मधेश आन्दोलनका उपलब्धि जोगाउँदै नयाँ कार्यदिशा तय गर्नुपर्नेमा जोड

कलैया । मधेश आन्दोलनले राजनीतिक तथा संवैधानिक क्षेत्रमा महत्वपूर्ण परिवर्तन ल्याए पनि आम मधेशी जनताले अपेक्षित अधिकार र सहज जीवनयापनको अनुभूति गर्न नसकेको निष्कर्षसहित बाराको कलैयामा ‘मधेश अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सहिद सञ्जय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा कलैयास्थित करण राज प्यालेसमा सामाजिक अभियन्ता सञ्जय यादवको नेतृत्वमा आयोजित कार्यक्रममा मधेश आन्दोलनको उपलब्धि, वर्तमान राजनीतिक अवस्था, विद्यमान चुनौती र भावी रणनीतिबारे गम्भीर छलफल गरिएको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले मधेश आन्दोलनले राज्यका राजनीतिक तथा प्रशासनिक संरचनामा मधेशी समुदायको प्रतिनिधित्व बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए। पहिलो मधेशी राष्ट्रपति डा. रामवरण यादवदेखि विभिन्न संवैधानिक तथा राजनीतिक पदमा मधेशी समुदायको उपस्थिति स्थापित हुनुलाई आन्दोलनको महत्वपूर्ण उपलब्धिका रूपमा चर्चा गरिएको थियो।
तर राजनीतिक प्रतिनिधित्व बढ्दैमा मधेशका सबै समस्या समाधान नभएको वक्ताहरूको भनाइ थियो। सीमावर्ती क्षेत्रका नागरिकले दैनिक उपभोग्य सामग्री ल्याउँदा समेत सीमा नाकामा विभिन्न कठिनाइ भोग्नुपरेको, राज्यका नीतिगत अवरोधले जनजीवन प्रभावित भएको तथा मधेशी समुदायले अझै विभेदको अनुभूति गर्नुपरेको विषय उठाइएको थियो।
वक्ताहरूले मधेश आन्दोलनका सहिदहरूको बलिदानअनुसार राज्यले सम्मान गर्न नसकेकोप्रति असन्तुष्टि जनाउँदै सहिद परिवारको उचित सम्मान, संरक्षण र व्यवस्थापन गर्न सरकारसँग माग गरे। आन्दोलनका उपलब्धि संस्थागत गर्नुका साथै अधुरा माग पूरा गर्न मधेश केन्द्रित राजनीतिक दल, नागरिक समाज र युवा पुस्ताबीच एकता तथा सहकार्य आवश्यक रहेकोमा जोड दिइयो।
यसैबीच कार्यक्रममा सहिद हिफाजत मियाँ अन्सारीकी श्रीमती शोभा राजवंशीसहित अन्य सहिद परिवारका आमा–बुवालाई खादा ओढाएर सम्मान गरिएको थियो।
अन्तरक्रियामा महिला, ज्येष्ठ नागरिक, सञ्चारकर्मी तथा सामाजिक अभियन्ता अरविन्द यादव लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमले मधेश आन्दोलनको इतिहास सम्झिने मात्र नभई प्राप्त उपलब्धिको रक्षा गर्दै बाँकी अधिकार, सुशासन, सामाजिक न्याय र समानताका लागि अबको मधेशले स्पष्ट राजनीतिक तथा सामाजिक कार्यदिशा तय गर्नुपर्ने सन्देश दिएको थियो।



