सुर्खेतको भेरिगंगाले प्रदेशलाई बुझाएन राजश्व, धेरै बुझाउनेमा पञ्चपुरी नगरपालिका

सुर्खेत, २० भदौ । कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत जिल्लाका नौ ओटा पालिका मध्ये भेरिगंगा नगरपालिकाले कर्णाली प्रदेश सरकारलाई बुझाउनुपर्ने राजश्व गत आर्थिक वर्ष २०८२/०८३ मा नबुझाएको पाइएको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका अनुसार बाँकी आठ ओटा पालिकाले भने गत आर्थिक वर्षमा सम्विधानले तोके अनुसारको राजश्व प्रदेश सरकारलाई तिरेका हुन् ।
तर, कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरपालिकाले विज्ञापन कर, मनोरञ्जन कर र दहत्तर बहत्तर कर तिरेको भएपनि पञ्चपुरी नगरपालिकाले सबैभन्दा बढी कर तिरेको हो ।
विगतमा प्रदेश सरकारको आन्तरिक आय कम भएको, पालिकाले प्रदेश सरकारलाई कर नतिरेर नटेर्ने गरेको आरोप लागिरहेको बेला गत आर्थिक वर्षमा भने सो नतिजामा केहि हदसम्म फेरबदल भएको हो । यद्यपी कर्णालीका अधिकांश पालिकाले अझैपनि प्रदेश सरकारलाई राजश्व तिर्ने गरेका छैनन् ।
वीरेन्द्रनगरपालिकाले प्रदेश सरकारलाई मनोरञ्जन कर वापत पाँच लाख छत्तीस हजार तीन सय त्रिपन्न रुपैयाँ अन्ठाउन्न पैसा तिर्दा विज्ञापन कर वापत आठ लाख ३६ हजार ६३७ रुपैयाँ १७ पैसा तिरेको छ । दहत्तर बहत्तर शूल्क शीर्षकमा ५३ लाख १४ हजार २९५ रुपैयाँ ५७ पैसा गरी कूल ६६ लाख ८७ हजार २८६ रुपैयाँ ७२ पैसा प्रदेश सरकारले प्राप्त गरेको हो ।
अन्य पालिकाले भने दहत्तर बहत्तर शूल्क मात्र बुझाएका छन् । अन्य पालिकामा वीरेन्द्रनगरका जस्तो फिल्म हल, अन्य पार्कहरु नभएका कारण उनिहरुले एउटै शूल्क तिरेका हुन् ।
चौकुने गाउँपालिकाले ४७ लाख ९४ हजार ८६२ रुपैयाँ प्रदेश सरकारलाई बुझाउँदा पन्चपुरी नगरपालिकाले सबैभन्दा बढी ७० लाख १६ हजार २९८ रुपैयाँ शूल्क बुझाएको छ ।
यस्तै, बराहताल गाउँपालिकाले १४ लाख ५० हजार ६३६ रुपैयाँ शूल्क प्रदेश सरकारलाई बुझाउँदा लेकबेशी नगरपालिकाले भने २२ लाख २८ हजार ९६१ रुपैयाँ बुझाएको छ ।
त्यस्तै, गुर्भाकोट नगरपालिकाले सोही शीर्षकमा २२ लाख २८ हजार ९६१ रुपैयाँ शूल्क बुझाउँदा सिम्ता गाउँपालिकाले २२ लाख ४४ हजार ११४ र चिङ्गाड गाउँपालिकाले २ लाख ६२ हजार ७२० रुपैयाँ गरी सुर्खेत जील्लाबाट कूल दुई करोड ८० लाख ६९ हजार दश रुपैंया प्रदेश सरकारले प्राप्त गरेको हो ।
यसरी हरेक पालिकाबाट कर संकलन गर्न सकिएको खण्डमा प्रदेश सरकारले आन्तरिक आयमा वृद्धि हुने अपेक्षा राखिएको आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाईले बताए ।



