Blog

जन्मदिनमा झाले बाढी पिडीतलाई गरे ११ लाख सहयोग

सुभाष कायस्थ
जनकपुरधाम, १५ भदौ । देशमा आएकाे महाविपतिलाई हेरेर महाेतरीका एक व्यक्तिले आफ्नाे जन्मदिनमा उत्सव पार्टी नगरी बाढी पिडितलाई ११ लाख रूपैया राहत स्वरूप सहयाेग गरेका छन् ।

महोत्तरी जिल्लाकाे महाेतरी गाउँ निवासी नेपाेभिट टाइल्स उद्याेगका संचालक शम्भुनाथ झाले आफ्नो जन्मदिनको अवसरलाई सामाजिक सेवासँग जोड्दै बाढी पिडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख १ रुपैयाँ सहयोग गरेका छन् ।

देशका विभिन्न स्थानमा बाढीका कारण ठूलो जनधनको क्षति भइरहेको र सयौँ परिवार प्रभावित तथा विस्थापित भएको अवस्थामा आफू उत्सव मनाउनेभन्दा विपदमा परेका नागरिकको राहतलाई प्राथमिकता ठानेर सहयाेग गरेकाे बताए ।

यनले भने, ‘देश नै विपत्तिमा परेका बेला व्यक्तिगत खुसीमा मात्र रमाउनु उचित लागेन । बाढी तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको पीडामा आफुले सहयाेग गरेकाे रकमले पुग्दैन तर थोरै भए पनि साथ दिनुपर्छ भन्ने सोचले जन्मदिनको अवसरमा सहयोग गरेको हुँ ।’ 

झाले आफ्ना नेपाल सेरामिक इण्डिष्ट्री प्रा.लि. मार्फत साे रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । 

‘ट्रान्सफर विन्डो’ बन्द हुनु अगावै म्यानचेस्टर युनाइटेड थप खेलाडी भित्र्याउने दाउमा

काठमाडौं, १५ भदौ। म्यानचेस्टर युनाइटेडका कार्यवाहक प्रबन्धक माइकल क्यारिकले ट्रान्सफर विन्डो बन्द हुनुअ घि थप खेलाडीहरू भित्र्याउने सम्भावनालाई खुला राख्दै "हामीले पर्खनुपर्ने र हेर्नुपर्ने हुन्छ" भनेका छन्।

 

 

युनाइटेडले यस समर ट्रान्सफरमा आन्द्रे सान्तोस, युरी टिलेमान्स र कार्लोस बालेबालाई भित्र्याएर मिडफिल्ड सुदृढ पार्न हालसम्म १५ करोड पाउन्डभन्दा बढी खर्च गरिसकेको छ।

 

क्लब अझै पनि 'लेफ्ट-ब्याक' (बायाँ रक्षक) को भूमिकाका लागि सम्भावित खेलाडीहरू भित्र्याउने प्रयासमा छ। तर मंगलबार ट्रान्सफर विन्डो बन्द हुन ४८ घण्टा मात्र बाँकी रहँदा, क्यारिक आफ्नो टोलीलाई अझ बलियो बनाउने सम्भावनाबारे सतर्क देखिएका छन्।   

 

आइतबार इप्सविचविरुद्ध ५-२ को जितपछि आयोजित पत्रकार सम्मेलनमा क्यारिकले भने, "साँचो भन्नुपर्दा, यति कम समय बाँकी हुँदा यसबारे केही भन्न सधैं गाह्रो हुन्छ।"   

 

"हामी अहिले जुन अवस्थामा छौं र हामीले जुन काम (खेलाडी अनुबन्धन) गर्न सकेका छौं, त्यसप्रति म खुसी छु। मलाई लाग्छ हामी अझ राम्रो समूह, अझ राम्रो स्क्वाड र सम्भवतः अझ राम्रो टोली बनेका छौं। त्यसमा मार्कस रासफोर्डको आगमनले नयाँ खेलाडी भित्र्याएजस्तै महसुस गराउँछ।"   

 

