्गहरू पनि बाढीका कारण अवरुद्ध छन्।

कोशी प्रदेशको इलामस्थित मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीमा पहिरो जाँदा झापाबाट ताप्लेजुङ जोड्ने सडक पूर्ण रूपमा ठप्प भएकाले प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ। उता कर्णाली प्रदेशको मुगुस्थित छायाँनाथ रारा नगरपालिका–७ झ्यारीखोला र टोक्ला क्षेत्रमा पहिरो जाँदा नाग्म–गमगढी सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ।

प्रहरीका अनुसार सम्बन्धित निकायहरूसँगको समन्वयमा पहिरो हटाई अवरुद्ध राजमार्गहरू सुचारु गराउने प्रयास निरन्तर भइरहेको छ। मौसमप्रतिकूल रहेकाले यात्रामा निस्कनुअघि अनिवार्य रूपमा सडकको ताजा अवस्था बुझ्न र विशेष सतर्कता अपनाउन प्रहरीले सर्वसाधारणसँग अनुरोध गरेको छ।

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं, १५ भदौ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज (सोमबार) बस्दै छ। बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान ११ बजेका लागि बोलाइएको छ।

संसदीय दलको कार्यालयका अनुसार आज बस्ने बैठकका औपचारिक एजेन्डाहरू भने सार्वजनिक गरिएको छैन।

एसीसी प्रिमियर कप: नेपालले आज बहराइनको सामना गर्दै

काठमाडौं, १५ भदौ । तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा बहराइनविरुद्ध प्रतिस्पर्धा गर्दै छ। मलेसियाको बाङ्गीस्थित वाइएसडी-युकेएम ओभल मैदानमा हुने यो खेल बिहान ७:१५ बजे सुरु हुनेछ।

एकदिवसीय क्रिकेटमा नेपाल र बहराइन पहिलोपटक आमनेसामने हुन लागेका हुन्। नेपाली टोली पहिलो खेलमै बहराइनलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्यमा छ।

प्रतियोगितामा प्रत्येक समूहका शीर्ष दुई टोली मात्र सेमिफाइनलमा पुग्ने भएकाले समूह चरणका सबै चार खेल टोलीका लागि महत्त्वपूर्ण रहनेछन्।

पूर्वक्रिकेटर शरद भेषावकर नेपालले कुनै पनि प्रतिद्वन्द्वीलाई कमजोर सम्झन नहुने बताउँछन्। 'एसीसी प्रिमियर कप खेल्ने १० वटै टोली बलिया छन्। हामीले कसैलाई पनि हल्का रूपमा लिनु हुँदैन। नेपालले यसपटक उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्नेमा म आशावादी छु,; उनले भने।

प्रतियोगिताअघि नेपालले मलेसियाविरुद्धका दुवै अभ्यास खेल जितेको थियो। पहिलो खेलमा उत्कृष्ट ब्याटिङ गरेको नेपाल दोस्रो खेलमा भने ब्याटिङतर्फ केही कमजोर देखिए पनि उत्कृष्ट बलिङको मद्दतमा २७ रनको जित निकाल्न सफल भएको थियो।

नेपाली टोली:

आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, सन्दीप जोरा, ईशान पाण्डे, गुलशनकुमार झा, ललितनारायण राजवंशी, करण केसी, हेमन्त धामी र शेर मल्ल।

शरिमा आइरनको कमी, बेलैमा पुर्ती नगरे देखिने छन् समस्या

काठमाडौं, १५ भदाैं ।  मानिसहरू प्रायः थकान, कमजोरी, रिङ्गटा लाग्ने वा सास फेर्न गाह्रो हुने जस्ता समस्याहरूलाई सामान्य वा सामान्य कुरा ठानेर बेवास्ता गर्छन् तर शरीरमा देखिने यस्ता सामान्य परिवर्तनहरूले कहिलेकाहीँ कुनै महत्त्वपूर्ण पोषक तत्वको कमीतर्फ सङ्केत गरिरहेका हुन सक्छन्।

 

फलाम (आइरनं) त्यस्तै एउटा अत्यावश्यक खनिज हो । यसको कमीले कमजोरी मात्र नभई गम्भीर रोग पनि निम्त्याउन सक्छ। शरीरमा आइरनको कमी जुनसुकै उमेरमा पनि हुन सक्छ र लामो समयसम्म यसको उपचार नगरिएमा यसले शरीरको कार्यक्षमतामा असर पुर्‍याउन सक्छ। त्यसैले, आउनुहोस्, आइरनको कमीका कारण लाग्न सक्ने गम्भीर रोगहरूबारे जानकारी लिऔँ।

 

यदि शरीरमा लामो समयसम्म आइरनको कमी रहिरह्यो भने यसले आइरनको कमीले हुने रक्तअल्पता अर्थात ‘आयरन डेफिशियेंसी एनीमिया’ निम्त्याउन सक्छ। शरीरमा आइरनको अभावले ‘हेमोग्लोबिन’ को उत्पादनमा असर पार्छ। शरीरमा ‘हेमोग्लोबिन’ उत्पादन गर्न ‘आइरन’ अत्यावश्यक हुन्छ। ‘हेमोग्लोबिन’ रातो रक्तकोषमा पाइने एक प्रकारको प्रोटिन हो, जसले फोक्सोबाट शरीरका विभिन्न भागसम्म अक्सिजन पुर्‍याउने काम गर्छ।

 