"त्यसैले, त्यस हिसाबले हामी निकै खुसी छौं। यदि थप केही गर्न सकिने अवस्था आयो भने हामी सधैं तयार छौं; म त्यो सम्भावनालाई पूर्ण रूपमा नकार्न चाहन्नँ। तर हालको अवस्थामा भने हामीले पर्खनुपर्ने र हेर्नुपर्ने हुन्छ।"   

 

सिजनको पहिलो सातामा हल सिटी  विरुद्धको हारपछि युनाइटेडले इप्सविच विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै पुनरागमन गर्‍यो।   

 

खेलको पहिलो हाफमा पाहुना टोलीले अग्रता लिए पनि ब्रुनो फर्नान्डेसको ह्याट्रिक तथा ह्यारी मगायर र ब्रायन एमबेउमोको गोलको मद्दतमा युनाइटेडले यस सिजनको पहिलो जित दर्ता गर्‍यो।   

 

इप्सविचविरुद्धको फराकिलो जितमा फर्नान्डेसको ह्याट्रिक र रासफोर्डको पुनरागमन: म्यानचेस्टर युनाइटेडका खेलाडीहरूको प्रदर्शन मूल्याङ्कन

 

लिभरपुलका कप्तान भर्जिल भान डाइकद्वारा क्लबलाई कोडी गाक्पोलाई टोलीमै कायम राख्न आग्रह

 

"म धेरै उत्साहित भएर बहकिने छैन," क्यारिकले भने, "मलाई लाग्छ हाम्रो टोलीमा यस्ता खेलाडीहरू छन् जो गोलको अवसर सिर्जना गर्न, गोल गर्न र गोलको जिम्मेवारी बाँड्न सक्षम छन्। गत सिजन हामीले गोलको जिम्मेवारी निकै राम्रोसँग बाँडेका थियौं।"   

 

"मेरो लागि सबैभन्दा खुसीको कुरा के थियो भने, हामीले यसै साता अवरोध वा असफलताको सामना गर्ने विषयमा कुरा गरेका थियौं। आजको खेलमा धेरै उत्कृष्ट क्षणहरू देखिए र साँच्चै राम्रो फुटबल खेलियो।"

नेपालको इतिहासमा भदौ १५ गते, पहिलाे पटक उपत्यका बाहिर बैंक शाखा

नेपालको इतिहासमा भदौ १५ गते दिन भएका प्रमुख घटना तथा विशेषताहरू:

 

 

१. राष्ट्रिय पुस्तकालय दिवस र लालमोहर जारी (वि.सं. १८६९), नेपालमा हरेक वर्ष भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाइन्छ।

 

ऐतिहासिक पृष्ठभूमि: विक्रम संवत् १८६९ भदौ १५ गते तात्कालिक राजा गीर्वाणयुद्ध विक्रम शाहले 'पुस्तक चिताई तहबिल' (पुस्तकहरूको हेरचाह र संरक्षण गर्ने सरकारी अड्डा) स्थापनाका लागि लालमोहर जारी गरेका थिए। सोही ऐतिहासिक लालमोहर जारी भएको दिनको स्मरण गर्दै नेपाल सरकारले वि.सं. २०६५ देखि औपचारिक रूपमा भदौ १५ गतेलाई राष्ट्रिय पुस्तकालय दिवसको रूपमा मनाउन थालेको हो।

 

 

२. पोखरामा नेपाल बैंक लिमिटेडको पहिलो शाखा स्थापना (वि.सं. २००९) वि.सं. २००९ भदौ १५ गते काठमाडौंबाहिर पोखरामा पहिलोपटक नेपाल बैंक लिमिटेडको शाखा स्थापना भई वित्तीय सेवा विस्तार भएको थियो

विश्व इतिहासमा अगस्त ३१, यस दिन घटेका प्रमुख घटनाहरू

अन्तर्राष्ट्रिय इतिहासमा अगस्त ३१ का दिन धेरै घटनाहरू घटेका छन्, ती मध्ये केही घटनाक्रम यस्तो रहेको छ।
 

प्रमुख ऐतिहासिक घटनाहरू

राजकुमारी डायनाको निधन (सन् १९९७०): बेलायतकी पूर्व युवराज्ञी डायनाको फ्रान्सको पेरिसस्थित एक सुरुङ मार्गमा कार दुर्घटनामा परी निधन भएको थियो।

सोभियत संघबाट स्वतन्त्रता (सन् १९९१०):  मध्य एसियाली देशहरू किर्गिजस्तान र उज्बेकिस्तानले सोभियत संघबाट आफूलाई स्वतन्त्र देश घोषणा गरेका थिए।

मलेसिया र ट्रिनिडाड एन्ड टोबागोको स्वतन्त्रताः  सन् १९५७ मा मलेसिया (त्यतिबेलाको फेडरेसन अफ मलाया) ले बेलायतबाट स्वतन्त्रता प्राप्त गर्‍यो । र, सन् १९६२ मा ट्रिनिडाड एन्ड टोबागो पनि बेलायतको उपनिवेशबाट स्वतन्त्र भयो।

पोल्यान्डमा ‘सोलिडारिटी’ ट्रेड युनियनको सुरुवातः (सन् १९८०) मजदुर नेता लेच भलेसा र पोल्यान्ड सरकारबीच ऐतिहासिक सम्झौता भई स्वतन्त्र मजदुर सङ्गठन 'सोलिडारिटी' स्थापना गर्ने बाटो खुल्यो, जसले पछि कम्युनिस्ट शासन ढाल्न ठूलो भूमिका खेल्यो।

थॉमस एडिसनद्वारा क्यामेरा प्याटेन्ट (सन् १८९७०)ः प्रसिद्ध वैज्ञानिक थॉमस एडिसनले चलचित्र छायांकन गर्ने उपकरणको प्याटेन्ट अधिकार प्राप्त गरेका थिए।

प्रसिद्ध जन्म र निधन

जन्मः इटालीका प्रसिद्ध शिक्षाविद् तथा ‘मोन्टेसरी शिक्षण पद्धति’ की संस्थापक मारिया मोन्टेसरी को सन् १८७० अगस्ट ३१ मा जन्म भएको थियो।

निधनः भारतका पूर्व राष्ट्रपति तथा वरिष्ठ राजनीतिज्ञ प्रणब मुखर्जी को सन् २०२० अगस्ट ३१ मा निधन भएको थियो।

आजको राशिफलः बिसं २०८३ भदौं १५ गते साेमवार

आजको राशिफलः बिसं २०८३ भदौं १५ गते साेमवार, ईसं २०२६ अगस्त ३१, ऋृतुः बर्षा, अयानः दक्षिणायन, नेपाल सम्बत ११४६ गुँलागा तृतिया, भाद्र कृष्ण पक्ष, भाद्र कृष्ण तृतिया, नक्षत्रः रेवती, चन्द्रमा मीन राशीमा, सुर्य सिंह राशीमा, योगः गण्ड, करणः भद्रा । आज नेपालमा सुर्योदय बिहान ५ः४२ मिनेटमा र सूर्यास्त साँझ ०६ः२५ मिनेटमा हुनेछ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा नौनी घिउ खाएर जुन सुकै दिशाको यात्रा गरे पनि शुभ फल प्राप्त हुनेछ। आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ०८ मिनेटदेखि ९ बजेर ३४ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ।

 

मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

परिवारको साथ र सहयोगले मन प्रसन्न रहनेछ। धार्मिक वा सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। व्यवसायमा निर्णय लिँदा विचार पुर्‍याउनुहोला। (शुभ रंगः निलो, शुभ अंकः ७)   

 

वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अनावश्यक शङ्का(उपशङ्काबाट टाढा रहनुहोला। उच्च अधिकारीहरूसामु आफ्नो क्षमता प्रदर्शन गर्ने मौका मिल्नेछ। स्वास्थ्यमा भने ध्यान दिनुहोला। (शुभ रंगः रातो, शुभ अंकः १)   

मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
घरपरिवारमा मेलमिलापको वातावरण बन्नेछ। आफन्त तथा विश्वासपात्रको सहयोगले आत्मबल बढ्नेछ। सम्भव भएसम्म टाढाको यात्रा नगर्नुहोला। (शुभ रंगः हरियो, शुभ अंकः ६)