शरीरमा पर्याप्त आइरनको कमी हुँदा स्वस्थ राता रक्तकोषहरूको उत्पादनमा बाधा पुग्न सक्छ र शरीरको अक्सिजन ओसारपसार गर्ने क्षमता घट्छ। यसले फलामको कमीका कारण हुने रक्तअल्पता अर्थात ‘आयरन डेफिशियेंसी एनीमिया’ को जोखिम बढाउँछ।

 

शरीरमा आइरनको कमी विभिन्न कारणले हुन सक्छ। यसको सबैभन्दा मुख्य कारण आइरनयुक्त पर्याप्त आहारको सेवन नगर्नु हो। साथै, बालबालिका, महिनावारी भइरहेका महिला तथा गर्भवती वा स्तनपान गराइरहेका महिलाहरूलाई आइरनको बढी आवश्यकता पर्ने हुनाले उनीहरूमा यसको कमी हुने जोखिम बढी हुन्छ। केही व्यक्तिहरूमा सिलियाक रोग, आन्द्राको सुजनसम्बन्धी रोग वा पेटको शल्यक्रियाजस्ता अवस्थाहरूका कारण शरीरमा आइरनको अवशोषण कम हुन्छ। यसका साथै, अत्यधिक महिनावारी, पेट वा आन्द्राबाट हुने रक्तस्राव, बारम्बार गरिने रक्तदान वा शल्यक्रियाका क्रममा हुने रक्तस्रावले पनि शरीरमा आइरनको मात्रा कम गराउन सक्छ।

 

शरीरमा आइरनको मात्रा कम हुँदा देखिने स्पष्ट लक्षणहरू सुरुमै नदेखिन सक्छन्। व्यक्तिले लगातार थकान, कमजोरी र आलस्य महसुस गर्न सक्छ। यसका साथै, सास फेर्न गाह्रो हुने, रिंगटा लाग्ने, टाउको दुख्ने, एकाग्रतामा कठिनाइ हुने र काम गर्ने क्षमता घट्ने जस्ता समस्याहरू पनि यसका लक्षण हुन सक्छन्। कतिपय व्यक्तिहरूमा छालाको रङ फिक्का हुने, कपाल झर्ने, नङ कमजोर वा भंगुर हुने, हात खुट्टा चिसो हुने वा झमझमाउने तथा मुख वा जिब्रोसम्बन्धी समस्याहरू पनि देखिन सक्छन्।

 

शरीरमा आइरनको कमी पत्ता लगाउन, चिकित्सकले तपाईंको स्वास्थ्य र खानपानसम्बन्धी जानकारी लिनुका साथै रगतको जाँच गराउन सिफारिस गर्न सक्छन्। यी जाँचहरूमा सीबीसी, सीरम आइरन, टीआइबीसी र फेरिटिन समावेश हुन सक्छन्। यदि आवश्यक परेमा आइरनको कमीको मूल कारण पत्ता लगाउन पाचन प्रणालीसँग सम्बन्धित थप जाँचहरू पनि गराउन सल्लाह दिन सक्छन्।

भोटेकोसी बाढी : कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकालियो

काठमाडौं, १५ भदौ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण डुबानमा परेको कृषि विकास बैंक, त्रिशूली ढुङ्गे शाखाबाट डेढ करोड रुपैयाँ नगद र करिब ५० करोड रुपैयाँ बराबरको सुन सुरक्षित स्थानमा सारिएको छ।

प्रहरी टोलीको निरन्तर आठ घण्टाको कडा मिहिनेत र प्रयासपछि बैंकको भल्टमा रहेको १ करोड ५० लाख नगद, अनुमानित ५० करोड रुपैयाँ बराबरको सुनका गहना तथा महत्त्वपूर्ण सरकारी र बैंकका कागजातहरू सुरक्षित रूपमा बाहिर निकालिएको हो।

प्रहरीका अनुसार बाढीको जोखिमका बाबजुद सुरक्षाकर्मी र स्थानीयको सहयोगमा बैंकका महत्त्वपूर्ण सम्पत्ति र कागजातहरू सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो।

मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन, सिडिओ र एसपीविरुद्ध नाराबाजी

काठमाडौं, १५ भदौ । जिल्ला कारागार मोरङका कैदीबन्दीहरूले जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन्।

आइतबार राति कारागार परिसरभित्रै उत्रिएका कैदीबन्दीहरूले लागूऔषध कारोबारको झुटा आरोप लगाई मानसिक दबाब दिने गरेको, रकम असुलीको प्रयास गरेको र गोली हान्ने धम्की दिने गरेको गम्भीर आरोप लगाएका छन्।

कारागारभित्र हतियारसहित प्रहरी परिचालन गरिएकोमा आपत्ति जनाउँदै उनीहरूले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको ध्यानाकर्षण गराएका हुन्। सो क्रममा कैदीबन्दीहरूले प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङको पक्षमा भने नाराबाजी गरेका थिए।

कारागारभित्र शंकास्पद गतिविधि भइरहेको बुझ्न प्रहरी टोली प्रवेश गर्न खोजेपछि स्थिति झनै तनावग्रस्त बनेको थियो। लगत्तै कैदीबन्दीहरूले मोरङका प्रहरी प्रमुखविरुद्ध पनि कडा नाराबाजी गरेका थिए।

सामान्यतया कारागारभित्र नियमित रूपमा प्रहरी प्रवेश गर्न पाउने व्यवस्था छैन। यद्यपि, कुनै शंकास्पद वा गैरकानुनी गतिविधि भएको आशंका लागेमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर प्रहरीले खोजी कार्य (सर्च) गर्न सक्ने कानुनी प्रावधान रहेको छ।