   
कर्कटः  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ र गोप्य योजनाहरू सफल बन्नेछन्। सन्तानका तर्फबाट शुभ समाचार पाइनेछ भने आम्दानीका नयाँ स्रोतहरू पहिल्याउन सकिनेछ। (शुभ रंगः हरियो, शुभ अंकः ३)   

 

सिंहः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्यक्षेत्रमा नयाँ जिम्मेवारी थपिने सम्भावना छ। विद्यार्थी वर्गका लागि अध्ययन(अध्यापनमा सफलता मिल्नेछ। व्यापारिक यात्रा फलदायी हुनेछ। (शुभ रंगः निलो, शुभ अंकः ४)
   

कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

परिस्थिति अनुकूल रहनेछ र बोलीको प्रभावले रोकिएका कामहरू सिद्ध हुनेछन्। समाजमा तपाईँको विचारको कदर हुनेछ। (शुभ रंगः हरियो, शुभ अंकः २०)   

 

तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

नयाँ अवसरको पूर्ण लाभ लिन सक्नुहुनेछ। मेहनतले पुराना समस्याहरू सुल्झिनेछन्। खानपान र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। (शुभ रंगः सेतो, शुभ अंकः ७)   

 

वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कार्यक्षेत्रमा समयमै कामहरू सम्पादन हुनेछन्। शुभचिन्तकहरूको साथ र सहयोगले अधुरा कामहरू पुनः प्रारम्भ हुनेछन्। (शुभ रंगः पहेँलो, शुभ अंकः ७)   

 

धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
हतारमा नयाँ कामको थालनी नगर्नुहोला। पुराना कामहरूलाई नै निरन्तरता दिनु राम्रो हुनेछ। अरूको आश्वासनमा परेर निर्णय नलिनुहोला। (शुभ रंगः नीलो, शुभ अंकः ६)   

मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कार्य क्षेत्रमा समयमै काम पूरा हुनाले मन प्रसन्न रहनेछ। पुराना उपलब्धीले नोकरी वा पेसामा पदोन्नतिका लागि मद्दत पुर्‍याउनेछन्। (शुभ रंगः खैरो, शुभ अंकः ८)   

 

कुम्भः (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आफ्नो क्षमताले अरूलाई प्रभावित पार्न सकिनेछ। नयाँ काम वा व्यवसाय सुरु गर्ने राम्रो समय छ। सम्बन्धहरूमा प्रेम र विश्वास बढ्नेछ। (शुभ रंगः पहेँलो, शुभ अंकः ३)   

 

मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

नयाँ काम वा यात्रा गर्दा विशेष सजगता अपनाउनुहोला। सामाजिक क्षेत्रमा प्रभाव र प्रतिष्ठा बढ्नेछ भने वरिष्ठ व्यक्तिहरूको सहयोग प्राप्त हुनेछ। (शुभ रंगः सेतो, शुभ अंकः ७)


 

मलेसियामा नेपाली सुरक्षागार्डको मानवीय एकता: बाढीपीडितका लागि ४ लाख ५ हजारभन्दा बढी सहयोग।

क्वालालम्पुर (मलेसिया): नेपालमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि मलेसियामा कार्यरत नेपालीहरूले रु. ४ लाख ५ हजार १६१ भन्दा बढी आर्थिक सहयोग संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन्।

अगस्ट २६ गते गत बुधबार नेपालमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट विशेषगरी रसुवा र आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि पीडित नागरिकको सहयोगका लागि मलेसियामा कार्यरत नेपालीहरू एकजुट भएका हुन्।

मलेसियाको Special Squad Security Team मा कार्यरत नेपाली दाजुभाइहरूले मानवीय भावना र मातृभूमिप्रतिको जिम्मेवारीका साथ उक्त सहयोग रकम चन्दको सक्रियतामा संकलन गरेका हुन्। संकलित रकम रु. ४ लाख ५ हजार १६१ रुपैयाँ नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको चन्दा संकलन अभियानका नेतृत्वकर्ता कमल चन्दले जनाइएको छ।

चन्द Special Squad Security Team का म्यानेजर समेत हुन्। साथै उनी प्रवास नेपाली सम्पर्क विभाग, मलेसियाका केन्द्रीय सदस्य पनि हुन्। विपत्तिको समयमा राजनीतिक तथा व्यक्तिगत सीमाभन्दा माथि उठेर मानवीय सहयोगलाई प्राथमिकता दिँदै पीडित नेपालीको राहतका लागि रकम सरकारी कोषमा जम्मा गरिएको बताइएको छ।

यस मानवीय अभियानमा साथ तथा सहयोग गर्नुहुने Special Squad Security Team का सम्पूर्ण नेपाली सुरक्षागार्ड दाजुभाइहरू तथा Boss Dato Nixon प्रति अभियानकर्ता चन्दले हार्दिक आभार व्यक्त गरेका छन्। विदेशमा रहेर पनि मातृभूमिमा परेको विपत्तिमा नेपालीहरूले देखाएको एकता, सद्भाव र मानवीय भावना प्रशंसनीय रहेको बताइएको छ।

अभियानमा सहयोग गर्ने व्यक्तिहरूको विवरणसमेत सार्वजनिक गरिएको छ। सहयोगीहरूको नाम तथा विवरण उपलब्ध गराइएको लिंकमार्फत क्लिक गरि हेर्न सकिने जनाइएको छ।

सहयोगी दाताहरुको नमावली हेर्नुस् 

भोटेकोशी बाढीपीडितका लागि कयाल ग्रुपको २५ लाख सहयोग

 

काठमाडौं, १४ भदौं ।नेपालको प्रतिष्ठित व्यावसायिक घराना कयाल ग्रुपले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ।

ग्रुपका निर्देशक कुनाल कयालले आइतबार अर्थमन्त्री डा। स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम हस्तान्तरण गरेका हुन्।

कयाल ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपद्, महामारी तथा विभिन्न सामाजिक कार्यमा यसअघि पनि राहत तथा सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ।

गत बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेको छ।

सरकारको अपिलपछि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा निजी क्षेत्र, विभिन्न व्यावसायिक घराना, संघसंस्था तथा व्यक्तिहरूबाट सहयोग रकम जम्मा हुने क्रम जारी छ।

 

कयाल  ग्रुपले पनि बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले कोषमा २५ लाख रुपैयाँ योगदान गरेको जनाएको छ।

धनुषाका ७ जना आए सम्पर्कमा, मधेशका १६२ काे अवस्था अझै अज्ञातै

जनकपुरधाम, १४ भदाै । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका धनुषाका १३ जनामध्ये ७ जना सम्पर्कमा आएका छन् ।

 

मधेश प्रदेश प्रहरीका अनुसार सम्पर्कविहीनमध्ये दिउंसाेसम्ममा धनुषा जिल्लाकाे सम्पर्कवहिन १३ जना मध्ये ७ जना सम्पर्कमा आएकाे छ ।

 

मधेश प्रदेश प्रह,श्रका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालले भने धनुषाकाे १३ जना सम्पर्कविहिन थिए । ती मध्ये ७ जना सम्पर्कमा आएकाे तिनीहरूकाे पारिवारिक श्राेतले जानकारी गराएका हुन ।

 

उनका अनुसार सम्पर्कविहिन मध्षे जिल्लाका सबैला नगरपालिका २ का लक्ष्मण महताे, हंसपुर नगरपालिका ६ का दयावती देवी यादव, विजयकसमार यादव साेही पालिकाका वडा ९ का सुरेश पंजियार, जनकपुरधाम उपमहानगरपालिका ४ का रितिक झा, विक्रम ठाकुर र जनकपुरधाम ११ का सुशान्त यादव सम्पर्कमा आएका छन् ।

 

सम्पर्कमा आएका व्यक्तिहरूकाे अवस्था के कस्ताे हाे, कहाँ कुन अवस्थामा हाे बारे हामीलाई जानकारीमा आएकाे छैन पारिवारिक श्राेतले सम्पर्कमा आइसकेकाे भनी प्रहरीमा जानकारी गराएपछि हाम्राे जानकारीमा आएकाे प्रवक्ता ढकालले जनाए ।

 

प्रदेश प्रहरीले जनाए अनुसार धनुषाका जनकपुरधाम ८ का अजय प्रसाद सिह, सबैला ८ का राहुल गुप्ता, गणेशमान चारनाथ नगरपालिका ३ का परीक्षण ठाकुर, राधादेवी ठाकुर, संगम ठाकुर र  साेही पालिकाकाे वडा नम्बर ४ का पुनमकुमारी ठाकुरकाे अवस्था अझै अज्ञातै रहेकाे छ । 

 

सम्पर्कविहिनहरूकाे घरमा गत तीनदेखि रूवावासीकाे अवस्था छ । उनीहरूले नेपाल सरकारसंग आफ्ना मान्छेकाे अवस्था सार्वजनिक गरि सकुशल उद्धार गरिदिन आग्रह गरेका छन् ।

 

मधेश प्रदेशका सम्पर्कविहिन १९२ मध्ये ३० जना सम्पर्कमा आएका हुन भने १६२ जनाकाे अवस्था अझै अज्ञातै रहेकाे छ । प्रहरीका अनुसार सबभन्दा बढी सप्तरीका ४९ जना सम्पर्कविहिन जसमध्ये एकजना मात्रै कन्चनरूप ८ का अजय मरिक सम्पर्कमा आएका हुन ।

यस्तै पर्साका ४० मध्ये २ जना, बाराका २५ मध्ये २ जना, राैतहटका १९ मध्ये ६ जना, सर्लाहीका १९ मध्ये ३ जना, महाेतरीका १७ मध्ये ७ जना र सिरहाका १० मध्ये २ जना मात्रै गरि ३९ जना सम्पर्कमा आएका हुन भने १६२ जनाकाे अवस्था अझै अज्ञातै छ ।

देश शोकमा रहेकाले ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित, तिहारमा रिलिज हुने

काठमाडौं, १४ भदाैं । रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन मिति स्थगित गरिएको छ।

 

मुलुकमा उत्पन्न प्रतिकूल परिस्थिति तथा देश पीडा र दुःखमा रहेका बेला मनोरञ्जनात्मक चलचित्र प्रदर्शन गर्न उपयुक्त नदेखिएपछि निर्माण पक्षले भदौ २६ गतेका लागि तय गरिएको प्रदर्शन मिति स्थगित गरेको हो।

 

चलचित्र निर्माण संस्था दिया एण्ड अमु फिल्मस्का तर्फबाट दिल श्रेष्ठले एक जानकारी जारी गर्दै देशको वर्तमान अवस्थालाई ध्यानमा राखेर प्रदर्शन मिति सार्ने निर्णय गरिएको बताएका छन्।

 

निर्माण पक्षका अनुसार अब चलचित्र तिहारको अवसरमा कार्तिक २० गते शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउनेछ। नयाँ प्रदर्शन मितिबारे एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी, रिच इन्टरटेनमेन्ट लगायत चलचित्रसँग सम्बन्धित सबै पक्षलाई जानकारी गराइएको छ।

 

श्रेष्ठले मुलुक रोइरहेको समयमा चलचित्रजस्तो मनोरञ्जनात्मक सामग्री दर्शकमाझ पस्कन आफ्नो मनले नमानेको बताएका छन्। ‘मुलुक रोइरहेको समयमा चलचित्र जस्तो मनोरञ्जनात्मक सामग्री पस्कन हाम्रो मनले मानेन,’ उनले भनेका छन्।

 

प्रदर्शन मिति परिवर्तनबाट दर्शक, वितरक तथा चलचित्रसँग सम्बन्धित अन्य पक्षमा पर्न गएको असुविधाप्रति निर्माण पक्षले क्षमायाचना गरेको छ। साथै आगामी दिनमा पनि दर्शकको साथ र माया निरन्तर पाइरहने विश्वास व्यक्त गरेको छ।

 

अब ‘माया भनेकै यस्तो होला’ कार्तिक २० गते शुक्रबारदेखि तिहारको अवसरमा सार्वजनिक प्रदर्शनमा आउने भएको छ।

बाजुरामा आगलागीबाट धनमाल नष्ट

बाजुरा । बाजुराको एक घरमा आगलागी भएको छ।

जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका–१ बमझाडा बस्ने जय धन कामीको घरमा खाना पकाउने क्रममा शनिबार बिहान आगलागी भएको हो। 

आगलागी हुँदा अन्दाजी २ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ। 

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।